कांग्रेसलाई चाहिएको विजय होइन, मिलन

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नेपाली कांग्रेस यतिबेला राजनीतिक इतिहासकै एउटा संवेदनशील मोडमा उभिएको छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिको जिम्मेवारीमा आएपछि पार्टीभित्रको नेतृत्वसम्बन्धी विवादले कानूनी बाटोसमेत समातेको हो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई मान्यता दिएको र सर्वोच्च अदालतबाट समेत त्यसलाई मान्यता दिने फैसला आएको अवस्थामा पछिल्लो पटक पुनरावलोकनका लागि निस्सा प्रदान हुनुले विवाद अझै पूर्णरूपमा टुंगिएको छैन भन्ने देखाएको छ । अदालतको ढोकाबाट विवादको एउटा पक्षमा निर्णय खोज्न सकिए पनि राजनीतिक दलभित्रको मनमुटावको स्थायी उपचार न्यायिक आदेशबाट मात्र सम्भव हुँदैन । कांग्रेसका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता कानूनी जित वा हारभन्दा माथि उठेर राजनीतिक निकास खोज्नु हो किनकि पार्टीभित्रको एउटा पक्षले आफूलाई वैधानिक र अर्को पक्षले आफूलाई उपेक्षित ठानिरहने अवस्था लामो समय कायम रह्यो भने त्यसको असर संगठनदेखि जनविश्वाससम्म पर्न सक्छ ।
यही पृष्ठभूमिमा पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किनु र कांग्रेसको इतर समूहले राष्ट्रिय भेला गर्नुले पार्टीभित्रको असन्तुष्टि सतहमै रहेको संकेत गर्छ । राष्ट्रिय भेला गर्नु, आफ्ना धारणा राख्नु वा नेतृत्वसँग असहमति व्यक्त गर्नु लोकतान्त्रिक पार्टीका लागि अस्वाभाविक होइन । समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब असहमति संवादको बाटो नभई समानान्तर शक्ति निर्माणको आधार बन्न थाल्छ । थापा नेतृत्वमा आएपछि नयाँ पुस्ताले कांग्रेसमा परिवर्तनको अपेक्षा गरेको छ भने देउवा र अन्य अनुभवी नेताहरूसँग लामो राजनीतिक अनुभव, संगठनात्मक योगदान र ठूलो कार्यकर्ता पंक्ति छ । यी दुई पक्षलाई आमनेसामने उभ्याएर हेर्नु नै कांग्रेसको दुर्भाग्य हुनेछ । नयाँ नेतृत्वले पुरानो पुस्तालाई समाप्त गर्नुपर्ने र पुरानो पुस्ताले नयाँ नेतृत्वलाई स्वीकार गर्न नहुने भन्ने सोच दुवै कांग्रेसका लागि घातक छन् । असहमतिको सम्मान गर्दै नेतृत्व र अनुभवबीच पुल निर्माण गर्न सक्नु नै अहिलेको वास्तविक राजनीतिक कौशल हो ।
कांग्रेसको वर्तमान संकटमा सबैभन्दा महत्वपूर्ण प्रश्न अब ‘कसको नेतृत्व सही ?’ भन्ने मात्र होइन, ‘कांग्रेसलाई कसरी एकै ठाउँमा राख्ने ?’ भन्ने हुनुपर्छ । विशेष महाधिवेशनको निर्णय, निर्वाचन आयोगको मान्यता, सर्वोच्च अदालतको फैसला र पुनरावलोकनको प्रक्रियालाई आ–आफ्नो कानूनी अर्थमा अघि बढ्न दिनुपर्छ । त्यसैलाई राजनीतिक सम्बन्ध विच्छेदको आधार बनाउनु हुँदैन । सभापति थापाले आफ्नो वैधानिक हैसियतलाई आत्मविश्वासका साथ प्रयोग गर्दै असन्तुष्ट पक्षसँग संवादको हात बढाउनुपर्छ । देउवा तथा इतर समूहले पनि आफ्नो असहमति कायम राख्न पाउने अधिकार प्रयोग गर्दै कांग्रेसको मूल घरबाट बाहिरिने वा छुट्टै संरचना निर्माण गर्ने मानसिकता त्याग्नुपर्छ । राष्ट्रिय भेला पनि विभाजनको घोषणा होइन, एकताको दबाब र आत्मसमीक्षाको अवसर बन्न सक्छ । कांग्रेसमा व्यक्ति बदलिन सक्छन्, नेतृत्व बदलिन सक्छ, तर कांग्रेसको आवश्यकता र यसको लोकतान्त्रिक विरासत समाप्त हुनु हुँदैन । त्यसैले अहिले कांग्रेसका सबै पक्षले आफ्नो पक्षको जित खोज्नेभन्दा कांग्रेसको जित खोज्नु नै बुद्धिमानी हुनेछ । यही बाटोले मात्र पार्टीलाई विवादबाट विश्वासतर्फ र विभाजनको आशंकाबाट एकताको सम्भावनातर्फ लैजान सक्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *