सन्जिब बगाले
किरण अधिकारी एक दिन अस्ट्रेलियाको सिड्नीस्थित पार्कमा डुल्दै थिए । पार्कमा डुलिरहेका बेला उनले एक नेपाली वृद्ध नातिसँग घुमिरहेका देखे । किरणले उनीहरूको कुरा सुन्न खोजे । उनीहरूलाई भाषाका कारण आपसमा कुराकानी गर्न असहज र सकस भइरहेको थियो ।
किरणले तत्कालै तीन–चार वर्षे ती बालक र उनका हजुरबुबाबीच दोभासेको काम गरिदिए । अनि त्यही दिन उनलाई अस्ट्रेलियामा हुर्किँदै गरेको नयाँ नेपाली पुस्तालाई कसरी भाषा सिकाउने भन्ने चासो लाग्न थाल्यो । ‘अस्ट्रेलियामा जन्मिएको पुस्ताले नेपाली नबुझ्ने अनि नेपालको पुरानो पुस्ताले अंग्रेजी नबुझ्दा कुराकानीमै समस्या हुने देखियो । त्यही भएर मैले अब बच्चाहरूका लागि भाषा सिकाउने एप बनाउँछु भन्ने योजना बनाएँ,’ किरणले भने, ‘यस्तो कुनै एप अरूले बनाएका छन् कि भनेर खोजी गर्दा फेला पारिनँ ।’
किरण आइटी इन्जिनियर हुन् । सिड्नीमा उनको आफ्नै ‘जेप्टो स्काई’ कम्पनी छ । उनी र उनको कम्पनीको टिमले झन्डै एक वर्ष लगाएर ‘लिपिमाला’ एप बनायो । यो एप यही साल भदौ पहिलो साता सार्वजनिक भएको हो । अहिले अस्ट्रेलियासहित अमेरिका, बेलायत, क्यानडा, जापान, चीन र सिंगापुरबाट एप डाउनलोड भइरहेको उनले बताए ।
उनका अनुसार लिपिमाला एप बालबालिका केन्द्रित छ । एपमा स्वरवर्ण, व्यञ्जनवर्ण, शब्द, वाक्य बनाउने तरिका समावेश छन् । ‘केटाकेटीले क, ख, ग, घ…अनि अ, आ, इ, ई… हुँदै लेख्न र बोल्न सिक्छन् । शैक्षिक खेलसहितका विभिन्न खेल छन् । त्यो खेल्दै बच्चाहरूले नेपाली भाषा सिक्न सक्छन्,’ किरणले भने, ‘नेपाली कला–संस्कृतिको जानकारी पनि समावेश गराइएको छ ।’
एपमा बिस्तारै नेपाली भाषाको कोर्स नै डिजाइन गरिने उनले बताए । विदेशमा खोलिएका नेपाली भाषा स्कुलका लागि उपयोगी हुने गरी थप काम भइरहेको पनि उनले जानकारी दिए । त्यस्तै विदेशमा रहेका नेपाली संघसंस्थाले निकाल्ने विज्ञप्तिहरूमा भाषा बिग्रिने भएकाले सच्याउने सफ्टवेयर राख्ने योजना छ।
लिपिमालामा केही निःशुल्क फिचर छन् । डाउनलोड गर्नासाथ शुल्क लाग्ने बनायो भने राम्रो सन्देश नजाला भनेर कतिपय फिचर निःशुल्क दिइएको उनले बताए ।
‘बच्चामैत्री एप बनाएका छौं । केही बिग्रियो भने सुधार्न तत्काल मौका दिइन्छ । बच्चाले खेल्दै शब्द बनाउन सिक्छ,’ उनले भने । उनले उदाहरण दिए— एपमा माथि कलमको चित्र राखेर तल ‘कलम’ लेख्न लगाइन्छ । बच्चाले गरेको काम बिग्रियो भने सानो रातो टिक लाग्छ । राम्रो भयो भने ठूलो हरियो टिक लाग्छ ।
हरेक तीन महिनामा विश्वभरका नेपाली भाषी बालबालिकाबीच भाषाको प्रतिस्पर्धा गराउने योजना पनि किरणको छ । नेपालबाट मानिसहरू विदेशिने क्रम आगामी दिनमा झन् बढ्न सक्ने भन्दै उनले भाषा संरक्षणका लागि यस्ता प्रयासले केही सहयोग पुग्ने अपेक्षा गरे । ‘हामी जस्ता नेपालमै हुर्किएकाले आफूभन्दा पछाडिको पुस्तालाई भाषा सिकाउन जरूरी हुन्छ । हामीलाई विदेश बसेर नेपालको चिन्ता धेरै गर्छ भन्न पनि सक्छन् तर विदेश आएपछि नेपालको झन् माया हुने रहेछ,’ उनले भने ।
किरण २० वर्षकै उमेरमा, सन् २००७ मा अस्ट्रेलिया गएका हुन् । शुरूआती समयमा सफाइ, वेटर लगायत काम गरेका उनले सन् २०११ मा सफ्टवेयर इन्जिनियरिङको पढाइ सके । लगत्तै आइटी कम्पनीमा काम पाए । सन् २०१४ मा आफ्नै कम्पनी शुरू गरे । ‘मलाई भाग्यले साथ दियो । पढाइ सकेकै भोलिपल्ट जागिर पाएँ,’ उनले भने, ‘अहिले आफ्नै कम्पनी छ, १२–१५ जनाको टिम छ । त्यही भएर विभिन्न नयाँ काममा समेत हात हाल्न सकिएको छ ।’
आफ्नो यात्रा सम्झिएर किरणले ‘विपनाको बिसौनी’ नामक उपन्यास पनि लेखेका छन् । उनलाई भाषा र साहित्यमा रूचि छ । यसको मुख्य कारण उनका बुबा नेपालीका शिक्षक हुनु पनि हो । ‘बुबाको भाषाप्रतिको लगाव मलाई पनि स¥यो होला,’ किरणले भने, ‘त्यही भएरै नेपाली भाषा संरक्षणमा मन जमेको होला ।’ (सेतोपाटीडटकमबाट साभार)
