शिक्षक आन्दोलनले सरकारीको झनै बेहाल !

Nayabimarsha (Weekly Newspaper from Nepal)
अनुसा थापा

गत चैत २० गतेदेखि देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरे । सो आन्दोलन २९ दिनसम्म चल्यो । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बने । नयाँ भर्ना खोलेर धमाधम विद्यार्थी भर्ना गरेर सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नुको साटो शिक्षकहरु आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न माग गर्दै सडकमा आए ।
जनताले तिरेको करबाट तलब खाएका, पोशाक लगाएका शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म रमिता देखाए । उनीहरुले आफ्नो क्र्तव्यको समेत ख्याल गरेनन् । हुन त राजनीतिक पार्टीको झोला बोकेर सडकमा आएका उनीहरुलाई विद्यार्थीको भविष्यको के मतलब ?
पहिलेपहिले बुढापाकाले भन्थे, ‘एउटा नबिग्रिकन अर्को सप्रिँदैन ।’ शिक्षकको हड्तालका कारण देशभरका सामुदायिक विद्यालय ठप्प बने । विद्यालय खोल्ने कुनै सुरसार नदेखिएपछि विद्यार्थीहरु निजी विद्यालयमा गए । आफ्नो सन्तान सरकारीमा हाल्छु भनेर पर्खेर बसेका अभिभावकहरुले पनि बाध्य भएर निजीमै भर्ना गरे ।
शिक्षकहरुले विद्यालय नै फर्किनु पर्दैन जस्तोगरी आन्दोलन गरे । सरकारसँग ९ बुँदे सहमति गरेपछि उनीहरु विद्यालय फर्किए । विद्यालय फर्किएर पनि कसलाई पढाउने ? डेक्स–बेञ्चलाई ? विद्यार्थीजति निजीतिर लागिहाले । विद्यार्थी भर्ना गर्ने बेलैमा आन्दोलन गर्नुको पछाडि शिक्षकहरुको खराब नियत देखिएको छ ।
शिक्षकहरुले कहिले पनि विद्यार्थीको भविष्यबारे सोचेनन् । उनीहरु सरकारी विद्यालयका विद्यार्थी भएपनि छोराछोरी निजीमा पढाउँछन् । उनीहरुलाई आफैंमाथि विश्वास छैन । अर्काका छोराछोरी त पास हुन् कि अनुत्तीर्ण, उनीहरुलाई के मतलब । शिक्षकहरुले आफ्नो स्वार्थ हेरे तर विद्यार्थीको भविष्य हेरेनन् ।
केही समयअगाडि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भनेका थिए,‘असारमा धान रोप्यो भने मात्र मंसिरमा फल्छ ।’ उनले भनाइको तात्पर्य जुन कुरा पनि समय हेरेर गर्नुपर्छ भन्ने हो । शिक्षकहरुले त्यो हेरेनन् । जतिबेला विद्यार्थी भर्ना गर्नुपर्ने थियो, त्यतिबेला सडकमा आए ।
अहिले सरकारी विद्यालय खाली भए, निजी मालामाल । शिक्षक आन्दोलन निजी विद्यालयका लागि कमाउने अवसर बन्यो । सरकारी विद्यालयका शिक्षकलाई त के छ–नपढाए पनि तलब आइहाल्छ । विद्यालयमा विद्यार्थी होस् कि नहोस्, सरकारले खुरुखुरु तलब खातामा हाल्दिहाल्छ । विद्यार्थी नहुँदा सरकारी विद्यालयका शिक्षकहरु झनै खुशी हुन्छन् ।
पढाउनै पर्दैन । विद्यालय आउँछन्, हाजिर गर्छन्, राजनीतिक गफगाफ गर्छन् अनि घरतिर लाग्छन् । सरकारले गफ गरेको तलब शिक्षकहरुलाई खुवाइरहेको छ । शिक्षकहरुले आफ्नो कक्र्तव्य पूरा नगर्दा अघिल्लो वर्षको कक्षा आठको परीक्षामा धेरै सरकारी विद्यालयको नतिजा शून्य आएको थियो ।
शिक्षक पेशा गरिमामय पेशा भए पनि जनताले उनीहरुलाई खासै राम्रो नजरले हेर्दैनन् । कारण फेरि शिक्षकहरु नै हुन् । विद्यालयमा भ्रष्टाचार हुन्छ भन्ने कुरा त हरेक जनतालाई थाहा छ । भवन निर्माणलगायत अन्य शीर्षकमा आएको बजेटमाथि भ्रष्टाचार गरिन्छ । निर्माणका लागि आएको बजेटबाट थोरैको काम गर्ने र धेरै गोजीमा हाल्ने प्रवृत्ति छ ।
अर्कोतर्फ, विद्यार्थीका लागि आएको कापी, कलम, झोलालगायतका आवश्यक सामानहरु पनि हिनामिना हुने गरेको छ । शिक्षकहरुले ती सामान लगेर स्टेशनरीमा बेच्ने अभिभावकहरुको आरोप छ । शिक्षकहरु कस्तो हुनुपर्छ ? सभ्य र भद्र किनकि उनीहरुकै सिको विद्यार्थीले सिक्छन् ।
माइतीघरमा आएका शिक्षकहरु हेर्दा साँच्चै यिनीहरु शिक्षक हुन् ? भनेर सोच्नुपर्ने देखिन्थ्यो । गुट्खा खाएर हिँडेका छन् । कपालमा कलर गरेका छन्, शरीरमा ट्याटु हानेका छन् । चुरोट तानेका छन् । यस्ता पनि शिक्षक हुन्छन् ? अब प्रश्न उठ्छ–यस्ता शिक्षकले पढाएका विद्यार्थी कस्ता होलान् ?
विद्यालयको सामान चोरेर स्टेशनरीमा बेच्ने शिक्षकहरुले विद्यालयको हाजिरी कापी र घण्टी झोलामा हालेर ल्याए । सडकमा हाजिरी गर्थे, घण्टी बजाउँथे । सरकारी विद्यालयभित्र भएका हरेक सामान सरकारी सम्पत्ति हुन् । ती सामान विद्यालयको परिसरबाहिर लैजान मिल्दैन । ल्याएमा कानूनविपरीत हुन्छ ।
उनीहरुले माइतीघरमा ल्याएर हाजिरी गरे । घण्टी बजाएर रमिता देखाए । त्यतिमात्र नभएर आन्दोलनको नाममा नेपाल शिक्षक महासंघले शिक्षक र विद्यालय कर्मचारीहरुसँग आन्दोलनका निम्ति एक हजारदेखि पाँच हजार रुपियाँसम्म लेबी उठायो । सदस्यता वर्षैपिच्छे नवीकरण गराइन्छ । त्यसबखत पनि पैसा तिर्नुपर्ने हुन्छ ।
महासंघले देशमा संविधान नै छैन, जनताको छोराछोरी पढाउनै पर्दैन, जनताले हामीलाई केही गर्नै सक्दैनन् जस्तो सोच्यो । महासंघले बोलाउँदैमा शिक्षकहरु सडकमा आए । उनीहरुले आफूले के भनेर जागिर खाएको थिए भन्ने नै बिर्सिए । विद्यार्थीको भविष्यसँग जोडिएको विद्यालयमा हड्ताल गर्न पाइँदैन । शिक्षकहरुले ऐनकानूनलाई वास्तै गरेनन् । शिक्षकहरुको कारण विद्यार्थी र अभिभावक त मर्कामा परे नै, सर्वसाधारणले पनि दुःख पाए । रत्नपार्क जानुपर्नेहरु कोटेश्वरबाट हिँड्नुपर्ने बाध्यता थियो । अर्कोतिर, कोटेश्वर आउनेहरु रत्नपार्कबाट हिँड्थे । आफ्नो फाइदाका लागि जनतालाई दुःख दिनु हुँदैन भन्ने शिक्षकले सोचेनन् ।
उनीहरुले नूनको सोझासमेत गरेनन् । जनताले तिरेको करबाट तलब खाएका उनीहरुले जनतालाई नै दुःख दिए । आफ्नो माग पूरा गर्ने नाममा जनतालाई दुःख दिनु हुँदैन भन्नेसम्म थाहा नभएका शिक्षकहरुले अरुले के ज्ञान दिनु ? सडक ढाकेर नाँच्थें, गीत गाउँथे, मादल बजाउँथे । शिक्षक महासंघ जिन्दावाद भन्दै नाराबाजी गरिन्थ्यो ।
अन्तिममा ‘ङिच्च’ परेर शिक्षकहरु विद्यालय फर्किनुप¥यो । घण्टौं हिँड्न बाध्य बनाइएका जनताले तिरेकै करबाट तलब खानुप¥यो । अभिभावक धन्न चुप लागे । उनीहरुको क्रियाकलाप विद्यालयबाटै लखेट्नुपर्ने खालको छ । शिक्षकहरु सेवासुविधा खोज्छन् । उनीहरुलाई बढीबढी सेवासुविधा चाहिएको छ ।
उनीहरुले नपढाउँदा विद्यार्थीहरु धमाधम अनुत्तीर्ण भइरहेका छन् । त्यसको जवाफदेही कसले लिने ? शिक्षकहरुले जनताको छोराछोरीको भविष्य उज्यालोतर्फ होइन, अन्धकारतर्फ धकेलिरहेका छन् । सरकारी विद्यालयको गुणस्तर वर्षेनी खस्किँदै गर्दा शिक्षकहरुले त्यसको जिम्मा लिनुपर्ने होइन ?
