तपाईंले हरेक बिहान र बेलुका आफ्नो दाँत सफा गर्न प्रयोग गर्ने सानो टूथब्रश, वास्तवमा लाखौं सूक्ष्मजीवहरू हुर्किरहेको एउटा मलिलो ठाउँ हो । टूथब्रशमा रहेका सूक्ष्मजीवहरूले तपाईंको मुखको तथा शरीरको समग्र स्वास्थ्यमा विविध घातक असर पार्नसक्छन् ।
हाम्रो टूथब्रश वास्तवमा एउटा यस्तो सानो इकोसिस्टम हो जहाँ हरेक दिन करोडौं सूक्ष्मजीवहरू हुर्किन्छन् र फस्टाउँछन् । ब्रसका रेसाहरु एक सुक्खा जमिनजस्तै हुन्छन्, जुन पानीले भिजेपछि केही समयका लागि पोषक तत्वहरूले भरिएर जीवाणुहरूको लागि उपयुक्त वातावरणमा परिणत हुन्छन् । यी प्लास्टिकका स–साना रेशाहरूको बीचमा लाखौं जीवहरूले बास गरेका हुन्छन् ।
चिन्ताको विषय
अध्ययनहरूका अनुसार हामीले प्रयोग गर्ने टूथब्रशमा लगभग १० लाखदेखि १ करोड २० लाखसम्म ब्याक्टेरिया र फङ्गसहरू हुनसक्छन् । यिनीहरू सयौं विभिन्न प्रजातिका हुन्छन् र टूथब्रशको सतहमा एउटा जैविक पत्र बनाउँछन् ।
जब हामी दिनमा दुई पटक ब्रश गर्छौं, तब पानी, ¥याल, छालाका कोशिकाहरू र खानाका साना कणहरू ब्रसका रेशाहरूमा पुग्छन् । यही मिश्रणले यी जीवाणुहरूलाई बढ्नको लागि अवसर दिन्छ । कहिलेकाहीँ त नजिकैको शौचालयको फ्लश वा झ्यालबाट हावामा उडेर आउने सूक्ष्मजीवहरू पनि यसमा मिसिन्छन् । त्यसपछि, दिनमा दुई पटक हामी यही मिश्रणलाई मुखमा हालेर राम्ररी घुमाउँछौं ।
सूक्ष्मजीवहरू कहाँबाट आउँछन् ?
जर्मनीको राइन–वेल युनिभर्सिटी अफ एप्लाइड साइन्सेजका माइक्रोबायोलोजिस्ट मार्क–केभिन जिनले टूथब्रशमा पाइने सूक्ष्मजीवका बारेमा अनुसन्धान गरेका छन् । उनी भन्छन् – टूथब्रशमा पाइने सूक्ष्मजीवहरू मुख्यतया हाम्रो मुख, हाम्रो छाला र टूथब्रश राखिएको ठाउँ गरी तीन ठाउँबाट आउँछन् ।
अनौठो कुरा त के भने टूथब्रश प्रयोग गर्नुअघि नै त्यसमा ठूलो संख्यामा सूक्ष्मजीवहरू हुनसक्छन् । ब्राजिलमा गरिएको एक अध्ययनमा विभिन्न कम्पनीका ४० वटा नयाँ टूथब्रशको जाँच गर्दा आधा टूथब्रशहरू पहिले नै विभिन्न प्रकारका ब्याक्टेरियाले संक्रमित पाइएका थिए ।
धेरैजसो ब्याक्टेरिया हानीरहित
अनुसन्धानबाट के पुष्टि भएको छ भने टूथब्रसमा पाइने जिवाणुम्धये अधिकांश हानिकारक हुँदैनन् । तिनीहरूमध्ये धेरैजसो त हाम्रो आफ्नै मुखबाट आउँछन्। हरेक पटक ब्रस गर्दा, ब्रसका रेशाहरूले मुखमा सामान्य रूपमा पाइने रोथिया डेन्टोकारिओसा, स्ट्रेप्टोकोकस माइटिस र एक्टिनोमायसीज समूहका ब्याक्टेरियाहरूलाई सङ्कलन गर्छन् ।
यी सबै सामान्यतया हाम्रो मुखमा पाइन्छन् र कुनै हानि पु¥याउँदैनन् । बरु, केहीले त दाँतलाई सड्नबाट बचाउन पनि मद्दत गर्छन्। यद्यपि, यिनीहरूकै बीचमा हाम्रो लागि हानिकारक जीवहरू पनि लुकेका हुन्छन् ।
खतरनाक ब्याक्टेरियाहरू
ब्राजिलको साओ पाउलो विश्वविद्यालयका दन्तविज्ञानका प्राध्यापक विनिसियस पेद्राजीका अनुसार टूथब्रसमा पाइनेमध्ये सबैभन्दा खतरनाक ब्याक्टेरिया स्ट्रेप्टोकोकी र स्ट्याफिलोकोकी हुन्छन्, जसले गर्दा दाँत सड्ने अर्थात क्याभिटी हुने समस्या निम्तिन्छ । साथै केही अन्य ब्याक्टेरियाले गिजा सुन्निने अर्थात पेरियोडेन्टल रोग पैदा गर्छन् ।
शोधकर्ताहरूले टूथब्रशमा सामान्यतया नपाइने खालका ब्याक्टेरिया र फङ्गसहरू पनि फेला पारेका छन् । जसमा एस्चेरिशिया कोलाई, स्यूडोमोनास ऐरूजिनोसा र एन्टरोब्याक्टेरिया रहेका छन् । जुन पेटको संक्रमण र फूड पोइजनिङसँग जोडिएका हुन्छन् । त्यसैगरी क्लेब्सीएला न्यूमोनिए ब्याक्टेरिया पनि टूथब्रशमा फेला परेको छ जुन अस्पतालमा संक्रमणको आम कारणको रुपमा रहेको हुन्छ । त्यस्तै केन्डि नाम ढुसी पनि फेला परेको छ । जसले मुखमा समस्या पैदा गर्दछ ।
यी सूक्ष्मजीवहरू हामीले ब्रस पखाल्ने पानीबाट, हाम्रो हातबाट वा ब्रस राखिएको बाथरुमको वातावरणबाटै आउन सक्छन् ।
बाथरूमको ओसिलोपना र ट्वाइलेट फ्लस
बाथरूम तातो र ओसिलो ठाउँ हो, जहाँ हावामा पानीका स–साना थोपाहरू अर्थात एरेसोल बन्ने क्रम चलिरहन्छ । यही कारणले बाथरूममा राखिएका टूथब्रशहरू छिटो संक्रमित हुन्छन् । ट्वाइलेट फ्लश गर्दा पानी र दिसाका सूक्ष्म थोपाहरू (ट्वाइलेट प्लूम) लगभग १.५ मिटर (करिब पाँच फिट) सम्म हावामा फैलिन सक्छन् । यी थोपाहरूमा फ्लू, कोभिड–१९ वा नोरोभाइरसजस्ता संक्रामक भाइरसहरू हुन सक्छन् ।
यदि तपाईंको टूथब्रश ट्वाइलेटको नजिकै राखिएको छ भने, फ्लश गरेपछि यी थोपाहरूका कणहरू त्यसका रेशाहरूमा बस्न सक्छन् । संक्रमणको मुख्य जोखिम फ्लश गर्दा सिधै सास फेर्दा हुने भए पनि, फ्लश गर्नुअघि ट्वाइलेट सीटको ढकनी लगाउनु बुद्धिमानी हुन्छ ।
एक अनुसन्धानले कमन बाथरूममा राखिएका ६० प्रतिशत विद्यार्थीहरूको टूथब्रशमा दिसासँग सम्बन्धित ब्याक्टेरिया पाइएको देखाएको थियो । यद्यपि, इलिनोइसस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी प्रोफेसर एरिका हार्टम्यान ट्वाइलेट प्लूमलाई लिएर धेरै चिन्ता लिनु आवश्यक नभएको बताउँछिन् । उनको अध्ययनमा दिसासम्बन्धी ब्याक्टेरिया अपेक्षा गरिएभन्दा धेरै कम पाइएका थिए किनभने पेटसँग सम्बन्धित धेरै सूक्ष्मजीवहरू हावामा आएपछि धेरै बेर बाँच्न सक्दैनन् । उनी भन्छिन्, – मलाई लाग्दैन कि धेरैजसो मानिसहरू आफ्नो टूथब्रशबाट बिरामी पर्छन् ।
ब्रस शेयर नगर्नुहोस्
केही अनुसन्धानले इन्फ्लूएन्जा र कोरोनाभाइरसजस्ता भाइरसहरू टूथब्रशमा घण्टौंसम्म र हर्पीज सिम्प्लेक्स भाइरस–१ त ४८ घण्टासम्म जीवित रहन सक्ने देखाएका छन् ।
यही कारणले सार्वजनिक स्वास्थ्य एजेन्सीहरू आफूले प्रयोग गर्ने टूथब्रश अरु व्यक्तिसँग शेयर नगर्न सल्लाह दिन्छन् । यदि एकै ठाउँमा धेरै मानिसका टूथब्रश राखिएका छन् भने तिनीहरूलाई एक–अर्कासँग छुनबाट पनि बचाउनुपर्छ, विशेषगरी अझ आफूसँगै नबस्ने व्यक्तिको ब्रस हो भने ।
सँगै बस्ने मानिसहरूको मुखमा पाइने सूक्ष्मजीवहरूमा पहिले नै धेरै समानताहरू हुने भएकाले उनीहरूका लागि टूथब्रश नजिकै राख्नु ठूलो चिन्ताको विषय नहुने हार्टम्यानको भनाइ छ ।
जोखिम र एन्टिबायोटिक प्रतिरोध
अधिकांश अवस्थामा संक्रमणको जोखिम धेरै कम हुन्छ। तर, रोग–प्रतिरोधक क्षमता कमजोर भएका मानिसहरूका लागि यो चिन्ताको विषय हुन सक्छ । जिन र अन्य अध्ययनहरूमा केही ब्याक्टेरियाहरूमा एन्टिबायोटिक्सप्रति प्रतिरोधी बनाउने जीन्सहरू पनि फेला परेका छन्, जसको उपचार गर्न गाह्रो हुन सक्छ ।
एन्टिमाइक्रोबियल (जीवाणुरोधी) तह लगाएका ब्रसहरू पनि ब्याक्टेरिया नियन्त्रण गर्नमा खासै असरदार नभएको अध्ययनहरूले देखाउँछन् ।
सफा र सुरक्षित राख्ने उपायहरू
ब्रस गरेपछि टूथब्रशलाई प्रत्यक्ष रुपमा कोठाको तापक्रममा सुकाउन दिनु नै ब्याक्टेरियाको संख्या घटाउने सबैभन्दा सजिलो तरिका हो । अमेरिकन डेन्टल एसोसिएसनले पनि टूथब्रशको टाउकोलाई ढकनीले छोपेर वा बन्द डिब्बामा नराख्न सल्लाह दिन्छन्, किनकि यसले सूक्ष्मजीवहरूको वृद्धि बढाउन सक्छ ।
सफा गर्ने घरेलु उपायहरू
माउथवाशमा भिजाउनुहोस् ः ब्रसको टाउकोलाई एन्टिसेप्टिक माउथवाशमा पाँचदेखि दस मिनेटसम्म डुबाउनु प्रभावकारी तरिका हो ।
भिनेगरको झोल ः भिनेगरलाई पानीमा हालेर त्यसमा ब्रस डुबाएर सफा गर्नुपनि सिरकाको ब्रसमा ब्याक्टेरिया घटाउन प्रभावकारी हुन सक्छ ।
राम्ररी सुकाउनुहोस् ः ब्रसलाई सीधा राखेर, राम्रोसँग हावा लाग्ने ठाउँमा राख्नुहोस् ताकि यो छिटो सुकोस् । यसो गर्दा दाँत सडाउनमा मुख्य भूमिका खेल्ने खतरनाक ब्याक्टेरियाहरू पनि १२ घण्टापछि मर्न थाल्छन् ।
ब्रस बदल्नुहोस्
पुराना ब्रसका भाँचिएका र खिइएका रेशाहरूले ब्याक्टेरिया, आद्रता र खानाका टुक्राजस्ता फोहोर तत्वहरूलाई धेरै बेर समातेर राख्छन् । त्यसैले कम्तिमा हरेक तीन महिनामा अनिवार्य रुपमा टूथब्रश बदल्नुपर्ने विज्ञको सल्लाह छ तर कमजोर रोग–प्रतिरोधक क्षमता भएका मानिसहरूले अझ चाँडो ब्रस बदल्नुपर्छ ।
शोधकर्ताहरूले लाभकारी ब्याक्टेरियाको विकासलाई प्रोत्साहित गर्ने प्रोबायोटिक टूथपेस्टको आविष्कारको प्रयास गरिरहेका छन् । यी टूथपेस्टहरूको उद्देश्य मुखमा लाभदायक जीवाणुहरूको वृद्धि गर्नु हो, जसले हानिकारक जीवहरूलाई दबाउन सक्छन् ।
प्रोबायोटिक कोटिंग्स वा बायोएक्टिभ ब्रिसल म्याटेरियलजस्ता विचारहरू भविष्यमा स्वस्थ सूक्ष्मजीव सन्तुलन कायम राख्ने नयाँ तरिका बन्न सक्छन् । यसबाट टूथब्रशलाई संक्रमणको स्रोत होइन, बरु सुरक्षाको माध्यम बनाउन सकिन्छ । (बीबीसीबाट साभार)
तूथब्रशबाट कसरी रहने सुरक्षित ?
Facebook Comments Box
