–क्षितिज विक्रम खनाल
नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैं अग्रपंक्तिमा रह्यो । राणा शासनविरुद्धको विद्रोह होस् वा २०४६ सालको जनआन्दोलन, २०६२÷६३ सालको जनआन्दोलन होस् वा गणतन्त्रको स्थापना, हरेक मोडमा युवाहरूले आफ्ना सपना, ऊर्जा र बलिदान दिएका छन् । विडम्बना के छ भने, आन्दोलनको नेतृत्वमा प्रायः पुराना नेताहरू नै कायम रहिरहेका छन् । युवाले क्रान्ति जिते तर निर्णय प्रक्रियामा पुरानै पुस्ता बसिरहे । यसरी नयाँ पुस्ता आन्दोलनमा प्रयोग हुने तर नेतृत्वमा पहुँच नपाउने चक्र निरन्तर दोहोरिँदै आएको छ ।
यो क्रमले युवाको ऊर्जा र योगदानले देशमा परिवर्तन त ल्याउँछ, तर त्यसको लाभ पुरानै पुस्ताले भोग्छ । नेतृत्वमा पुस्तान्तरण हुन नसक्दा नयाँ विचार र दृष्टिकोण संस्थागत हुन पाउँदैनन्, जसले गर्दा राजनीति स्थायित्वभन्दा बढी असन्तुलनतर्फ धकेलिन्छ । यही कारणले आजको पुस्तामा निराशा, असन्तोष र राजनीतिप्रति अविश्वास बढिरहेको छ । यस अवस्थामा राजनीतिक चेतना र युवा सहभागिताको महत्त्व अझ बढेको छ ।
नेपालको राजनीति सधैं एउटा घुम्तीमा अड्किएको जस्तो देखिएको छ, कि सधैँ गाडी चलाउने स्टेयरिङ पुरानाकै हातमा छ । युवाको आवाज नारामा गुञ्जिए पनि निर्णयको टेबलमा मौन भैरहेको छ । प्लेटोले भने झैं, “राजनीतिमा भाग नलिने बुद्धिजीवीहरूलाई अन्ततः मूर्खहरूले शासन गर्छन् ।” युवाको ऊर्जा केवल भीड सजाउने साधनको रूपमा प्रयोग गरेर, उनीहरूको विचार र चाहनालाई उपेक्षा गर्ने प्रवृत्तिले राजनीतिलाई जनताबाट टाढा मात्र बनाउँदै गएको छैन, भविष्यलाई समेत अँध्यारो बनाउँदैछ । जबसम्म यो संस्कृतिमा सुधार हुँदैन, तबसम्म हामीले देखेको नयाँ नेपालको सपना केवल कल्पनामा सीमित रहने छ ।
भ्रष्टाचार र कमिसन संस्कृतिले राजनीतिको स्वरूपलाई सत्ता–केन्द्रित र जनता–विरोधी बनाएको छ । सरकार बनाउने र भत्काउने खेलमा रमाउने नेताहरूलाई अरिस्टोटलले भनेका शब्द सम्झन अनुरोध छ “राजनीति भनेको सत्ता होइन, सार्वजनिक हितको व्यवस्थापन हो ।” नेपालमा व्यक्तिगत लाभ र समूहगत स्वार्थ नै केन्द्रमा रह्यो । ठेक्का–कमिसन, सिफारिस र पहुँचको राजनीति, अवसरवाद र अनियमितताले सुशासन र न्याय जस्ता मूल्यहरू किनारा लागेका छन् । यस्तो अवस्थामा युवाहरूमा राजनीतिप्रति निराशा बढ्नु स्वाभाविक हो । यही कारणले देशमा भविष्य छैन भन्ने धारणा बोकेर, ठूलो संख्यामा युवाहरू विदेश पलायन भैरहेका छन् ।
दर्शनशास्त्रीहरूले भनेझैं, “मानिस राजनीतिक प्राणी (शययल उयष्तिष्पयल) हो,” त्यसैले युवाले राजनीतिबाट भागेर होइन, सुधारका लागि भित्रैबाट हस्तक्षेप गरेर मात्र यो स्खलनलाई अन्त्य गर्न सक्छन् भन्नेकुरा बुझेर आत्मसात गर्न आवस्यक छ । यतिमात्रै निराशाको कथा होइन । नयाँ पुस्ता नै परिवर्तनको आशा हो भन्ने विश्वासलाई व्यवहारमा उतार्न, युवाले आफ्नै दृष्टिकोण र चाहनाअनुसार सक्रिय हुनुपर्छ । उनीहरू केवल आलोचक वा दर्शक भएर बस्ने होइन, सचेत र सूचित मतदाता भएर चुनावी संस्कृतिलाई बदल्नुपर्ने आवश्यकता छ । अहिले पनि धेरैजसो मत पार्टीको निष्ठा, जातीय भावना वा क्षणिक लोकप्रियतामा आधारित देखिएको छ । यदि युवाले उम्मेदवारको कार्यशैली, अघिल्लो कामको परिणाम र भविष्यप्रतिको योजनालाई आधार बनाएर मत दिन थाले भने राजनीतिक नेतृत्व छनोट गर्ने तरिका नै रूपान्तरण हुनेछ ।
सामाजिक सञ्जाल र डिजिटल प्रविधि आजका युवाका बलिया उपकरण हुन् । सूचना छिटो फैलिन्छ, तर गलत प्रचार र भ्रामक समाचार पनि त्यत्तिकै सजिलै फैलिन्छ । युवाले यसलाई चिर्ने, तथ्यमा आधारित बहस गर्ने र अरूलाई सचेत बनाउने जिम्मेवारी लिनुपर्छ । केवल आलोचना होइन, पारदर्शिता र तथ्यलाई आधार बनाएर युवाहरुले राजनीतिक चेतना फैलाउन सक्छन् ।
आजको पुस्ता शिक्षित, प्रविधिमा निपूर्ण र विश्वसन्दर्भ बुझ्ने स्तरमा पुगेको छ । उनीहरू केवल भाषण होइन, ठोस कार्यान्वयन देख्न चाहन्छन्; वाचा होइन, परिणाममा विश्वास गर्छन् । सचेत मतदाता बन्ने भनेको केवल चुनावमा मत हाल्ने क्षणसम्म सीमित हुने भन्ने होइन, यो त सम्पूर्ण राजनीतिक प्रक्रियामा निरन्तर निगरानी र मूल्याङ्कन गर्ने अभ्यासमा परिणत गर्नुपर्ने हुन्छ । त्यसपछि युवाको सहभागिताले राजनीति केवल पुराना नेताको सम्पत्ति नभएर, नयाँ पुस्ताको भविष्य निर्माण गर्ने साधन बन्न सक्छ ।
दोस्रो मार्ग भनेको दलभित्र प्रवेश गरेर सुधार गर्नु हो । धेरै युवाहरू दललाई आलोचना गर्छन् तर प्रवेश गर्न हिचकिचाउँछन् । वास्तविक सुधार भने बाहिरबाट चिच्याएर होइन, भित्रबाट दबाब सिर्जना गरेर मात्र सम्भव हुन्छ । प्लेटोले भनेझैं, “राजनीतिको उद्देश्य न्यायलाई व्यवहारमा उतार्नु हो ।” फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले ३४ वर्षमै नेतृत्व ग्रहण गरेर आफ्नो दलभित्रै मार्ग प्रशस्त गरे जस्तै युरोप र एशियाका देशहरूले पनि देखाएका छन्, अब नेपालमा पनि युवाहरु दलमा संगठित भै सदस्यता लिएर, स्थानीय तहदेखि सक्रिय भएर नेतृत्वको पुस्तान्तरण गर्न लाग्नुपर्छ ।
युवा केवल उत्साही मात्र भएर पुग्दैन, रणनीति र कार्ययोजनासँगै अघि बढ्नु आवश्यक छ । पार्टीका महाधिवेशनमा खुला प्रतिस्पर्धा, निर्णय प्रक्रियामा पारदर्शिता र उम्मेदवार छनोटमा युवा सहभागिता सुनिश्चित गर्न सकृयता साथ लाग्नु पर्छ । यस सन्दर्भमा महात्मा गान्धीले भनेका थिए “संसारमा देख्न चाहेको परिवर्तन आफैं बन्नुपर्छ ।”
प्रविधि र पारदर्शिता युवा नेतृत्वका बलिया हतियार हुन् । कम्प्युटर, मोबाइल र डिजिटल प्लेटफर्ममार्फत सरकारी खर्च ट्रयाक गर्न, बजेट निगरानी गर्न, नीति कार्यान्वयनमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न सकिन्छ । यसले केवल भ्रष्टाचार उजागर गर्ने होइन, पुराना नेताहरूलाई जवाफदेही पनि बनाउँछ ।
युवाले केवल आलोचना मात्र होइन, व्यावहारिक समाधान प्रस्तुत गर्न सक्नुपर्छ । शिक्षा सुधार, रोजगारी सिर्जना, कृषि र पर्यटनमा स्पष्ट योजना र नयाँ दृष्टिकोण आवश्यक छ । फिनल्याण्ड, सिंगापुर र दक्षिण कोरियाका उदाहरणहरूले देखाउँछन् कि प्रविधि र नवाचारमा जोड दिने नीतिले मात्र दीर्घकालीन सुधार ल्याउँछ । नेपालमा पनि युवा नेतृत्वले कृषि उद्योगलाई आधुनिक प्रविधिसँग जोड्ने, स्टार्टअपमार्फत रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पर्यटनमार्फत स्थानीय विकास सम्भव बनाउँछ ।
युवाको एकता अत्यन्त महत्वपूर्ण छ । जातीय, क्षेत्रीय वा पार्टीगत भेदभावको सट्टा शिक्षा, रोजगारी, सुशासन र वातावरण संरक्षणजस्ता साझा मुद्दामा सबै युवा एकजुट हुनुपर्छ । २०११ को अरब वसन्त आन्दोलनमा मिस्र र टुनिसियामा युवाको साझा एकता र डिजिटल संगठनले पुराना संरचनालाई चुनौती दिएको उदाहरणले पनि यही कुरा प्रमाणित गर्छ ।
चुनौती पनि धेरै छन् । विदेश पलायन, रोजगारी अभाव, भौगोलिक र वैचारिक विभाजनले युवाको सक्रियतामा बाधा पु¥याउँछ । दक्षिण कोरियामा १९८०–९० को दशकमा युवाले सामना गरेका चुनौतीहरू आजको नेपालसँग तुलना गर्न सकिन्छ । नेपालमै सम्भावना रहेको विश्वास र साझा दृष्टिकोणले मात्र मानसिकता परिवर्तन गरेर यी बाधा पार गर्न सकिन्छ ।
नेपालको राजनीति अहिले संकटमा छ । पुरानो पुस्ताले नेतृत्व छाड्न तयार छैन, भ्रष्टाचारले जरा गाडेको छ र जनताको दलहरुप्रति विश्वास हराउँदैछ । परिवर्तन असम्भव छैन । प्रत्येक पुस्ताले आफ्नो समयमा अवसर पाएको जस्तै, आजको अवसर नयाँ पुस्ताको हातमा छ । युवा सचेत मतदाता, आन्तरिक सुधारकर्ता र वैकल्पिक नेतृत्वकर्ता बन्न सके, तिनीहरूले केवल आलोचक मात्र नभै वास्तविक सुधार ल्याउन सक्छन् ।
नेपालमा हरेक आन्दोलनमा युवाहरू अग्रपंक्तिमा थिए र आज पनि उनीहरू अग्रभागमा छन् । प्रश्न यही छ—के उनीहरू केवल सडकमा नाराबाजी गर्ने वा सत्ताको संरचनाभित्र प्रवेश गरेर वास्तविक परिवर्तन ल्याउने ? जर्मनीका उदाहरणमा एन्जेला मर्केलले देखाए झैं, संरचनाभित्र सक्रिय भएर दीर्घकालीन सुधार मात्र सम्भव छ ?
यदि नयाँ पुस्ताले साहस, अनुशासन, दीर्घ दृष्टिकोण र साझा जिम्मेवारी देखाउँछन् भने, नेपालको राजनीति निश्चित रूपमा बदल्न सकिन्छ । युवाले देखाएको ऊर्जा, नवीनता र समर्पणले पुरानो संरचनालाई चुनौती दिन सक्छ र नयाँ नेतृत्वलाई जन्म दिन सक्छ । यसरी, नेपाली युवाले राष्ट्रिय नेतृत्वका साथसाथै अन्तर्राष्ट्रिय सन्दर्भमा पनि प्रभावकारी उदाहरण प्रस्तुत गर्न सक्छ ।
नेतृत्वको यो पुस्तान्तरण केवल आवश्यकता मात्र होइन, जिम्मेवारी पनि हो । हामी सबै अग्रज नेताहरूको योगदानको सम्मान गर्छौं—राणा शासनविरुद्धको संघर्षदेखि गणतन्त्रको स्थापनासम्म, उहाँहरूको अनुभव र बलिदानले नेपाललाई यहाँसम्म ल्याएको हो । अब जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ । यो युवा पुस्ताले इतिहास र वर्तमानबाट सिकेर, साहस, अनुशासन र दीर्घ दृष्टिकोणसहित अघि बढे, निश्चय नै नेपालको राजनीति नयाँ युगमा प्रवेश गर्नेछ ।