शिक्षकहरुमा कहाँ त्यति नैतिकता छ र ? सेवासुविधा खोज्नेले आफ्नो दायित्व पूरा गर्नुपर्छ कि पर्दैन ? यहाँ ३४ हजारदेखि ७० हजार रुपियाँसम्म तलब खाने शिक्षकहरु छन् । चाडपर्व पेश्की पाउँछन्, उपचार खर्च पाउँछन् । पुगेन भन्छन् । सरकारी विद्यालयका शिक्षकहरुले बसीबसी तलब खान पाएका छन् ।
वर्षमा अधिकांश दिन त बिदा हुन्छ । ३६५ दिनमध्ये जम्मा १५५ दिन पढाउँछन् । वर्षभरिको तलब खान्छन् । सरकारी विद्यालयमा पढ्ने गरिबका बच्चा हुन्छन् । सरकारले निःशुल्क भने पनि सरकारी विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क लिन्छन् । तिर्न नसक्नेलाई निकालि दिन्छन् ।
धादिङमा २१ सय रुपियाँ शुल्क तिर्न नसक्दा एक विद्यार्थीले आत्महत्या गरे । योभन्दा पीडादायी कुरा के होला ? भर्ना शुल्क तिर्न नसक्दा, पोशाक हाल्न नसक्दा, जाँच शुल्क तिर्न नसक्दा र कलमकापी किन्ने पैसा नहुँदा धेरै विद्यार्थीले बीचमै विद्यालय छोड्छन् । यो क्रम अहिले पनि चलिरहेकै छ ।
सरकारले एउटा विद्यार्थीलाई १५ रुपियाँ दैनिक रुपमा खाजा खर्च दिएको छ । त्यसमा स्थानीय पालिकाले १० रुपियाँ थपिदिएर २५ रुपियाँ बनाइदिएको छ । १ कक्षादेखि १० कक्षासम्म पढ्ने विद्यार्थीले खाजा खर्च पाउँछन् । शिक्षकहरुले विद्यार्थीको संख्या सयौंमा देखाएर सरकारबाट पैसा लिन्छन् । वास्तवमा जम्मा २० जना हुन्छन् ।
अनि प्राचार्यदेखि लिएर शिक्षकसम्मले सो रकममा भ्रष्टाचार गर्ने । त्यही विद्यार्थीलाई आएको पैसाबाट शिक्षकहरुले खाजा खान्छन् । जनताको छोराछोरी नपढाउने, राजनीतिक पार्टीको कार्यक्रममा जाने । राजनीतिक दलकै सदस्यता लिएर जागिर खाने । अवस्था यस्तो छ कि विद्यालयमा विद्यार्थी तीनजना छन्, शिक्षक ११ जना ।
योभन्दा लाजमर्दो कुरा के होला ! शिक्षक सुध्रिने हो भने विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्छ । त्यसका लागि त शिक्षकहरुले राम्ररी पढाउने, निःशुल्क कापीकलम, पोशाकको व्यवस्था मिलाउने, कुनै शीर्षकमा शुल्क नलिने हो भने विद्यार्थीहरु पढ्न आइहाल्छन् नि ! सबै जनता साक्षर भए पनि त्यसको फाइदा राष्ट्रलाई हुन्छ ।
ती विद्यार्थीको अभिभावकलाई हुन्छ । पढ्ने रहर हुँदाहुँदै पैसाको कारणले कसैले बीचमै पढाइ छोड्न नपरोस् । गरिबले पढ्नै नपाउने हुन्छ र ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *