एनआरएनएको एकता महाधिवेशन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । काठमाडौँमा हुने उक्त महाधिवेशन एकताको हुने बताइएको छ । हालै दुई समूहबीच एकीकरण भएपछि यो महाधिवेशन हुन लागेको हो ।
स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) मा महाधिवेशन गर्ने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी पूर्वअध्यक्ष तथा कमिटीका सदस्य आर.के. शर्माले दिंदै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूबीचको एकतालाई निष्कर्षमा पु¥याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ । उक्त समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका) तथा सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहनुभएको छ ।
एकताको सन्देशलाई विश्वभरका नेपालीमाझ पु¥याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरू पनि गरिने भएको छ । यसकालागि डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एशिया प्रशान्त तथा ओसिनिया क्षेत्र, डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम हुने गरी निर्णय गरिएको छ ।
बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ । अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *