भानुभक्त आचार्य (पिएचडी)
अमेरिकामा भएका कृष्ण लामिछानेले गत मार्च २१ तारिख बेलुका आफ्नै घरमा झुण्डिएर मृत्युवरण गरेको भन्ने विषयमा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाका बारेमा विश्वभरि छरिएर रहेका नेपाली डायस्पोरा र खासगरी उत्तर अमेरिकी नेपाली समुदायमा विभिन्न किसिमका चर्चा, टिप्पणी र आलोचनाहरू भए । चर्चा यस अर्थमा कि अमेरिकामा नेपालीभाषीहरूबीच राम्रो जनसम्पर्क भएको र सामाजिक योगदानबाट चिनिएको व्यक्तिको अस्वाभाविक मृत्यु भएको थियो । टिप्पणी यस अर्थमा कि नेपालीभाषीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यममा आंशिक तथ्य र व्यक्तिगत दृष्टिकोणसहितका समाचार र विश्लेषण प्रकाशन÷प्रसारण भए । आलोचना यस अर्थमा कि कुनै पनि सञ्चारमाध्यमलाई लगातार पछ्याउँदा पनि स्वर्गीय लामिछानेको मृत्यु हत्या थियो कि आत्महत्या ? कसरी भयो ? आत्महत्याको त्यो अवस्थासम्म धकेल्न के बस्तुस्थिति र बाध्यता आइप¥यो जस्ता अनेक प्रश्नहरू अनुत्तरित थिए ।
अपूर्ण समाचारले जगाएको हुटहुटी
पत्रकारितामा कुनै पनि समाचारमा छ प्रश्नहरू (जसलाई नेपालीमा छ ‘क’ अर्थात के, को, कहाँ, कहिले, किन, कसरी र अंग्रेजीमा ‘फाइभ डब्ल्यु वान एच’ भनिन्छ) को उत्तर खोज्ने प्रयास गरिन्छ । किन र कसरी जस्ता तत्कालै उत्तर लेख्न नसकिने प्रश्नहरूका बारेमा पनि पाठक÷श्रोताका जिज्ञासा सम्बोधन गर्ने किसिमले समाचारमा सम्बोधन गरिन्छ । कृष्णको मृत्यु प्रकरणमा त्यसो भएन । सबैले त्यो घटना ‘आत्महत्या’ भएको जनाए र त्यो मृत्युको निर्णय लिने बाध्यता कसरी सिर्जना भयो भन्ने पाठकको स्वाभाविक जिज्ञासा मेट्ने गरी समाचार दिन जरुरी ठानेनन् । मानौं, त्यो स्वाभाविक मृत्यु थियो । त्यसबेला म पनि अमेरिकाबाट सञ्चालित नेपाली साथीहरूले चलाएका अनलाइनहरू चाहारीरहेको थिएँ । कुनै पनि समाचारले मेरो सूचनाको प्यासलाई बुझाउन सकेनन् ।
कुनै पनि घटनामा आत्महत्याको कुरा आउँछ भने सबै पाठकका मनमा स्वाभाविक रूपमा किन र कसरी भन्ने प्रश्नहरू उठ्छन् । सम्झनुस् त, स–साना बालबालिकालाई तपाइँले कुनै कथा भन्दै गर्दा बिचैमा टुंग्याइदिनु भो वा कुनै चलचित्र हेर्दाहेर्दै नायकको अस्वाभाविक मृत्युभयो र चलचित्र सकियो, वा कुनै उपन्यासमा नायिकाले आत्महत्या गरी अनि पाठकलाई किन त्यसो गरी भन्ने जानकारी दिइएन भने अपूरो लाग्दैन ? ठीक त्यसैगरी कुनै पत्रकारले आत्महत्याको समाचार लेख्छ तर किन र कसरी भन्ने प्रश्नहरूलाई सम्बोधन नगरिकन समाचार टुंग्याउँछ भने त्यो पाठकप्रतिको बेइमानी हो । कृष्णको मृत्युवरणसम्बन्धी समाचारले पाठकलाई झन् उद्वेलित र थकथकी बनायो । समाचारको पूरा विवरण दिएर पाठकको हृदयमा उब्जिएको हुटहुटीलाई थुम्थुम्याउने काम गरिएन ।
यसको असर सामाजिक सञ्जालमा देखियो । पाठकहरूले पत्याएका सञ्चारमाध्यमले समाचारको प्यास मेटाउन नसकेपछि उनीहरूले सामाजिक सञ्जालमा सूचना चाहर्नु स्वाभाविक हो । त्यसबेला कृष्ण लामिछाने माथि चोटपटक देखिने फोटोहरु पनि सामाजिक सञ्जालमा घुम्न थालेका थिए । अनि भिन्नभिन्न किसिमका अडियो र भिडियो क्लिपहरू सार्वजनिक भए । तिनीहरूको रेकर्ड मिति र सन्दर्भको पत्तो थिएन । पहिलो प्रभाव दीर्घकालीन हुन्छ भन्ने त उखानै छ । सामाजिक सञ्जालमा सुरुमा जे देखियो, पाठकहरूले त्यसकै आधारमा धारणा बनाउन शुरु गरे । समाचारले अतृप्त मानिसहरू मृतकको परिवारका सदस्यहरूमाथि निर्मम किसिमले खनिए ।
उता, सामाजिक सञ्जालको सनसनीलाई निस्तेज पार्नुपर्ने दायित्व भएका सञ्चार संस्था र पत्रकारहरू ‘पर्ख र हेर’ को स्थितिमा थिए । उनीहरूले अमेरिकाको गोपनीयतासम्बन्धी कानुनको डर मानेको देखियो । अर्थात् एकातिर सोसल मिडियामा एक किसिमको टीकाटिप्पणी आइरहेको थियो, अर्कातिर सञ्चारमाध्यम स्वयम् चाहिँ रमिते जस्तो थियो । समाचार त आइरहे तर पाठकको मनमा उब्जिएको प्रश्नको जवाफ आएन, खोज्ने दुःख गरिएन तथा कसैले पनि समाचार प्रकाशित भएपछि हुनसक्ने जोखिम लिन चाहेनन् । तथ्यमा टेकेर लेख्दा÷बोल्दा अमेरिकाको कानूनले केही गर्ने थिएन तर त्यो झन्झट कसले गर्ने ?
