रिसव गौतम
गत भदौ २३ र २४ को जेनजी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपतिबाट निर्वाचनको ६ महिने कार्यादेश पाएको वर्तमान सरकारले चुनावको एकलब्बे तयारी गरिरहेको छ । चुनाव हुने भएपछि यसबीच अन्तरिम सरकारका चार भाइ मन्त्रीले राजीनामा दिएका छन् । चुनावमा भाग लिन उनीहरु समेतले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा चुनावमा भाग लिन दल दर्ता, समानुपातिक सूची बुझाउने र प्रत्यक्षतर्फको उमेदवारीमा दलीय तथा स्वतन्त्रहरुको दर्ता समेत भइसकेको छ । दल र तिनका उम्मेदवारहरु मत माग्न घरदैलो अभियानमा जुटिसकेका छन् । सभा, सम्मेलन र भाषणबाजी चर्किन थालेको छ । दलहरु घोषणापत्र लेखनमा व्यस्त हँुदैछन् । देश नै चुनावी पर्वले धपक्क बल्न थालेको छ । चुनावले गर्माएपछि उपभोक्ता बजार चलाएमान हुन थालेको छ । अदृश्य पैसाहरु समेत बाहिर आएर करिव १ खर्ब हाराहारी चुनाव शिर्षकमा खर्च हुने अनुमान छन् ।
उम्मेदवारहरु चुनाव जित्ने हत्कन्डा स्वरुप एकले अर्कालाई कसरी पछि पार्ने भन्ने जुक्ति निकालिरहेका छन् । निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पु¥याइसकेको छ । म्यादी प्रहरी भर्नाको काम भइसकेको छ । माघ दोश्रो साताबाटै चुनावी सुरक्षाको माहौल खडा गर्न नेपाली सेना तैनाथ हुँदैछ । यसरी सम्पूर्ण हिसाबले सरकार शान्तिपूर्ण रुपमा चुनाव गराउन लागिपरेको छ । चुनाव हुने सुनिश्चित भएको छ । दातृ निकायहरुले पनि चुनावी प्रयोजनका लागि आवश्यक सहयोग दिन थालिसकेका छन् । निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुगिसकेको बताउन थालेको छ । यस्तोमा अहिलेको चुनावी माहौल र आसन्न चुनावको नतिजाले शेयर बजारमा कस्तो प्रभाव पार्ला ? भन्ने आम चासो देखिन्छ ।
खासगरी फागुन २१ को चुनाव जेनजी आन्दोलनको ‘म्यान्डेट’ ले सिर्जना गरेको परिघटना हो । जेनजीहरुले भदौ २३ को आन्दोलन कुशासन, भष्ट्राचार र शासन सक्तामा एउटै पुरानो वर्गको रजगज भएको भन्दै आन्दोलन गरेका थिए । त्यसमाथि सामाजिक सञ्जाल बन्दको निर्णयले आक्रोश र आन्दोलनलाई बल प्रदान गरेको थियो । त्यसकारण पनि फागुन २१ को निर्वाचनमा पुराना दलहरु र नयाँहरुबीच प्रतिस्पर्धा हुनेछ । निर्वाचन नजिकिँदै गर्दा नयाँ दलहरु खासगरी काठमाडौ महानगरपालिकाका तात्कालिन प्रमुख बालेन्द्र शाह (बालेन) मिसिएको रवि लामिछानेको रास्वपा, हर्क साम्पाङको श्रम सँस्कृति पार्टी, कुलमानको उज्यालो नेपाल पार्टी र कतिपय अरु नयाँ दलहरुको अहिले प्रभाव बढाउन प्रयासरत देखिन्छन् ।
यो पटकको जनताको ‘सेन्टीमेन्ट’ ले काम गर्ने हो वा पुराना एवं सांगठनिक रुपमा जरा गाढेर बसेका दलहरुको अवस्था कस्तो रहने हो अहिले नै भनिहाल्न सकिने अवस्था छैन । फेरि मिश्रित निर्वाचन प्रणालीले गर्दा पनि कुनै एक दलको बहुमत आउने संभावना अहिले नदेखिने चर्चा बढी हुने गरेको छ ।
माघ महिनामा बालेन रास्वपामा प्रवेश गरेको भोलिपल्ट शेयर बजार ४७.५५ अंकले बढेको थियो । कुलमान रास्वपामा प्रवेश गर्दा पनि बजार बढेको हो । त्यस हिसाबले पनि शेयर बजारले यस पटक नयाँ राजनीतिक दल र शक्ति खोजिरहेको भान भएको भनी चर्चा गर्नेहरु पनि छन् । फेरि राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी, सुधारिएको गगन थापा नेतृत्वको नेपाली काँग्रेस यी सबैको आर्थिक सिद्धात मूलत पँुजीवादी नै हो । अर्थात् उदारवादी एवं निजी क्षेत्रमैत्री आर्थिक प्रणाली नै उनीहरुको रोडम्याप हुन्् ।
देशमा दुई तिहाइ जनमत कम्युनिष्टहरुकै भए पनि विभिन्न कारणले उनीहरु एक अर्कामै ज्यादा लडाँइ गर्दा यस पटक मतदाता विरक्तिएका भन्ने चर्चा चलेको छ । त्यसकारण पनि फागुन २१को ब्यालेट यस पटक कम्युनिष्टहरुको पोल्टामा पर्ने सम्भावना निकै कम रहेको भनी राजनीतिक विश्लेषकहरुको विश्लेषण आउन थालेको छ ।
यो पटकको निर्वाचनले शेयर बजार अवश्य बढाउँदै लैजानेछ किनकि शेयर बजारले जहिले पनि निजी क्षेत्रमैत्री दल र उम्मेदवारहरु खोजिरहेको हुन्छ । खुल्ला एवं राज्यबाट नियन्त्रण नगरिएको स्वतन्त्र व्यावसायिक वातावरण खोजिरहेको हुन्छ । त्यस सन्र्दभमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहितका पुँजीवादलाई पछ्याएका पार्टीहरुको माहोल बनिरहँदा शेयर बजारले ‘ग्रिन सिग्नल’ दिनु स्वाभाविक हो ।
दलहरुले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दिइसकेकपछि शेयर बजार ४२ अंकको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिइसकेको छ । जस्तो कि २०६४ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को माहौल बढिरहँदा र उसैको पक्षमा निर्वाचनको नतिजा आउँदा शेयर बजार धेरै नै घटेको थियो । सो बर्ष २०६४ मंसिरमा १ हजार २५ अंकमा रहेको शेयर बजार परिसूचक निर्वाचनको समय चैत्रमा आइपुग्दा ७ सय ४७ अंकमा झरेको थियो ।
त्यतिखेरका अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६५ साल भदौ २ गते शेयर बजार जुवा घर हो भनेपछि त झन् बजारको मनोविज्ञान निकै खस्केको थियो । अर्थमन्त्रीको रुपमा भट्टराईको सो अभिव्यक्तिपछि बजार १०७५ अंकबाट क्रमश २९२ अंकसम्म तल झर्यो । माओवादी क्रमशः सक्तामा अभ्यस्त भएपछि उसले आप्mना घोषणापत्रमा उल्लेखित धेरै नीति कार्यक्रम छोड्यो । पुराना दलहरुसँगको सहकार्य बढाउन थालेपछि बजार सम्हालिएर बढ्न थालेको हो । नेपालमा दृश्यमा देखिन गरी अलिकति गरिव तथा उपेक्षित वर्गको मुद्दालाई बोकेको, समाजवादको यात्रा तय गर्छौ भन्ने पार्टी माओवादी नै थियो । अहिले माओवादी पार्टी मूल रुपमा विभिन्न कम्युनिष्ट भनिने सुधारवादी दलहरुसँग गठबन्धन गर्दै नेकपा बनेको छ । उसले जनयुद्ध शुरु गर्दा ताकाको माग र मुद्दा धेरैजसो छोडिसकेको छ । अहिले त काँगे्रस, एमाले र नेकपामा तात्विक फरक छैन । सैद्धान्तिक हिसाबले केही फरकपना त होला तर उनीहरुले दुई दशकबीच गरेका काम र परिपाटी काँगे्रस–एमालेकै जस्तो हो ।
अर्को एमाले पार्टी नामले कम्युनिष्ट भए पनि काँग्रेसभन्दा पनि उदार र पुँजीवादी ढर्राको पार्टी हो । काँगे्रस त भन्नै परेन, ऊ घोषित रुपमै उपल्लो वर्गको, पुँजीवादको पक्षपोषक पार्टी हो । यसकारण शेयर बजारले अहिले दलीय सिद्धान्तका आधारमा डराएको छैन । बरु निर्वाचनबाट पुरानै भ्रष्ट नेताहरु पो दोहोरिने हुन् कि भन्ने संसय चाँही छ ।
यसपटक सुधारिएको नेपाली काँगे्रसले पनि युवा नेता सभापति गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बुढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरुले काँग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेजनी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरु नै खोजेको परिपेक्षमा निर्वाचन हुँदैछ, माहौल नयाँ र युवाहरुकै आसपास आइरहँदा अबका दिनमा शेयर बजार बढ्दै जाने कुरामा दुइमत छैन ।
