दुई वर्षको सपना बोकेर पोर्चुगल पुगेपछि

Nayabimarsha (Weekly Newspaper from Nepal)

टी.आर.निरौला

विदेश जाने निर्णय गर्दा मेरो मनमा पोर्चुगल एउटा देश मात्र थिएन, त्यो घरको बदलिँदो भविष्यको एउटा सम्भावना थियो । नेपालमा बसेर धेरैपटक सोचें— दुई वर्ष काम गर्छु, केही पैसा जम्मा गर्छु, घरको ऋण तिर्छु, परिवारको आवश्यकता पूरा गर्छु अनि फर्किन्छु । त्यतिबेला दुई वर्ष धेरै लामो समयजस्तो लाग्थ्यो । विदेश पुगेपछि थाहा भयो, क्यालेन्डरमा दुई वर्ष र परिवारबाट टाढा बसेर बिताइने दुई वर्ष एउटै हुँदैन रहेछ ।
पोर्चुगल पुग्दा पहिलोपटक देखेको युरोप मेरो कल्पनाभन्दा फरक थियो । सफा सडक, व्यवस्थित यातायात, पुराना भवन, समुद्रको किनार र शान्त देखिने शहरले मन लोभ्याउँथ्यो । पर्यटक भएर हेर्दा देखिने पोर्चुगल र कामदार भएर भोगिने पोर्चुगलबीच ठूलो दूरी रहेछ । पर्यटकले शहरको सुन्दरता देख्छ, कामदारले त्यही शहरको अर्को अनुहार पनि देख्छ त्यो के भने बिहान सबेरै उठेर काममा पुग्नुपर्ने बाध्यता, महिनाको अन्त्यमा हिसाब मिलाउनुपर्ने चिन्ता, महँगो कोठा, कामको थकान र फोनको अर्को छेउमा रहेका परिवारका अनुहार ।
आज पोर्चुगलमा नेपाली समुदाय सानो छैन । उपलब्ध पछिल्लो आधिकारिक तथ्यांकअनुसार सन् २०२४ को अन्त्यसम्म पोर्चुगलमा ५८,०८६ नेपाली नागरिक निवासीका रूपमा दर्ता भएका थिए, जुन त्यहाँको विदेशी निवासी जनसंख्याको करिब ३.८ प्रतिशत हो । नेपाली समुदाय विदेशी नागरिकमध्ये छैटौँ ठूलो समूह बनेको देखिन्छ । यो संख्या केवल एउटा तथ्यांक होइन; यसको पछाडि नेपालका हजारौँ घरका सपना, ऋण, संघर्ष, आशा र परिवारबाट टाढिएको जीवन जोडिएको छ ।
काम होइन, जीवन खोज्दै
पोर्चुगल पुगेपछि शुरुका दिन सजिला थिएनन् । आफूले गर्न खोजेको काम र पाएको कामबीच फरक हुन सक्थ्यो । कसैले होटलमा काम पाए, कसैले रेस्टुरेन्टमा, कसैले कृषि क्षेत्रमा, कसैले निर्माणमा त कसैले सरसफाइ वा अन्य सेवा क्षेत्रमा । आफ्नो सीपअनुसारको काम पाउने भाग्य सबैको हुँदैन ।
काम पाएपछि पनि समस्या सकिँदैन । काम गर्ने ठाउँसम्म पुग्नुपर्ने, समय मिलाउनुपर्ने, भाषा बुझ्नुपर्ने र नयाँ वातावरणमा आफूलाई अभ्यस्त बनाउनुपर्ने हुन्छ । शरीरले कामको तालिका सिक्दै जाँदा मनले भने नेपाल सम्झिन छोड्दैन । पोर्चुगलमा सन् २०२६ का लागि कानूनी न्यूनतम मासिक पारिश्रमिक ९२० युरो तोकिएको छ । हातमा आउने रकम र घर पठाउन सकिने रकम एउटै हुँदैन । कर तथा सामाजिक सुरक्षा योगदान, कोठाको भाडा, खाना, यातायात, मोबाइल, दैनिक आवश्यकता र अन्य खर्च कटेपछि बाँकी रकमबाट नेपाल सम्झनुपर्छ । त्यसैले विदेशमा कमाएको प्रत्येक युरोको आफ्नै कथा हुन्छ ।
कहिलेकाहीँ आफ्नो लागि नयाँ जुत्ता किन्न मन लाग्छ तर त्यही बेला नेपालमा छोराको विद्यालय शुल्क सम्झिन्छु । घरमा आमालाई औषधि चाहिएको हुन्छ । श्रीमतीले घरखर्चको कुरा गर्छिन् । बाबुले पुरानो ऋणको किस्ता सम्झाउँछन् । अनि आफूले चाहेको कुरा पछाडि सारेर पैसा नेपाल पठाइन्छ । विदेशमा कमाएको पैसा धेरैपटक आफ्नो इच्छाभन्दा परिवारको आवश्यकताको नाममा खर्च हुन्छ ।
बस्ने ठाउँ पनि एउटा परीक्षा
विदेशमा पुगेपछि सबैभन्दा ठूलो भ्रममध्ये एउटा ‘अब त युरोप पुगियो, जीवन सजिलो हुन्छ’ भन्ने हो । कामदारका लागि बसोबास आफैंमा ठूलो चुनौती बन्न सक्छ । एक्लै बस्दा कोठा महँगो पर्न सक्छ । त्यसैले धेरै नेपाली एउटै घर वा फ्ल्याटमा मिलेर बस्छन् । एउटा कोठामा एकभन्दा बढी व्यक्ति बस्ने अवस्था पनि असामान्य होइन । कामको समय फरक हुँदा एउटाको आराम गर्ने समयमा अर्काे काममा निस्किरहेको हुन्छ ।
कहिलेकाहीँ कोठा घरजस्तो लाग्दैन, केवल रात काट्ने ठाउँजस्तो लाग्छ । त्यही कोठामा बसेर नेपालमा रहेको परिवारसँग भिडियो कल गर्दा भने मन एकाएक घर पुग्छ । छोराछोरीको अनुहार हेर्दा थकान केहीबेर हराउँछ । आमाको आवाज सुन्दा आफू फेरि गाउँको आँगनमा पुगेजस्तो हुन्छ ।
फोन बन्द गरेपछि भने फेरि त्यही सानो कोठा, भित्तामा झुन्डिएको ज्याकेट र भोलि बिहान उठ्नुपर्ने समय बाँकी रहन्छ ।
मान्छे किन बसिरहन्छ ?
म पोर्चुगल आउँदा दुई वर्षपछि फर्किने सोच थियो । त्यो सोच गलत थिएन । विदेश आएपछि सपना पनि विस्तारै बदलिँदो रहेछ । पहिलो वर्षमा ‘कति पैसा जम्मा भयो ?’ भन्ने प्रश्न हुन्छ । दोस्रो वर्षमा ‘अब फर्कने कि अझै बस्ने ?’ भन्ने प्रश्न आउँछ । त्यसपछि मनमा अर्को प्रश्न जन्मिन्छ कि ‘यति टाढा आएर अब खाली हात फर्किने ?’
नेपालमा परिवारले पनि विदेश गएको मान्छेबाट अपेक्षा राख्न थाल्छ । घरको अवस्था सुधारिएको देख्न चाहन्छ । ऋण तिर्नुपर्छ । घर बनाउनुपर्छ । छोराछोरीको भविष्य सोच्नुपर्छ । त्यसपछि दुई वर्षको योजना विस्तारै तीन वर्षतिर जान्छ, तीन वर्षको योजना अझ अगाडि पुग्छ ।
कागजको म्याद र जीवनको आवश्यकता कहिलेकाहीँ एउटै बाटोमा हिँड्दैनन् । त्यसैले धेरैको मनमा वैधानिक रूपमा बसाइ लम्ब्याउने, आवश्यक परे नयाँ अनुमति वा आवासीय हैसियतका लागि प्रक्रिया अघि बढाउने सोच आउँछ । पोर्चुगलमा बसोबाससम्बन्धी प्रक्रिया आप्रवासन तथा एकीकरण निकाय ब्क्ष्ःब् मार्फत अघि बढ्छ र काम तथा निवाससँग सम्बन्धित विभिन्न प्रक्रियाका लागि रोजगारी, आम्दानी, बसोबास, कर तथा सामाजिक सुरक्षा लगायतका प्रमाण आवश्यक पर्न सक्छन् ।
यही कागजी प्रक्रियाले पनि आप्रवासीको जीवनमा अर्को तनाव थप्छ । कागज मिलाउनुपर्छ, म्याद सम्झनुपर्छ, आवश्यक प्रमाण जुटाउनुपर्छ र कहिलेकाहीँ निर्णयको प्रतीक्षा गर्नुपर्छ । ब्क्ष्ःब् ले पछिल्ला वर्षहरूमा आवास अनुमति तथा नवीकरणसम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्ने प्रयास गरिरहेको भए पनि आप्रवासन प्रशासन आफैं ठूलो प्रणाली भएकाले प्रक्रिया बुझेर र आधिकारिक सूचनामै भर परेर अघि बढ्नु आवश्यक हुन्छ ।
पर्मानेन्ट रेसिडेन्सको सपना
केही समयपछि मेरो सोच अझै बदलियो । अब प्रश्न दुई वर्षपछि नेपाल फर्किने मात्र रहेन । मनले भन्न थाल्यो कि यदि कानूनी रूपमा सम्भव भयो भने यहाँ स्थायी आधार बनाउन सकिन्छ कि ?
पोर्चुगलमा स्थायी बसोबासका लागि सामान्य गैर–ईयू नागरिकका हकमा अस्थायी आवास अनुमति कम्तीमा पाँच वर्ष धारण गरेको हुनुपर्ने, कर तथा सामाजिक सुरक्षा दायित्व पूरा गरेको प्रमाण र आधारभूत पोर्चुगिज भाषा ज्ञानलगायतका आवश्यकताहरू छन् । यसले मेरो सपना फेरि ठूलो बनाइदिन्छ ।
आज दुई वर्षको भिसा लिएर आएको मान्छे भोलि पाँच वर्षको कानूनी बसाइतर्फ सोच्न थाल्छ । त्यसपछि एउटा अर्को सपना जन्मिन्छ कि ‘यदि स्थायी बसोबासको बाटो खुल्यो भने परिवारलाई पनि यतै ल्याउन सकिन्छ कि ?’
त्यो सपना पैसा कमाउने सपनाभन्दा ठूलो हुन्छ किनकि विदेशमा धेरै वर्ष बिताएपछि अन्ततः पैसा मात्र चाहिँदैन, आफ्ना मान्छे पनि चाहिन्छ । नेपालमा श्रीमती र छोराछोरी छन् भने उनीहरूलाई पोर्चुगल ल्याउने कल्पना झन् गहिरो हुन्छ । अहिलेसम्म फोनको स्क्रिनमा देखिएका छोराछोरीलाई वास्तविक रूपमा आफ्नो अगाडि उभिएको हेर्ने इच्छा हुन्छ ।
पोर्चुगलको पारिवारिक पुनर्मिलनसम्बन्धी व्यवस्थाअन्तर्गत निश्चित अवस्थाका निवासीले पति वा पत्नी, आश्रित नाबालिग सन्तानलगायत परिवारका सदस्यका लागि प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । त्यसका लागि निवास अनुमति, पारिवारिक सम्बन्धका प्रमाण, बसोबास र आर्थिक स्रोतलगायतका कागजात आवश्यक पर्छन् ।
त्यसैले परिवार ल्याउने सपना केवल भावनाको विषय होइन, कानूनी प्रक्रिया र आर्थिक क्षमतासँग पनि जोडिएको विषय हो । सपनाको पहिलो खुशी कागजमा होइन, कल्पनामा आउँछ । म कहिलेकाहीँ सोच्छु कि विमानस्थलबाट श्रीमती र छोराछोरी बाहिर निस्कँदा कस्तो होला ? बच्चाले दौडेर अँगालो हाल्ला कि केहीबेर अपरिचित ठाउँ हेरेर बस्ला ? मैले वर्षौंसम्म फोनमा देखेको अनुहार आफ्नै अगाडि देख्दा आँखा रसाउला कि ?
यस्ता प्रश्नको उत्तर अहिलेसम्म छैन तर सपना देख्न कुनै भिजा चाहिँदैन ।
पोर्चुगलले मलाई के सिकायो ?
विदेश आएपछि मैले एउटा कुरा बुझें कि परदेशमा पैसा कमाउनु मात्र संघर्ष होइन । आफ्नो पहिचान जोगाउनु, परिवारसँग सम्बन्ध जोगाउनु, कानून बुझ्नु, कामको अधिकार बुझ्नु, भाषा सिक्नु र मानसिक रूपमा बलियो रहनु पनि उत्तिकै ठूलो संघर्ष हो । विदेशमा कामदार हुनु भनेको कमजोर हुनु होइन । हामीले आफ्नो श्रम बेचिरहेका हुन्छौँ, आत्मसम्मान होइन । त्यसैले कानूनी रोजगारी, उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल र सम्मानजनक जीवनको अधिकारप्रति सचेत हुनुपर्छ ।
अर्को कुरा पनि सिकें त्यो के भने विदेशलाई स्वर्ग सम्झेर आउनु हुँदैन, नरक सम्झेर पनि आउनु हुँदैन । यो अवसर र चुनौती दुवै भएको ठाउँ हो । यहाँ मेहनत गर्नेका लागि सम्भावना छन्, तर खर्च पनि छन्; कमाइ छ, तर एक्लोपन पनि छ; स्वतन्त्रता छ, तर जिम्मेवारी पनि छ ।
सबैभन्दा ठूलो कुरा त के भने नेपालबाट टाढा भए पनि नेपाल मनबाट टाढा हुँदैन । महिनाको अन्त्यमा पैसा नेपाल पठाउँदा बैंक खाताबाट रकम बाहिरिन्छ, तर मन भने घरतिर फर्किन्छ । आमाको औषधि पुगेको खबर आउँदा आफूले राम्रो काम गरेजस्तो लाग्छ । छोराछोरीको पढाइ चलेको थाहा पाउँदा आफ्नो थकान सार्थक लाग्छ । घरमा कुनै समस्या परेको खबर आयो भने भने हजारौँ किलोमिटरको दूरी एकैछिनमा असह्य हुन्छ ।
त्यसैले परदेशी जीवनको हिसाब बैंकको खातामा मात्र हुँदैन । त्यसको अर्को हिसाब सम्झनामा, प्रतीक्षामा र सम्बन्धमा हुन्छ ।
दुई वर्ष भनेर पोर्चुगल आएको म आज भोलिको स्थायी जीवनबारे सोचिरहेको छु । कति वर्ष बसिन्छ, कहिले फर्किन्छु वा परिवारलाई कहिले बोलाउन सकिन्छ भन्ने सबै कुराको उत्तर अहिले मसँग छैन । एउटा कुरा स्पष्ट छ कि यो यात्रा केवल पैसा कमाउने यात्रा रहेन ।
यो आफूलाई चिन्ने यात्रा पनि भयो । नेपालमा हुँदा घरको मूल्य थाहा थिएन, परदेश आएपछि घरको अर्थ बुझियो । परिवारसँगै हुँदा उनीहरूको उपस्थितिको मूल्य सामान्य लाग्थ्यो, टाढा भएपछि प्रत्येक आवाज अमूल्य लाग्न थाल्यो । नेपालमा बिहान उठ्दा सामान्य लाग्ने चिया, आँगन, छिमेकीको आवाज र आफ्नै भाषामा बोलिने सामान्य कुराकानीसमेत परदेशमा सम्झनाको विषय बन्छ ।
सायद यही परदेशी जीवनको सबैभन्दा ठूलो सत्य हो कि जस्तो लाग्छ मलाई । हामी विदेशमा भविष्य बनाउन आउँछौँ, तर भविष्य बनाउने क्रममा वर्तमानको ठूलो हिस्सा परिवारबाट टाढा बिताइरहेका हुन्छौँ । त्यसैले पोर्चुगलको कुनै शहरमा बिहान काममा निस्कँदै गर्दा मेरो मनमा एउटा मात्र इच्छा हुन्छ कि आजको मेहनतले भोलिको जीवन अलि सहज बनाओस् । एक दिन त्यही भोलि आएर मेरो परिवार पनि यही बाटोमा मसँगै हिँडोस् ।
त्यस दिन सायद मैले परदेशमा बिताएका यी वर्षहरूलाई दुःखका वर्ष होइन, परिवारका लागि दिएको जीवनको एउटा मूल्यवान् अध्याय भनेर सम्झनेछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *