यौनकथा: कृष्णदासको भित्ता–घडी

Nayabimarsha (Weekly Newspaper from Nepal)

पोषण पाण्डे
कृष्णदास घर फर्किरहेछ । रातको समय । पानी पर्न आँटेको छ । छिनछिनमा बादल गर्जिने र कहिलकाहीँ त चट्याङ परेजस्तो भयानक आवाज पनि उठ्ने गरिरहेछ । यो आवाज त्यस्तै छ जस्तो कि कुनै मानिसको मनलाई पश्चात्तापले चुट्दै जान्छ । कृष्णदास हिँडिरहेछ । बराबर चम्किने बिजुलीको उज्यालोमा उसको अनुहार निमेषभर झिलिक्क देखिन्छ । त्यसपछि फेरि ऊ अन्धकारमा हुन्छ । त्यस गहिरो अन्धकारमा झिलिक्क देखिने कृष्णदासको अनुहार मानो कुरुक्षेत्रजस्तो छ, जसमा उसका मनभित्रका कुराहरू फुटेर परस्पर मुक्कामुक्की गरिरहेझैँ प्रतीत हुन्छ ।
उसको अव्यवस्थित कपालमा पानीको थोपा फाट्टफुट्ट तप्किन थाल्छ । फलतः उसको पाइला झन्–झन् लामो छ, छिटो हुँदै जान्छ । उसको मनमा लागिरहेछ— कहीँ निथ्रुक्क नभिजोस् ।
पानीको थोपा क्रमशः ठूलो–ठूलो हुँदै आउँछ र हुँदा–हुँदा यहाँसम्म कि पूरा वर्षाको रूप धारण गर्छ । कृष्णदास आफ्नो टोलको गल्लीभित्र छिरिरहेछ । ओत लागेर हिँड्दा पनि उसको घुँडासम्म पानीको छिटाले रुझाइसकेको छ ।
धेरैबेरदेखि चुरोटको प्यासलाई सञ्चित गरिराखेको कृष्णदास गल्लीको एउटा सानो पसलनिर आइपुग्छ । ऊ एकछिन त्यहाँ अड्छ । खल्ती छामछुम गरी दुई पैसाको एउटा मोटरमार चुरोट किनेर सल्काउँछ । पसलनिरको भित्तामा टाँसिएर कृष्णदास चुरोटको धूवाँ छोड्दै गइरहेछ । पानीको वेग थामिएला कि भन्ने आशाले ऊ कहिले माथि आकाशमा पुलुक्क हेर्छ, कहिले चाहिँ निहुरेर आफ्नो निथ्रुक्क भिजेको सुरुवालतिर हेर्ने गर्छ ।
घरमुनि पुग्दा कृष्णदासको हालत बिलकुलै विचित्र देखिएको थियो । दैन्य र ग्लानिको मूर्ति कृष्णदास ढोकाभित्र यसरी छिर्छ मानो कुनै चोर, अपराधी, अँध्यारो, अरूबाट अदृश्य स्थानतिर घिस्रिन्छन् ।
भर्याङ उक्लँदै कृष्णदास भान्सा बुइगलमा पुग्छ जहाँ उसको भाइ केशव पिलपिलइरहेको देखा पर्छ । कृष्णदासलाई अनायास उसमाथि रीस उठ्छ । उसको शिथिल हातमा जोश आउँछ । फलतः ऊ एक चड्कन केशवको गालामा दिन्छ—
“पढ्नुवर्नु छैन, दिनभरि खेल्या…गधा काँको ।”
“के गरेको बाबु, तैँले यो ?”– भान्साबाट हत्तपत्त ओर्लेर केशवलाई आफ्नो जम्मै ज्यूले छोप्दै कृष्णदासकी आमाले भनी– “बालकमाथि पनि कोही हात छोड्छ ?”
“ल भैगो, सँभाल्नुहोस् त्यसो भए हजुर नै, मलाई वास्ता छैन…” कष्ण्दास झर्किँदै करुवा लिएर कौसीतिर पुग्छ र हातखुट्टा धोएर भान्साखण्डमा आइबस्छ । कुनै दैनिक नियम पालन गरेतुल्य ऊ छिटो–छिटो गाँस लिँदै जान्छ र साथसाथै थुक्तै पनि । उसले थुक्ताखेरि छरिएका भातका सिताहरू भान्साखण्डबाट पर–पर छरिँदै जान्छन् ।
कृष्णदास जुरुक्क उठ्छ । हत्तपत्त चुठिसिद्ध्याएर ऊ भर्याङ ओर्लिन्छ र अन्त्यमा ऊ आफ्नो कोठाभित्र पस्छ ।
कृष्णदासको कोठा । जहाँ धेरै चीज भैकन पनि केही नभएजस्तै छ । भित्तावरिपरिका तस्वीरहरू उसको बाबुको पालादेखि जहाँको तहीँ छन् । यिनै तस्वीरहरू उसको बाबुको पालामा शायद बोल्थे होलान् तर अहिले खै…। तस्वीरका फ्रेमहरू कुन रङ्गका हुन् भन्नेसम्म थाहा पाउन पनि मुश्किल परिरहेछ । किनभने त्यहाँनिर धूलोको एक प्रकारले गुँड बनिसकेको छ । तस्वीरहरू कुनै महादेवका, कुनै रामचन्द्र र कृष्णका छन् । साथै केही बुद्ध भगवानका पनि ।
यसका अतिरिक्त कृष्णदासको त्यस दुई झ्याले कोठामा एउटा ज्यादै ठूलो काठको सन्दूक पनि छ । जसले भूइँको एक फराकिलो भागलाई आफ्नो कब्जामा राखेको देखिन्छ । सन्दूक निश्चय पनि गह्रुँगो होला, किनभने त्यो ठूलो छ, फराकिलो छ । यसको भव्य आकृतिले कोठालाई गहकिलो तुल्याएको छ । यो सन्दूक उसको बिहे गर्दा स्वास्नीले दाइजोमा ल्याएकी थिई र यो नौ वर्ष यतादेखि जहाँको तहीँ छ, त्यस घरको इष्टदेवजस्तो ।
त्यस सन्दूकमा लगाइएको अलीगढी ठूलो ताल्चा आजसम्ममा शायदै दुई–तीन पटक खोलिएको होला । सन्दूकमा मारेको त्यो ताल्चाले यदाकदा एउटा रहस्यपूर्ण वस्तुलाई आफ्नो चिरसुरक्षामा राखेको प्रतीत हुन्छ । ताल्चाको आफ्नै विशिष्टता, सन्दूकको गुरुत्व र त्यसभित्रको रहस्य कुन्नि के हो ।
जे होस् कृष्णदासको कोठा खाली–खालीजस्तो बिलकुलै देखिँदैन । सन्दूकमाथिको ठूलो पित्तले करुवा– जो प्रायः पानीले भरिएकै रहन्छ, अहिले पनि त्यहीँ छ ।
कोठाभित्र पस्नासाथ जस्तो कि कृष्णदासलाई लागेको थियो, उसको मनको घबराहट शान्त होला र उसको मन एक प्रकारको नयाँ आनन्दले रमाउला । तर कृष्णदासको मन एकाएक रूखको खोक्रो ओडारतुल्य खङ्ग्रङ्ग सुक्छ । जब उसको आँखा क्रमशः कोठाको अरू चीजहरूबाट अगाडि भित्ताको एक भागमा गई अड्किन्छ ।
उसको आँखा त्यस ठाउँमा ठीक त्यसै गरी अड्किन्छ जस्तो कि हिँड्दाहिँड्दै कुनै मानिसको खुट्टा हिलो–माटोमा अथवा धापमा गाडिन्छ । कृष्णदास त्यो भित्ताबाट आफ्नो आँखा जबरजस्ती खिच्न खोज्छ । भित्ताको त्यो सानो भाग र कृष्णदासमा सङ्घर्ष चल्छ । कृष्णदासको अनुहार त्यसै भित्तामा कुनै तान्त्रिक शक्तिद्वारा वशीभूत भएझैँ प्रतीत हुन्छ । उसको मानसिक स्नायु तन्किँदै जान्छ— बिलकुल रबर तन्किएझैँ । अन्त्यमा ऊ कमजोर, दुर्बल हुँदै जान्छ । कृष्णदास मनमनै यहाँसम्म पुग्छ कि ऊ आफ्नो एउटा आँखा त्यस भित्तालाई चढाएर भए पनि त्यहाँबाट हट्न सकोस् र झ्वाट्ट अचानक ऊ आफ्नो आँखालाई जोड्ने भित्ताबाट तान्छ— प्रतीत यस्ता हुन्छ कि कुनै डोरी, धागो अथवा अन्य यस्तै वस्तु सहसा च्वाट्ट चुँडेर लत्रिरहन्छ ।
सलाई क्वार्र कोरेर कृष्णदास चुरोट सल्काउँछ । चुरोट स्वाइँ–स्वाइँ तान्दै जान्छ र कोठामा धूवाँको गोल–गुम्फन प्रेतात्माजस्तै पौडिन थाल्छ।
भित्ताको त्यस सानो भाग अझै सुरक्षित छ । त्यहाँको स्वच्छ आकाशी रङ्ग भित्ताको अरू खुइलेको भागबाट टड्कारै भिन्न देखिन्छ ।
कृष्णदास एक बाजि आफ्नो बगली छाम्छ । मानो हृदयरोगका पीडित व्यक्तिहरू कहिलेकाहीँ आफ्नो नाडी छामेर त्यसमा स्पन्दन पाई फेरि हिँडडुल र आनन्द मनाउँछन् ।
कृष्णदास स्थानीय दैनिक अखबारको पन्ना पल्टाउँदै–पल्टाउँदै जान्छ । यसै गरिरहन्छ । सुपारीलाई स्वादिलो ढङ्गले चपाउँदै चुरोट फुकिरहेछ । ऊ भित्र–भित्र स्वास्नीको प्रतीक्षामा छ ।
कृष्णदासकी स्वास्नी भर्खरको सानो बच्चालाई छातीमा च्यापेर दूध चुसाउँदै आइरहेकी छ । उसकी जेठी छोरी आमाको औँला समातिरहेकी छ । ऊ निद्राले चूर छ ।
कृष्णदासकी स्वास्नी । उसको आँखा र खाने मुखले बताउँछ कि ऊ आफ्नो उमेरमा ज्यादै राम्री थिई तर हाल उसको जन्मसिद्ध सुन्दरताबाहेक अरू कुनै आकर्षण छैन । उसले आफ्नो पाखुराको गुदगुदे मासु, पिँडौलाको लच्किलोपना र छातीको उभारलाई चार सन्तानहरूमा बाँडिसकेकी छ । शेष ऊसँग फाटेका आँखा, कच्याककुचुक परेको छाती र रुक्खो नाडी, यीबाहेक केही छैन ।
एउटा सानो मैलो ओछ्यान झारेर कृष्णदासकी स्वास्नी छोरीलाई त्यसमाथि सुताउँछे र आफू निहुरेर कुमले भित्तामा अडेस लगाई चोलो माथि सार्छे । दूधको मुन्टो छोराको मुखमा चुसाउँछे । ऊ एक चोटि आङ तानेर ‘हाई’ गर्छे, फेरि कोठाको चारैतिर सर्र हेरेर भन्छे, “आज के चीज नभा–नभा जस्तो छ नि कोठामा ।”
“के छैन र सबै थोक त छ नि !” कृष्णदास फर्केर स्वास्नीलाई हेर्छ र बिस्तारै आँखा घुमाएर दराजको ऐनातिर औँल्याउँदै सोध्छ, “साँच्चि, हेर त त्यो ऐना कल्ले फटायो… माल त केही पनि राख्न दिँदैनन् यही शान्तिले होला ।”
“त, जे भो शान्तिले” —छोरीतिर देखाएर– “यही यौटी त छ नि बिचरी बिगार्ने–भत्काउने ।”
कृष्णदासीकी स्वास्नी लोग्नेलाई रहस्यपूर्ण ढङ्गले हेर्छे । यो हेराइमा ऊ केही–केही मुस्काउँछे र भन्छे– “फेरि, कत्ति न मालसामान ल्याएर जोर्यो तस्तो नि, कुन जुगदेखिको दराज हो , कोठा मात्रै साङ्ग्रो तुल्याइरहेछ…”
“अब के त फाल्दिऊँ यसलाई, कि बेचिदिऊँ…?” अचम्मको अनुहार लगाएर कृष्णदास सोध्छ ।
“मैले काँ बेच्नू भनेँ र ?” कृष्णदासकी स्वास्नी ठस्केर भन्छे— “यस्सै पनि झर्किने, ऊ पनि फेरि अहिले हो र फुट्या कति दिन भैसक्यो…के नथापा जस्तो गर्या नि !”
मनमनै कृष्णदासलाई थाहा छ, त्यो उसले अहिले मात्र होइन पहिलेदेखि नै फुटेको देखेको थियो । दराजको ऐना जसको चतुर्थांश भाग फुटेर कोप्चिएको आँखाजस्तै देखिएको छ ।
कृष्णदास एकछिन ट्वाल्ल त्यहाँ हेर्छ, हेरिरहन्छ । बाहिर रात क्रमशः उचालिँदै गइरहेको हुन्छ । सन्नाटाले घर छाना, गल्ली, सडक सबै थोकलाई छुँदै–छुँदै आइरहेको हुन्छ । पानी थामिसकेको छ । तर केही थोपाहरू अझै पनि कता–कताबाट तपतप बिलकुल नरम अस्पष्ट आवाज तप्किरहेछन् ।
कृष्णदासको कोठामा बत्ती झन्झन् उज्यालो हुँदै आइरहेछ । कृष्णदासकी स्वास्नी मनमनै निश्चय गरेर कोठाको सन्नाटापूर्ण वातावरणलाई खलबल्याएर बोल्छे— “पक्का ल, क्यै चीज छैन आज ह्याँ…के छैन के छैन जस्तो लागिरहेछ ।”
कृष्णदास बोल्दैन । उसको मन सूक्ष्म रूपले झस्किन्छ मात्र । “के हेरिरा त्यो नसुतेर, बार बज्न लागिसक्यो होला” –कृष्णदासी स्वास्नी बिस्तारै सोध्छे— “साँच्चि, कति बज्यो होला ?”
अब कृष्णदास झन् बोल्दैन । मनमा कसैले थचक्क थिचेजस्तो उसलाई अनुभव हुन्छ । घाँटी ख्याकखुक गर्दै झ्यालमा गएर जबरजस्ती केही थूक फाल्छ । त्यसपछि ऊ चुरोट सल्काउँछ । चुरोटको मण्डलाकार धूवाँले आफू र स्वास्नीको अनुहारबीचको भागलाई ढाक्न खोज्छ ।
“अँ, लौ घडी खै, कल्ले लग्यो, कसैले चोरेर लग्यो कि क्या हो ?” एक्कासि भित्तामा हेरी जिल्ल परेर कृष्णदासकी स्वास्नी भन्छे ।
“साँच्चि, कल्ले चो¥यो त ?”
कृष्णदास बोल्छ तर उसको बोलाइमा घडी हराएको सुन्दा उठ्नुपर्ने उत्तेजना र आश्चर्य कत्ति पनि छैन मानो उसलाई थाहा छ घडी कहाँ छ भन्ने कुरा ।
कृष्णदास स्वास्नीलाई हेर्छ, स्वास्नी कृष्णदासलाई हेर्छे । यो हेराहेरमा विचित्र खालको रहस्य पाक्न थाल्छ । कृष्णदासकी स्वास्नीको आँखा शङ्कालु हुँदै आउँछ ।
कृष्णदास चुरोट बेसरी तानेर बुरुरुरु धूवाँ छोड्छ । धूवाँको पातलो पर्दाभित्र कृष्णदासको अनुहार केही मुस्काएजस्तो प्रतीत हुन्छ ।
“के हाँस्नु त्यो घरको माल चोरेर लैजाँदा पनि ।” कृष्णदासकी स्वास्नी फिस्स हाँसेर भन्छे । उसको अनुहारमा घृणा उम्रन्छ, ऊ फेरि भन्छे– “कसैले चोरेर लगेको हैन त्यो, मलाई थाहा छैन र ?”
“थाहा भए चूप लाग्नू” –कृष्णदास चुरोटको धूवाँलाई हटाउँदै भन्छ ।
“ऊँ अझ चूप लाग्नू रे, ल आफूले सोध्या हैन कल्ले चोर्यो भनेर…?”
“त्यो त यसै भन्या” –कृष्णदास अघिकै जस्तो मुस्काउँछ । ऊ एकदम लुच्चोजस्तो देखिन्छ । शरीरलाई खुम्च्याएर डल्लो पार्छ । चुरोट तान्छ । बुरुरुरु धूवाँ छोड्छ ।
“आमालाई नभन बरु, दिक्क मान्नुहुन्छ फेरि ।”
कता–कता कृष्णदासकी स्वास्नीको मनमा यौटा अवाञ्छनीय शङ्का उठ्छ, जसलाई ऊ निर्मूल गर्न चाहन्छ । तर जति–जति ऊ लोग्नेको अनुहारलाई गहिरिएर हेर्दै जान्छे उति–उति उसको मनको शङ्का उल्टो बलियो हुँदै आउँछ । तर यसमा ऊ विश्वास राख्न चाहन्न । ऊ एक बाजि फेरि भित्तामा हेर्छे जहाँ घडी रहन्थ्यो र जसबाट निरन्तर ट्वाक्ट्वाक् आवाज आइरहन्थ्यो ।
कृष्णदासकी स्वास्नी पुनः लोग्नेतिर फर्किन्छे जो अहिले मुस्काएको छैन, गम्भीर छ, केही सोचिरहेको जस्तो छ ।
“आमालाई कति दिनसम्म नभन्ने, थाहा पाइहाल्नुहुन्छ नि…भोलि बिहानै बाग्मती जाँदा सोध्न आउनुहुन्छ ‘कति बज्यो’ भनेर, लुकाएर लुक्ने कुरै छैन ।” –कृष्णदासकी स्वास्नी खिन्न भएर बोल्छे । उसको बोलाइमा कुनै चुड्किलोपना छैन । एकदम खिन्नता, एकदम दुःख ।
ऊ फेरि भन्दै जान्छे– “बज्यैको फेरि द्यौताजस्तो मानेको घडी त्यो…सधैँ भन्नुहुन्छ– ‘अरू थोक जे–जे गर्छौ तर, यो घडी यौटा क्यै नगर्दे । यो भएन भने म भुतुक्कै मर्छु । छिन–छिनमा हेर्नुपर्छ मलाई ।’ के गर्नु, हुनन पनि ससुराज्यूको चिनोहरूमा यौटा बाँकी ।”
“भैगो सुन” –कृष्णदास कुरा खोल्छ– “म तिमीलाई साफ–साफ कुरा भनिदिन्छु–घडी मैले बन्दकी राखेको छु ।”
“घडी किन ! मलाई नै बन्दकी राख्नुभा’ भए हुन्थ्यो नि…” अनुहार उचालेर कृष्णदासकी स्वास्नी भन्छे– “हजुरलाई मैले एक चोटि हैन, दुई चोटि हैन, सयौँ चोटि हात जोरेँ बिन्ती गरेँ – यस्तो काम नगरूँ भनेर, तर हजुरले…”
“होइन, तिमी किन यसरी रिसाएकी ? घडी बन्दकी पो राख्या, बेच्या हो र ? फेरि आइहाल्छ नि ।” “आइहाल्यो नि, कन्पासा आइहाल्यो, औँठी आइहाल्यो, आएन ? चाँदीको करुवा आइहाल्यो, मलाई किन ढाँट्नु, म के बाहिरिया मान्छे हुँ र…?
कृष्णदासको मन चिमोटिन्छ । पुनः कुनै अपराधबाट उत्पन्न मानसिक भयले उसलाई सताउन सुरु गर्छ । फलतः कृष्णदासको अनुहार अधीर देखिन्छ । शायद ऊ केही बोल्न चाहन्छ तर बोल्दैन, बोल्न सक्तैन । मानो उसभित्र ठिङ्ग उभिएर कुनै यमतुल्य प्रताडक उसलाई जबरजस्ती अपराधी सिद्ध गर्न खोजिरहेछ ।
कृष्णदास भित्रभित्रै जल्छ, बिद्रोह गर्छ । ठीक यौटा लुलो खुट्टाजस्तो कृष्णदास जमिन खोजिरहेछ टेक्नको लागि । कृष्णदास सोच्छ– उसलाई स्वास्नी चाहिन्छ । स्वास्नीको दरो आङ चाहिन्छ । उसकी स्वास्नीको छातीमा मासु नै मासु गुज्मुजेको हुनुपर्छ र त्यो कडासेकडा हुनुपर्छ । उसलाई यो कत्ति मन पर्दैन कि उसकी स्वास्नीको छाती एकदम खुकुलो खल्लो खल्लो जस्तो देखियोस् । यो उसकी स्वास्नीले बुझ्नुपर्छ– के ऊ सधैँ चौलानी पिइरहन सक्छ ?
कृष्णदास जुरुक्क उठ्छ । झ्यालबाट हेर्छ । बाहिर चकमन्न छ । उस्तै चकमन्न । यदाकदा कतै–कतैबाट आउने पानीका शेष थोपाहरू पनि तप्किन बन्द भइसकेका छन् । कृष्णदास फेरि झ्यालबाट हट्छ ।
नजिकै उसकी स्वास्नी घुँडाभित्र मुख जोरेर बसिरहेकी छ । उसको मुख खास्टोले ढाकेर घुँडाभित्र लुकेको छ । शायद ऊ उँघिरहेकी छ । कृष्णदास स्वास्नीतिर हेर्छ । हेरिरहन्छ । हेर्दाहेर्दै स्वास्नीको एक काल्पनिक चित्र उसका आँखाअगाडि उपस्थित हुन्छ । यस चित्रको नियमानुसार उसकी स्वास्नी अर्कै देखिन्छे, टुनुक्क परेकी ढक्क फुलेको छाती ।
कृष्णदास रोमाञ्चित हुन्छ । “लक्ष्मी, हेर त, यता हेर” –कृष्णदास हातमा यौटा किमती बडिस लिएर भन्छ– “यो लगाऊ ल ।” आँसु पोतरिएको अनुहार उठाएर कृष्णदासकी स्वास्नी पोइतिर हेर्छे । उसको आँखा कृष्णदासको आँखासँग जुध्न थाल्छ र ऊ क्रमशः कठोर देखिन थाल्छे । बडिसलाई मुट्ठीभित्र च्यापेर अनायास डल्लो पार्छे । त्यसपछि ऊ घाँटीबाट हिक्का निकाल्दै भन्छे– “म के रण्डी हुँ ? मलाई के हजुर रण्डी बनाउन चाहनुहुन्छ ?”
रातको सन्नाटा च्यातेर लक्ष्मीको आवाज उदाङ्ग हुन्छ । उसको पातलो जीउभित्र समुद्री ज्वार उर्लिरहेछ । हिक्काको साथसाथै ऊ भन्दै गइरहेकी छ– “हजुरले त्यो भित्ताको घडी बन्दकी राखेर मलाई रण्डी बनाउन खोज्नुभएको हो ? के यो हजुरले ममाथि माया देखाउनुभएको ? हजुरलाई त मेरो मासुको डल्लो चाहिन्छ । हजुरलाई मेरो मनसँग कुनै वास्ता छैन ।”
यौटा अवर्णनीय वेगमा आएर कृष्णदासकी स्वास्नी हातको बडिसलाई ध्वार्र च्यात्छे, झ्यालबाट फुत्त फ्याँक्छे र त्यसपछि ऊ एकदम शिथिल भएर खास्टोले हात–मुख छोप्छे ।
भित्ताजस्तो अचल कृष्णदास जुरुक्क उठ्छ । यौटा पुरानो कोटको हेङ्गर भित्ताको त्यो भागमा झुन्ड्याउँछ जहाँ पहिले यौटा घडी थियो । भित्ता–घडी ।

कविताः आमाको मीठो सम्झना
बी.के. दुर्गा
जसको साथमा ममतामयी आमा हुन्छिन् ऊ कहिल्यै गरीव हुँदैन
जसको साथमा पीडा सुनिदिने आमा हुन्छिन् ऊ कहिल्यै गरीव हुँदैन
दिल खोलेर रुनका लागि त उत्तम काख आमाकै हो
जसको साथमा प्यारको सागर आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुँदैन

तिम्रो अभावलाई सम्झेर रुन मन ला छ आमा
तिम्रो न्यानो काखमा फेरि सुत्न मन ला छ आमा
धेरै कुरा दिनका लागि धेरै कुरा त्याग्यौ तिमीले
सेवा गर्न पाइनँ तिम्रो फेरि जन्मन मन ला छ आमा

मर्ने बाटो त अनेक छ संसारमा जन्मने बाटो त मात्र तिमी हौ
प्यार दिने त अनेकौं छन् संसारमा नालायकलाई नि प्यार दिने मात्र तिमी हौ
अनपढ़ भए पनि अनमोल ज्ञान दिन्छौ तिमीले
तिम्रो ठाउँ लिन सक्दैनन् कसैले सबैको ठाउँ लिने केवल तिमी हौ

आमा बिनाको कुनै घर नहोस्, आमा कहिल्यै बेघर नहोस्
आमा बिनाको कुनै बच्चा टुहुरो टुहुरी नहोस्, ती आमा कहिल्लै एक्लो नहोस्
साह्रै गाह्रो हुँदोरहेछ जीवनमा सोची ल्याउँदा खेरी
समाजमा यस्तो दुर्घटना नहोस्, सन्तान र आमाको विछोड नहोस्

भगवानको अर्को रुप आमा हौ, विशाल दिलकी धनी आमा हौ
मातृत्व वात्सल्य प्रेम लुकेको छ नारीमा, कर्म दिने तिमी आमा हौ
आमाको महत्त्व बुझ्नै नसक्ने पनि हुँदा रहिछन् यो जगतमा
फ्लोरेंस नाइटेंगलको जस्तो भावना बोक्ने महान् नारी आमा हौ

आवाज विहीन आमाहरूको आवाज बाहर आउनुपर्छ
दबिएर रहेका नारीहरूको आवाज बाहिर आउनुपर्छ
अन्यायमा परेका छन् ती महान् नारीहरू आजभोलि
न्यायका लागि सशक्तीकरणको अभियान बाहिर आउनुपर्छ ।
(ब्रह्माकुमारीजÞ, नेपालगंज, नेपाल)

 

हाम्रो भाषा ः आवश्यकता र प्रयोग
डा. नवीनबन्धु पहाडी
मौलिक पृष्ठभूमिः नेपाली भाषा
नेपाल भित्र र बाहिर बसेका नेपालीहरूले प्रयोग गर्ने साझा वाणी नेपाली भाषा हो । नेपालको एकीकरणदेखि आजसम्मका राजकीय कार्यसम्पादनमा यसैको प्रयोग भएको छ । त्यसैले यसलाई कुनै जात, थर वा भूगोल विशेषसँग जोड्नु वा कुनै धर्म, संस्कृति र सम्प्रदायको सीमाभित्र परिभाषित गर्नु देश, राष्ट्रियता र सामाजिक वस्तुताप्रतिको अल्पदृष्टि हुनसक्छ । देशभित्र रहेका लगभग १४२ जातजाति र १२४ भाषा प्रयोक्ताहरूले नेपालीबाहेक अन्य भाषालाई आधिकारिक साझा मान्यताप्राप्त तथा सम्पर्क सेतु भाषा बनाउन सक्ने अवस्था सिर्जना भइसकेको छैन । भोलि के होला भन्न सकिन्न ।
प्रथमतः झण्डै दुई करोड नेपालीहरूमध्ये नब्बे प्रतिशतले बुझ्ने, बोल्ने र प्रयोग गर्ने भाषा नेपाली मात्रै हो । त्यसैले आम नागरिकहरूको प्रयोग, उनीहरूको बुझाइ र भाषिक परिस्थितिलाई आकलन गर्दा यस भाषाको विकल्पमा दिन सकिने अर्को कुनै वाणी छँदै छैन । भूगोल सानो छ । भौगोलिक अनेकता, जातिगत पृथकता र सांस्कृतिक भिन्नतालाई जोड्ने एक मात्र स्नेहसेतु हाललाई नेपाली भाषा हो । हाम्रो समाज यस्तो छ कि आम नागरिकहरूलाई सुनाउन केही भन्नै पर्ने अवस्था रह्यो भने नेपाली भाषाको विकल्प खोज्नै सकिन्न । नेपाली भाषालाई गाली गर्नेहरूले पनि यसैको सहारा लिनुपर्ने अवस्था छ । त्यसैले नेपालभित्र साझा सन्देश प्रवाह वा आम सचेतनाको प्रभावकारी वाणी नै नेपाली भाषा हो ।
भाषा हाम्रो जस्तो देशका लागि राष्ट्रियताको हृदयकेन्द्र नै हो । हैटीको गृहयुद्धपश्चात् हैटियन भाषाको दुर्गति भएर अङ्ग्रेजी क्रेओलले त्यहाँ राष्ट्रभाषाको आकार ग्रहण गरिसकेको अवस्था छ । अङ्ग्रेजी क्रेओल राष्ट्रभाषा मात्र भएन कि भाषाकै माध्यमले हैटीको राष्ट्रियताको ठेकेदारी पनि अमेरिकाले गरिसकेको छ । त्यहाँको मूल संस्कृति पनि पुराना पुस्तक र किंवदन्तीहरूमा मात्र सीमित भइसके । त्यहाँको पृष्ठभूमि र हाम्रो वर्तमानको समकक्षताले उस्तै गन्तव्यको निर्देश गरिरहेको छ । त्यसैले यति बेला हामीमा राष्ट्रिय सचेतता अपरिहार्य छ ।
अहिले भाषा प्रयोगका सन्दर्भमा अनेक बहस र पाण्डित्य प्रदर्शनका नमूनाहरू देख्दै, सुन्दै आएका छौं । कसैलाई मौलिकताको नाममा भाषा नङ्ग्याउनु छ भने कसैले संस्कृतनिष्ठ प्रयोगको ठेकेदारी गर्नु छ । अर्को धारले विशिष्ट र मौलिक कपोल कल्पना गरेका छन् । भाषामा जडसूत्र र नग्नता दुवै हानिकारक हुन्छन् भन्ने बोधले काम गरेको दिन नेपाली भाषा विकास र उन्नयनको मार्ग प्रशस्त हुनेछ । जडसूत्र र अतिवादले संस्कृत भाषालाई वैज्ञानिकीकरण त गरायो तर लोक प्रयोगबाट मृत मात्रै बनाएन पूजा अर्चनामा मात्रै सीमित गरिदियो । भाषा र यसको मानक प्रस्तुति आम जनजिभ्रो नै हो । व्याकरणको पहिलो निर्देशक तत्त्व माउस्रोत नभएर भाषिक व्यवहार हो भन्ने सबैले बुझेको दिन हाम्रो भाषामा देखिएका सबै समस्या समाधान हुन्छन् ।
नेपाली भाषाले पनि विश्वभाषाको आकार ग्रहण गरिसकेको छ । अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, पोर्चुगल जस्ता विकसित देशमा नेपाली डायस्पोराको ठूलो जनसङ्ख्या हुर्किरहेको छ । विश्वको फराकिलो भूखण्डमा पाउलिएका प्रत्येक नवपुस्ताले आफ्नो भन्न पाउने सरल नेपाली भाषाको मानक तोकिनु पर्छ । नेपालको एकेडेमी र विश्वविद्यालय संसारका सबै कुनामा रहने नेपालीले प्रयोग गर्ने नेपाली भाषाको निर्देशक बन्न सक्नुपर्छ । एक्लो पाण्डित्य र निजी विचारले विश्वनेपाली भाषालाई निर्देश गर्नै सक्दैन । प्रेमको आदर्श र आस्थाले न जीवन चल्छ न भाषा बच्छ । त्यसैले स्वान्त सुखाय र पूजा गरिने आदर्श होइन व्यवहारिक र चल्न भोग्न सकिने यथार्थको धरातलबाट भाषाको अनुशीलन हुनु आवश्यक छ ।
क्यानडा र हङकङमा हुर्किरहेका डायस्पोरालाई संस्कृतनिष्ठ पुरानो नेपाली भाषाले सम्बोधन गर्नै नसक्ने सत्यलाई आत्मसात् नगरी सुखै छैन । नेपालकै विद्यालय, विश्वविद्यालयमा पनि त्यो स्तरका जनशक्ति छैनन् । बग्रेल्ती खुलेका मिडियाहरूले मनलागि भाषा प्रयोग गरिरहेका छन् । भाषा राष्ट्रिय उद्बोधनको विषय भएपनि यसलाई खास तहमा प्रयोग गरिने मापदण्ड निर्धारण गर्ने र अनुगमन गर्ने प्राधिकार प्रज्ञाप्रतिष्ठान, भाषा आयोग वा विश्वविद्यालयहरूमा हुनुपर्ने हो तर त्यसको हेक्का कसैलाई नभएकै कारण व्यक्तिनिहीत सर्वोच्चताको पाण्डित्यलाई आधार बनाइरहनुपर्ने अवस्था आइलागेको हो । यसको अर्थ हामीसँग आजसम्म सर्वस्वीकृत भाषिक मार्गचित्र नभएको अवस्था नै हो ।
गणतन्त्र स्थापना र संघीय व्यवस्थाको प्रयोगसँगै राष्ट्रिय एकताका धेरै तन्तुहरू छिनालिसकिएको छ । धर्म, परम्परा, राजनीति, राज्यव्यवस्थाका अनेकतामा देश टुक्रिसकेको छ । यस स्थितिमा भाषा र साहित्य नै सबैलाई जोड्ने उपयुक्त तन्तु हुन सक्छ । त्यसैले भाषालाई सधैंको र सबैको बनाउनुपर्छ । यसका लागि सनातनी र परम्परावादी घेराबाट हामी निस्कनै पर्छ । यसको मक्सद छाडा र नाङ्गो बनाउनु पर्छ भन्ने हुँदै होइन बरु बदलिएको विश्व परिवेश, सांस्कृतिक सम्मिश्रण, नवसंस्कृतिको उदय जस्ता स्थितिले भाषा निरन्तर बदलिरहन्छ । भाषामा आउने बदलाव र परिवर्तन नै यसको उन्नयनको सूचक हो । कालक्रममा थपिएका नयाँ शब्द, बोल्ने रीति, वाक्य, वाक्यांशलाई समेट्दै जाने हो भने भाषा समुद्र बन्न सक्छ । पुरानो बलो समातेर हजुरबाले बनाउनु भएको घर म फेर्दिन, बदल्दिन भन्ने हो भने पुरानो घर ढलेर अस्तित्व नै समाप्त भइदिन्छ ।
माथिको पृष्ठभूमिले नेपाली भाषाबाहेक नेपाली राष्ट्रियताको तन्तु सिउने र संवद्र्धन गर्ने अर्को कुनै विकल्प छँदै छैन । त्यसैले यसको जगेर्ना र गोडमेल गर्ने अभिप्रायले मध्यमार्गको अवधारणा लिएर यस स्तम्भमा केही समयसम्म हामी भाषालाई शिष्टलेख्य मानक प्रयोगका केही आधारहरू दिने प्रयत्न गर्नेछौं ।
नेपाली भाषा प्रयोगका केही सरलीकृत उपायहरू
नेपाली भाषाको शिष्ट र शालीन प्रयोग कसरी गर्ने ? यसको मानक रूप कस्तो हुन्छ ? यस्ता प्रश्न उठिरहन्छन् र विमर्श भइरहन्छन् । प्रश्न उठ्नु र विमर्श हुनु पनि विकास तथा सचेतताको द्योतक हो । जहाँ सवाल हुन्न त्यहाँ विकास र उन्नयनका मार्गहरू पनि रहन्नन् ।
भाषाको शुद्ध प्रस्तुति र मानक व्याकरण आम आवाज र सर्वमान्य प्रयोग नै हो । प्रारम्भ भाषा हो र त्यसपछि मात्रै व्याकरणका कानुन र नियमहरूको प्रादुर्भाव हुने हो । त्यसैले लोक प्रचलनभन्दा अलग मानक बन्दै बन्दैन र खोज्न पनि हुँदैन । लोकमान्यताबाट अलग रहेर भाषाको कानुन बनाउँदा पाण्डित्यभन्दा पर केही हुँदैन । शुद्ध लेख्नु भनेको पनि लोक प्रचलनबाट लोकबोध वा सम्प्रेषणलाई सम्बोधन गर्नु नै हो ।
नेपाली भाषा कसरी शुद्ध लेख्ने भन्ने धेरैलाई खुल्दुली छ । यसको छोटो उत्तर छ कि हामी जे बोल्छौं ,जसरी बोल्छौं त्यसलाई बोले जसरी लेख्नु नै शुद्ध लेख्नु हो । शुद्ध लेख्नका लागि शुद्ध बोल्नु पर्छ । शुद्ध उच्चारण गर्न सिक्नुपर्छ । हाम्रो शुध्दोच्चारण नै शुद्ध लेखाइको आधार हो । धेरैलाई लाग्छ कि नेपाली लेख्न आउँदैन । अङ्ग्रेजी विद्यालयमा पढेको हुनाले नेपाली त आउँदै आउँदैन । त्यसो होइन ।
हामीले शुद्ध लेख्नका लागि शुद्ध शब्द उच्चारण र नियमबद्ध वाक्य निर्माणमा ध्यान दिन सके पुगिहाल्छ । लेख लेख्नु,कविता लेख्नु वा कथा लेख्नु भनेको धेरैले पढुन्, धेरैले बुझुन् र धेरैले मन पराइदिउन् भन्ने नै हो । यसका लागि सरल भाषा नै प्रयोग हुनु पर्दछ । राम्रो लेख्न लेख्ने शब्द र वाक्यमा ख्याल राख्नुपर्दछ । शब्दकोशका अन्तरकुन्तरमा भएका कसैले नजानेका, नसुनेका र असजिला शब्दहरू थुपारेर मात्रै लेखक भइँदैन । यस्ता लेखन शुद्ध पनि नभैदिन सक्छन् । त्यसैले वाक्यहरू यसरी छोटा, मिठा र रसिला लेख्न अभ्यास गरौं ः
म कथा पढ्छु । कथा मलाई निकै मन पर्छ । मलाई कठिन शब्द भएका र लामा वाक्य भएका कथा मन पर्दैन । त्यस्ता कथा पट्यारलाग्दा र झन्झटिला हुन्छन् ।
यस्ता शब्द र वाक्यले लेखनलाई सकारात्मक प्रभाव दिन्छ र प्रस्तुत गर्न खोजिएका सबै घटनालाई सजिलो किसिमले परिलाइएको हुन्छ । सबैले बुझ्न सक्छन् । स्वाभाविक र प्राकृतिक लेखाइ बन्दछ अनि लेख्न के आइतबार भो र ?
नेपाली भाषामा लेखन गर्दा म के लेख्दै छु र कस्ता शब्द चयन गर्दै छु भन्ने विषयमा ख्याल गर्नु पर्छ । लेख्नु भनेको विचारलाई आकार दिनु पनि हो । हाम्रा मनोभावका तरङ्गलाई आकार दिनु नै लेख्नु हो । त्यसैले पनि विचार अनुसार नै शब्दचयन गर्नुपर्दछ । यसका लागि पहिलो शर्त नै उचित शब्द उपयोग हो । उचित शब्द चयन हुन सकेको खण्डमा एकै चयनबाट सम्प्रेषणको सम्पूर्णता प्राप्ति हुन सक्छ । एउटै प्रयोग हेरौं ः
दाजुः तिमी कता हिंडेको ?
भाइः पसल ।
दाजुः किन ?
भाइः चिनी किन्न ।
यी संवादहरू सङ्क्षिप्तता र व्यवहारिकताका नमूना मात्रै हुन् । यसको अभिप्राय भाषा जति सरल हुन्छ त्यति नै सर्वप्रिय र बोधगम्य भइदिन्छ । त्यसैले सार्थक र वस्तुवादी शब्दप्रयोग नै भाषामा अपेक्षित हुन्छ । व्याकरणका विधान कण्ठ गरेर भाषा प्रयुक्त हुँदैन । आफ्नो भाषाको स्वरूप र मानकलाई सकेसम्म ख्याल गरेर नै लेख्नुपर्छ । त्यसका लागि आजकाल हाम्रो भाषाको पनि शब्दकोशको मोबाइल एप पाइन्छ त्यसलाई आफ्नो कम्प्युटर र मोबाइलमा सुरक्षित राख्नुपर्छ । कुनै शब्दका बारेमा कसरी लेख्ने वा के लेख्ने भन्ने शङ्का हुने बित्तिकै शब्दकोश हेर्ने बानी गर्नुपर्छ ।
लेख्नु भनेको शब्दको गतिलो प्रयोग हो । त्यसैले शब्द र वाक्यको नियमसँग प्रयोग गर्नु नै भाषा हो । हाम्रो भाषामा यस्ता शब्दहरूको अनुचित प्रयोग भइरहेका छन् ः
हुनुपर्ने भएको
भएको भयको
सौन्दर्य सौन्दर्यता
सालिक शालिक
धूमपान धुम्रपान
समृद्ध संवृध्द
यी शब्दहरूलाई जसरी लेखिनु पर्छ यसका मानक रूपको ख्याल नगर्दा बिग्रिएको देखिन्छ जस्तो कि ः
गलत प्रयोग– देश बनाउन हामीले बलिदानी गर्नुपर्छ ।
हुनुपर्ने– हामीले देश बनाउन बलिदान गर्नुपर्छ ।
गलत प्रयोग– हाम्रो गाउँको पौवा मर्मत संहार गर्नुपर्ने भएको छ ।
हुनुपर्ने– हाम्रो गाउँको पौवा मर्मत सम्भार गर्नुपर्ने भएको छ ।
शब्दका पनि मानक र शुद्ध रूप हुन्छन् । तिनका पनि नाम, सर्वनाम, विशेषण, क्रिया विशेषण, क्रियापद आदि वर्गका रूप हुन्छन् । शब्दका जुन रूप छन् त्यसलाई त्यही रूप र स्थानमा प्रयोग गर्नुपर्छ । नामलाई विशेषण र विशेषणलाई अर्को रूप बनाएर प्रयोग गर्दा माथि देखिएजस्तो विचलनको अवस्था आइपर्छ । यसका लागि सानो सचेतताले पनि हाम्रो लेखाइ असल बन्न सक्छ ।
कहिले कहिले आवश्यक ठाउँमा विभिक्तिको प्रयोग छुटेको हुन्छ र अनावश्यक ठाउँमा प्रयोग भइरहेको हुन्छ । त्यसलाई पनि ख्याल गर्नुपर्छ जस्तो कि ः
–कपिल रमाएर जन्मदिनमा चक्लेट दियो । (ले छुटेको छ)
–नर्सरीमा चारओटा बढी बिरुवा रहेनछन् । (‘भन्दा’ छुटेको कारण अनर्थ भएको छ । चारओटा मात्रै छन् भन्न खोजेको तर आवश्यकभन्दा चारओटा धेरै भन्ने अर्थ लाग्यो ।)
–घटस्थापना विद्यालय बिदा छ । (‘मा’ वा ‘देखि’ छुटेको छ)
–तिमीले बोलाएमा म आइहाल्छु ।
– धान झुलेमा रमाइलो हुन्छ ।
माथिका वाक्यका लागि ‘मा’ विभक्ति अनावश्यक देखिन्छ ।
कहिले कहिले शब्द आफैं एकवचन भएको अवस्थामा पनि हामी बहुवचनसूचक ‘हरू’ प्रयोग गर्छौं यस्ता प्रयोगले भाषालाई भद्दा बनाइदिन्छ जस्तै ः
– छोराहरू आए । (छोरा आफैं बहुवचन हो )
–गढीमाई मन्दिरमा धेरै राँगाहरू काटिए । (यस वाक्यमा ‘राँगा’ र ‘हरू’ विचलयुक्त प्रयोग हुन्, राँगा आफैं बहुवचन हो)
आजलाई मैजारो गरौं कि
हरेक भाषा प्रयोग गर्दा शब्द, वाक्य, हिज्जे, वर्णहरूको अनुकूल प्रयोगलाई ख्याल गर्नुपर्छ । त्यसलाई कसरी व्यवहारमा उतार्न सक्छौं यसका केही तरिका र नमूनाहरूका लागि साहित्यपोस्टका आगत अङ्कहरू पढ्दै र हामीलाई सुझाव दिंदै जानुहुनेछ भन्ने अपेक्षा पनि रहेको छ । (अक्षर आवास धादिङ)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *