षडानन्दले दिङ्लाबाट फैलाएको ज्ञानको उज्यालो

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

नेपालको इतिहास पल्टाउँदा कतिपय यस्ता व्यक्तित्व भेटिन्छन्, जसको जीवनलाई केवल उनी जन्मेको ठाउँ वा उनी बसेको समयभित्र सीमित गरेर बुझ्न सकिँदैन । उनीहरूले आफ्नो समयभन्दा धेरै अगाडिको सोच बोकेका हुन्छन् । त्यस्तै व्यक्तित्व हुन् भोजपुर दिङ्लाका बालागुरु षडानन्द अधिकारी । आजभन्दा झन्डै दुई शताब्दीअघि पूर्वी नेपालको पहाडी भूगोलमा जन्मिएर उनले शिक्षा, अध्यात्म, समाज सुधार र प्रकृतिप्रतिको प्रेमलाई जुन ढंगले आफ्नो जीवनसँग जोडे, त्यसले उनलाई नेपाली समाजमा विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
षडानन्दको जीवनको शुरुआत नै संघर्षपूर्ण थियो । भोजपुरको दिङ्ला क्षेत्रमा जन्मिएका उनको बाल्यकाल सुखसयलमा बितेन । जन्मनुअघि नै पिताको निधन भएकाले उनले बाबुको माया र संरक्षण अनुभव गर्न पाएनन् । परिवारको अवस्था पनि सहज थिएन । अझ बाल्यकालसँग जोडिएको एउटा मार्मिक प्रसङ्ग त आजसम्म पनि दिङ्लाको लोकस्मृतिमा सुनिन्छ कि आमाको दूध पर्याप्त नआएको अवस्थामा धनमाया नामकी दमिनी महिलाले आफ्नो दूध खुवाएर बालक षडानन्दलाई हुर्कन सहयोग गरेकी थिइन् । जातीय विभेद बलियो रहेको त्यस समयको समाजमा एउटा दलित महिलाले आफ्नो दूध खुवाएर एउटा बालकको जीवन जोगाएको प्रसङ्ग आफैंमा मानवीय सम्बन्धको अद्भूत उदाहरण बन्न पुगेको छ ।
बाल्यकालको यही अभाव र संघर्षले होला, षडानन्दको मन सामान्य जीवनमा मात्र अडिएन । उनको रुचि अध्ययन, ज्ञान र आध्यात्मिक चिन्तनतर्फ बढ्दै गयो । त्यसबेला आजको जस्तो विद्यालय, विश्वविद्यालय वा पुस्तकालयको सुविधा थिएन । ज्ञान प्राप्त गर्न चाहनेले गुरु खोज्दै हिँड्नुपथ्र्यो । षडानन्दले पनि त्यही बाटो रोजे । नेपालका विभिन्न ठाउँ हुँदै भारतका धार्मिक तथा विद्वत् केन्द्रसम्म पुगे । विशेषतः काशी अर्थात् वाराणसीमा उनले संस्कृत, वेद, दर्शन र आध्यात्मिक विषयको गहिरो अध्ययन गरे । त्यहाँ उनको विद्वता र साधनाको चर्चा फैलिएको मानिन्छ ।
उनीसँग ज्ञान बढ्दै जाँदा एउटा अर्को प्रश्न पनि जन्मियो कि आफूले पाएको ज्ञान अरूलाई कसरी दिने ? यही प्रश्नको उत्तर खोज्दै उनी फेरि आफ्नै भूगोलतर्फ फर्किए । दिङ्लाको पहाडमा उनले शिक्षाको त्यस्तो आधार खडा गरे, जसको महत्व त्यस समयको नेपालको सामाजिक र राजनीतिक परिवेश बुझ्दा अझ स्पष्ट हुन्छ ।
त्यतिबेला शिक्षा सर्वसाधारणको सहज पहुँचमा थिएन । राणा शासनको प्रभावमा रहेको नेपालमा शिक्षालाई सीमित राख्ने प्रवृत्ति बलियो थियो । यस्तो अवस्थामा षडानन्दले दिङ्लामा संस्कृत शिक्षा र गुरुकुलीय पद्धतिमा आधारित पाठशाला सञ्चालन गरे । टाढा–टाढाबाट विद्यार्थी त्यहाँ आउन थाले । व्याकरण, वेद, दर्शन, काव्य, संस्कृत साहित्य तथा धार्मिक–दार्शनिक विषय पढाइन्थे । ज्ञान खोज्ने विद्यार्थीका लागि दिङ्ला क्रमशः एउटा महत्वपूर्ण केन्द्र बन्दै गयो ।
उनको गुरुकुल केवल पाठ पढाउने ठाउँ थिएन । त्यसले पूर्वी पहाडमा एउटा नयाँ चेतना जन्मायो—शिक्षा केही व्यक्तिको सम्पत्ति होइन, समाजको साझा आवश्यकता हो । आफ्नो समयका सामाजिक सीमालाई चुनौती दिँदै उनले शिक्षाको ज्योति फैलाउने प्रयास गरे । यही कारण बालागुरु षडानन्दलाई केवल संस्कृतका विद्वान् वा धार्मिक गुरुका रूपमा मात्र सम्झनु उनको योगदानलाई साँघुरो बनाउनु हुनेछ ।
उनको जीवनको अर्को महत्वपूर्ण पक्ष सामाजिक सुधारसँग जोडिन्छ । त्यस समय नेपाली समाजमा सतीप्रथा जस्तो अमानवीय चलन कायम थियो । पति मरेपछि पत्नीलाई समेत चितामा जलाउने प्रथा धर्म र संस्कारको नाममा स्वीकार गरिन्थ्यो । षडानन्दले यस्तो कुप्रथालाई सहज रूपमा स्वीकार गरेनन् । उनले स्थानीय स्तरमा यसको विरोध गरे र तात्कालीन शासक वर्गसमक्ष पनि सतीप्रथाको अन्त्यका लागि आवाज उठाएको प्रसङ्ग पाइन्छ ।
अवश्य पनि नेपालबाट सतीप्रथा हट्नु कुनै एक व्यक्तिको प्रयासको परिणाम मात्र थिएन । धेरै सामाजिक सुधारक, चेतनशील व्यक्ति र समयक्रममा विकसित सामाजिक दबाबले त्यसका लागि वातावरण तयार गरेको थियो । पछि चन्द्रशमशेरको शासनकालमा सतीप्रथा कानुनी रूपमा अन्त्य भयो । त्यसअघि नै यसको विरुद्ध आवाज उठाउने साहस गरेका व्यक्तिहरूमध्ये षडानन्दको नामलाई सम्झनु उनको सामाजिक चेतनाको सम्मान गर्नु हो ।
षडानन्दको व्यक्तित्वसँग जोडिएको अर्को रोचक पक्ष हो— प्रकृतिप्रतिको उनको लगाव । उनले दिङ्लामा विभिन्न किसिमका वनस्पति रोप्ने र संरक्षण गर्ने काम गरेको स्थानीय स्मृति छ । विशेषतः रुद्राक्षसँग उनको नाम गहिरोसँग जोडिन्छ । दिङ्लामा उनले रुद्राक्षका बिरुवा रोपेको र ती बिरुवाबाट विकसित भएका रूखहरू अहिले पनि फल दिने गरेको स्थानीय विश्वास छ । आज रुद्राक्षलाई धार्मिक आस्था, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्ने गरिन्छ । तर त्यसबेला नै यसको संरक्षण र विस्तारतर्फ ध्यान दिनु उनको प्रकृतिप्रतिको चेतनाको एउटा रोचक पक्ष मान्न सकिन्छ ।
वन संरक्षणका विषयमा पनि उनको सोच तात्कालीन समयका लागि उल्लेखनीय रहेको बताइन्छ । मानिसले प्रकृतिलाई केवल उपभोग गर्ने वस्तुका रूपमा हेर्ने प्रवृत्ति बलियो रहेको अवस्थामा उनले वन र वातावरणको संरक्षणलाई सामाजिक हितसँग जोडेर हेरेको जनश्रुति पाइन्छ । यस अर्थमा उनलाई आधुनिक वातावरणीय चेतनाको प्रारम्भिक संवाहकका रूपमा समेत सम्झने गरिएको छ ।
बालागुरु षडानन्दको चर्चा गर्दा इतिहाससँगै किंवदन्तीहरू पनि सँगसँगै आउँछन् । दिङ्ला र आसपासका क्षेत्रमा उनीसँग जोडिएको एउटा चर्चित जनश्रुति छ कि उनी एकै दिन काठमाडौंमा पनि देखिन्थे र दिङ्लामा पनि देखिन्थे भन्ने । त्यस्तै अरुण नदीजस्तो तीव्र बहाव भएको नदीलाई उनले रुमाल राखेर पार गर्थे भन्ने कथा पनि पुस्तौँदेखि सुनिँदै आएको छ ।
यी प्रसङ्गलाई आधुनिक इतिहासको प्रमाणित घटनाका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन । यस्ता किंवदन्तीहरू किन जन्मिए भन्ने प्रश्न भने रोचक छ । सम्भवतः असाधारण विद्वता, तपस्या, साधना र व्यक्तित्वका कारण सामान्य मानिसको कल्पनामा षडानन्द क्रमशः अलौकिक पात्रका रूपमा स्थापित हुँदै गए । कुनै व्यक्तिप्रति समाजले असाधारण श्रद्धा राख्दा उसको जीवनसँग यस्ता कथाहरू जोडिनु नेपाली लोकपरम्परामा नौलो कुरा होइन । त्यसैले यी कथाहरूलाई तथ्य र लोकविश्वासको सीमारेखासहित बुझ्नु नै उचित हुन्छ ।
उनको ख्याति नेपालमा मात्र सीमित रहेन । भारतका धार्मिक तथा विद्वत् केन्द्रमा पनि उनको परिचय फैलिएको बताइन्छ । विशेषगरी काशीमा उनको विद्वता र साधनाको सम्मान भएको प्रसङ्गले त्यतिबेला नेपालका एक साधक तथा विद्वान्ले सीमापारि पनि आफ्नो प्रभाव बनाउन सकेको देखाउँछ । आधुनिक सञ्चारको सुविधा नभएको समयमा एउटा पहाडी गाउँबाट निस्किएको व्यक्ति भारतका विद्वत् समाजसम्म परिचित हुनु आफैंमा असाधारण कुरा थियो ।
षडानन्दको जीवनको अर्को विशेषता थियो कि व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक हितलाई महत्व दिनु । उनले शिक्षा फैलाए, गुरुकुल चलाए, सामाजिक कुरीतिविरुद्ध आवाज उठाए, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गरे र प्रकृतिसँगको सम्बन्धलाई पनि महत्व दिए । उनका कामको प्रभाव तत्कालीन पुस्तामा मात्र सीमित रहेन । उनले तयार पारेका विद्यार्थी, उनले स्थापना गरेको शैक्षिक परम्परा र उनले जगाएको चेतनाले पछिल्ला पुस्तालाई पनि प्रभावित गरिरह्यो ।
आज दिङ्लाको नाम उच्चारण गर्दा बालागुरु षडानन्दको नाम स्वतः सम्झनामा आउँछ । उनको सम्मानमा स्थानीय तहको नामसमेत षडानन्द नगरपालिका राखिएको छ । सालिक, विद्यालय, नगरपालिका वा स्मृतिमा नाम लेखिनु मात्र उनको वास्तविक सम्मान होइन । उनको जीवनको सबैभन्दा ठूलो सन्देश त ज्ञानलाई समाजसँग बाँड्नु, गलत परम्पराविरुद्ध बोल्नु र आफ्नो समयभन्दा अगाडि सोच्नु हो ।
बालागुरु षडानन्दको जीवनलाई हेर्दा एउटा अनौठो यात्रा देखिन्छ । दूधको अभावमा अर्की आमाको ममताबाट जीवन पाएको बालक, ज्ञानको खोजीमा टाढा पुगेको विद्यार्थी, भारतमा विद्वताको परिचय बनाएको साधक, दिङ्लामा गुरुकुल स्थापना गर्ने शिक्षक, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने सुधारक र प्रकृतिको संरक्षण गर्ने कर्मशील व्यक्तित्व । उनको जीवनका केही प्रसङ्ग इतिहासका पानामा छन्, केही स्थानीय स्मृतिमा छन् र केही किंवदन्तीमा मिसिएका छन् । यी सबैलाई जोड्ने मूल धागो भने एउटै देखिन्छ त्यो के भने ज्ञान र चेतनाको उज्यालो फैलाउने दृढ इच्छा ।
दिङ्लाको पहाडमा उनले रोपेको रुद्राक्षको रूख आज पनि फलिरहेको छ भन्ने स्थानीय विश्वास छ । त्यो रूख केवल एउटा वनस्पति होइन, एउटा प्रतीक पनि हो । समय बदलियो, शासन बदलियो, शिक्षा बदलियो, समाज बदलियोÙ तर उनले रोपेको ज्ञानको बिरुवा भने अझै सुक्न दिएको छैन । त्यसैले बालागुरु षडानन्दलाई सम्झनु भनेको एउटा पुरानो धार्मिक व्यक्तित्वलाई सम्झनु मात्र होइन, नेपालको शिक्षा, सामाजिक चेतना र सुधारको इतिहासमा एक अग्रणी अध्यायलाई सम्झनु पनि हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *