अनुसा थापा
कानूनले जुवातास, कौडा, लंगुरगुच्चा खेल्न र खेलाउन बर्जित गरेको छ । त्यसैगरी, घरेलु मदिरा बनाएर बिक्रीवितरण गर्न पाइँदैन । चाडपर्व नजिकिएसँगै सडक छेउछाउमा लंगुरगुच्चा खेलाएको छ्याप्छ्याप्ती देखिए । यता, घरघरमा लुकिछिपी तास र कौडा खेलाउने कार्यले पनि प्राथमिकता पाए । यस्ता खेल खेल्नु भनेको आफ्नो सम्पत्ति सकाएर सडक छाप हुनु हो । खेलमा उनीहरुले लाखदेखि करोडसम्म हार्छन् । आफ्नो सबै सकिएपछि उनीहरु सुकुम्बासी हुन्छन् । कतिपय गलत बाटो जान्छन् । बाठाटाठाले लंगुरगुच्चा, जुवातास र कौडा खेलाएर पैसा लुटिरहेका छन् ।
उता, दशैं लागेसँगै भट्टी पसलमा बिहानैदेखि भीड लाग्ने गरेको देखियो । त्यो रक्सीले आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ भनी सोचिएको पाइँदैन । खान अयोग्य र विषालु पदार्थ मिसाएर रक्सी बनाइन्छ । रासायनिक मल, सख्खर, राँगा भैँसीको हड्डी मिसाएरलगायतका खान अयोग्य सामान हालेर रक्सी बनाउने गरिएको छ ।
त्यस्ता रक्सीले कलेजो र फोक्सो खत्तम बनाउँछ । रक्सीले पैसा पनि सिद्याउँछ, ज्यान पनि । भट्टी पसलले यत्तिकै रक्सी दिँदैन । महंगो मूल्य तिर्नुपर्छ । अर्कोतिर, त्यसले कलेजो, फोक्सो र मिर्गौलामा हानी गर्ने हुँदा उपचार गर्दा पनि ठूलो धनराशि सकिन्छ । सोही कारण रक्सी पिउनेहरु जसरी पनि सडकमा आउँछन् नै । रक्सी पिउनु आफ्नो र आफ्नो परिवारको जिन्दगी बर्बाद बनाउनु हो । नशाको तालमा झगडा गर्यो, या कसैलाई हिर्कायो भने के हुन्छ ? अर्कोतिर, गाडीले हानेर मार्यो भने ? घरको एउटा सदस्यले रक्सी पिउँछन्, जुवातास खेल्छन् तर भोग्नु पूरै परिवारले पर्छ । जुन घरमा अभिभावकलाई रक्सी र जुवातासको लत लागेको हुन्छ, त्यस घरमा छोराछोरीले निकै दुःख पाउँछन् ।
न खान पाउँछन् न पढ्न । मुलुकमा तीन तहको सरकार छ । जुवातास खेलाउने र घरेलु मदिरा बनाएर बेच्नेहरुको सामुन्ने तीनै तहको सरकार निरीह छ । न यस्ता मदिरा बेच्नेलाई समात्छ न जुवातास खेलाउनेलाई । जनता सुकुम्बासी भइरहँदा सरकार टुलुटुलु रमिता हेरेर बसेको छ ।
कमाऊ, खाऊँ, लाऊँ भन्ने उमेरमा यस्ता गलत लतमा फसेपछि समाज कसरी अघि बढ्छ ? कसरी सुध्रिन्छ ? पछिल्लो समय समाज गलत बाटोमा गइरहेको छ । पढ्नलेख्न भन्दा पनि ट्याटु हान्ने, लागूऔषध सेवन गर्नतर्फ कलिला उमेरका बालबालिकाको ध्यान केन्द्रित छ । अरुको देखासिकी गर्ने क्रम हामीकहाँ बढेको छ ।
आफैंले आफ्नो भविष्य अन्धकारमा हाल्ने काम भइरहेको छ । कलेज पढ्ने विद्यार्थीहरु शरीरमा ट्याटु हानेर हिँडेको यत्तिकै देखिन्छ । ट्याटुले भविष्यमा धेरै नोक्सानी पुर्याउँछ भन्ने उनीहरुको सोचेकै पाइँदैन । सरकारी जागिर खान, वैदेशिक रोजगारीमा जान ट्याटु बाधक बन्न सक्छ । अनि त्यतिबेला के गर्ने ?
अर्कोतर्फ ट्याटुबाट रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पैसा तिरीतिरी सर्वसाधारण आफ्नो काल निम्त्याइरहेका छन् । सरकारले यस विषयमा बेवास्ता गरेको छ । जनतामा सचेतना जगाउन सरकार नाकाम भइसकेको छ । व्यापारीलाई जसरी पनि कमाउनुछ । ऐनकानूनको धज्जी उडाउँदा सरकार व्यवसायीको अगाडि निरीह छ ।
सर्वसाधारणलाई विषालु पदार्थ खुवाएर पैसा कमाइरहँदा त्यस्ता व्यापारीलाई कानूनको दायरामा ल्याउन सकिएको छैन । यहाँ जसले सक्छ, त्यसले लुटिरहेको अवस्था छ । सार्वजनिक यातायातमा पकेटमारहरु छ्याप्छ्याप्ती छन् । बस चढ्न डरमर्दो भएको छ । बेरोजगारी र मँहगीका कारण यस्ता धन्दामा संलग्न हुनेहरु बढेका हुन् ।
उता, सडक छेउछाउ, आकाशे पुल, मठमन्दिरमा माग्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ । अशिक्षा र गरिबीका कारण जनताहरु गलत लतमा फस्दैछन् । प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु आफ्नै सेवासुविधामा ध्याउन्न छन् । सरकारी गाडीमा चढ्न पाउँदा र महिनैपिच्छे लाखौं तलबभत्ता खान पाउँदामा उनीहरु रमाएका छन् ।
स्थानीय पालिकासहित संघीय सरकारअन्तर्गत बजार अनुगमनका निम्ति विभागहरु छन् । कुनै पनि निकायबाट बजारमा अनुगमनमा निस्किएको देखिँदैन । जनप्रतिनिधि र कर्मचारीहरु जनताले तिरेको करले दिएको तलबले नपुगेर व्यापारीको ढोका ढक्काउन पुग्छन् । उनीहरु दशैं खर्च र चुनाव खर्च माग्न जाने गरेका पाइन्छ ।
अनि व्यापारीले त्यो पैसा उपभोक्तासँग असुलउपर गर्छन् । जताबाट मारमा पर्ने पनि जनता र उपभोक्ता । वर्तमान प्रधानमन्त्री, गृहमन्त्री र उद्योगमन्त्री न्याय क्षेत्रका हुन् । उनीहरुलाई त कानून राम्ररी थाहा छ । कानूनअनुसार धमाधम कारबाही गर भनेर निर्देशन दिन नसक्नेहरुले अरु के गर्छन् ? कानूनले कालोबजारी र सिण्डिकेट लगाउन नपाउने भनेको छ । नेपालले खुला अर्थतन्त्रको नीतिलाई आएको छ । यातायात व्यवसायीले त सिण्डिकेट लगाएका छन् । कालो र हरियो प्लेटको ट्याक्सी, फो स्ट्रक टेम्पो, कालीमाटीमा चल्ने ढुवानी गाडीको दर्ता बन्द छ ।
वर्तमान यातायातमन्त्री कुलमान घिसिङ्गसँग सिण्डिकेट तोड्ने आँट छ ? उनी नयाँ ट्याक्सी, फो स्ट्रक टेम्पो र ढुवानी गाडीको दर्ता खोल्न सक्छन् ? नेपालको कानून एकातिर छ, कार्यान्वयन अर्कोतिर । २० वर्षे पुराना ट्याक्सीको स्क्र्याप गरेको नम्बर प्लेट ९ लाख रुपियाँमा बिक्री भइरहेका छन्, जुन गैरकानूनी हो । अब भनौं कानून कहाँ छ ? कार्यान्वयन कसले गर्ने हो ?
कानून एकातिर, कार्यान्वयन अर्कातिर
Facebook Comments Box
