हो म खोल्सा !

Nayabimarsha (Weekly Newspaper from Nepal)
लक्ष्मण नेवटिया

हो म खोल्सा, सानै भए पनि,
मेरो आफ्नै छ गौरव, सम्मान ।
खोलामा मिसिएपछि हराउँछ,
मेरो व्यक्तित्व–मेरो पहिचान ।१।

ठूलो नाम पाएर के गर्नु ?
मलाई प्यारो छ स्वतन्त्रता,
खोलामा विलीन हुनु त,
अन्ततः हो नै परतन्त्रता ।२।

मेरो आफ्नै हुन्छ चाल,
मेरो आफ्नै हुन्छ ताल ।
सानो नै भए पनि के भयो,
मेरो आफ्नै हुन्छ छाल ।३।

म बग्छु झारपातलाई ठेल्दै,
म बग्छु ढुंगासँग खेल्दै ।
चलमलाउँछु, मुस्कुराउँछु,
माछासँग हेलिँदै, छेल्दै ।४।

महानदी होस् वा खोला,
ठूलाले बोकाइ दिन्छ झोला।
सानै भएर बस्नुछ मलाई,
देखा जाला जस्तो जे होला ।५।

म झरनामा गएर पोखिन्छु,
कहिले बगरमा नै रोकिन्छ ।
जब अति दुख दिन्छ कसैले
तब जीवन्त भएर झोकिन्छु ।६।

हो म खोल्सा, सानै भए पनि,
मेरो आफ्नै छ गौरव, सम्मान ।
खोलामा मिसेपछि हराउँछ,
मेरो व्यक्तित्व—मेरो पहिचान ।७।
(विराटनगर)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *