अनुसा थापा
काठमाडौं उपत्यकाभित्र पुरानो गाडी खरिदबिक्री गर्ने रिकण्डिशनहरु यतिखेर चकमन्न भएको छ । दुई पाङ्ग्रे होस् या चार पाङग्रे रिकण्डिशनको व्यापार व्यवसाय ठप्प बनेको छ । पछिल्लो समय यस्ता रिकण्डिशन धेरै सञ्चालनमा छन् । रिकण्डिशनहरु गल्लीगल्लीमा भेटिन्छन् । दुई तीन घर कट्नेबित्तिकै एउटा रिकण्डिशन भेटिन्छ । यो क्षेत्रमा धेरै नाफा हुने देखेर व्यक्तिहरुले यहाँ लगानी गरेका हुन् । यिनीहरुले मोटरसाइकल–स्कुटरमा ५० हजार र कारहरुमा पाँच लाखसम्म नाफा खान्थे ।
नयाँ गाडी बेच्ने अटो व्यवसायीहरुले घुस खान दिएर कर्जा लिन्थे । बैंकले ८० प्रतिशतसम्म कर्जा दिने गरेको थियो । २० लाख पर्ने गाडीमा बैंकले नै १६ लाख कर्जा दिन्थ्यो । खरिदकर्तालाई चार लाख रुपियाँ तिरे पुग्थ्यो । ऋणीले बैंकको किस्ता तिर्न नसक्ने बित्तिकै त्यो गाडी तानेर बैंकले रिकण्डिशनमा बेच्थ्यो । जसले गाडीमा चार लाख रुपियाँ लगानी गरेको थियो त्यो बालुवामा पानी हाले बराबर नै थियो । अटो व्यवसायीहरुले पनि आफूखुशी नयाँ गाडीको मूल्य राखेको छ ।
सरकारले निर्धारण गरेको होइन । व्यवसायीहरुले एउटा गाडीमा दुईदेखि १० लाखसम्म नाफा खाएर सर्वसाधारणलाई फसाउँदै आएका छन् । कुनै लहैलहैमा लागेर गाडी किन्थे त्यो पनि बैंकबाट ऋण लिएर । कोही पैसा नहुँदानहुँदै शोखका लागि ऋण लिएर गाडी किन्छन् । पछि ऋण तिर्न नसकेपछि गाडी नै तानेर लग्दा मात्र उनीहरुले आफू डुबेको थाहा पाउँछन् । शोरुमबाट निस्केको गाडीलाई बैंकले लगानी गर्छ किनकि त्यो गाडी नयाँ हुन्छ । यातायात कार्यालयमा दर्ता भएर बाटोमा गुडिसकेको सवारी साधनमा सहकारीले लगानी गर्छ ।
एक वर्ष गुडिसकेपछि गाडी पुरानो भइहाल्छ । अनि त्यसको आधा मूल्यमा बिक्री हुन्छ । सहकारीहरुले आँखा चिम्लेर भटाभटी यस्ता गाडीमा लगानी गर्छन् । दुई वर्ष अघिसम्म रिकण्डिशनले एक महिनामा दुई दर्जनभन्दा धेरै गाडी बेच्थे । एक वर्षदेखि रिकण्डिशनको हाल बेहाल छ । महिनामा एउटा गाडी किन्ने मान्छे नआउने उनीहरुको गुनासो छ । एउटा गाडी बेच्न पनि साह्रो सकस परेको उनीहरु सुनाउँछन् । रिकण्डिशनमा भएका गाडीहरु राख्दाराख्दै थोत्रा भइसकेका छन् ।
गाडीमा खिया लाग्न थालेको छ । स्टार्ट हुँदैन् । टायरहरुको हावा सकिएर आफैं पञ्चर हुन्छन् । रिकण्डिशनका सञ्चालकले गाडी किन्नेहरु आउन सक्छन् भनेर दिनैपिच्छे धोइपखाली गरे पनि किन्ने मान्छे कोही आउँदैनन् । दुई वर्षअघि ३० लाखमा बिक्री हुने चार पाङ्ग्रे गाडी १० लाखमा बिक्री हुँदैन । मूल्य घटाउँदा पनि किन्ने कोही छैनन् । दुई वर्षअघि डेढ लाखमा बिक्री हुने मोटरसाइकल ५० हजारमा पनि बिक्री हुँदैनन् । रिकण्डिशनमा भएका सवारी साधन किन्ने त कोही छैनन् तर बेच्नेचाहिँ यत्तिकै आउँछन् ।
आफूले बैंकको किस्ता तिर्न नसकेको भन्दै सर्वसाधारण गाडी बेच्न जान्छन् । बैंकको ऋण बोकिदिने भेटियो भने पैसा नचाहिने बेच्नेहरु बताउँछन् । बैंक फाइनेन्सले गाडीमा धेरै लगानी छ । निजी प्लेटको सवारीमा लगानी गर्नुको असर बैंक फाइनेन्समै देखिएको छ । उता, किस्ता बढेको बढ्यै छ यता गाडी थोत्रा भइसकेको हुन्छ । सार्वजनिक यातायातमा समेत उस्तै समस्या छ । भाडाका गाडीमा पनि बैंकको थुप्रै लगानी छ । यी सवारीले दैनिक धेरथोर कमाइरहेका छन् ।
त्यो पैसाले आफ्नो घरखर्च चलाउने, बैंक फाइनेन्सको कर्जा नतिर्ने । सबैजना बैंक डुबाउनतिर लागेका छन् । बैंकले भाडाको गाडी ताने पनि अर्कोले किनिहाल्छ । यो कमाइखाने साधन भएकाले किन्ने मान्छे यत्तिकै पाउँछ । निजी प्लेटको गाडी कसले किन्छ ? बैंक फाइनेन्सले आफ्नो लगानी उठाउन ताने पनि किन्ने मान्छे त चाहियो ? ल्याएर थन्काएर राख्न मिलेन । खिया लगाएर, घाँस उमारेर राख्न पनि भएन । बैंक फाइनेन्सले हिजो आँखा चिम्लेर, सोचविचार नगरीकन कर्जा प्रवाह ग¥यो ।
अहिले बैंकलाई नै गाडी टोक्नु न बोक्नु भएको छ । कर्जा उठाउन धौ धौ परेको छ । गाडी तानेर बेचौं बिक्री हुँदैन, लगेको कर्जा फिर्ता आउने ठाउँ छैन । गाडी भनेको फलाम हो । यसको सम्पूर्ण पार्टपूर्जा फलामले बनेको छ । यो प्रत्येक दिन पुराना हुँदै जान्छ, मूल्य पनि निरन्तर ओरालो लाग्छ । बजारमा गुडेको भाडा वा निजी सवारी होस् तीमध्ये ९५ प्रतिशत बैंक फाइनेन्सको नाममा छ । यिनीहरुले बैंक फाइनेन्सबाट लिएको कर्जा तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
यता, बैंक फाइनेन्सलाई आफ्नो कर्जा उठाउन हम्मेहम्मे भएको छ । बैंक फाइनेन्समा पैसाको अभाव छ भनेर स्पष्ट भइसकेको छ । वित्तीय संस्थाले पछिल्लो केही समययता ब्याजदर ह्वात्तै बढाएको छ । बचतकर्ताले ल्याएर पैसा राखिदिन्छन् कि भन्ने आश उनीहरुमा छ । बैंकले ब्याज बढाएपनि बचतकर्ताले पैसा राखेका छैनन् । यता, डिपोजिटवालाको ब्याज बढाउने बित्तिकै ऋणीको पनि ब्याज बढाउनुपर्छ । ऋणीहरुले अब झनै कर्जा तिर्न सक्दैनन ।
रिकण्डिशन सञ्चालन गर्नेहरुले वर्षौंदेखि घरभाडा, जग्गा भाडा तिरेका छैनन् । त्यहाँ काम गर्ने कर्मचारीहरुले पनि तलब पाएका छैनन् । यिनीहरु बैंकको किस्ता पनि तिर्दैनन् । घर भाडा पनि तिरेका छैनन् । कर्मचारीलाई तलब पनि दिँदैनन् । कुनै दिन रिकण्डिशन नै छोडेर कुलेलम ठोक्न बेर लगाउँदैनन् । पैसा नभएपछि रिकण्डिशन सञ्चालकहरुले मीटरब्याजमा पैसा चलाएका छन् । जति पुराना गाडीहरुको मूल्य बढेको थियो, त्यसमा रिकण्डिशनवालाकै हात थियो ।
अहिले सञ्चालनमा रहेका सम्पूर्ण रिकण्डिशनहरु भाग्ने अवस्थामा पुगेपछि गाडीको मूल्य छैन । गाडी बेच्ने यत्तिकै छन् तर रिकण्डिशन सञ्चालकहरुले किन्न सकेका छैनन् किनकि पैसाको अभाव छ । बैक फाइनेन्सलाई सरकारले छाडा छोडियो । बेलैमा कडाइ गरेको भए आज यस्तो अवस्था आउँदैनथ्यो । बैंक फाइनेन्सले जता धेरै नाफा देख्यो त्यतै लगानी ग¥यो । गाडीमा आँखा चिम्लेर लगानी गरियो । बैंकहरुले गरेको कर्जा लगानी फिर्ता आउन नसकेपछि सो पैसा जोखिममा परेको छ ।
बैंकहरु डुब्ने अवस्थामा छन् । यो क्षेत्रमा लगानी गर्नेहरु सरकार परिवर्तन कुरेर बसेका थिए । नयाँ सरकार आउने बित्तिकै गाडी, शेयर, घरजग्गाको मूल्य बढ्छ भनेर भ्रम छरिएको छ । तर, कसरी बढ्छ ? बैंकमा पैसा छैन । बैंकले कहाँबाट ल्याएर लगानी गर्ने ? यही क्षेत्रमा लगानी गर्दा त बैंक डुबेको हो । सरकार परिवर्तन भए पनि आर्थिक संकट हट्दैन । बैंकको लगानी विशेषतः तीन क्षेत्रमा छ । विगत दुई दशकदेखि बैंकले घरजग्गा, गाडी र शेयरमा लगानी गरेको छ ।
जबसम्म यो पैसा फिर्ता आउँदैन तबसम्म बैंकले थप लगानी गर्न सक्दैन् । नेकपा (माओवादी केन्द्र) को सरकार बनेको छ । माओवादीलाई विदेशी मुलुकले विश्वास गर्दैनन् । विदेशी ऋण अब ठप्प हुन्छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सरकार बन्ने बित्तिकै लगानीकर्ताहरु थप निराश भएका छन् । अब झनै आर्थिक संकट आउँछ, तरलता थप बढ्छ । अब घरजग्गा, शेयर र गाडीमा थप मन्दी आउँछ । यिनीहरु जति खरिदबिक्री हुन्छ राज्यले त्यति नै राजश्व आउने हो ।
मन्दी हुनेबित्तिकै राज्यलाई राजश्व आउँदैन् । अब राज्यले आफ्नो दैनिक खर्च कसरी धान्छ ? तलबभत्ता, सेवासुविधालगायत अन्य खर्च सरकारले कसरी परिपूर्ति गर्छ ? लगानीकर्ताहरु आफ्नो व्यवसायीबाट हात धोएर बाहिर निस्किन्छन् । अहिलेको सरकारलाई अन्य मुलुकले गाह्रो मानेर बधाई दिएको छ । यो पाराले विदेशी सहयोग आउला ? भनेर नसोच्दा पनि हुन्छ । भखरै अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसअघि पनि अर्थमन्त्री भइसकेका छन् । उनको पालामा आर्थिक क्षेत्र नाजुक भइसकेको थियो ।
जनतालाई पनि सरकारप्रति विश्वास छैन, छिमेकी मुलुकको पनि विश्वास यो सरकारमाथि छैन । खाद्यान्नको महंगी बढ्छ, अन्य क्षेत्र निरन्तर घाटामा जान्छ । अघिल्लो सरकारकै पालामा आर्थिक संकट देखा पर्न थालिसकेको थियो । अब यो थप जटिल हुन्छ । जनतालाई माओवादी पार्टीबाट त्रास छ । माओवादी भनेको लुट्ने, डाका हाल्ने पार्टी हो । अब जनताले आफूसँंग भएको पैसा लुकाउँछन्, लगानी गर्दैनन् ।