काठमाडौँ/ पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ निवासी तीन वर्षीय बालकको उपचारको लागि परिवारजनले अपील गरेका छन् । असरफ मियाँ र आसिया खातुनका तीन वर्षका छोरा फैजान खान दुर्लभ गौचर रोग (Gaucher Disease) बाट पीडित रहेकाले उपचारको लागि अपील गरिएको हो ।
उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयाँ दिल्लीमा भइरहेको जनाइएको छ । चिकित्सकहरूले उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका बताइएको छ । यो कार्य अत्यन्तै जटिल र महंगो प्रक्रिया रहेकाले परिवारजनले आर्थिक सहयोगका लागि अपील गरेको बताइएको छ । नेपालमा यस्तो उपचार सुविधा उपलब्ध नभएकाले भारतमा उपचार गर्नुपरेको जनाउँदै परिवारले क्यु.आर.कोड सार्वजनिक गरेका छन् । उक्त क्यु.आर.मार्पmत सहयोग गर्न सकिने भएकाले यस समाचारमार्फत पनि उक्त क्यु.आर. सार्वजनिक गरिएको छ । उक्त क्यु.आर.मार्फत सहयोगी हातहरुले सहयोग गर्न सक्ने जनाइएको छ ।
चिकित्सकहरूका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि फैजानकी ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको छ । यसले सफल प्रत्यारोपणको सम्भावना बढाएको बताइन्छ । असरफ मियाँ हाल कतारमा मजदुरी गरेर परिवार पाल्दै आएको पनि जनाइएको छ । पाँच पटक भारतको दिल्लीमा परीक्षण गराएपछि चिकित्सकहरूको सल्लाहअनुसार प्रत्यारोपणको तयारी भइरहेको बिरामीकी आमा आसिया खातुनले जानकारी दिनु भएको छ । परिवारको सीमित आम्दानीले उपचार खर्च धान्न असम्भव भएकोले सहयोगी हातहरुको अपेक्षा खातुन परिवारले गरेको जनाइएको छ ।
खातुनका अनुसार, परिवारले सकेसम्म प्रयास गरे पनि आवश्यक रकम जुटाउन नसक्ने अवस्था आएको छ । उपचारका लागि ठूलो रकम आवश्यक रहेको हुंदा उनले सहयोगका लागि अनुरोध गरेकी छिन् । मानवताको आधारमा बालक फैजानको जीवन बचाउन सक्दो सहयोग गर्न उनको परिवारके हार्दिक अपिल गरेका छन् ।
