विकास पर्खिरहेको पाँचपोखरी

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुरारीराज मिश्र

भ्रमण केवल एक कर्मकाण्डी घुमाइ मात्र होइन; अपितु देश दर्शन, प्राकृतिक, सांस्कृतिक र भौतिक समृद्धिको अनुभव समेत हो । भ्रमणले आत्मिक तथा मानसिक शान्ति प्रदान गर्नुका साथै स्थानीय वातावरण, प्राकृतिक सौन्दर्य, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक महत्त्व, ग्रामीण जीवनको वास्तविकता, स्थानीय जीवनशैलीको अविस्मरणीय अनुभव सँगाल्न पनि मद्दत गर्दछ । भ्रमणलाई जीवनजगत् बुझ्ने उपयुक्त पाठशाला पनि मान्न सकिन्छ ।
तीन हप्ताअघि दोलखास्थित शैलुङको दुईदिने यात्राबाट फर्के लगत्तै पाँचपोखरीको यात्रामा जाने निधो गरेका थियौँ । तर भ्रमणको टुंगो भने पाँच दिन अघिमात्रै लाग्यो । नारायणटार, शिवचोकमा रहेको आमा याङ्ग्री ह्योल्मो यातायातको टिकट काउण्टरबाट सिन्धुपाल्चोकको भोताङ, छिम्तीसम्मको बस टिकट बुक गरेर हामी भ्रमणको तैयारीमा लाग्यौं ।
निर्धारित मिति २०८२ जेठ १४ गतेको बिहान ६ बजे लक्ष्मी पाण्डे, अञ्जना पाण्डे, कल्पना मिश्र र पंक्तिकार टैक्सी लिएर बसपार्क पुग्यौं । गीता विष्ट हामीभन्दा अगाडि नै पुगिसक्नुभएको रहेछ । लगत्तै विमला बस्नेत, श्रीकृष्ण पौडेल, अम्बिका पौडेल र भैरवी पौडेल तथा रमेशप्रसाद लामिछाने, पद्मा लामिछाने, रहिमा लामिछाने र श्रद्धा अर्याल बेग्लाबेग्लै टैक्सीमा आइपुग्नुभयो । केहीबेरमै सरिता पाण्डे चढेको पठाओ पनि मैतीदेवीबाट बसपार्क आइपुग्यो ।
काठमाडौंको भीडभाडबाट बाहिर निस्केर, गाडीमा चढ्दा मनमा एक किसिमको शान्ति र कौतुहलता मिश्रित उत्साह थियो । बसमा उभिएर यात्रा गर्नेहरू पनि निकै थिए । यात्रुका पोकापन्तराले बसको प्यासेज टनाटन देखिन्थ्यो । मौसम सफा भए तापनि बिहानको समय भएकाले केही चिसो नै थियो ।
तोकिएको समयमा साँखु, नाङ्लेभारे, मेलम्ची हुँदै हाम्रो यात्रा अघि बढ्यो । बिहानको समय भएर होला सवारीसाधनको सडकमा खासै चाप थिएन । मेलम्ची पुगेपछि विगतमा बाढीपहिरोले मच्चाएको वितण्डाको अवशेष जताततै देखिए । यो दृश्य देख्दा प्रकृतिका सामु मानिस कति निरीह हुँदो रहेछ भन्ने महसुस भयो । जथाभावी प्राकृतिक दोहन र अव्यवस्थित निर्माण पनि यस विनाशलीलाको कारण थिए भन्ने प्रष्ट देखिन्थ्यो ।
बसबाट बाटोका दुबैतर्फ देखिने हरियाली, पहाड, खुला आकाश लगायतका रमणीय दृश्यले मनलाई आनन्दित पार्न थाल्यो । मेलम्ची कटेर अघि गएपछि बाटो साँघुरो र कच्ची थियो । दुइटा गाडी मुस्किलले पार हुन्थे । कच्ची बाटोमा खड्याङमड्याङ गर्दै गाडी गुड्दै थियो । सम्म परेको खुला एवं खाली भूभागमा बाटो बनाउँदा पनि शुरुमै अलिक चौडा किन नबनाएको होला भन्ने कुरा मनमा आए । एक्सप्रेस बस सेवा भनिए तापनि जताततै रोकेर मानिस चढाइन्थ्यो । ग्रामीण इलाका प्रवेश गरेपछि त झन् प्रत्येक घरघरमा जस्तो मानिस चढाउने र सामान उतार्दै बिहान साँढे एघार बजे बसले हामीलाई छिम्ती पु¥यायो ।
बस चढे लगत्तै सहचालकमार्फत् फोन गरेर छिम्तीको भीमअर्जुन होटेलमा खानाको अर्डर गरेका थियौं । पुगेपछि खानाका लागि धेरैबेर कुर्नु परेन । खाना खाएर एकैछिनको विश्राम र होटेल सञ्चालक भीम तामाङबाट यात्रा अघि बढाउन आवश्यक थप जानकारी बटुलेर दिउँसो एक बजे पाँचपोखरीको पैदलयात्रा शुरु ग¥यौं ।
छिम्तीबाट हिँडे लगत्तै देखिएको झरनाले काठमाडौंमा पानीको अभावले काकाकुलको नियति भोगिरहेका हामीलाई नराम्ररी लोभ्यायो । नजिकैको लामो झोलुङ्गे पुल पार गरी देउरालीतर्फको उकालो चढ्दै गर्दा बाटोका दुबैतर्फ फुलेका लालीगुराँसका बोटहरूले हाम्रो स्वागत गरिरहेको भान भयो । चुत्रो र ऐँसेलुका बोटमा लोभलाग्दो गरी फल लागेका भए तापनि भीरमा रहेका कारण हाम्रा लागि ती आकाशको फलसरी थिए । ढाडमा झोलीतुम्वा बोकेर सूर्यनारायणको रापतापको पर्वाह नगरी लक्ष्य भेट्न अघि बढेको हाम्रो टोली झण्डै अढाई घण्टा उकालो चढेर देउराली पुग्यो ।
यता खासै बस्ती देखिएन । मुस्किलले ५–७ वटा घर थिए । खाना र बासका लागि होमस्टे टाइपका केही होटेल बनेका रहेछन् । बोतलमा पानी भरेर हामी बढ्दै गयौं । एकैछिन अघिसम्म प्रचण्ड गर्मिएको मौसम, आकाशमा कालो बादल मडारिन थालेसँगै शीतल हुँदै थियो । केही अगाडि मात्रै पुगेका के थियौं पानी दर्किन थाल्यो । हिँड्नुको विकल्प थिएन हामीसँग, रेनकोट भिरेर यात्रा जारी राख्यौं । बाटोमा थोरै यात्रु, भारी बोकेका मान्छे, केही चौरी र खच्चर देखिन्थे ।
पानी अलि मत्थर हुँदा दुखाङचौर भन्ने ठाउँमा चियापानको लागि रोकियौं । माइली तामाङ बहिनीले बनाएको मसालेदार कालो चियाले शरीरमा स्फुर्ति बढाएको महसुस भयो । बाटोमा विविध वनस्पति र जडीबुटीयुक्त हरियाली नियाल्दै टुप्पीडाँडा पुग्दा भने पानी रोकिइसकेको थियो । अगाडिको बाटो केही छोट्याउने सल्लाह बमोजिम टुप्पीडाँडाबाट हिँडेका हामी साँझ ६ः३० मा आधा घण्टा दूरी अगाडि २ हजार ८ सय ७८ मिटर उचाइमा रहेको ताँगु खर्क पुग्यौं । साँझ पर्ने तरखरमा रहेकाले त्यहीँको यारु होटेलमा राति बास बस्ने निधो भयो ।
खर्क खुल्ला ठाउँमा थियो । अचम्म लाग्यो, राजधानीसँग जोडिएको जिल्ला भएर पनि यहाँ बिजुली बत्तीको सुविधा रहेनछ ! टुप्पीडाँडासम्म जेनतेन लागेको मोबाइल नेटवर्क पनि यहाँ आएपछि चकमन्न भयो । खानाको समयमा जेनेरेटरबाट २ घण्टा बत्ती बालिने रहेछ, त्यही बेला मोबाइल चार्ज गरियो । नत्र फोटो खिच्न पनि नपाइने अवस्था ! देशमा यति विकास ग¥यौं, उति विकास ग¥यौं भनेर खोक्ने नेताहरूको विकासे धोती खुस्केको यहाँ प्रत्यक्ष देखियो ।
पर्यटन प्रवद्र्धनको माध्यमबाट देशको कायापलट गर्नुपर्ने बेलामा बिजुलीजस्तो आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने राज्यसंयन्त्र देखेर दिक्क लाग्यो । स्थानीयको भनाइ अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जको अवरोधका कारण यस क्षेत्रमा बिजुली बत्ती आउन नसकेको रहेछ ।
बसाइ भने न्यानो नै थियो । खानलाई मूलबाट पानी ल्याउने र अन्य प्रयोजनमा आकाशे पानी संकलन गरिने भएकाले पानी र शौचालयको थोरै असुविधा भोगियो । “चिसो लाग्ला है तातोपानी खानुस्” भन्ने होटेल सञ्चालकको स्नेहपूर्ण वाक्यले भने आफ्नोपनको अनुभूति गराउँथ्यो ।
रातभरि परेको मुसलधारे पानी बिहानीपख रोकिएपछि मौसम खुलेको थियो । बाहिर निस्केर हेर्दा आँखैमा हिमाल ठोक्कियो । वरिपरिका अनुपम प्राकृतिक सौन्दर्य, जुगल हिमशृंखला, आमायाङ्ग्री, दोर्जे लाक्पा र गन्छेपो हिमाल तथा तलतिर डाँडाहरूको हरियाली मनोरम दृश्यले मनमा नसोचेको खुशी दिलायो ।
गन्तव्य टाढै भएकाले कालोचिया र सातु खाएर बिहान ६ बजे त्यहाँबाट प्रस्थान ग¥यौं । घना जङ्गलबीचको साँघुरो भिरालो बाटोमा पाइलैपिच्छे भेटिने जुकाको आक्रमण झेल्दै झोलुङ्गेपुल तरेर रातामाटे पुग्यौं । घामको पहुँच नपुगेकाले बाटोमा केही चिसो अनुभव भयो । करीब ११ बजे नोस्याम पाटीमा खानाको लागि रोकियौं । यहाँ अर्डर गरेपछि मात्रै खाना पकाइने रहेछ । खानाको प्रतिक्षामा रहँदा थकान भने केही कम भयो ।
खाना खाएर १ बजे पाँचपोखरीतर्फ लाग्यौं । अगाडिको बाटो झन् अनकण्टार थियो । नाङ्गा ढुङ्गे डाँडा, पहरा काटेर बनाइएको साँघुरो उकालोओरालो, तलतिर हेर्दा आङै सिरिङ्ग हुने जोखिमयुक्त बाटोमा हाम्रा पाइला बढ्दै गए । कतै पसल थिएन । मूलको पानी पनि नपाइने अत्यासलाग्दो अवस्था थियो । बाटोमा भेटिने पाँचपोखरीबाट फर्केका यात्रुहरूसँग बाटोको जानकारी लिँदै अगाडि लागेका हामीलाई मौसमले भने गजबको साथ दिएको थियो । अन्ततः लौरीविनाको उकालो भनिने १ सय ६४ वटा नाक ठोक्किने ठाडो सिंढीहरू र अप्ठ्यारा बाटाहरू पार गर्दै साँझ ५ः३० मा पाँचपोखरी पुगियो । पुग्नेबित्तिकै यहाँको पाँचपोखरी होटेलमा कोठा बुक गरेर मन्दिरमुनिबाट निस्केको जल कुण्डमा स्नान गरियो । पानी अत्यधिक चिसो थियो । पाँचपोखरीमा भने नुहाउन नपाइने रहेछ ।
सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँचपोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिक तीर्थस्थल एवम् प्रसिद्ध पर्यटकीय स्थल हो  । समुद्री सतहबाट ४ हजार १ सय मिटरको उचाइमा रहेको यो स्थान प्राकृतिक सम्पदाले भरिपूर्ण छ । वरिपरि ठूलाठूला चट्टाने पहराले घेरिएको र झट्ट हेर्दा गोसाइँकुण्डको झझल्को दिने पाँचपोखरी ताल हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । सूर्य कुण्ड (सबैभन्दा ठूलो), नाग कुण्ड, गणेश कुण्ड, भैरव कुण्ड र सरस्वती कुण्ड नामक पाँचवटा पोखरीलाई नै पाँचपोखरी भनिन्छ । यो इन्द्रावती नदीको उद्गमस्थल पनि हो ।
भक्तजनहरू आ–आफ्नो धार्मिक मान्यता, संस्कृति र विश्वासअनुरुप पूजा तथा स्नानका लागि पाँचपोखरी पुग्ने गर्छन् । यहाँ स्नान र पूजाआजा गर्नाले पापबाट मुक्ति मिल्ने, कामना पूर्ण हुने, सन्तानप्राप्ति हुने र पितृमोक्ष हुने जनविश्वास रहेको छ । यस स्थानलाई वशिष्ठ ऋषिले तपस्या गरेको तपोभूमिको रुपमा पनि चिनिन्छ । वशिष्ठले पाँचपोखरीमा नै ज्ञान र तपोशल हासिल गरेको किंवदन्ती छ ।
अर्को किम्बदन्ती अनुसार, आजभन्दा २ हजार ३ सय २५ वर्षअघि शिकारी बुम्बा रुवा वाइबा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुगेछन् । यस्तो हिउँ पर्ने ठाउँमा धान खेती भइरहेको देखेर अचम्म मानी हेर्न जाँदा धान खेती गर्ने सबै अलप भएछन् । यस्तो दृश्य देखेपछि उनलाई यो पक्कै पनि भगवान् महादेवको लीला हुनुपर्छ भन्ने लागेछ, र आफ्नो शिकारी कुकुरलाई लगाएको घण्टी फुकालेर रोपाई गर्दागर्दै अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्किएछन् । यसै कारण मन्दिर क्षेत्रमा धानको बाला खोज्ने चलन हालसम्म पनि चलिआएको छ । दशहरा र जनैपूर्णिमा विशेष मेला लाग्ने पाँचपोखरीमा एक जोडी हाँस रहेको, र त्यो हाँसलाई भाग्यमानीले मात्र देख्न सक्छन् भन्ने मान्यता पनि रहेछ । हामीले चाहिँ हाँस देखेनौँ !
पाँचपोखरीमा करीब १३ जनाको होटेल रहेछ, तर एकजनाको होटेलमा ५० जना पुगेपछि मात्रै अर्को होटेलवालाको पालो आउने भएकाले होटेल छानेर बस्न पाइएन । ६ सय जना यात्रु पुगेपछि फेरि पहिलेको होटेलको पालो आउने पाँचपोखरी होटेलका अर्जुन तामाङले बताए ।
हामी १४ जनाको रात्रि बसाइ एउटा हलमा सामूहिक रूपमा भयो । सबै गरी त्यसदिन लगभग ६०–६५ यात्रु त्यहाँ बास बसेका थिए । यात्रुको भीडभाड र शौचालयको सीमितताले भोलिपल्ट बिहान मुस्किलले नित्यकर्म सम्पन्न गरियो । लगत्तै नजिकैको भ्यूटावरबाट पाँचपोखरी, हिमश्रृङ्खला लगायत वरिपरिबाट देखिने दृश्यावलोकन र तस्बीर खिच्ने काम भयो । मन्दिर दर्शन र चियापान पछि पाँचपोखरीका पाँचै सरस्वती कुण्डको ३० मिनेट लगाएर परिक्रमा गरियो ।
बिहान ७ः३० बजे पाँचपोखरीबाट प्रस्थान गरेका हामीले ११ बजे नोस्याम पाटी पुगेर खाना अर्डर ग¥यौं । दिउँसो रातामाटेमा पुगेर चियापान भयो । फाट्टफुट्ट पानी छिट्याए पनि दिनभर ठूलो पानी परेन । जाँदा झण्डै १२ घण्टा लागेको बाटो फर्कंदा ९ घण्टामा काटियो । दिउँसो ४ः३० मा ताँगु खर्क आइपुग्दा थकाइले लखतरान बनाएको थियो । मेरो र भैरवी भाउजूको गोडाको नसा सड्किएर दुखाइ बढेका कारण पहिलेकै यारु होटेलका बास बस्ने तय भयो ।
यहाँ बसेको एउटा फाइदा भयो । यातायात व्यवसायीहरूले सोमबारबाट अनिश्चितकालीन बन्दको कार्यक्रम राखेकाले हामीलाई आइतबारसम्म काठमाडौं फर्किसक्नुपर्ने दबाव थियो । हाम्रो कुरा सुनेपछि होटेल साहु यारु तामाङ भाइले टिकटका लागि पहल गर्ने आश्वासन दिए । अन्ततः उनैको सम्पर्कबाट शनिबार दिउँसो १ बजेको काठमाडौं जाने बसमा टिकट बुकिङ भयो ।
हामी बसेको होटेलमा साँझपख अर्को ३५ जनाको ग्रुपको आगमन भयो । रातभरि उनीहरूको हल्लाखल्लाले सबैको निद्रा खलबलियो । यात्रीहरूमा यात्रु अनुशासनको अभाव, आफ्नो कारणले अरूलाई असुविधा नहोस् भन्ने सोचाइको कमी भएपछि कसको के लाग्छ र ? उनीहरू मदिरापानमा लठ्ठ देखेपछि हामीले पनि अनावश्यक विवाद लम्ब्याउन चाहेनौं । मान्छेहरूमा भ्रमण संस्कृति र अनुशासनको पालना नगर्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय हो ।
आज पनि रातभर पानी परिरह्यो । बिहान पानी रोकिएपछि चियापान गरेर होटेलबाट बिदा लियौं । यारु भाइले चियाको पैसा लिन मानेनन् । हामी यारु भाइलाई धन्यवाद दिँदै ६ बजे छिम्तीतर्फ हिड्यौं । मौसम खुलेको भएता पनि रातिको पानीले बाटो केही चिप्लो थियो । ३ घण्टाको हिंडाइपछि देउराली पुग्दा खुट्टाको दुखाइ बढेकाले भैरवी भाउजू र म, देउरालीको पाँचपोखरी डोमा शेर्पा होटेलका दोर्जे तामाङ भाइको मोटरसाइकलमा लिफ्ट लिएर, र अरू हिँडेर क्रमशः छिम्ती पुग्यौं ।
धार्मिक तीर्थाटन र साहसिक पदयात्राका लागि पनि प्रसिद्ध उच्च हिमाली क्षेत्रमा पर्ने पाँचपोखरी यात्रा सोचेजस्तो सहज भने पक्कै छैन; तर यहाँ पुग्दा प्रकृतिका हरेक पक्षको नजिकबाट अनुभव बटुल्न सकिने भएकाले स्वर्गीय आनन्दको अनुभूति हुन्छ । यात्राको क्रममा यहाँ बिजुली, फोन, स्वास्थ्य केन्द्र र प्रहरी चौकीको अभाव खट्कियो । काठमाडौंबाट खासै टाढा नरहेको यो क्षेत्रको समुचित प्रचारप्रसार र सम्बन्धित निकायबाट यात्रा प्याकेज समेतको व्यवस्था हुन सके आन्तरिक पर्यटनबाट नै यस क्षेत्रको कायापलट हुन सक्ने सम्भावना भने टड्कारो देखिन्छ । (साभार ः साहित्यपोष्ट डटकम)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *