बबिना भट्टराई (गायिका/सङ्गीतकार)
काठमाडौ÷ नेपाली सङ्गीतको इतिहासमा महिला गायिकाहरूको योगदानबारे धेरै चर्चा हुने गरेको छ तर सङ्गीत सिर्जना अर्थात् सङ्गीतकारका रूपमा महिलाहरूले खेलेको भूमिकाबारे भने अपेक्षाकृत कम चर्चा हुने गरेको पाइन्छ । इतिहास पल्टाएर हेर्दा नेपाली सङ्गीतमा महिलाहरूको सङ्गीत यात्रा निकै पुरानो रहेको देखिन्छ । नेपाली चलचित्र सङ्गीतको इतिहासमा एउटा विशेष महत्व राख्ने गीत हो “उडी जाऊँ भने म पन्छी होइन, बस्नु ए लै मन छैन” अरुणा लामाको श्वर, मानबहादुर मुखियाको शब्द र शान्ति ठटालको सङ्गीत रहेको यो गीत नेपाली चलचित्र ‘परालको आगो’ मा समावेश गरिएको थियो । विक्रम सम्वत् २०३६÷०३७ सालतिर रेकर्ड गरिएको यस गीतलाई नेपाली चलचित्रका लागि महिला सङ्गीतकारद्वारा सङ्गीतबद्ध गरिएको पहिलो गीतका रूपमा लिने गरिन्छ । सङ्गीतकर्मीहरूका अनुसार यो उपलब्धि नेपाली चलचित्र सङ्गीतका लागि गौरवको विषय मानिन्छ । शान्ति ठटालले त्यसपछि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, ईश्वर वल्लभको एउटा नीलो सूर्यास्त, बैरागी काइँला, अम्बर गुरुङ लगायतका रचनाहरूमा समेत सङ्गीत सिर्जना गरेकी छिन् ।
नेपालमा महिला सङ्गीतकारको इतिहास भने शान्ति ठटालबाट मात्र शुरु भएको होइन, रेडियो नेपालको स्थापना हुनुअघि नै मेलवादेवीले सङ्गीतकारका रूपमा आफूलाई स्थापित गरिसकेको इतिहास भेटिन्छ । उनले “झन् पर जान्छु झन् माया लाग्छ लै लै” बोलको गीतमा सङ्गीत भरेकी थिइन् । त्यसपछि रेडियो नेपालको स्थापना पश्चात् कोइलीदेवी सङ्गीतकारका रूपमा उदाइन् । नेपाली सङ्गीत इतिहासमा उनलाई पहिलो महिला सङ्गीतकारका रूपमा स्मरण गर्ने गरिन्छ । नेपाली सङ्गीत क्षेत्रमा तारादेवी, मिरा राणा लगायतका महिलाहरूले सङ्गीतकारका रूपमा पहिचान बनाउन प्रयास गरे । त्यसपछिका पुस्तामा सङ्गीता राणा प्रधान, लासिमित राई, लोचन भट्टराई, रेखा पौडेल लगायतले पनि सङ्गीत सिर्जनामा सक्रियता देखाए । पछिल्लो पुस्तामा बबिना भट्टराई, लावोनी चक्रवर्ती, बानिका प्रधान, तृप्ति खड्का, शुशिला बराल, ऋतु कँडेल लगायतका महिला सर्जकहरू सङ्गीतकारका रूपमा आफ्नो स्थान बनाउन प्रयासरत छन् ।
सङ्गीत क्षेत्रका जानकारहरूका अनुसार नेपाली सङ्गीतमा महिला कलाकारहरूले गायनमा उल्लेखनीय सफलता हासिल गरे पनि सङ्गीतकारका रूपमा त्यति धेरै स्थापित हुन सकेका छैनन् । सङ्गीत सिर्जना केवल धुन बनाउने काम मात्र नभई गीत छनोट, सङ्गीत संयोजन, रेकर्डिङ प्रक्रिया, कलाकार समन्वयदेखि अडियोको अन्तिम स्वरूप तयार पार्ने चरणसम्मको जिम्मेवारीसँग जोडिएको हुन्छ । यसका लागि समय, स्रोत, प्राविधिक ज्ञान र निरन्तर सक्रियता आवश्यक पर्ने गर्दछ ।
नेपाली संगीतमा महिला संगीतकारको अवस्थाका बारेमा पछिल्लो समय संगीतकार कै रुपमा आँफूलाई स्थापित गरेकी गायिका तथा संगीतकार बबिना भट्टराईसँगको छोटो अन्तर्वार्ता ः
आफूलाई सङ्गीतकारको रूपमा चिनाउँदा कस्तो महसुस हुन्छ ?
मलाई यो केवल परिचय मात्र होइन, एउटा जिम्मेवारी जस्तो लाग्छ । गायिकाको रूपमा गीतलाई स्वर दिनु एउटा कुरा हो भने सङ्गीतकारको रूपमा गीतको आत्मा निर्माण गर्नु अर्को कुरा हो । आफूलाई सङ्गीतकार भन्न पाउँदा गर्व त लाग्छ नै, त्यससँगै नेपाली सङ्गीतमा केही अर्थपूर्ण योगदान दिन सकूँ भन्ने प्रेरणा पनि थपिन्छ ।
नेपाली सङ्गीत इतिहासमा मेलवादेवी, कोइलीदेवी र शान्ति ठटालजस्ता महिला सङ्गीतकारहरूको योगदानलाई कसरी लिनुहुन्छ ?
उहाँहरू नेपाली सङ्गीत इतिहासका अग्रणी व्यक्तित्वहरू हुनुहुन्छ । आज हामीले जुन बाटोमा हिँड्ने अवसर पाएका छौँ त्यो उहाँहरूले संघर्षका साथ निर्माण गरिदिनुभएको हो । विशेषगरी शान्ति ठटाल जस्ता सर्जकले महिला पनि सङ्गीत सिर्जनाको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण स्थापित गर्नुभयो । उहाँहरूको योगदान त इतिहासको विषय मात्र होइन, निरन्तर प्रेरणाको स्रोत पनि हो ।
नेपाली सङ्गीत क्षेत्रमा महिलाहरू सङ्गीतकारको रूपमा अगाडि आउन नसक्नुको कारण के होला ?
म यसलाई क्षमताको अभावभन्दा पनि अवसर, पहुँच र प्राथमिकताको प्रश्नका रूपमा हेर्छु । हाम्रो समाजमा महिलाले धेरै भूमिकाहरू एकसाथ निर्वाह गर्नुपर्ने अवस्था रहिआएको छ । सङ्गीतकारको काम भने समय, अध्ययन, अनुसन्धान र निरन्तर अभ्याससँग जोडिएको हुन्छ । यद्यपि अहिलेको पुस्तामा चेतना र अवसर दुवै बढिरहेका छन् । त्यसैले आगामी दिनमा यो दूरी क्रमशः घट्दै जानेमा म आशावादी छु ।
एक महिला सङ्गीतकारका रूपमा यहाँले सामना गर्नुपरेका मुख्य चुनौतीहरू के के हुन् ?
हरेक सिर्जनाकर्मीले जस्तै मैले पनि आफ्ना चुनौतीहरू भोगेकी छु । समय व्यवस्थापन, सिर्जनात्मक निरन्तरता र आफ्नो दृष्टिकोणलाई व्यवहारमा उतार्ने क्रममा विभिन्न कठिनाइहरू आउँछन् तर चुनौतीलाई अवरोधभन्दा पनि सिकाइको अवसरका रूपमा लिन सके त्यसले व्यक्तित्व र सिर्जनालाई अझ परिपक्व बनाउँछ भन्ने मेरो विश्वास छ ।
भविष्यमा महिला सङ्गीतकारहरूको सहभागिता बढाउन के गर्नु पर्ला ?
सङ्गीत कुनै लिङ्गले सीमित गर्ने क्षेत्र होइन, यो संवेदना, कल्पना र साधनाको संसार हो । जसले निरन्तर सिक्न, सिर्जना गर्न र आफ्नो सपनाप्रति इमानदार रहन सक्छ उसले अवश्य आफ्नो स्थान बनाउन सक्छ त्यसैले सबैभन्दा पहिले प्रतिभालाई लिङ्गका आधारमा होइन सिर्जनाको गुणस्तरका आधारमा मूल्याङ्कन गर्ने वातावरण बन्नुपर्छ । संगीत शिक्षा, प्राविधिक प्रशिक्षण, मार्गदर्शन र सिर्जनात्मक अवसरहरूमा महिलाको पहुँच बढाउनु आवश्यक छ । सफल महिला सङ्गीतकारहरूको यात्रा नयाँ पुस्तासम्म पु¥याउन सकियो भने त्यो आफैंमा ठूलो प्रेरणा बन्न सक्छ । मलाई लाग्छ, अवसर र आत्मविश्वासको संयोजन भएमा नेपाली सङ्गीतले अझ धेरै सक्षम महिला सङ्गीतकारहरू पाउनेछ ।
नेपाली समाजमा महिलाहरूले घरपरिवार, पेशा र सामाजिक जिम्मेवारीबीच सन्तुलन मिलाउनुपर्ने अवस्था भएकाले पनि सङ्गीतकारका रूपमा निरन्तरता दिन चुनौती हुने गरेको विश्लेषण गरिन्छ । पछिल्ला वर्षहरूमा प्रविधिको पहुँच विस्तार, घरेलु स्टुडियोको विकास र सङ्गीत उत्पादन प्रक्रियामा आएको सहजतासँगै महिला सङ्गीतकारहरूको उपस्थिति पनि विस्तारै बढिरहेको देखिन्छ । संख्यात्मक रूपमा अझै पनि महिला सङ्गीतकार कम भए पनि उनीहरूको योगदान र सम्भावना भने निरन्तर बढ्दो छ । नेपाली सङ्गीत इतिहासका प्रारम्भिक महिला सङ्गीतकारहरूले कोरेको बाटोलाई पछिल्ला पुस्ताले निरन्तरता दिन सके भविष्यमा संगीत क्षेत्रमा महिलाहरूको उपस्थिति अझ सशक्त बन्ने अपेक्षा गरिएको छ ।
प्रस्तुतिः हरिराम पौडेल
महिला सङ्गीतकारको सहभागिता बढाउन सिर्जनात्मक अवसरको खाँचो छ
Facebook Comments Box
