टङ्क भट्टराई
बूढानीलकण्ठ मन्दिरको ठीक उत्तरपट्टि पुष्पाञ्जली खाजाघर । पहिला धेरै वर्ष मन्दिरमुनि रहेको त्यो खाजाघर केही समय अहिलेको ठाउँभन्दा अलिक माथि थियो । मैले त्यहाँ गोर्खाली बा र गुरुङ बासँग दुई–चारचोटि एकजना राम्री अधबैंसेले बनाएर दिएको घोटेको कफी पिएको छु । चिनीमा कफी हालेर घोट्दा–घोट्दा तयार गरेको त्यो दूधकफीको स्वाद निकै स्वादिलो लागेको हो मलाई त्यो बेला नै । त्यसपछि त्यो पसल मन्दिरको ठीक बाटोमाथि सरेको पनि झण्डै दश वर्ष भयो होला ।
“लु एक कप कडा खालको चिया !”
“कालो कि दूध भाको ?”
“दूध चिया ।“
“चिनी भाको कि नभाको ?”
“अलि चिनी कम ।“
“राम्री दिदी एउटा कालो कफी । चिनी ठिक्क भाको ।”
“एउटा लेमन टी । चिनी होइन वीरेनुन हालेको ।”
“एउटा सूर्य चुरोट पनि है !”
दुईतले पक्कीघरको तल्लो तलामा पुष्पाञ्जली खाजाघर । भित्र जतिखेरै ग्याँसचुलो र स्टोभ बलिरहेका । बस्ने ठाउँ भित्र–बाहिर दुवैतिर । पूर्वपट्टिको खुला ठाउँमा आधा टिनको छानो । आधा खुला । खाजाघर बिहानदेखि बेलुकैसम्म चलायमान । भित्र कित्लीमा पानी उम्लिरहेको । दिउरेमा चिया छड्किरहेको । कोही कफी घोटिरहेका । कोही खाजा बनाइरहेका । कोही पैसा लिइरहेका । कोही खातामा उधारो टिपिरहेका ।
छेउमा अरू कफीसप र होटलहरू पनि थुप्रै छन् ।
अरू पसलै नखुली एकाबिहानै खुल्ने हुनाले मन्दिर दर्शन गर्नेहरू पनि एक कप तातो चिया खान यो खाजाघरमा आउने गर्छन् । कफी, चिया, खाजा र खानाको गुणस्तर पनि निकै राम्रो । सेवा पनि छिटो । चियासँगको मुस्कान पनि मीठो । मान्छे बाहिरपट्टि पनि भरि । भित्रपट्टि पनि भरि । काम गर्ने मान्छेहरूलाई एकैछिन फुर्सद छैन ।
बिहानदेखि बेलुकासम्म कोही चिया पिइरहेका । कोही कफी । कोही लेमन टी । कोही खाजा खाइरहेका । कोही एकातिर छेउमा चियाको चुस्कीसँगै चुरोट तानिरहेका ।
“यो सरकार त एक हप्ता पनि टिक्दैन ।”
“अब पक्कै राजा आउँछन् ।”
“फलानो नेता कामै नलाग्ने ।”
“पुरानाले देश बर्बाद गरे ।”
“अब नयाँले केही गर्लान् जस्तो छ ।”
“फलानो नेता दिल्ली पुगेर आयो । आजकै रात उथलपुथल हुन सक्छ ।”
“अब अमेरिकालाई चीनले खान्छ । ट्रम्प त पागलै र’छ नि ।”
“फलानो त फलानीसँग सल्केको रहेछ । फलानी त फेसबुकबाटै भागिछ ।”
“फलानो र फलानीको डिभोर्स भएछ ।”
“यो लभ म्यारिज त टिक्दै टिक्दैन ।”
“फलानो कर्मचारीलाई मुद्दा लागेछ ।”
“आजभोलिका केटाकेटी बिग्रिए । जतिखेरै हातमा मोबाइल ।”
“युवा सबै खाडीमा । देश पूरै रित्तो भयो ।”
“गाउँमा मान्छे छैनन् । बाँदरको राज भो ।”
“यो बाटो त कहिल्यै नबन्ने भो । फलानो ठेकदार पैसा खाएर भागो अरे ।”
“अष्ट्रेलिया त कति राम्रो हौ । केटाकेटी उतै थे । हामी बूढाबूढी भर्खर पुगेर आका ।”
“म पनि अब अर्को साल अमेरिका जान्छु । केटाकेटीले बोलाका छन् ।”
“हाम्रो पालामा यस्तो थिएन ।”
“यसपाली पानी धेर परो ।”
“गर्मी पोहोरको भन्दा बढो ।”
“जलवायु परिवर्तनले हिमालमा हिउँ पर्न छोडो ।”
“अब त भूकम्प पक्का आउँछ ।”
“देश सकियो । सबै नेता लेन्डुपे भए ।”
“अब नेपाललाई इण्डियाले खानेभो ।”
यस्तै–यस्तै गफ हुन्छन् राम्री दिदीको खाजाघरमा ।
यस्तो लाग्छ, यो खाजाघर एउटा संसद हो । यहाँ छिटोछिटो सरकार गठन र विघटन हुन्छ । नेताहरूलाई सत्ता चलाउने, पाटी चलाउने, ऐन÷कानून बनाउने र देशको विकास गर्ने तरिका यहीँ सिकाइन्छ । कर्मचारीतन्त्रले जनताको काम यसरी गर्नुपर्छ भनेर यहीँ गोष्ठी र सेमिनार गरिन्छ ।
झुण्ड–झुण्डमा बसेका मान्छेहरूबीच कतै राजनीतिक छलफल । कतै महङ्गीको गुनासो । कतै देश बिग्रिएको कुरा । यस्तै–यस्तै ।
नजिकै बूढानीलकण्ठ मन्दिरमा घण्टी बजिरहेको । घण्टीको आवाजलाई पनि छिचोलेर राम्री दिदीको खाजाघरमा ठूला–ठूला गफ घन्किरहेको ।
यहाँ देशको खुब चिन्ता हुन्छ । चियाभन्दा तातो त राजनीति हुन्छ । एकैछिनमा सत्ता उलटपुलट हुन्छ । देश विदेशका कुरा हुन्छन् । विकास र विनाशका कुरा हुन्छन् । मान्छे र समाजका विषयमा अनेक कुरा निस्किन्छन् । प्रेम र विवाहका कुरा हुन्छन् । मौसम र प्रकृतिका कुरा हुन्छन् ।
चिया सकिन्छ तर गफ सकिँदैन । अर्काको कुरा काट्दा–काट्दा हैरान । भोलिपल्ट पनि यही चाला । उही कुर्सी । उही मान्छे । उही उडन्ते कुरा ।
यति हुँदाहुँदै यहाँका राम्रा पक्ष पनि छन् ।
दिनभरिको तनाव, रिस, थकान सबै कुरा चियासँगै बाहिर निस्किन्छ । छिमेकी र नयाँ मान्छेहरूसँग चिनजान हुन्छ । साथीभाइसँग बातचित, हाँसो र ख्यालठट्टा गर्दा एक्लोपन पनि घट्छ । एक–अर्काबीच सम्बन्ध बढ्छ । चिया पसलमै विभिन्न सूचना आदान–प्रदान हुन्छन् । धेरै कुराको जानकारी यहीँबाट फैलिन्छ । आफ्नो टोल, गाउँ, बजारको समस्या चिया पसलमै पहिला उठ्छ । धेरै आन्दोलन र पहल यस्तै चिया पसलबाट उठेका छन् । अनेक विचार र आइडियाहरू एक कप चियाबाट शुरु भएका छन् ।
जब चुनाव आउँछ, यहाँको माहोल छुट्टै हुन्छ । नियमित ग्राहक त छँदैछन् । अझ यो बेला नेता, कार्यकर्ताको चहलपहल धेरै बढ्छ । कतिले त चिया–कफीको पैसा पनि तिर्न पर्दैन । अरू बेला कमै सुनिने कुशलक्षेमका कुराहरू पनि यही बेला हुन्छन् । टेबलभरि विचार र योजनाहरू छरपस्ट पोखिन्छन् । अरूबाट भएन अब आफू र आफ्नाले देश बनाउँछन् । अरूले भ्रष्टाचार गरे तर हामीबाट हुँदैन । अब विकास चाँडै हुन्छ । बाटा र पुलहरू बन्छन् । अब युवाले विदेश जान पर्दैन । रोजगारी यहीँ सिर्जना हुन्छ । यो खाजाघरमा यस्ता कुरा धेरै हुन्छन् चुनावका बेला ।
०००
राम्री दिदी त्यस्तै चवन्न–पचपन्न वर्षकी हुँदी हुन् । सर्लक्क परेको ज्यान । गोरो अनुहार । ओठमा मुस्कान । उनी बूढानीलकण्ठ जस्तै शान्त छिन् । सौम्य छिन् । धेरै बोल्दिनन् ।
म बूढानीलकण्ठमै बस्ने भएकाले बेलाबेला साथीहरूका साथ उनको यो खाजाघरमा जाने गर्दछु । खाजाघर भने पनि यहाँ बढी जसो चिया–कफी नै चल्छ । मैले पुष्पाञ्जलीको सट्टा ‘राम्री दिदीको खाजाघर’ भनेर अनौपचारिक नामाकरण गरेको हुँदा धेरैले उनलाई राम्री दिदी भनेर बोलाउने गरेका छन् ।
अहिले त यस्ती छिन् । उमेरमा त झन् कस्ती होलिन् यी दिदी ! उनको नाम गोमा पण्डित । जन्मघर नुवाकोट जिल्ला । दुप्चेश्वरभन्दा माथि शिखरबेँसी । कलकल जवानीमा काठमाडौं आएर बूढानीलकण्ठमा सानो होटल शुरु गरेपछि हेटौंडाका एक जना युवासँग उनको हिमचिम भयो । ४३ सालमा एउटा छोरा पनि जन्मियो । छोरो जन्मिएको एक–डेढ वर्षपछि उनलाई छोडेर हिँडेका श्रीमान् अहिलेसम्म फर्केर आएका छैनन् । मरे वा बाँचे, कता छन् टुङ्गो छैन । एउटा भ’को छोरो पनि विदेशतिर भास्सिएको छ । उनको जीवनमा सङ्घर्षका उकाली–ओराली थुप्रै आए । मनमा दुःखका ज्वारभाटाहरू धेरै चले । अहिलेसम्म एक्लै भए पनि अनेक समस्याहरूसँग लड्दै उनले आफ्नो कर्म छोडिनन् । दुई–चार जना आफन्त र सहयोगीका साथ निरन्तर रूपमा खाजाघर चलाएकी छिन् ।
अगाडिपट्टि बाटोमा दोहोरीलता मान्छेहरू हिँडिरहन्छन् । गाडीहरू जतिखेरै घार्रघुर्र गरिरहन्छन् । मन्दिरका बाँदर यता र उता कुदिरहन्छन् । परेवा चारो खोज्दै भुर्र–भुर्र उडिरहन्छन् ।
बिहानदेखि बेलुकैसम्म यत्रो चहलपहल हुँदा पनि बूढानीलकण्ठ देउता भने सुतेका सुत्यै छन् । भक्तका पुकारा उनले सुन्छन् कि सुन्दैनन् थाहा छैन । जे भए पनि भक्तहरू आउँछन् । परिक्रमा गर्छन् । श्रद्धास्वरूप पूजा गर्छन् । भेटी र प्रसाद चढाउँछन् । अनि एउटा छुट्टै शान्ति र आनन्दको अनुभूति लिएर फर्किन्छन् ।
मन्दिर छेउमै भए पनि राम्री दिदीको खाजाघरमा दान, धर्म, पुण्य र मोक्षका कुराहरू त्यति हुँदैनन् । खालि अरू–अरू कुरा कुराहरू मात्रै । यथार्थ कम हावादारी बढी ।
मास्तिर शिवपुरी पहाड अविचल छ । राम्री दिदीको मनमा जे चले पनि, जस्तै आँधिहुरी आए पनि उनी बाहिरबाट भने त्यस्तै अविचल देखिन्छिन् । दिउरेको चियासँगै उनको मन पनि उम्लिँदो हो बेलाबेला । भित्रभित्रै तातो बाफ छुट्दो हो कतिखेर । तर पनि खाजाघरमा बिहानदेखि बेलुकासम्म ग्राहकहरूका आकाश–पाताल जोड्ने अनेकथरी गफले उनलाई खासै छोएको जस्तो देखिँदैन ।
बूढानीलकण्ठ मन्दिरको नियमित पूजा–आरतीजस्तै राम्री दिदी पनि आफ्नो दैनिक कर्मको निरन्तर आरती यही खाजाघरमा उतारिरहन्छिन् ।
कर्म नै उनको पूजा हो । कर्म नै उनको तपस्या हो । ग्राहकको सेवा नै उनको समर्पण हो ।
राम्री दिदीको खाजाघर
Facebook Comments Box
