एडगर एलान पो: पीडाको मुहानबाट बगेको साहित्यको नदी

Nayabimarsha (Weekly Newspaper from Nepal)
पशुपति घिमिरे

न्यारेटर केटो आफू पागल नभएको दाबी गर्दै कथा शुरु गर्छ, तर उसको कार्यले त्यसको विपरीत प्रमाणित गर्छ । ऊ एक वृद्ध मानिससँग बसेको हुन्छ, जसले कहिल्यै कुनै गल्ती गरेका छैनन् । ती वृद्धका फिक्का निला आँखा, जो गिद्धका आँखाजस्ता देखिन्छन्, त्यसले कथावाचक केटालाई असहज बनाउँछ । ऊ यी गिद्धे आँखाहरूबाट छुटकारा पाउन चाहन्छ । त्यसैकारण उनको हत्याको योजना बुन्छ ।
हत्या गर्ने मनसायले ७ रात लगातार मध्यराति वृद्धको कोठामा पस्छ र बिस्तारै लालटिन बालेर ती गिद्धका जस्ता आँखा’ हेर्छ । निदाएका बेला आँखा बन्द हुन्छन्, त्यसैले हत्या गर्दैन । आठौं रातमा, वृद्ध ब्यूँझिन्छन् र डरले उसको मुटुको धड्कन तेज हुन्छ । त्यो धड्कन यति ठूलो हुन्छ कि कथावाचक केटो छिमेकीहरूले सुन्लान् भनेर अति डराउँछ । अन्त्यमा, उसले ती वृद्धलाई मारेरै छोड्छ, शरीर टुक्रा–टुक्रा पार्छ र कोठाको भुइँमुनि लुकाउँछ ।
बिहान चार बजेतिर, छिमेकीले राति चित्कार सुनेको गुनासो गरेपछि तीन प्रहरीहरू आउँछन् । कथावाचक आत्मविश्वासका साथ उनीहरूलाई भित्र बोलाउँछ र लाश लुकाएको ठाउँमै कुर्सी राखेर बस्छ ।
त्यसपछि कथावाचकले एउटा आवाज सुन्न थाल्छ – मुटुको धड्कनको आवाज । मृत मानिसको मुटुको धड्कन सुन्छ ऊ भुइँमुनिबाट । आवाज बिस्तारै ठूलो हुँदै जान्छ र असह्य बन्दै जान्छ । उसलाई लाग्छ कि, यो आवाज प्रहरीहरूले पनि सुनिरहेका छन् । अन्त्यमा, आफ्नै मनोविज्ञानको यातनाले सताइएर, उसको धैर्यताको बाँध भत्किन्छ र चिच्याएर अपराध स्वीकार गर्छ । उसले भन्छ, ‘यी यहाँ छ ! यहाँ छ ! भुइँमा हेर यो उसको घिनलाग्दो मुटुको धड्कन हो !’
सन् १८४३ मा पहिलो पटक प्रकाशित भएको ‘एडगर एलान पो’ को प्रसिद्ध कथा ‘द टेल–टेल हार्ट’ को सारांश हो यो ।
यो एक मनोवैज्ञानिक डर सम्बन्धी कथाको उत्कृष्ट नमूना हो । अमेरिकी साहित्यको सबैभन्दा बढी पढिने र अध्ययन गरिने हरर कथाहरूमध्ये एक हो । यसले डर र मनोवैज्ञानिक थ्रिलर विधाको विकासमा ठूलो भूमिका निर्वाह गरेको छ ।
वि. सं. २०५६ मा आई.ए. दोस्रो वर्षको विद्यार्थीका रूपमा कवि एडगर एलान पोसँग पहिलो चिनजान भएको थियो । वीरबहादुर बस्नेत गुरुको कमान्डिङ आवाजमा पो को यो कथा सुन्दा र पढ्दा यस्तो डरलाग्दो कथा रचना गर्ने कथाकार कस्ता थिए होला, कहाँ बसेर यस्तो कृति रचना गरे होलान्, उनको जीवन कस्तो थियो होला भन्ने जिज्ञासाहरू उत्पन्न हुन्थे उतिबेला ।
जिन्दगीको कुनै समय करिब सवा दुई सय वर्ष अघिका यिनै साहित्यकार बसेको ठाउँमै घरजम गरिएला र उनका नाममा बनेको संग्रहालय घुम्ने मौका मिल्ला भन्ने कुनै कल्पना थिएन तर संयोग त्यस्तै प¥यो । आखिर जीवन भनेकै संयोगहरूको श्रृंखला त हो !
भर्जिनियाको राजधानी रिचमण्डको बासिन्दा भए पनि, एडगर एलान पो का नामको ‘पो संग्रहालय’ पुग्ने मौका भने जुरेको थिएन । त्यो साइत जु¥यो गत आइतबार । हुन त साहित्यकार गोविन्द गिरी प्रेरणासँग त्यता जाने योजना बनेको थियो तर उहाँको नमिल्ने भएपछि कवि नारायण अधिकारी र म त्यता लाग्यौं ।
एडगर एलान पो (१८०९–१८४९) अमेरिकाका पहिलो महान् गीति कवि, जासूसी कथाका आविष्कारक, विज्ञान कथाका अग्रदूत र साहित्यमा भय र भयानकताका गुरु थिए । केवल ४० वर्षको आफ्नो छोटो जीवनकालमा, पो अन्तर्राष्ट्रिय रूपमा प्रभावशाली पहिलो अमेरिकी लेखक बने ।
पोले आफ्नो जीवनको अधिकांश समय हाल मेरो पनि होमटाउन रहेको रिचमण्ड, भर्जिनियामा बिताए । यही शहरमा उनले आफ्ना पहिला कविताहरू लेखे, पहिलो पटक प्रेममा परे, पत्रकारितामा आफ्नो करियर शुरु गरे, विवाह गरे र आफ्नो एकमात्र नाटक र एकमात्र उपन्यास शुरु गरे ।
उन्नाइसौं शताब्दीको प्रारम्भको रिचमण्ड जसलाई पोले घर भनेका थिए, त्यही स्थानमा उनका नाममा बनेको संग्रहालय घुम्न पाएर हामी धन्य महसुस गरिरहेका थियौं । रिचमण्डको डाउनटाउनका सडकहरू त्यसै पनि रोमाञ्चक इतिहास र पुराना कथाहरूले भरिएका छन् । हिउँदको मन्द चिसोले मनमा आनन्द थपेकै थियो सायद पो संग्रहालय नजिक पुग्दैछु भन्ने अनुभूतिले पनि हुन सक्छ । एउटा पुरानो ढुंगाको घर जसलाई ‘ओल्ड स्टोन हाउस’ भनिन्छ । यही ठाउँमा सन् १८२४ मा १५ वर्षीय एडगर एलान पो तात्कालीन एक क्रान्तिकारी जनरलको सुरक्षा गार्डका रूपमा उभिएका थिए । त्यही घर आज उनको सम्झनामा संग्रहालय बनेको थियो ।
जब हामी संग्रहालयअगाडि पुग्यौं, मलाई लाग्यो– म केवल एउटा भवन भ्रमण गर्न आएको होइन, बरू एक तीर्थयात्रामा आएको हुँ, एक साहित्यिक आत्मासँग भेट गर्न आएको हुँ । एक यस्तो आत्मा, जसले आफ्नो छोटो र पीडादायी जीवनमा अमेरिकी मात्रै नभएर विश्व साहित्यमै अमीट छाप छाडे ।
त्यो बुढो घरमा छिर्दा छिर्दैको काउन्टरबाट १२÷१२ डलरको टिकट काट्ने क्रममा पो का तस्वीर, उनका चर्चित कविता र कृति अंकित टिसर्ट, कप, पुस्तक आदि उपहार सामग्रीहरूले हामीलाई एकमुस्ट स्वागत गरे ।
त्यसपछि संग्रहालयको पहिलो कोठामा पस्दा, त्यहाँ भित्तामा विभिन्न चित्रहरू देखिए । एडगरका विभिन्न मुद्राका तस्वीरहरू, उनका नाममा निस्किएका हुलाक टिकटका तस्वीरहरू, उनका कृतिमा बनेका नाटक र सिनेमाका पोस्टरहरू, उनका बारेमा लेखिएका लेखोटहरू आदि देखिए । मेरो नजर भने भित्ताको एक आकर्षक चित्रमा गएर अडियो, जो थिइन् एलिजा पो । उनी एक अभिनेत्री, एडगरकी आमा, जसले आफ्नो जीवनका अन्तिम क्षणहरू यही रिचमण्ड शहरमा क्षयरोगसँग लड्दै विताइन् ।
उनको तस्बिरमा मैले हेरिरहें । त्यो युवा अनुहार, ती मायालु आँखा– जसले सायद सपना देखेकी थिइन् कि उनका छोराछोरी उनीभन्दा ठूला अभिनेता बन्नेछन् र जीवन सुखी हुनेछ तर नियतिले अर्कै बाटो लियो । २४ वर्षकी आमा एलिजाको क्षयरोगका कारण मृत्यु हुँदा दुई वर्षका एडगर अनाथ बने । बाबुले त पहिले नै छोडेर हिंडिसकेकै थिए ।
सो कोठाका भित्तामा रहेका चित्र, फोटा, पोस्टर आदिका अतिरिक्त पुराना सामान, फर्निचर, पोशाक र अन्य विभिन्न सामानहरूले भरिएको थियो । कोठाको पल्लो कुनामा एडगरले बाल्यकालमा प्रयोग गर्ने गरेको ओछ्यान चुपचाप सुतिरहेका थिए ।
अब्राहम लिंकन र चाल्र्स डार्विन जन्मेकै साल जन्मेका पो सम्बद्ध यी पुराना कुराहरू र ती चित्रहरू हेर्दा, लेनोर, एलिजा, भर्जिनिया जस्ता पो को जीवनमा आएका र छिट्टै हराएका सबै स्त्रीहरू पो को दुःखको विलाप गाउँदै गुञ्जिरहे जस्तो लाग्थ्यो ।
त्यसपछि हामी अर्को कोठामा पस्न लाग्दा ढोकैमाथि केही अंग्रेजी हरफ कोरिएको देखियो–
अर्थ
बाल्यकालको घडीदेखि नै म म भएको छैन,
अरूले देखेजस्तै मैले देखेको छैन,
अरूले देखेजस्तै, म ल्याउन सक्दिनथें
मेरा जोशहरू सामान्य मुहानबाट’
यो पो को सन् १८२९ मा प्रकाशित कविता ‘एलोन’ बाट उद्धृत गरिएको हो, जसले उनले बाल्यकालदेखि नै महसुस गरेको एक्लोपन र अरूभन्दा अलग भएको भावनालाई व्यक्त गर्दछ । यसले उनको जीवनभरको पीडा र अरूभन्दा फरक हुने अनुभूतिलाई प्रतिबिम्बित गरेको छ ।
त्यसपछि हामी अर्को कोठामा पस्यौं । जहाँ जोन एलानका केही कागजातहरू थिए । ती व्यापारी जसले असहाय एडगरलाई घरमा आश्रय त दिए तर कहिल्यै आफ्नो छोरा मानेनन् । त्यहाँ उनीहरू सम्बद्ध चिठी जस्ता कागज पत्रहरू पनि थिए ।
जसले आफ्ना पिता कहिल्यै चिनेनन्, चिन्ने उमेरसम्म पुग्दा आमा पनि गुमाइसकेका थिए । माता पिताका रूपमा जसलाई चिने ती आफ्ना थिएनन् । कस्तो पीडादायी बाल्यकाल थियो एडगरको । कस्तो दयनीय स्थिति ! घरमा हुनु, तर आफ्नो नहुनु । एलान परिवारको नाम पाउनु, तर अधिकार नपाउनु !
त्यहाँ भर्जिनिया विश्वविद्यालयको एउटा दस्तावेज पनि थियो । १७ वर्षका एडगर ११० डलर लिएर कलेज गए, जहाँ ट्यूसन शुल्क त्यसको तीन गुना बढी थियो । त्यसैले पैसा कमाउने धुनमा उनले जुवा खेले तर उल्टै २,००० डलर ऋणमा डुबे । विद्यार्थी बेलाको आशा र उन्माद, आर्थिक अभाव र विपत्ति, जीवनका घोर निराशा र असफलताहरू बेलैमा बेहोरे उनले ।
त्यहीँ एल्मिरा रोयस्टरको एउटा पुरानो चित्र पनि थियो– जो उनकी पहिलो प्रेमिका थिइन् । कस्तो भयो होला उनलाई जब उनी कलेजबाट फर्केर आउँदा थाहा पाए कि उनले लेखेका पत्रहरू कहिल्यै एल्मिरासम्म पुगेनछन् । उनका बुबाले थाहा पाएर सबै पत्र आफैंसँग राखेका रहेछन् । पछि उनले एल्मिराको अर्कै मानिससँग विवाह गरिदिए । यसरी पहिलो प्रेममा वियोग भोग्नुप¥यो किशोर एडगरले ।
संग्रहालयको मुख्य कोठामा पुग्दा पो का साहित्यिक कृति र कर्महरूसँग साक्षात्कार गर्न पाइयो । ‘तपाईंले बडो राम्रो ठाउँमा लिएर आउनुभो यार’ नारायणजी विस्तारै फुस्फुसाउँनुभो । जहाँ पो का अथाह पीडाबाट जन्मिएका कृतिहरूबारे जानकारी थिए । वास्तवमा पीडाबाट कला जन्मन्छ । कष्ट र पीडाकै मुहानबाट साहित्य सिर्जनाको नदी बग्छ । कहिलेकाहीं, एउटा भाँचिएको, भत्किएको, क्षतविक्षत हृदयले अमर कृतिहरूको सिर्जना गर्छ । आखिर पीडाबाट नै त जन्मिँदोरहेछ अमर साहित्य, गौरीदेखि मुनामदनसम्म, ओथेलोदेखि द रेभनसम्म !
एउटा सानो कोठामा ‘द रेभन’ को मूल पाण्डुलिपि थियो वा कम्तीमा त्यसको प्रतिलिपि हुनसक्छ ।
मैले नजिकै गएर हेरें । ती हरफहरू जो विश्वप्रसिद्ध भएः
‘इलअभ गउयल ब mष्मलष्नजत मचभबचथ,
धजष्भि क्ष् उयलमभचभम, धभबप बलम धभबचथ।।।।।।’
कस्तो अद्भुत लय ! कस्ता सम्मोहक शब्दहरू ! ती पंक्ति पढ्दै गर्दा मलाई लाग्यो म मध्यरातको त्यही कोठामा छु, जहाँ एउटा काग ढोका माथि बसेर ‘नेभरमोर’ भनिरहेको छ ।
चौथो कोठामा पुग्दा भने म छाँगाबाट खसे जस्तो भएँ । त्यहाँ जे जानकारी थियो त्यसले यी महान् साहित्यकारप्रतिको श्रद्धाको स्तम्भ गल्र्यामगुर्लुम ढलेझैं भयो । यो पीडादायी जानकारी भर्जिनिया क्लेमको बारेमा थियो । जो पो की काकाकी छोरी थिइन् जसलाई उनले २७ वर्षको उमेरमा विवाह गरे, जो त्यसबेला केवल १३ वर्षकी थिइन् ।
थाहा छैन त्यो समयमा अमेरिकी समाज र संस्कृतिका मूल्य मान्यताहरू के कस्ता थिए तर आजको आधुनिक आँखाबाट हेर्दा त्यो कृत्य सर्वथा अनुचित लाग्छ, तर त्यो बेलाको समाजको मान्यता र संस्कृति अलग थियो कि ?
भर्जिनियाको तस्वीरको त्यो अनुहारमा सुन्दरता र कोमलता प्रतिविम्वित थियो । जानकारी दिइएअनुसार उनी पोको प्रेरणा थिइन्, उनको जीवन, उनको आधार थिइन् । उनलाई पनि क्षयरोग लाग्यो, जसरी पोकी आमालाई लागेको थियो । २४ वर्षकै कलिलो उमेरमा भर्जिनियाको पनि मृत्यु भयो ।
त्यहाँ एउटा नोट थियो । पो आफैंले लेखेको भनिएको सो नोटमा लेखिएको थियो ‘मेरो जीवन ध्वस्त भयो ।’ त्यो दुखान्तपछि पो अथाह शोकमा डुबे । त्यसपछि पनि उनले जति साहित्य रचना गरे सबैका विषय शोक, हानी र अन्धकार रहे ।
सो ओल्ड स्टोन हाउससँगै जोडिएको अर्को दुई तले घरका दुवै तलाहरू जो संग्रहालयका अन्तिम भाग थिए, त्यहाँ पो को मृत्युका बारेमा जानकारी थिए । सन् १८४९ मा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा ४० वर्षको उमेरमा रहस्यमय परिस्थितिमा उनको मृत्यु भयो । कोही भन्छन् उनको मृत्यु अधिक मद्यपानले भयो, कोही भन्छन् रेबिजले, कोही भन्छन् हत्या गरियो । पोको मृत्युका बारेमा २६ वटा सिद्धान्तहरू प्रकाशित भएको त्यहाँ उल्लेख छ । वास्तवमा उनको मृत्यु पनि उनका कथाहरू जस्तै रहस्यमय रह्यो ।
त्यहाँ एउटा कालो कफिन ठड्याएर राखिएको थियो । जहाँ लेखिएको थियो– पोसँग जिउँदै गाडिनुहोस्, यो कफिनमा पाइला राख्नुहोस् र पोले ‘द प्रिम्याच्योर ब्युरियल’ मा वर्णन गरेको क्लस्ट्रोफोबिक डरको स्वाद लिनुहोस् । पो संग्रहालयको यो एक रोचक प्रदर्शनीले आगन्तुकहरूलाई पोको प्रसिद्ध र डरलाग्दो कथा ‘द द प्रिम्याच्योर ब्युरियल’ को अनुभव गर्न दिँदोरहेछ । सोही कोठामा रहेको यार्कमा पो का विभिन्न पुस्तकहरूको संग्रह पनि देखियो ।
त्यहाँ अर्को खण्ड पनि थियो– उनका प्रभावहरूको बारेमा । पोले जासुसी कथाको सिर्जना मात्रै गरेनन् यो विधाको शुरूवातकर्ता पनि उनै बने । जसले भय र डरले भरिएको साहित्यलाई कलाको स्तरमा पु¥याए । उनले मनोवैज्ञानिक कथाहरूको आधार निर्माण गरे । वास्तवमा ४० वर्षको छोटो र पीडापूर्ण जीवनमा कसरी यत्रो विशाल विरासत निर्माण गर्न सके होला एडगर एलान पो ले ! म सोचमा डुबें निकैवेर ।
सो भवनबाट बाहिर निस्कँदा संग्रहालयबाहिरपट्टिको फराकिलो बगैंचाको बीचमा रहेको वाटर फाउन्टेनबाट पानीको कलकल आवाजआइरहेको थियो, हिउँदको मन्द चिसो हावाको स्पर्शले शरीरमा आनन्दको सञ्चार भएको थियो । बगैंचाको पल्लो कुनामा एउटा मैलोमैलो सेतो मूर्ति देखियो, त्यतापट्टि इशारा गर्दै नारायणजीलाई भनें, तपाईंलाई एडगर एलान पोको एउटा कविता सुनाउँछु । ‘ए तयारी त राम्रै गरेर आउनुभएको रहेछ’ उहाँले यसो भनिसक्दा हामी आगन्तुकहरूले पैसा र गिफ्टकार्ड चढाएर र चराले बिस्ट्याएर मैलो पारेको पो को मूर्तिसामु पुगिसकेका थियौं ।
मैले गुगलबाट अनुवाद गराएको पो को द रेभन कविताका केही पंक्तिहरू वाचन गरें, नारायणजीले भिडियो खिच्नुभो…
एक पटक मध्यरातको उदासीमा,
जब म सोचमग्न थिएँ,
कमजोर र थकित,
धेरै अनौठा र जिज्ञासु
बिर्सिएका ज्ञानका पुस्तकहरूमा,
जब निद्रा ओइरिंदै थियो,
तुरून्तै त्यहाँ एउटा ठकठक आवाज आयो,
जस्तो कि कसैले बिस्तारै ढकढक गरिरहेको,
मेरो कोठाको ढोकामा ढकढक गर्दै।
‘कोही आगन्तुक हुनुपर्छ,’ म गनगनाएँ,
‘मेरो कोठाको ढोकामा ठकठक गर्दै
केवल यति र अरू केही होइन ।’…
मैले फेरि एक पटक त्यो तीन सय वर्ष पुरानो ढुङ्गाको घरलाई हेरेँ जहाँ १५ वर्षीय एडगर एक पटक कसैको सुरक्षार्थ गार्डको रूपमा उभिएका थिए । के उनले सपनामा पनि सोचेका थिए होला र ! कुनै दिन यही घर उनकै नामको संग्रहालय बन्नेछ ? नियतिको खेल पनि उदेक लाग्दो छ !
त्यो तीन सय वर्ष पुरानो इतिहासलाई त्यतै छाडेर हामी निस्कियौं । जब म सडकमा हिँड्न थालेँ दिमागमा पो को यो भोगाइ र भनाइ गुञ्जिरहेको थियोः
‘हामीले देख्ने वा देखिने सबै कुरा
सपना भित्रको सपना मात्र हो ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *