पिएमणि भट्टराई
नेपालको इतिहास पल्टाउँदा कतिपय यस्ता व्यक्तित्व भेटिन्छन्, जसको जीवनलाई केवल उनी जन्मेको ठाउँ वा उनी बसेको समयभित्र सीमित गरेर बुझ्न सकिँदैन । उनीहरूले आफ्नो समयभन्दा धेरै अगाडिको सोच बोकेका हुन्छन् । त्यस्तै व्यक्तित्व हुन् भोजपुर दिङ्लाका बालागुरु षडानन्द अधिकारी । आजभन्दा झन्डै दुई शताब्दीअघि पूर्वी नेपालको पहाडी भूगोलमा जन्मिएर उनले शिक्षा, अध्यात्म, समाज सुधार र प्रकृतिप्रतिको प्रेमलाई जुन ढंगले आफ्नो जीवनसँग जोडे, त्यसले उनलाई नेपाली समाजमा विशिष्ट व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
षडानन्दको जीवनको शुरुआत नै संघर्षपूर्ण थियो । भोजपुरको दिङ्ला क्षेत्रमा जन्मिएका उनको बाल्यकाल सुखसयलमा बितेन । जन्मनुअघि नै पिताको निधन भएकाले उनले बाबुको माया र संरक्षण अनुभव गर्न पाएनन् । परिवारको अवस्था पनि सहज थिएन । अझ बाल्यकालसँग जोडिएको एउटा मार्मिक प्रसङ्ग त आजसम्म पनि दिङ्लाको लोकस्मृतिमा सुनिन्छ कि आमाको दूध पर्याप्त नआएको अवस्थामा धनमाया नामकी दमिनी महिलाले आफ्नो दूध खुवाएर बालक षडानन्दलाई हुर्कन सहयोग गरेकी थिइन् । जातीय विभेद बलियो रहेको त्यस समयको समाजमा एउटा दलित महिलाले आफ्नो दूध खुवाएर एउटा बालकको जीवन जोगाएको प्रसङ्ग आफैंमा मानवीय सम्बन्धको अद्भूत उदाहरण बन्न पुगेको छ ।
बाल्यकालको यही अभाव र संघर्षले होला, षडानन्दको मन सामान्य जीवनमा मात्र अडिएन । उनको रुचि अध्ययन, ज्ञान र आध्यात्मिक चिन्तनतर्फ बढ्दै गयो । त्यसबेला आजको जस्तो विद्यालय, विश्वविद्यालय वा पुस्तकालयको सुविधा थिएन । ज्ञान प्राप्त गर्न चाहनेले गुरु खोज्दै हिँड्नुपथ्र्यो । षडानन्दले पनि त्यही बाटो रोजे । नेपालका विभिन्न ठाउँ हुँदै भारतका धार्मिक तथा विद्वत् केन्द्रसम्म पुगे । विशेषतः काशी अर्थात् वाराणसीमा उनले संस्कृत, वेद, दर्शन र आध्यात्मिक विषयको गहिरो अध्ययन गरे । त्यहाँ उनको विद्वता र साधनाको चर्चा फैलिएको मानिन्छ ।
उनीसँग ज्ञान बढ्दै जाँदा एउटा अर्को प्रश्न पनि जन्मियो कि आफूले पाएको ज्ञान अरूलाई कसरी दिने ? यही प्रश्नको उत्तर खोज्दै उनी फेरि आफ्नै भूगोलतर्फ फर्किए । दिङ्लाको पहाडमा उनले शिक्षाको त्यस्तो आधार खडा गरे, जसको महत्व त्यस समयको नेपालको सामाजिक र राजनीतिक परिवेश बुझ्दा अझ स्पष्ट हुन्छ ।
त्यतिबेला शिक्षा सर्वसाधारणको सहज पहुँचमा थिएन । राणा शासनको प्रभावमा रहेको नेपालमा शिक्षालाई सीमित राख्ने प्रवृत्ति बलियो थियो । यस्तो अवस्थामा षडानन्दले दिङ्लामा संस्कृत शिक्षा र गुरुकुलीय पद्धतिमा आधारित पाठशाला सञ्चालन गरे । टाढा–टाढाबाट विद्यार्थी त्यहाँ आउन थाले । व्याकरण, वेद, दर्शन, काव्य, संस्कृत साहित्य तथा धार्मिक–दार्शनिक विषय पढाइन्थे । ज्ञान खोज्ने विद्यार्थीका लागि दिङ्ला क्रमशः एउटा महत्वपूर्ण केन्द्र बन्दै गयो ।
उनको गुरुकुल केवल पाठ पढाउने ठाउँ थिएन । त्यसले पूर्वी पहाडमा एउटा नयाँ चेतना जन्मायो—शिक्षा केही व्यक्तिको सम्पत्ति होइन, समाजको साझा आवश्यकता हो । आफ्नो समयका सामाजिक सीमालाई चुनौती दिँदै उनले शिक्षाको ज्योति फैलाउने प्रयास गरे । यही कारण बालागुरु षडानन्दलाई केवल संस्कृतका विद्वान् वा धार्मिक गुरुका रूपमा मात्र सम्झनु उनको योगदानलाई साँघुरो बनाउनु हुनेछ ।
उनको जीवनको अर्को महत्वपूर्ण पक्ष सामाजिक सुधारसँग जोडिन्छ । त्यस समय नेपाली समाजमा सतीप्रथा जस्तो अमानवीय चलन कायम थियो । पति मरेपछि पत्नीलाई समेत चितामा जलाउने प्रथा धर्म र संस्कारको नाममा स्वीकार गरिन्थ्यो । षडानन्दले यस्तो कुप्रथालाई सहज रूपमा स्वीकार गरेनन् । उनले स्थानीय स्तरमा यसको विरोध गरे र तात्कालीन शासक वर्गसमक्ष पनि सतीप्रथाको अन्त्यका लागि आवाज उठाएको प्रसङ्ग पाइन्छ ।
अवश्य पनि नेपालबाट सतीप्रथा हट्नु कुनै एक व्यक्तिको प्रयासको परिणाम मात्र थिएन । धेरै सामाजिक सुधारक, चेतनशील व्यक्ति र समयक्रममा विकसित सामाजिक दबाबले त्यसका लागि वातावरण तयार गरेको थियो । पछि चन्द्रशमशेरको शासनकालमा सतीप्रथा कानुनी रूपमा अन्त्य भयो । त्यसअघि नै यसको विरुद्ध आवाज उठाउने साहस गरेका व्यक्तिहरूमध्ये षडानन्दको नामलाई सम्झनु उनको सामाजिक चेतनाको सम्मान गर्नु हो ।
षडानन्दको व्यक्तित्वसँग जोडिएको अर्को रोचक पक्ष हो— प्रकृतिप्रतिको उनको लगाव । उनले दिङ्लामा विभिन्न किसिमका वनस्पति रोप्ने र संरक्षण गर्ने काम गरेको स्थानीय स्मृति छ । विशेषतः रुद्राक्षसँग उनको नाम गहिरोसँग जोडिन्छ । दिङ्लामा उनले रुद्राक्षका बिरुवा रोपेको र ती बिरुवाबाट विकसित भएका रूखहरू अहिले पनि फल दिने गरेको स्थानीय विश्वास छ । आज रुद्राक्षलाई धार्मिक आस्था, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्ने गरिन्छ । तर त्यसबेला नै यसको संरक्षण र विस्तारतर्फ ध्यान दिनु उनको प्रकृतिप्रतिको चेतनाको एउटा रोचक पक्ष मान्न सकिन्छ ।
वन संरक्षणका विषयमा पनि उनको सोच तात्कालीन समयका लागि उल्लेखनीय रहेको बताइन्छ । मानिसले प्रकृतिलाई केवल उपभोग गर्ने वस्तुका रूपमा हेर्ने प्रवृत्ति बलियो रहेको अवस्थामा उनले वन र वातावरणको संरक्षणलाई सामाजिक हितसँग जोडेर हेरेको जनश्रुति पाइन्छ । यस अर्थमा उनलाई आधुनिक वातावरणीय चेतनाको प्रारम्भिक संवाहकका रूपमा समेत सम्झने गरिएको छ ।
बालागुरु षडानन्दको चर्चा गर्दा इतिहाससँगै किंवदन्तीहरू पनि सँगसँगै आउँछन् । दिङ्ला र आसपासका क्षेत्रमा उनीसँग जोडिएको एउटा चर्चित जनश्रुति छ कि उनी एकै दिन काठमाडौंमा पनि देखिन्थे र दिङ्लामा पनि देखिन्थे भन्ने । त्यस्तै अरुण नदीजस्तो तीव्र बहाव भएको नदीलाई उनले रुमाल राखेर पार गर्थे भन्ने कथा पनि पुस्तौँदेखि सुनिँदै आएको छ ।
यी प्रसङ्गलाई आधुनिक इतिहासको प्रमाणित घटनाका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन । यस्ता किंवदन्तीहरू किन जन्मिए भन्ने प्रश्न भने रोचक छ । सम्भवतः असाधारण विद्वता, तपस्या, साधना र व्यक्तित्वका कारण सामान्य मानिसको कल्पनामा षडानन्द क्रमशः अलौकिक पात्रका रूपमा स्थापित हुँदै गए । कुनै व्यक्तिप्रति समाजले असाधारण श्रद्धा राख्दा उसको जीवनसँग यस्ता कथाहरू जोडिनु नेपाली लोकपरम्परामा नौलो कुरा होइन । त्यसैले यी कथाहरूलाई तथ्य र लोकविश्वासको सीमारेखासहित बुझ्नु नै उचित हुन्छ ।
उनको ख्याति नेपालमा मात्र सीमित रहेन । भारतका धार्मिक तथा विद्वत् केन्द्रमा पनि उनको परिचय फैलिएको बताइन्छ । विशेषगरी काशीमा उनको विद्वता र साधनाको सम्मान भएको प्रसङ्गले त्यतिबेला नेपालका एक साधक तथा विद्वान्ले सीमापारि पनि आफ्नो प्रभाव बनाउन सकेको देखाउँछ । आधुनिक सञ्चारको सुविधा नभएको समयमा एउटा पहाडी गाउँबाट निस्किएको व्यक्ति भारतका विद्वत् समाजसम्म परिचित हुनु आफैंमा असाधारण कुरा थियो ।
षडानन्दको जीवनको अर्को विशेषता थियो कि व्यक्तिगत प्रतिष्ठाभन्दा सार्वजनिक हितलाई महत्व दिनु । उनले शिक्षा फैलाए, गुरुकुल चलाए, सामाजिक कुरीतिविरुद्ध आवाज उठाए, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गरे र प्रकृतिसँगको सम्बन्धलाई पनि महत्व दिए । उनका कामको प्रभाव तत्कालीन पुस्तामा मात्र सीमित रहेन । उनले तयार पारेका विद्यार्थी, उनले स्थापना गरेको शैक्षिक परम्परा र उनले जगाएको चेतनाले पछिल्ला पुस्तालाई पनि प्रभावित गरिरह्यो ।
आज दिङ्लाको नाम उच्चारण गर्दा बालागुरु षडानन्दको नाम स्वतः सम्झनामा आउँछ । उनको सम्मानमा स्थानीय तहको नामसमेत षडानन्द नगरपालिका राखिएको छ । सालिक, विद्यालय, नगरपालिका वा स्मृतिमा नाम लेखिनु मात्र उनको वास्तविक सम्मान होइन । उनको जीवनको सबैभन्दा ठूलो सन्देश त ज्ञानलाई समाजसँग बाँड्नु, गलत परम्पराविरुद्ध बोल्नु र आफ्नो समयभन्दा अगाडि सोच्नु हो ।
बालागुरु षडानन्दको जीवनलाई हेर्दा एउटा अनौठो यात्रा देखिन्छ । दूधको अभावमा अर्की आमाको ममताबाट जीवन पाएको बालक, ज्ञानको खोजीमा टाढा पुगेको विद्यार्थी, भारतमा विद्वताको परिचय बनाएको साधक, दिङ्लामा गुरुकुल स्थापना गर्ने शिक्षक, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने सुधारक र प्रकृतिको संरक्षण गर्ने कर्मशील व्यक्तित्व । उनको जीवनका केही प्रसङ्ग इतिहासका पानामा छन्, केही स्थानीय स्मृतिमा छन् र केही किंवदन्तीमा मिसिएका छन् । यी सबैलाई जोड्ने मूल धागो भने एउटै देखिन्छ त्यो के भने ज्ञान र चेतनाको उज्यालो फैलाउने दृढ इच्छा ।
दिङ्लाको पहाडमा उनले रोपेको रुद्राक्षको रूख आज पनि फलिरहेको छ भन्ने स्थानीय विश्वास छ । त्यो रूख केवल एउटा वनस्पति होइन, एउटा प्रतीक पनि हो । समय बदलियो, शासन बदलियो, शिक्षा बदलियो, समाज बदलियोÙ तर उनले रोपेको ज्ञानको बिरुवा भने अझै सुक्न दिएको छैन । त्यसैले बालागुरु षडानन्दलाई सम्झनु भनेको एउटा पुरानो धार्मिक व्यक्तित्वलाई सम्झनु मात्र होइन, नेपालको शिक्षा, सामाजिक चेतना र सुधारको इतिहासमा एक अग्रणी अध्यायलाई सम्झनु पनि हो ।
