कालिगण्डकी : जहाँ नदीमा बग्छ प्राचीन समुद्रको कथा

Nayabimarsha (Weekly Newspaper from Nepal)
रोशन ज्ञवाली

नेपाललाई नदीहरूको देश भन्दा पनि हुन्छ । हिमालको काखबाट जन्मिएका अनगिन्ती नदी र खोलाहरूले नेपालको भूगोललाई चिरेर बग्दै यहाँको प्रकृति, सभ्यता र जीवनलाई आकार दिएका छन् । कुनै नदीले खेतीपातीलाई जीवन दिएको छ, कुनैले बस्ती बसाएको छ, कुनैले व्यापारको बाटो खोलेको छ र कुनै नदी धार्मिक आस्थाको केन्द्र बनेको छ । यी सबै नदीमध्ये कालिगण्डकीको परिचय अलि विलक्षण छ । यसलाई केवल पानी बग्ने नदी भनेर बुझ्न खोजियो भने यसको वास्तविक कथा अधुरै रहन्छ ।
कालिगण्डकी आफैँमा एउटा यस्तो प्राकृतिक दस्तावेज हो, जसको धारमा भूगर्भको इतिहास, किनारमा सभ्यताको स्मृति, धार्मिक आस्थामा हजारौँ वर्षको विश्वास र शालिग्राममा प्राचीन समुद्रको अवशेष भेटिन्छ । उत्तरमा हिमाली भूभागबाट दक्षिणतर्फ निरन्तर बग्दै जाने कालिगण्डकी मुक्तिनाथ, कागबेनी, जोमसोम, बेनी, रिडी हुँदै देवघाटसम्म आइपुग्छ । त्यसपछि यसको जलप्रवाह नारायणी प्रणालीमा मिसिँदै अन्ततः गङ्गा नदी प्रणालीसँग जोडिन्छ । यसरी हेर्दा कालिगण्डकी नेपालका हिमाल, पहाड र दक्षिणी भूभागलाई जोड्ने प्राकृतिक धागो मात्र होइन, हिमालयदेखि गङ्गासम्म फैलिएको विशाल जलसभ्यताको एउटा महत्वपूर्ण कडी पनि हो ।
कालिगण्डकीको सबैभन्दा रोचक परिचय यसको भूगर्भीय उमेर र नदीको बाटोसँग जोडिन्छ । सामान्य बुझाइमा नदी पहाड बनेपछि जन्मिन्छ भन्ने लाग्न सक्छ । हिमालय क्षेत्रका केही प्रमुख नदीहरूको कथा त्यसभन्दा फरक छ । भूगर्भशास्त्रीय अध्ययनले कालिगण्डकीलाई हिमालयको वर्तमान स्वरूप पूर्णरूपमा विकसित हुनुअघिको जलप्रवाहसँग सम्बन्धित ‘antecedent river’ अर्थात् पहाड उठ्दै जाँदा पनि आफ्नो पुरानो मार्गलाई निरन्तर काट्दै अघि बढेको नदीका रूपमा व्याख्या गर्छ । त्यसैले लोकप्रिय भाषामा यसलाई ‘हिमालभन्दा पुरानो नदी’ भनिन्छ । यसको वैज्ञानिक अर्थ भने आज बगिरहेको पानीको प्रत्येक थोपा करोडौँ वर्ष पुरानो हो भन्ने होइन’ नदीको जलमार्गको विकास हिमालयको वर्तमान उचाइ र स्वरूप बन्नुअघिदेखि भएको मानिन्छ भन्ने हो ।
हिमालय निर्माणको कथा आफैँमा पृथ्वीको अत्यन्त ठूलो भूगर्भीय घटनासँग जोडिएको छ । भारतीय भू–प्लेट उत्तरतर्फ सर्दै युरेसियाली भू–प्लेटसँग ठोक्किँदै जाँदा समुद्रको पुरानो सतह उठ्न थाल्यो र क्रमशः हिमालयको विशाल पर्वतश्रंखला निर्माण भयो । भूभाग उठ्दै जाँदा पनि कालिगण्डकीले आफ्नो बाटो छाडेन । बरु निरन्तर कटान गर्दै चट्टान चिर्दै गहिरिँदै गयो । यही कारण धौलागिरि र अन्नपूर्णजस्ता विशाल हिमश्रृंखलाबीच कालिगण्डकीले बनाएको गहिरो खोँच संसारकै अद्भूत भौगोलिक संरचनामध्ये एक मानिन्छ ।
यस नदीको किनारमा उभिएर वरिपरिका हिमाल हेर्दा यसको विशालता झन् अनुभूत हुन्छ । एकातिर आकाश छुन खोज्ने हिमशिखर र अर्कोतिर ती शिखरबीच निकै तलसम्म काटिएको नदीको उपत्यका । प्रकृतिको यो दृश्य आफैँमा लाखौँ वर्षको संघर्षको परिणाम हो । कालिगण्डकीले केवल पानी बोकेको छैन’ उसले आफ्नो बाटोमा पृथ्वीको निर्माण र परिवर्तनका प्रमाणहरू पनि बोकेर हिँडेको छ ।
यही भूगर्भीय इतिहाससँग जोडिएर आउँछ शालिग्रामको कथा । हिन्दू धर्मावलम्बीका लागि शालिग्राम सामान्य ढुङ्गा होइन । विशेषतः वैष्णव परम्परामा यसलाई भगवान् विष्णुको प्राकृतिक स्वरूप मानिन्छ । मानवले कुँदेर बनाएको मूर्ति नभई प्रकृतिले आफैँ निर्माण गरेको देवस्वरूपका रूपमा शालिग्रामको पूजा गरिन्छ । यही कारण शालिग्रामको धार्मिक महत्त्व अन्य धेरै पूजनीय वस्तुभन्दा फरक छ । शालिग्रामको पूजा, दर्शन र स्पर्शलाई पुण्यसँग जोड्ने धार्मिक विश्वास छ र विभिन्न वैदिक तथा हिन्दू संस्कारमा यसको प्रयोग हुने गरेको पाइन्छ ।
शालिग्रामको वैज्ञानिक कथा भने झन् रोचक छ । कालिगण्डकीको माथिल्लो क्षेत्रमा पाइने धेरै शालिग्रामलाई प्राचीन समुद्री जीव अम्मोनाइटका जीवाश्मसँग सम्बन्धित मानिन्छ । अम्मोनाइटहरू आज अस्तित्वमा नरहेका समुद्री जीव हुन्, जो प्राचीन टेथिस सागरमा बस्थे । भारतीय भूभाग र युरेसियाली भूभागबीचको भूगर्भीय टक्करका क्रममा टेथिस सागरका पुराना समुद्री तहहरू उठेर हिमालयको भाग बने । कालिगण्डकीले ती चट्टानी तहहरूलाई काट्दै बग्ने क्रममा त्यहाँ रहेका जीवाश्महरू नदीको प्रवाहमा आइपुग्छन् र पानी, बालुवा तथा ढुङ्गासँगको घर्षणले क्रमशः चिल्लो र गोलाकार स्वरूप ग्रहण गर्छन् । मुस्ताङ क्षेत्रका चट्टानी तहमा अम्मोनाइट जीवाश्म पाइने वैज्ञानिक प्रमाणसमेत भेटिन्छ ।
यसरी हेर्दा शालिग्राम एउटा अद्भुत संगम हो, विज्ञानका लागि प्राचीन समुद्री जीवनको प्रमाण र आस्थाका लागि भगवान् विष्णुको प्रतीक । एउटै बस्तुलाई दुई फरक दृष्टिले हेर्न सकिन्छ, तर दुवै दृष्टिकोणले यसको विशिष्टता भने स्वीकार गर्छन् ।
शालिग्रामका सतहमा देखिने घुमाउरा चक्र, प्वाल र प्राकृतिक आकृतिलाई धार्मिक परम्पराले विशेष अर्थ दिएको छ । कतिपय आकृतिलाई भगवान् विष्णुको सुदर्शन चक्रसँग जोडिन्छ भने विभिन्न आकार र चिह्नअनुसार विभिन्न स्वरूपको धार्मिक व्याख्या गर्ने परम्परा छ । हिन्दू धार्मिक साहित्य र वैष्णव परम्परामा शालिग्रामको महत्त्वबारे लामो समयदेखि चर्चा हुँदै आएको छ । यसको पूजा दक्षिण एशियाका विभिन्न भागमा फैलिएको पाइन्छ र नेपालबाट शुरु भएको शालिग्रामसम्बन्धी धार्मिक परम्परा आज नेपालबाहिरका हिन्दू समुदायसम्म पनि पुगेको अध्ययनहरूमा उल्लेख छ ।
त्यसैले कालिगण्डकीको किनारमा भेटिने एउटा सानो कालो ढुङ्गाले पनि असाधारण यात्रा बोकेको हुन्छ । कल्पना गरौँ त कुनै समय पृथ्वीको प्राचीन समुद्रमा विचरण गर्ने जीवको खोल लाखौँ वर्षसम्म चट्टानभित्र सुरक्षित रह्यो । पृथ्वीको भूगोल बदलियो, समुद्र हरायो, समुद्री सतह उठेर हिमालय बन्यो, चट्टानहरू चिरिए र अन्ततः त्यही जीवाश्म नदीमा आइपुग्यो । त्यसपछि मानिसले त्यसमा ईश्वरको स्वरूप देख्यो र घरको पूजाकोठामा स्थान दियो । एउटा ढुङ्गाको यात्रामा पृथ्वीको इतिहासदेखि मानव आस्थासम्मको कथा जोडिनु आफैँमा अद्भूत कुरा हो ।
कालिगण्डकीको धार्मिक महत्त्व शालिग्राममा मात्र सीमित छैन । यसको किनारमा विकसित तीर्थहरूको श्रृंखला आफैँमा विशाल धार्मिक भूगोल हो । माथिल्लो क्षेत्रमा रहेको मुक्तिनाथ हिन्दू र बौद्ध दुवै परम्पराका लागि महत्वपूर्ण आध्यात्मिक स्थल हो । मुक्तिक्षेत्र, कागबेनी र दामोदरकुण्डसँग जोडिएको क्षेत्रले कालिगण्डकीको धार्मिक परिचयलाई अझ गहिरो बनाएको छ । तलतिर आउँदा रिडी अर्थात् रुरु क्षेत्रको महत्त्व देखिन्छ । कालिगण्डकीको किनारमा अवस्थित रिडी धार्मिक स्नान, मेला र विभिन्न संस्कारका कारण लामो समयदेखि श्रद्धाको केन्द्र रहँदै आएको छ ।
अझ तल देवघाट पुग्दा कालिगण्डकीको अर्को महत्वपूर्ण अध्याय शुरु हुन्छ । कालिगण्डकी र त्रिशूलीको संगम रहेको देवघाट हिन्दू धार्मिक परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ । स्नान, श्राद्ध, तर्पण, पितृकार्य र धार्मिक अनुष्ठानका लागि यहाँ देशका विभिन्न भागबाट मानिस पुग्छन् । यसरी नदीको माथिल्लो भागदेखि तल्लो भागसम्म पुग्दा कालिगण्डकीको यात्रा एउटा निरन्तर तीर्थयात्राजस्तै देखिन्छ ।
कालिगण्डकीले धार्मिक मात्र होइन, सांस्कृतिक सम्बन्ध पनि निर्माण गरेको छ । मुस्ताङ क्षेत्र हुँदै जाने पुराना हिमाली बाटाहरूले नेपाल र तिब्बती भूभागबीच व्यापार, मानिसको आवतजावत र सांस्कृतिक आदानप्रदानमा भूमिका खेले । माथिल्लो कालिगण्डकी क्षेत्रमा बौद्ध संस्कृति, गुम्बा, परम्परागत हिमाली बस्ती र पुराना व्यापारिक मार्गहरू आज पनि त्यस इतिहासका स्मृति बनेर रहेका छन् । यस अर्थमा कालिगण्डकी एउटा धर्मको मात्र नदी होइन’ यो विभिन्न धार्मिक तथा सांस्कृतिक परम्परा भेटिने साझा मार्ग पनि हो ।
यस नदीसँग जोडिएको जनजीवन पनि उत्तिकै महत्वपूर्ण छ । नदीको पानीले खेतीपातीलाई सहयोग गरेको छ, नदीकिनारका बस्तीलाई जीवन दिएको छ, धार्मिक पर्यटनलाई गति दिएको छ र स्थानीय अर्थतन्त्रलाई आधार प्रदान गरेको छ । मुक्तिनाथ जाने यात्रु, मुस्ताङ पुग्ने पर्यटक, रिडीका धार्मिक यात्रु र देवघाट पुग्ने तीर्थालु सबैले कालिगण्डकीलाई आ–आफ्नै तरिकाले अनुभव गर्छन् । कसैका लागि यो तीर्थ हो, कसैका लागि पर्यटनको गन्तव्य, कसैका लागि जीविकाको आधार र कसैका लागि पृथ्वीको प्राचीन इतिहास पढ्ने खुला पुस्तक ।
यति ठूलो प्राकृतिक र सांस्कृतिक सम्पदा हुँदाहुँदै कालिगण्डकीमाथि चुनौती पनि बढिरहेका छन् । नदीजन्य पदार्थको अत्यधिक उत्खनन, अव्यवस्थित भौतिक संरचना, प्रदूषण, नदीको प्राकृतिक बहावमाथि पर्ने दबाब तथा शालिग्रामको अनियन्त्रित संकलनले यसको मौलिक स्वरूपमाथि प्रश्न उठाउन थालेका छन् । विशेषगरी शालिग्रामलाई केवल बिक्रीयोग्य वस्तुका रूपमा हेर्न थालियो भने त्यसको धार्मिक र भूगर्भीय दुवै मूल्य कमजोर हुन सक्छ । हालका चर्चाहरूले पनि शालिग्रामको संरक्षण र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन आवश्यक रहेको औँल्याएका छन् ।
अब कालिगण्डकी संरक्षणलाई केवल वातावरणीय मुद्दा भनेर हेरेर पुग्दैन । यो भू–सम्पदा संरक्षणको विषय हो, धार्मिक सम्पदा संरक्षणको विषय हो, सांस्कृतिक सम्पदा जोगाउने विषय हो र स्थानीय जनजीवनको भविष्यसँग जोडिएको विषय पनि हो । नदीको प्राकृतिक बहाव जोगाउनुका साथै शालिग्राम पाइने क्षेत्रको वैज्ञानिक संरक्षण, तीर्थस्थलहरूको व्यवस्थापन, नदीकिनारको स्वच्छता र स्थानीय समुदायको सहभागितामा आधारित पर्यटन विकास आवश्यक देखिन्छ ।
हामी शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मान्छौँ भने त्यही शालिग्राम जन्माउने नदीप्रति हाम्रो व्यवहार पनि श्रद्धापूर्ण हुनुपर्छ । नदीलाई पूजा गर्ने तर नदीमै फोहोर फाल्ने, शालिग्रामलाई देवता मान्ने तर त्यसको प्राकृतिक स्रोत नष्ट गर्ने व्यवहार हाम्रो आस्थासँग मेल खाँदैन । प्रकृतिको सम्मान नै वास्तविक धार्मिक चेतनाको पहिलो आधार हुन सक्छ ।
कालिगण्डकीलाई त्यसैले एउटा नदीको सीमित अर्थमा बुझ्नु हुँदैन । यसको पानीमा वर्तमान बगिरहेको छ, किनारमा इतिहास उभिएको छ, शालिग्राममा प्राचीन समुद्रको स्मृति सुरक्षित छ, हिमाली खोँचमा पृथ्वीको भूगर्भीय परिवर्तन देखिन्छ र तीर्थस्थलहरूमा पुस्तौँपुस्ताको आस्था जीवित छ ।
सायद यही कारण कालिगण्डकी नेपालको प्राकृतिक सम्पदामध्ये एउटा यस्तो सम्पदा हो, जसलाई हेर्दा पानी मात्र देखिँदैन, समय बगेको देखिन्छ । हिमालय उठ्नुअघिको भूगोलदेखि आजको मानव सभ्यतासम्म आइपुगेको यसको यात्रा आफैँमा पृथ्वीको एउटा लामो कथा हो । शालिग्राम हातमा लिएर श्रद्धाले निहुरिने भक्तले भगवान् देख्न सक्छ, वैज्ञानिकले त्यसमा करोडौँ वर्ष पुरानो समुद्रको प्रमाण देख्न सक्छ र इतिहासकारले त्यसको यात्रामा मानव सभ्यताको कथा खोज्न सक्छ ।
यी सबै दृष्टिकोणको अन्तिम निष्कर्ष एउटै हुन सक्छ कि कालिगण्डकीलाई जोगाउनुपर्छ । कालिगण्डकी हराउनु भनेको एउटा नदीको पानी सुक्नु मात्र होइन’ पृथ्वीको प्राचीन इतिहासको एउटा खुला अभिलेख, नेपाली धार्मिक संस्कृतिको एउटा महत्वपूर्ण आधार, शालिग्रामको प्राकृतिक जन्मभूमि र पुस्तौँदेखि बग्दै आएको एउटा जीवित सभ्यताको स्मृति कमजोर हुनु हो ।
त्यसैले कालिगण्डकीलाई हेर्दा हामीले केवल नदी नहेरौँ । त्यहाँ हिमालको इतिहास हेरौँ, समुद्रको स्मृति हेरौँ, शालिग्राममा आस्था हेरौँ, तीर्थमा संस्कृति हेरौँ र नदीको निरन्तर प्रवाहमा प्रकृतिको अदम्य शक्ति हेरौँ । यही दृष्टिले कालिगण्डकीलाई बुझ्न र जोगाउन सके मात्र भावी पुस्ताले पनि त्यही नदीमा आज हामीले देखिरहेको पृथ्वीको पुरानो कथा पढ्न पाउनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *