एक निर्वासित नेपालीको हृदयको आवाज
— प्रबिन तामाङ, रामपुर–५, रामेछाप (हाल: बेलायत)
म, प्रबिन तामाङ, रामेछापको रामपुर–५ को माटोमा जन्मेको, हुर्केको र त्यही माटोको ऋण बोकेर हिँडेको एक सामान्य नेपाली नागरिक हुँ । आज शरीरले म सात समुद्र पारि बेलायतको भूमिमा छु, तर मेरो मन, मेरो सास र मेरो आत्मा अझै पनि हिमालको काखमा, मेरो गाउँको आँगनमा र मेरा करोडौं देशवासीको पीडामा गाँसिएको छ । आज म कुनै नेता वा पत्रकारको मुखबाट होइन, आफ्नै हृदयको गहिराइबाट यो सन्देश प्रत्यक्ष तपाईंहरूसामु राख्न चाहन्छु ।
सन् २०२३ को अक्टोबरदेखि म बेलायतमा छु । यो प्रवास मेरो रहर होइन कि यो त एउटा तीतो बाध्यता हो । आफ्नो देश छाडेर पराई भूमिमा बस्नुपर्ने पीडा त्यही व्यक्तिले मात्र बुझ्छ, जसले देशका लागि बोल्दा आफ्नै देशमा सास फेर्न गाह्रो भएको छ ।
सत्य बोल्नु मेरो ‘अपराध’
विद्यार्थी कालदेखि नै मैले अन्यायविरुद्ध आवाज उठाउन सिकेँ । नेपालमा छँदा म विभिन्न जनआन्दोलन र सडक संघर्षमा होमिएँ । गरिब, निमुखा र पिल्सिएका जनताको हकका लागि, अनि भ्रष्ट नेतृत्व र विदेशी प्रभुत्वबाट देशलाई जोगाउनका लागि मैले आफूलाई सधैँ उभ्याएँ । मैले एउटा पुस्तकसँगै अनेकौं पर्चा र पम्प्लेट लेखेँ । शासन व्यवस्थाभित्रको भ्रष्टाचारविरुद्ध, उच्च ओहोदाका मानिसले गरिब जनतामाथि गर्ने शोषणविरुद्ध र पदोन्नतिदेखि नियुक्तिसम्म घुस लिएर हुने बेथितिविरुद्ध मैले आवाज निकाली रहेँ ।
मेरो एउटै हतियार सत्य थियो । मेरो एउटै ध्येय जनतालाई सुसूचित र सचेत बनाउनु थियो । मैले गाउँ–गाउँ, घर–घरमा सूचना पु¥याएँ, मानिसलाई उनीहरूको अधिकारबारे जागरुक बनाएँ । सत्ता र शक्तिको आडमा बस्नेहरूलाई यही सत्यबोली काँडाझैं बिझ्न थाल्यो ।
धम्कीको छाया मेरो परिवारसम्म
समय–समयमा मलाई सत्तापक्षका नेताहरूबाट धम्की आउन थाले । गत महिना त हद नै नाघ्यो । मेरा वृद्ध पिता सरमान तामाङले रामेछापबाट फोन गर्नुभयो र काम्दो श्वरमा सुनाउनुभयो, ‘एक समूह घरमै आइपुगेर मेरा परिवारका सदस्यलाई धम्क्यायो ।’
‘त्यस्तो पार्टीमा नलाग्नू, त्यस्ता लेख नलेख्नू । नरोके छोरालाई जे पनि गर्न सक्छौं ।’ मेरा पिताका अनुसार, धम्की दिने ती व्यक्तिहरू हाल ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट थिए, र तिनको हाउभाउ अत्यन्तै आक्रामक एवं त्रासपूर्ण थियो । एक छोरो भएर, सात समुद्र पारिबाट आफ्ना बूढा बाबुको त्यो काम्दो आवाज सुन्दा मेरो मुटु चसक्क भयो । आफ्ना कारण आफ्नै परिवार धम्कीको सिकार बन्नुपर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन । म प्रश्न गर्न चाहन्छु — सत्य लेख्नु के अपराध हो ? आफ्नो देशका लागि बोल्नु के पाप हो ? यदि हो भने, म त्यो ‘अपराध’ बारम्बार गर्न तयार छु ।
राजनीतिक यात्रा र अडान
म इमानदारीपूर्वक भन्न चाहन्छु कि म नेपाल कम्युनिस्ट पार्टी (विप्लव) मा आवद्ध थिएँ । जब त्यही नेतृत्व पनि वर्तमान सत्ताको समर्थनमा उभियो, मैले आफूलाई ठगिएको महसुस गरेँ । जनताको पक्षमा भनिएको राजनीति जब सत्ताको स्वार्थमा बदलियो, मेरो अन्तरआत्माले त्यो बाटो स्वीकार्न सकेन ।
त्यसैले मैले बाटो फेरेँ । अहिले म दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ को साथमा छु । यो अभियानको मुख्य ध्येय नेपालमा राजसंस्था तथा हिन्दु राष्ट्रको पुनस्र्थापना हो । प्रसाईंसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विद्रोह गर्नु भएका डा. धवल शमशेर राणा समेत मिलेर नयाँ पार्टी बनाउने कुरा आएको छ ।
विगतका र वर्तमानका कुनै पनि सरकारले देशका लागि केही गरेनन् । देश ऋणमा डुब्यो, युवा विदेशिए, गाउँ रित्तिए र इमानदार मानिस किनारा लाग्दै गए । यो निराशाको बीचमा मलाई गहिरो विश्वास छ कि अब राजाले मात्रै यो देशलाई जोगाउन सक्छन् । यो मेरो राजनीतिक आस्था हो र यसमा म दृढ छु ।
झुक्दिनँ, रोकिन्नँ
आज म स्पष्ट रूपमा घोषणा गर्न चाहन्छु कि वर्तमान अवस्थामा म नेपाल फर्कन सुरक्षित छैन । मेरो ज्यान र मेरो परिवारको सुरक्षामाथि गम्भीर खतरा छ । यो कुरा म सार्वजनिक रूपमा अभिलेखमा राख्न चाहन्छु, ताकि भोलि मलाई वा मेरा परिवारलाई केही भएमा त्यसको जिम्मेवार को हो, सबैले बुझून् ।
म यो पनि उत्तिकै दृढतापूर्वक भन्छु कि धम्कीले मलाई किन्न सक्दैन, डरले मलाई झुकाउन सक्दैन र दूरीले मेरो आवाज दबाउन सक्दैन । जहाँ रहे पनि म लेखिरहनेछु, बोलिरहनेछु, र अन्यायविरुद्ध आफ्नो विचार बाँडिरहनेछु । मेरो कलम तबसम्म चल्नेछ, जबसम्म यो देशमा एउटै निमुखा नागरिक अन्यायमा पर्छ ।
देशवासीसामु मेरो अपिल
प्रिय देशवासी, म कुनै पद वा शक्तिको लोभले होइन, यो माटोप्रतिको प्रेमले बोलिरहेको छु । मैले माग्ने केही छैन — केवल एउटा सत्य, इमानदार र समृद्ध नेपाल । मेरो यो आवाज तपाईंहरूको सद्भाव र समर्थनबिना अधुरो छ ।
इतिहास साक्षी छ कि सत्यलाई केही समय दबाउन सकिन्छ, तर सधैंभरि होइन । म विश्वास गर्छु, अन्धकार जतिसुकै गाढा होस्, बिहानको घाम अवश्य उदाउँछ । त्यो उज्यालो नेपाल र नेपालीको हो । त्यो दिनसम्म मेरो संघर्ष जारी रहनेछ निरन्तर, निर्भीक र अडिग रुपमा । जय नेपाल !
