कांग्रेसमा अब सुदृढीकरण जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)
सम्पादकीय

नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाट बाहिरिएको छ । आफ्नै नेतृत्वमा निर्वाचन गराएर सरकार बनाउने अवस्थामा पुगेको कांग्रेस सरकार बनाउने दिनमा सत्तामा पुग्नबाट रोकिएको छ । सत्तारुढ दलमध्येको नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा त्यो पनि पहिलो चरणमा भाग खोजेको अवस्थामा त्यसलाई सहजै स्वीकार्न कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नहुँदा निर्वाचन अघिको सत्तारुढ गठबन्धन भत्किन पुगेको छ । देउवालाई चक्मा दिंदै दाहालले प्रमुख प्रतिपक्षीको अवस्थामा पुगेको नेकपा (एमाले) सँग घाँटी जोडाउन पुग्दा कांग्रेस केन्द्रमा मात्र होइन कि सबै प्रदेशमा समेत सत्तारुढ हुनबाट वंचितको अवस्थामा पुगेको छ । एमालेसँग साँठगाँठ गर्न पुगेका दाहालले प्रधानमन्त्री बनी देउवा तथा कांग्रेसलाई चक्मा दिएका छन् ।
केन्द्रीय सरकार बनेको तथा प्रदेशका सरकारहरु बन्ने तयारी भैरहेको अवस्थामा कांग्रेस सबैतिर सरकारविहीनको अवस्थामा पुगेको छ । कांग्रेसले यो विषयलाई छलफल गरी आफ्नो धारणा ल्याउला नै । कांग्रेसले यो विषयलाई लिएर यही पुसको २२ गते केन्द्रीय समितिको बैठक डाकेको छ । उक्त बैठकले गर्ने निर्णयले कांग्रेसको आगामी यात्राका बारेमा ठोस रुपमा जानकारी सार्वजनिक गर्ला नै । अहिलेको अवस्थामा कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि सरकारमा जानबाट रोकिएको मात्र छैन कि आफूसँग रहेको गठबन्धनलाई समेत टुटाउन पुगेको छ । गठबन्धन तोडिनुमा विभिन्न कारणहरु कारक तत्वका रुपमा रहेका छन् । तिनीहरुको विश्लेषण हुँदै गर्ला पनि । यस्तो अवस्थामा कांग्रेसको भावी मार्ग कस्तो होला र कस्तो हुनुपर्छ भनी टिप्पणी हुनु जरुरी छ ।
निर्वाचनपूर्व नै सत्तारुढ दलहरुको गठबन्धन कायम राखी कांग्रेस निर्वाचनमा होमिएको थियो । कांग्रेसजनको चाहना विपरित कांग्रेसका सभापति शेरबहादुर देउवाको चाहना बमोजिम माओवादी केन्द्र लगायतका दलहरु आगामी सरकार बनाउने लक्ष्य सहित निर्वाचनमा होमिएका थिए । एमालेलाई सरकार बनाउन नदिने प्रमुख उद्देश्यका साथ गठबन्धन गरी निर्वाचनमा ती दलहरु होमिएर एमालेलाई सरकारमा सामेलै हुन नदिने अवस्था पनि सिर्जना गरेका थिए । निर्वाचन परिणाम पनि गठबन्धनकै पक्षमा देखिएको थियो । कुनै अर्को एक दललाई साथ लिनासाथ गठबन्धनको सरकार पनि बन्ने स्थिति थियो । यस्तो अवस्थामा तेस्रो ठूलो दलको हैसियतमा पुगेको माओवादी केन्द्रले प्रधानमन्त्री पदलाई आफ्नो एकमात्र लक्ष्य रहेको भनी कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिने नीति लिएका कारण गठबन्धन भत्किएर अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुग्ने देखिएको छ । यस्तो अवस्थामा कांग्रेसले अब सबै गुट, उपगुटलाई त्यागेर कांग्रेसजनमा गठबन्धन गर्नु जरुरी देखिएको छ । कांग्रेसले दोष जति आफैं भित्र अर्को पक्षलाई देखाउँदै आफू भित्र फाटो ल्याउनुको साटो कमी कमजोरीलाई केलाएर भोलिका दिनमा के कसरी एक ढिक्का भएर अघि बढ्न सकिएला भनी त्यस अनुसारको नीति बनाएर लाग्नु उचित हुन्छ । यस्तो भएमा कांग्रेसले आफूलाई जनताको प्रतिनिधिको रुपमा अघि सारी जनताको दैलोमा पुगी आफूलाई जनताको घर आँगनमा रहेको आभाष दिनु उचित हुन्छ । यसो भएमा कांग्रेस फेरि पनि कुनै गठबन्धन बिना नै अघि बढ्न सक्ने, आफैं उठ्न सक्ने अवस्थामा पुग्ने देखिन्छ । अहिले माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा सबैजसो दलहरु सामेल भएको अवस्थामा उनीहरु जनतामा परीक्षणमा पर्ने निश्चित नै छ । हालको बहुरुपी सरकारले खासै राम्रो काम गर्ने लक्षण नदेखिने टिप्पणी भइरहेको हालको अवस्थामा कांग्रेसले आफूलाई जनतामा केन्द्रित गरेर राख्न सकेका खण्डमा त्यसले कांग्रेसलाई पुनः जिवित बनाउने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *