सरकार बहुरंगी बन्दै: देउवा ट्याँ, मतदाता अलमलमा

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले नयाँ सरकार बनाएका छन् । दुई सय ७५ स्थानको निर्वाचन परिणाम आएपछि नयाँ सरकार यही पुस १० गते बनी त्यसले ११ गते पद तथा गोपनीयतासहित सार्थकता पाएको छ । विभिन्न तिकडम गरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बनेका छन् । निर्वाचनमा गठबन्धन बनाएर गएको गठबन्धनकै सरकार बन्ने अवस्थामा दाहालको पहिलो चरणमै प्रधानमन्त्री बन्ने महत्वकांक्षाका कारण गठबन्धनको चाहना विपरित नयाँ सरकार बन्न पुगेको छ । प्रमुख प्रतिपक्षी दलको रुपमा रहने स्थितिमा पुगेको नेकपा (एमाले) कै साथ लिएर दाहाल नयाँ सरकार बनाउन सफल भएका छन् । नेपाली कांग्रेसको आडमा निर्वाचनमा तेस्रो दलको हैसियतमा पुगेको माओवादी केन्द्रले कांग्रेसलाई लात हान्दै एमालेसँग मिल्न पुग्दा सत्ता समीकरण नै नयाँ बन्न पुगेको छ ।
नयाँ सरकार बनाउने क्रममा विभिन्न किसिमका अस्वभाविक गतिविधिहरु देखिएका छन् । एमालेसँग बोलचाल नै बन्दको अवस्थामा पुगेको तथा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग पानी बाराबारको अवस्थामा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकैछिनमा ‘यु टर्न’ को अवस्थामा पुगेका थिए । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बसी नयाँ प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी भैरहेको अवस्थामा दाहाल अचानक बाहिरिएर ओलीको ढोका ढक्ढक्याउन पुगेका थिए ।
अघिल्लो दिन दाहालको प्रधानमन्त्री बन्ने संभावना पूर्ण रुपमा सकिएको भन्ने धारणा राखेका ओलीले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत चक्मा दिन सफल भएका थिए । ओलीले दाहाललाई प्रधानमन्त्री बन्न दिनु नहुने बरु ठूलो दलको हैसियतमा सरकार बनाउन देउवालाई सुझाएको अवस्था थियो । यसैगरी देउवा पनि ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री बन्ने भनी भनेको भन्दै छैटौं पटकको प्रधानमन्त्री बन्ने एक सूत्रीय सोचमा रहेका थिए । सोही कारण उनले आफ्नो नेतृत्वमा रहेको गठबन्धन कुनै पनि हालतमा नटुट्ने विश्वासका साथ प्रधानमन्त्री त्यो पनि पहिलो चरणमै भन्ने कुरामा अडान राखेका थिए ।
उता, दाहाल पनि पहिलो चरणमै प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका थिए । उनलाई दोस्रो चरण अर्थात दुई वर्षपछि प्रधानमन्त्री बनाउने भन्ने सोचका साथ तात्कालीन सत्तारुढ दलहरुको बैठक चलिरहेको थियो । यस्तो अवस्थामा दाहाललाई पनि ओलीले गठबन्धन टुटाएर आए प्रधानमन्त्री समेत बनाइदिने आश्वासन दिइरहेका थिए । यस्तो अवस्थामा दाहालले राजनीतिक नैतिकतालाई विर्सिएर पद नै ठूलो हो भन्ने ठानी आफैं प्रधानमन्त्री बन्ने ध्याउन्नमा लागेका थिए ।
दाहालले पदलाई प्रमुखता दिंदा, देउवाले आफ्नै नेतृत्वमा सरकारको निरन्तरता खोज्दा तथा ओलीले कुनै पनि हालतमा गठबन्धन टुटाएरै छाड्ने भित्री योजना बनाउँदा तात्कालीन गठबन्धन टुट्न पुगेको थियो । यस्तो अवस्थामा दाहालले तेस्रो हुनुको फाइदा उठाउँदै प्रधानमन्त्री बन्न सफल भएका छन् । उनले प्रधानमन्त्री बन्नका लागि कुनै पनि कुरालाई छाड्न तथा लिन तयार भएको अवस्था थियो ।
प्रतिनिधिसभाको लागि दुई सय ७५ स्थानका लागि भएको निर्वाचनबाट आएका सांसदहरुमध्येबाट एक सय ६९ सदस्यहरुको समर्थन सहित दाहाल प्रधानमन्त्री बन्न सफल भएका हुन् । उनका लागि अहिलेसम्म सातवटा राजनीतिक दल तथा तीनजना स्वतन्त्र सांसदहरुको समेत समर्थन रहेको छ । विश्वासको मत लिन बाँकी रहेको अवस्थामा बनेको वर्तमान सरकार बहुरंगी देखिएको छ ।
वर्तमान सरकारमा विभिन्न खाले दलहरुको सहभागिता देखिएको छ । एमाले र माओवादी केन्द्रले एक अर्कालाई कम्युनिष्ट नै होइन भन्ने आरोप लगाउँदै रहेको अवस्थामा दुवै दल हालको सरकारमा सामेल भएका छन् । यसैगरी नयाँ नारा, सुशासनको कुरा तथा ‘नो नट अगेन’ अर्थात पुरानाहरुलाई दोहो¥याइनु ह्न्न भन्ने नारालाई अघि सारेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत सरकारमा सामेल भएको छ ।
यसैगरी नयाँको कुरामात्र होइन कि पुराना त्यसमाथि पञ्चायती व्यवस्थाको अवशेषको रुपमा मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत वर्तमान सरकारलाई समर्थन दिएको अवस्था छ । यो दल पनि सरकारमा सामेल हुने चर्चा चलेको छ ।
उता, तराई मधेशमा एक अर्काका प्रतिद्वन्द्वी दलका रुपमा रहेका जनता समाजवादी पार्टी र जनमत पार्टी समेत एउटै सरकारमा रहने अवस्था देखिएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतबाट भारी मतले पराजित बन्न पुगेका जसपाका अध्यक्ष उपेन्द्र यादव राउतको दललाई सरकारमा सामेल हुनबाट कुनै पनि हालतमा रोक्ने मनस्थितिमा थिए । गत निर्वाचनमा एमालेसँग गठबन्धन गरी उत्तानो चित भएका यादव कांग्रेस नेतृत्वको गठबन्धनमा जाने तयारीमा थिए । उताको गठबन्धन दाहालले भत्काउनासाथ यादव लुरुलुरु एमालेको पिछलग्गु बनी सरकारमा जान खुट्टा उठाएर बसेको अवस्था छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीले आफ्नो दलका नेता रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने, उनीमाथि लगाइएका मुद्दा हटाइनुपर्ने जस्ता माग पूरा हुनासाथ सरकारमा सामेल हुने भन्ने सर्त सहित वर्तमान सरकारलाई समर्थन दिएको छ । यही मागलाई पूरा गर्ने तयारीका साथ अघिल्लो गठबन्धनको सरकारले ल्याएको अध्यादेशलाई एमाले लगायतका केही दलको विरोधका बाबजुद लागू नगरिएको अवस्था थियो । आफैंले विरोध गरेको अध्यादेशकै आधारमा उनलाई मुक्त गराउने तथा सरकारमा सामेल गराउने तयारीमा हालको सरकार रहेको छ ।
यसैगरी स्वतन्त्र रुपमा निर्वाचित भएका तीनजना सांसदहरुले समेत यही सरकारलाई सथर्मन दिएका छन् । उनीहरु कुनै दलमा प्रवेश गर्ने वा मन्त्री पाउने आशामा रहेको बताइएको छ । उनीहरु एमालेमा प्रवेश गरेको खण्डमा उनीहरुलाई मन्त्री बनाउनेसम्मको आश्वासन एमालेका अध्यक्ष ओलीले दिएको पनि समाचार स्रोतले बताएको छ ।
यसरी रंगीविरंगी दलहरुको सरकार बनेको देख्ता मतदाताहरु भने अलमलमा परेका छन् । निर्वाचनको मत परिणाम अनुसार सबैभन्दा ठूलो दल कांग्रेसले सरकार संचालन गर्न पाउनुपर्ने स्थितिमा अर्कै परिस्थिति बनेको भनी मतदाताहरु छक्क परेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी बनेका दलहरु सरकार एउटै कित्तामा पुगेको तथा सरकार बनाउने लक्ष्यका साथ गठबन्धन बनाएका दलहरु छिन्नभिन्न भएको अवस्थालाई मतदाताहरुले भने अनौठो रुपमा लिएको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *