डा. राजु अधिकारी
नेपाली नयाँ वर्षमा एक जना साथीले आफ्नो सामाजिक सञ्जालमा आफूले २०८२ भित्रमा चार वटा पुस्तक पढ्ने लक्ष्य लिएको कुरा गर्व साथ लेखेका थिए ।
उनको लक्ष्य देखेर त्यो बेला मलाई हाँसो उठ्यो । तर पछि सोचें– उनले त कम से कम चार वटा पुस्तक पढ्ने लक्ष्य लिएका रहेछन्, अधिकांश नेपालीहरूको त एउटा पुस्तक पनि नपढी एक वर्ष बित्छ ।
नेपालमा पठन संस्कृति अत्यन्त नाजुक छ । विकसित देशको पठन औसत पनि वर्षमा एक दर्जन पुस्तक मात्र छ र एक तिहाइ जति जनसङ्ख्याले मात्र नियमित रूपमा पुस्तक पढ्छन् । हाम्रो देशको हालत झन् के होला सजिलै अनुमान गर्न सकिन्छ । लेखकहरू र साहित्यमा रुचि राख्नेहरू केही पाठकहरू बाहेक आफ्नो कोर्सको पुस्तक र आफ्नो काममा चाहिने बाहेकका अन्य पुस्तक पढ्ने जमात नेपालमा अत्यन्तै न्यून छ । अधिकांशको लागि कोर्स बाहिरको पुस्तक पढ्नु भनेको बोझ जस्तै हो । उनीहरूको लागि पुस्तकमा लगानी गर्नु पैसाको बर्बादी हो ।
लेखकहरूको कुरा गर्दा एक जना चर्चित लेखिकाले नयाँ वर्षकै समयमा आफ्नो सामाजिक सञ्जालमा आफूले एक वर्षभित्र पढेका पुस्तकहरूको सूची सार्वजनिक गरेकी थिइन् । संख्या र पुस्तकको नाम दुवै दृष्टिकोणबाट हेर्दा उनको त्यो सूची साँच्चै नै लोभ लाग्दो थियो । मलाई आफूले पनि त्यति धेरै पुस्तक पढ्न पाए हुन्थ्यो भन्ने लोभले तान्यो ।
हुन त केही वर्ष पहिले भर्खर मोबाइलमा पुस्तक पढ्ने सुविधा शुरू भएपछि मेरो पढ्ने गतिले आकाश छोएको थियो र त्यो बेला मैले त्यसरी नै आफूले पढेको पुस्तकको सूची राख्ने गरेको थिएँ । तर पछि त्यसले निरन्तरता पाएन । उनको सूची देखेपछि फेरि एक पटक मलाई आफूले कति पढ्न सक्दो रहेछु भनेर जान्न मन लाग्यो र मलाई पनि आफ्नो पढाइको सूची राख्ने विचार मनमा जाग्यो । त्यसैले मैले पनि केही महिना अगाडि पढेका पुस्तकहरू पनि समेटेर नेपाली नयाँ वर्षको शुरूवाततिर २०२५ एक वर्ष भित्रमा पढेका पुस्तकहरूको सूची राख्न थालेँ ।
कामकाजी मान्छे भएपछि जति नै रुचि भए पनि पढ्नको लागि समय कमै हुन्छ । मेरो मात्र हैन सबैको समस्या त्यही हो । नपढ्नेको त कुरै गर्नु परेन, पढ्ने रुचि भएकाहरूको लागि पनि धेरैको पढाइ अन्तिम प्राथमिकतामा पर्छ । कामबाट फुर्सद भएपछि बचेको समय परिवारलाई दिनुप¥यो, अलिअलि मनोरञ्जन पनि गर्नै प¥यो, अलिकति आराम गर्नु प¥यो । अनि मात्र बचेको अलिकति समय पढाइको लागि हो । यसो गर्दा अधिकांशको लागि पढ्ने समय कहिले पनि आउँदैन ।
जहाँ इच्छा त्यहाँ उपाय भने झैँ रुचि भएपछि अलिकति समय निकाल्न सकिँदो रहेछ । समयले मात्र पुग्दैन, आर्थिक कुरा पनि जोडिन आउँछ । रुचि भए त्यो पनि व्यवस्थापन हुन सक्छ । मलाई साहित्यमा रुचि भएकोले पठनमा पनि रुचि हुने नै भयो । त्यसैले कुनै विशेष परिस्थितिमा बाहेक म हरेक दिन अलिकति समय निकालेर केही न केही पढिरहेको हुन्छु । त्यसरी अलिअलि पढ्दा पनि वर्षमा पचासभन्दा बढी पुस्तक पढ्न सकिने रहेछ । सूची राखेपछि त्यो कुरा उजागर भयो ।
सन् २०२५ सकिन अझै केही दिन बाँकी छ । मैले पढेका पुस्तकको सूचीमा २–४ पुस्तक अरू थपिएलान् । यसो गर्दा मेरो २०२५ को सूचीमा लगभग ५५ वटा पुस्तक हुने भए । मलाई आफ्नो सूची देखेर अचम्म मात्र लागेन आफैँप्रति गर्व पनि लाग्यो ।
कार्यालय जानुपर्ने कामकाजी मान्छेले पनि एक वर्षमा ५०–५५ पुस्तक पढ्न कसरी सम्भव भयो त ?
‘हात्ती खाने’ भन्ने मन्त्रले यहाँ काम गरेको थियो । कसैले हामीलाई एउटा सिङ्गै हात्ती ल्याएर ‘लौ यसलाई खाएर सिध्याऊ’ भनेर दियो भने भीमकाय हात्ती देखेर हाम्रो पहिलो प्रतिकृया ‘कसरी खान सकिन्छ ?’ भन्ने हुन्छ । हरेक दिन त्यस हात्तीलाई अलिअलि गर्दै खाँदै जाने हो भने एक दिन त्यो हात्ती खाएर सकिन्छ । पुस्तक पढ्ने कुरा पनि त्यही नै रहेछ ।
कसैले ‘ल पढेर सकाऊ’ भनेर हाम्रो अगाडि पचासभन्दा पढी पुस्तकको थुप्रो लगाइदियो भने हामीलाई शायद त्यति धेरै पुस्तक पढेर सकाउन सकिन्छ भन्ने आँट आउँदैन होला, तर हरेक दिन अलिअलि पढ्दा थाहै नपाएर पढेर सकिँदो रहेछ । यसरी हेर्दा औसतमा एक हप्तामा एउटा पुस्तक जति पढिने रहेछ । पुस्तकको आकार अनुसार पढ्ने समय फरक हुने नै भयो ।
कति पुस्तक एकैछिनमा पनि पढी सकिन्छ भने केही पुस्तक पढ्न केही दिन लाग्न सक्छ । अलि मोटा पुस्तक छन् भने अलि बढी पनि लाग्छ । पढ्न कति समय लाग्छ भन्ने कुरा पाठकको रुचिले पनि काम गर्छ । रुचि लागेको पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन र छिट्टै सकिन्छ ।
मैले प्रायः कार्यालयमै पनि कामबाट अलिकति फुर्सद भयो भने किताब निकालिहाल्छु । फाल्तु गफ गरेर समय बर्बाद गर्नुभन्दा पुस्तक पल्टाउनु मलाई सजिलो लाग्छ । त्यसो त पुस्तक पढ्नु पनि गफ गर्नु जस्तै हो– लेखकसँग गफ गर्नु, पात्रहरूसँग गफ गर्नु । त्यहाँ न विवाद हुन्छ, न विरोध । त्यसैले त्यहाँ आरामले संवाद गर्न सकिन्छ । घरमा फर्केपछि टि.भी. हेरेर या सामाजिक सञ्जालमा झुन्डिएर समय बिताउनुभन्दा कुनै पुस्तक पढ्दा यसले आफूलाई मात्र हैन पारिवारिक वातावरण सुधार्न पनि धेरै सहयोग गर्छ । त्यसैले हरेक साँझ सुत्नु अगाडि अलिकति भए पनि पढ्नको लागि समय निकाल्छु । अनि सप्ताहन्तमा डुल्न या सामान किन्न जाँदा म पुस्तक बोकेर जान्छु र कतै कफी पसल या पार्कमा बसेर मौका मिल्यो भने पढ्न शुरू गर्छु ।
मलाई कागजकै पुस्तक पढ्न मन पर्छ । कहिलेकाहीँ इ–बुक पनि पढ्छु तर श्रव्य पुस्तक मलाई मन पर्दैन । यदि कसैलाई मन पर्छ भने पढ्नको लागि समय निकाल्न नसक्नेहरूको लागि श्रव्य पुस्तक गतिलो विकल्प हो । सार्वजनिक यातायातमा यात्रा गर्दा या आफैँ गाडी चलाएर कार्यालय जाँदा त्यो बेलाको समय पुस्तक सुनेर सदुपयोग गर्न सकिन्छ । घरमै हुँदा पनि अरू घरायसी काम गर्दै गर्दा अथवा व्यायाम गर्दा श्रव्य पुस्तक सुन्न सकिन्छ ।
जुनसुकै माध्यमबाट पढे पनि पुस्तक पढ्नु आफैँमा लगानी गर्नु हो । यसबाट ज्ञान र सूचनाको दायरा बढ्ने मात्र हैन यसले आत्मविश्वास पनि बढाउँछ । आफूले नचाहिने काममा समय खेर फालेको छैन भनेर आत्मसन्तुष्टि पनि दिन्छ, तनाव कम गर्छ र हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक असर पु¥याउँछ । नियमित अध्ययनले स्मरण शक्ति बढाउँछ, काममा केन्द्रित हुन सहयोग गर्छ, कल्पनाशक्ति वृद्धि हुन्छ र यो आफैँमा एउटा मनोरञ्जन पनि हो ।
कति पुस्तक पढ्ने भन्ने कुरा गर्दा यो प्रश्नको सबभन्दा सही उत्तर ‘जति धेरै पढ्यो त्यति नै राम्रो’ भन्ने हो । तर कति पढ्ने भन्ने कुरा रुचि, समय र प्राथमिकता अनि आर्थिक अवस्थामा भर पर्ने कुरा हो तर कतिलाई धेरै भन्ने ? त्यसमा कुनै मानक छैन । आफ्नो अवस्था अनुसार आफ्नो मानक आफैँ निर्धारण गर्ने हो । कसैले अलि बढी समय दिन सक्छन् कसैले अलि कम । कसैले छिटो पढ्न सक्छन्, कसैले ढिलो पढ्छन् । जति पढे पनि, जसरी पढे पनि, जे पढे पनि यति पुस्तक पढेँ भनेर संख्या गन्नुभन्दा हरेक दिन पढ्नु महत्त्वपूर्ण हो ।
