कविताः के के सिऊँ ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
वीरेन्द्रबहादुर चन्द

मोजामा प्वाल परेको पनि धेरै दिन भयो
यसलाई सिलाउँछु भन्दाभन्दै यो हप्ता पनि गयो
कुनै कार्यालय होस् या आफन्तको घर
जुत्ता खोलेर भित्र जानै सक्दिनँ
ढोकाबाट हेर्छु र यो जाबो एउटा प्वाल त हो
यसलाई मैले टाल्नै पर्छ भनेर फर्किन्छु

अस्ति भर्खर तौल नाप्ने ठाउँमा
जुत्ता खोल्नु पर्ने थियो
मोजाको प्वालको डरले तौल नै ननापी फर्किएँ

मोजा सिउने कुरा सोच्दै थिएँ
त्यही बेला पञ्जामा पनि एउटा प्वाल देखेँ
बिस्तरामा बिछ्याइएको तन्ना पनि फाटेकै देखेँ
श्रीमतीको चप्पल फाटेको त महिनौँ भइसक्यो
फेरि याद आयो
छोरीको कमीजमा बटन पनि सिउनु छ
बुवा भन्दै हुनुहुन्थ्यो उहाँको चस्माको फ्रेम बनाउनु छ
त्यस्तै आमाले बोक्ने रुमाल अनि
हजुरआमाको त्यो पुरानो घाग्रो
अहो, सबै सबै सिलाउनै पर्ने छ !

फेरि सोच्दै गएँ
बुवाको खुट्टामा बल्झिएको घाउ
आमाको सधैं दुखिरहने कम्मर
हजुरआमाको कहिल्यै सञ्चो नहुने टाउको
श्रीमतीको अपरेसन गरेको घाउ
अनि छोरीलाई किन्न नसकेको साइकल
बनाउनु छ, सिलाउनु छ र मर्मत गर्नु छ

बेला बेला सम्झन्छु
गरीवी छल्न विदेसिएको भाइ
माइतीलाई कति दुःख पोख्ने ? भन्ने बहिनी
अनि विदेशमै आत्महत्या गर्ने त्यो साथी
शायद उनीहरुले पनि धेरै कुरा सिउन बाँकी छ

सिउने र टाल्ने कुरा अरुणा पनि गर्थिन्
मीठो भाका हालेर
हजुरबुवाले पनि के–के के–के सिलाएको देखिरहन्थेँ
जीवन भनेकै सिउनु पर्ने र टाल्नु पर्ने रहेछ
तर आज मलाई यो सिउने कुराले
साह्रै हतास बनाएको छ
आमाबुवाको विश्वास र श्रीमतीको हौसला
भाइलाई सहयोग गर्ने काँध
र बहिनीलाई समर्थन गर्ने हात
आफ्नै मस्तिष्क अनि मन
सबै सबैमा प्वाल मात्र देख्छु
च्यात्तिएर झुत्रो भइसके जस्तो लाग्छ
अनि डराउँदै, लर्खराउँदै
आफैँलाई भन्छु –
के के सिऊँ ? के के टालूँ ?

(मेलौली– ९, रोकटा, बैतडी)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *