दधि कँडेल
आधुनिक चिकित्साविज्ञान÷प्रविधिको ठूलै उपलब्धि मान्नुपर्छ–
सामाजिक हेलत्वभावले हैरानी सहनुपरेको
मानव–देहको बाँझोपन उर्वर भइसक्यो
जसले सदियौँदेखि पीडाले सुकेर रित्तो भएको मन खुशीले भरिदिएको छ
जसरी हराएको पानीको मूल फुटेर कुवा÷तलाउ भरिन्छ
र, आश्रित जन÷जीवातहरूको खुशी भरिन्छ
उन्नत प्रविधिमा पहुँच नभएको पनि होइन
तर परिदृश्य आफैँ बोल्छ–
कृषक–पलायनसँगै जमिनको बाँझोपन झन् झन् बढ्दैछ
नदीमा आएको बर्खे बाढीले बालुवा, नून र सुन नछुट्याई बगाएझैँ
उराठिएको मन र वितृष्णाको उर्लिएको भेलले
बगाउँदैछ अमूल्य श्रम÷पसिना सिमाना पारिपारि
युद्धमा हातपाखुरा गुमाएको सिपाहीझैँ अपाङ्ग भएको छ गाउँबस्ती
अनि, कसरी आवाद होस् जमिन र हराभरा बनोस् खेतबारी ?
डुङ्गाले यात्रापथको निशाना मेटाउँदै हिँडेझैँ,
क्यानभासका रङ्गीन चित्रहरू घामको रापले उडेझैँ
खण्डहरमा विलुप्त हुँदैछन् रगत पसिनाले सिर्जेका पुख्र्यौली पदचापहरू
हेर्दाहेर्दै इन्द्रेणीको दृश्य अलप भएझैँ,
दृश्यपटलबाट हराउँदैछन् लहलह अन्न झुल्ने खेतबारीहरू
आँठो जोडेर मितेरी गाँसेका छन् वनपाखा, बारी र खरबारीहरू
अधिपत्य जमाएर रमाउँदैछन् बोटबिरुवा र मिचाहा प्रजातिहरू
मानौं, युद्धमा तिनले कब्जा गरेको जमिन हो यो
विडम्बना !
मौलाइरहेका छन् जो वास्तवमा हराउनुपथ्र्यो–
गुहुको मुलाझैं बेस्सरी मौलाएका छन् बेथिति र विसङ्गतिहरू
संक्रामक रोगझैं बढेकोबढ्यै छ राज्य–स्रोत÷सम्पत्तिको दोहन
देशको माटोमा जरा टेकाउन नपाएपछि
संसारभर फैलिएका छन् बेरोजगारी उद्योगका जराहरू
दशकौँदेखि निरन्तर चलिरहेकै छ– भूमिहीन र अव्यवस्थित बसोबासको खेलोफड्को
मौलाइरहेकै छ– माफियातन्त्र र बिचौलिया–धन्धा
बढेको बढ्यै छ– अपराधको श्रृङ्खला
बढिरहेको छ वातावरण प्रदूषणको प्रकोप– गोष्ठी र सेमिनारलाई उछिन्दै
विस्तारित भएको छ जनजनमा– विषादी व्यापार–धन्धा
विषादी छरेर रोगकीरा मात्र मार्न खोजेका हुन् किसानले
शायद भ्रममा छन् तिनीहरू,
बढेकोबढ्यै छ– अस्पातालहरूमा रोगीको संख्या
बढेकोबढ्यै छ– पारिवारिक र सामाजिक दरार
नेपाली श्रम÷पसिना पोखिएर–
उब्जाउशील बनिरहेकै छ खाडीको मरुभूमि
र, उत्पादन फस्टाइरहेकै छ विश्वका धेरै देशहरूमा
आज देशको माटोले
सधैं हिँडिरहने गोरेटो बाटोले
खेतबारी र वनपाखाले सोधिरहेका छन्–
मालचरीको ताँती र ‘काँक्राफर्सी रोप’ भन्ने सन्देश हराएझैँ
कोइली चरीको सुमधुर स्वर हराएझैँ
कता हराएछन् नेपाली पाखुरा र पसिना ?
लाग्छ–
धमिरा लागेको राजनीतिक मियो, लोभीपापी प्रवृत्ति
र परिवेशमा लागेको खग्रास ग्रहणले
छोप्दै गएको छ आशाका किरणहरूलाई
र त रित्तिँदै गएका छन् गाउँबस्ती
कोही हिँडे आशा मारेर, कोही आशा बोकेर
कोही हिँडे भोक मेटाउन त कोही अवसर भेटाउन
जे कारण देखाए नि, ती गए–
मनमा निराशा गाँजेर
गाउँबस्तीलाई अपाङ्ग बनाएर
र, खेतबारीलाई बाँझो पारेर
आशा, आस्था र विश्वासमा परेका ठुल्ठुला भ्वाङहरू नटाल्दासम्म
बेथिति र विसंगतिका पहाडहरू नभत्काउँदासम्म
कुराको खेती गरेर मात्र
न हुन सक्ला बाँझिएको मनको उपचार
न त होला आवाद बाँझिएको खेतबारी ।
(वाफल, काठमाडौं)
