सञ्जीव पौडेल
जुलाईको महिना अस्ट्रेलियाको जाडो याम, तर मनभित्र भने नेपाली गर्मी चुलिएको थियो । तिथि असार २९, आइतबार अर्थात् १३ जुलाई २०२५ मा ब्रिसबेनको रमणीय हेमिल्टन टाउन हलमा भएको उपस्थिति रमणीय रह्यो । त्यो दिन त्यो हल नेपाली भाषा, साहित्य र संस्कृतिको मन्दिर बनिरहेको थियो । हरेक अनुहारमा उत्साह थियो । हरेक नजरमा गर्व थियो । ‘हामी नेपाली हौं, हाम्रो भाषा छ, हाम्रो संस्कार छ, र हाम्रा भानु छन्’ भन्ने भावना जागृत भएको थियो ।
विदेशको भूमिमा जब आफ्नो भाषा र संस्कृतिको सुवास आउँछ, त्यो क्षण मनमा छुट्टै आनन्द पैदा हुन्छ । त्यो दिन त्यही अनुभूति भयो । ब्रिसबेनको शहर नेपालबाट हजारौं किलोमिटर टाढा भए पनि नेपाली मनहरू नजिकिए, नेपाली शब्दहरू गुञ्जिए र नेपाली संस्कृतिका रङहरू फैलिए ।
सन्दर्भ थियो २१२औं भानु जयन्ती ! यो दिनमा मनाउने कुरा मैले नेपाली पाठशालामार्फत एक हप्ता अगाडिदेखि नै थाहा पाएको थिएँ । त्यो दिन नातिलाई लिएर भानु जयन्ती मनाउन ब्रिसबेनको हेमिल्टन टाउन हलमा कार्यक्रममा जानुपर्ने थियो । मेरो नातिले पनि नृत्यमा भाग लिँदै थियो । ब्रिसवेनको नेपाली पाठशालाले सानासाना बाबु–नानीहरूलाई नेपाली भाषा र संस्कृति सिकाउँदै आएको छ । यस प्रकारका कार्यक्रममा पाठशालाले नेपाली संस्कृति झल्कने नाचहरू प्रस्तुत गर्दै पनि आएको छ । त्यो दिन पनि धेरै समूहलाई नेपाली संस्कृति र भेषभुषामा नाच तयार गरेर लगेको थियो ।
अस्ट्रेलियामा आइतबारको दिन प्रायः धेरै कामदारहरूको बिदा हुने दिन हो । त्यो दिन मेरो छोराको पनि बिदा थियो । हामी तोकिएको समयमा दिनको २ बजे ठ्याक्कै तोकिएकै समयमा तोकिएकै ठाउँमा पुग्यौं ।
कार्यक्रम स्थल पुग्न नपाउँदै टाढैदेखि ढाकाटोपी, दौरासुरुवालमा र सारीमा सजिएका नेपाली दाजुभाइ दिदीबहिनीहरूको चहलपहल देखिन्थ्यो । कोही बच्चाको हात समाउँदै थिए । कोही बुबा–आमालाई यताबाट हो’ भन्दै सङ्केत गर्दै थिए । हामी पनि छिर्यौं त्यो उत्सवको प्रवाहमा । आहा ! त्यहाँ त्यो दिन जानीनजानी अङ्ग्रेजी बोल्नु पर्दैनथ्यो । मज्जाले ‘बुबा’, ‘दाजु’, ‘भाइ’, ‘बाबु’, ‘नानी’ भनेर बोल्न पाइने थियो । हामी पुगेको केही क्षणमै कार्यक्रम शुरू भयो ।
नेपालमा त कार्यक्रम शुरू गर्दा अतिथिको लर्को हलमा दर्शकभन्दा अतिथिको लाम ठूलो हुने गर्छ । पहिला तोकिएको कुर्सीले नपुगेर तलबाट कुर्सी लग्दै अतिथि बोलाउने चलन । ‘को छुट्यो, फेरि विवाद होला’ भन्ने डर । तर, यहाँ यस्तो छैन । मञ्चमा कोही अतिथि थिएनन् । सबै हलमा अनुशासित भएर बसेका थिए । कार्यक्रम सञ्चालिका मात्रै अगाडि नाम बोलाउने र कवि तथा चर्चाकारहरू अगाडि राखिएको पोडियममा गएर आफ्ना कविता र चर्चा राख्ने गरेका थिए ।
कार्यक्रमको शुरूवातमा उपस्थित सबैले भानुभक्तको तस्वीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । गजबको कुरा त कार्यक्रमको शुरूवातमा भानुभक्तका सन्तति विनोदभक्त आचार्यद्वारा बालकाण्ड रामायणका श्लोकहरूको वाचन गर्दा हल एकाएक आध्यात्मिक शान्तिमा डुबेको जस्तो लाग्यो । भाषा, संस्कृति र आफ्नोपन जोगाउन कुनै देशको सीमाले छेक्दैन भन्ने उदाहरण अस्ट्रेलियाको ब्रिसबेनमा देखियो ।
टीकाराम शर्माको श्वरमा प्रस्तुत भानु श्रद्धाञ्जली गीतले कार्यक्रमको भावनात्मक उचाइ अझै बढायो । उनी गाइरहँदा हल मौन थियो– शब्द सुनिन्थे, तर त्यसभित्रको आत्मा सबैको आँखामा देखिन्थ्यो । लाग्यो, आज अङ्ग्रेजी भाषा सुतिरहेको छ; नेपाली शब्दहरू उत्सव मनाइरहेका छन् । रचना वाचनको क्रममा स्थानीय कविहरू इशा शर्मा कोइराला, राजन कोइराला, नारायण सुवेदी, हरिराज अधिकारी, केदार चापागाईं, विशेष पोखरेल, केशव शर्मा, मदन चापागाईं, राजन अधिकारी, गिरिराज खनाल तथा गोविन्द बरालले आफ्ना रचनाहरू वाचन गरेका थिए । लाग्यो, नेपाली साहित्य त बाहिर पो धेरै रहेछ भन्ने अनुभूति भयो । कार्यक्रममा कविता वाचन गर्ने क्रममा वाचकले यो कविताबाट आफ्नो प्रस्तुती शुरू गर्दा हल गुन्जायमान भएको थियो ।
“भरजन्म घाँसतिर मन दिइ धन कमायो
नाम केहि रहोस पछि भनेर कुवा खनायो ।
घांसि दरिद्री घरको तर बुद्धि कस्तो ,
मो भानुभक्त धनि भईकनकिन यस्तो । ”
केही समयका लागि चितवनको कुनै स्कूलको वार्षिकोत्सवमा पुगेजस्तो भएँ । नेपाली झण्डा बोकेर गाएको गीतले हलभित्र रहेका सबैलाई भावुक बनायो । नाच्ने बालक–बालिकाको तालमा नेपाल नाचिरहेको अनुभूति भयो । कविता र चर्चा सकिएपछि नेपाली पाठशालाका बालबालिकाको सहभागितामा नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कति राम्रा नाचहरू पूरै ठेट नेपाली संस्कारमा ! नेपाली परम्परा अनुसारका भेषभूषामा बालबालिकाहरू सजिएका थिए ।
त्यहाँ रहेका नाति पुस्ताहरू पनि दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएका थिए । नानीहरू गुन्यु–चोलीमा सजिएका थिए । लाग्यो म नेपालमै छु । नेपाली भाषामा बोल्न पाइयोः ‘ए दाजु, बुबा, छोराछोरी कता हो घर ? नेपालबाट कहिले आउनुभएको ?’ जस्ता कुरा गर्न पनि पाइयो । नेपालबाट गएका हजुरबुबा–हजुरआमा, अस्ट्रेलियामा बसोबास गरेका छोराछोरी र नातिनातिनी गरी तीन पुस्ताकै सहभागिता रहेको थियो ।
भानुभक्त नेपाली साहित्यमा “आदिकवि” उपाधिले सजिएका स्रष्टा हुन् । संस्कृत भाषामा मात्र उपलब्ध रामायणलाई नेपाली भाषामा अनूदित गरेर उनले धार्मिक काव्यलाई सर्वसाधारणको घर–घरमा पु¥याए । उनले भाषा केवल बुद्धिजीवीको सौखिन माध्यम होइन, जनताको सम्पर्क भाषा बन्न सक्छ भन्ने स्थापित गरे । उनको रामायण केवल धार्मिक ग्रन्थ होइन, त्यो भाषिक स्वतन्त्रताको उद्घोष थियो । २१२ औं वर्ष भइरहँदा पनि हामीले आदिकवि भानुभक्त आचार्यलाई सम्झदैछौँ । यिनलाई सम्झिरहँदा उनलाई चिनाउने मोतिराम भट्टलाई पनि श्रद्धासाथ सम्झनु पर्दछ ।
भानुभक्तको मृत्युपछि करीब तीन दशक बितिसकेको थियो । समयका धुलोले उनको काव्यलाई ओझेलमा पार्दै थियो । त्यो ओझेल हटाउन मोतिराम भट्टले काव्यप्रेमको ज्योति जलाए । नेपाली जनमानसमा भानुभक्तलाई पुनः जीवन्त बनाइदिए । उनले नै पहिलो पटक भानुभक्तलाई “आदिकवि” उपाधि दिएका थिए । उनले आफ्नो सिर्जनालाई भन्दा अरूको उज्यालोलाई प्राथमिकता दिए । यस्तो विरलै मात्रले ‘अर्कालाई चिनाएर आफैँ चिनिनु’ को गौरव प्राप्त गर्न सक्छ । साहित्यमा यस्तो परम्परा दुर्लभ भए पनि, निरन्तर चलिरहेकै छ । बालकृष्ण समले लेखनाथ पौड्याललाई स्थापित गरे ।
कार्यक्रमको अन्त्यमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरियो । त्यो कागज मात्र थिएन, त्यो संलग्नताको प्रतीक थियो । नेपालसँग, भाषासँग, पहिचानसँग । पाँच वर्ष पुग्दै गरेको मेरो नातिले जीवनमा पहिलो पटक पाएको प्रमाणपत्र घरमा लगेर उसको सबैभन्दा मनपर्ने सामान भएको थियो । साह्रै खुशी भएको थियो । जीवनको पहिलो सफलता मानेको थियो । घरमा गएपछि उसले त्यो प्रमाणपत्रलाई पटकपटक हेरेर त्यहाँ लेखिएका शब्दहरू समेत सोधिरहेको थियो । उसले त्यो दिन ‘लेकका हामी केटाकेटी’ भन्ने सामूहिक नाचमा भाग लिएको थियो ।
कार्यक्रम सकिएको थियो तर भित्रभित्रै केही बाँकी थियो । एउटा मीठो सम्झना, एउटा आन्तरिक उत्सव । ‘हामी विदेशमा छौँ, तर नेपाल सधैँ हामीसँगै छ’ भन्ने अनुभूति भयो । हाम्रो भाषा, हाम्रो संस्कृति केवल पुस्तकमा होइन, हाम्रो सासमा पनि बाँचिरहेको छ ।
कार्यक्रमको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्यान्ड च्याप्टरको आयोजना र नेपलिज एसोसिएसन अफ क्विन्सल्यान्ड(NAQ), गैर आवासीय नेपाली सङ्घ (NRNA) अस्ट्रेलिया, क्विन्सल्यान्ड राज्य समिति, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान (NKSSP) अस्ट्रेलिया एवम् क्विन्सल्यान्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) को संयुक्त सहभागितामा भएको थियो ।
कार्यक्रमको संयोजन अनेसास क्विन्सल्यान्ड च्याप्टरकी सचिव ईशा शर्मा कोइरालाले अत्यन्त व्यवस्थित रूपमा गरेकी थिइन् । मनुजा कँडेलको मधुर आवाज र कुशल सञ्चालनले कार्यक्रम सन्तुलित लाग्यो । कार्यक्रम संचालन गर्दा कुनै हतारो थिएन । कुनै असजिलो मानेकी थिइनन् । प्रस्तुति आत्मीयता थियो, जुन नेपालका कुनै सांस्कृतिक चोकमा अनुभूत हुन्छ ।
कार्यक्रम सकेर घर फर्कंदा मनमा एउटा कुरा गडेर बस्योः ‘हामी जहाँ भए पनि भाषा र संस्कृतिको नाता कहिल्यै छुट्दैन’ । भानुभक्तले शुरू गरेको भाषाको यात्रा अहिले ब्रिसबेनसम्म आइपुगेको छ । त्यो यात्रा हामीले अझै अगाडि बढाउनु पर्छ किनकि भाषा हाम्रो पहिचान हो, संस्कृति हाम्रो आत्मा । २१२ औं भानुजयन्तीको सन्देश यही हो – “भाषा बचाऔं, स्रष्टालाई चिनौं, अनि आफैं चिनिन तयार बनौं ।”