यसले नेपाली डायस्पोराको पत्रकारितामा हुने दुई चरित्र सतहमा ल्यायो ः पहिलो, ‘आर्मचेयर जर्नलिज्म’ अर्थात् सुविधाभोगी पत्रकारिता । यसको अर्थ हुन्छ— घरैमा बसेर कुर्सी नछोडिकन जे जति सूचना भेला पार्न सकिन्छ, त्यसको आधारमा गरिने पत्रकारिता । यो चरित्र स्वाभाविक पनि छ किनभने नेपाली डायस्पोरामा पूर्ण पत्रकारितामा लागेर जिविकोपार्जन गर्न मुस्किल छ । फेरि हाम्रो किमिसको पत्रकारिताको भाषा र पाठक मूलतः नेपाली हुन् । दोस्रो, ‘स्पाइरल अफ साइलेन्स’ अर्थात पर्ख र हेर । जोखिम नमोल । आफ्नो वरपरको बस्तुस्थिति हेरेर आफूलाई अप्ठेरो नपर्ने समाचार मात्रै प्रकाशन÷प्रसारण गर ।
अर्थात् भोलि हुने परिणामको डरले आफूलाई सुरक्षित स्थानमा राखेर गरिने पत्रकारिता । यी दुई चरित्रले भरिएको पत्रकारिताभन्दा कहिलेकाँही सामाजिक सञ्जाल नै बढी उपयुक्त हुन्छ । कुनै पत्रकार भोलि अरुले के भन्ला, कस्तो परिणति आउला भन्ने डरले सत्य सूचना सार्वजनिक गर्न डराउँछ भने त्यस्तो पत्रकारिताले समाजमा कुनै उल्लेख्य योगदान गर्न सक्दैन ।
सन् १७७६ मा बेलायती उपनिवेसबाट मुक्त भएयताको संयुक्त राज्य अमेरिका विश्वभरिकै आधुनिक लोकतन्त्रको महत्वपूर्ण आधारशीला हो । सन् १७९१ मा अमेरिकाको संविधानमा पहिलो संशोधन भयो, जसमा प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने गरी कुनै कानून बनाइने छैन भनेर लेखियो । यो स्वतन्त्र प्रेसका लागि संसारमै पहिलो कानूनी प्रत्याभूति हो । नेपालबाहिर नेपालीमूलका धेरै पत्रकार कहिँ छन् भने त्यो अमेरिकामै छन् । त्यहाँ पत्रकारका ठूलाठूला संस्थाहरू पनि छन् । तिनले बेलाबेला राम्रै जमघटसहितका सभा–सम्मेलन आयोजना गर्दछन् । नेपालभित्र र बाहिर विभिन्न देशमा रहेका नेपाली डायस्पोराका पत्रकारहरूले पनि अमेरिकाका नेपाली समकक्षीहरूबाट ठूलै अपेक्षा गरेका हुन्छन्— व्यावसायिक पत्रकारिताको अभ्यास र शीपका बारेमा । कृष्णको ‘आत्महत्या’ पछिका दुई–तीन दिनसम्म पनि पूर्ण समाचार आउन सकेनन् । पत्रकार भनेका ‘वाचडग’ हुन् तर समाचार पुरानो भइसक्दा पनि चुपचाप हेरेको हेर्यै हुनु भनेको ‘वाचडगिङ’ होइन ।
समाचारको ‘ब्लाइन्ड स्पट’ का तीन कारण
समाचारको महत्वपूर्ण पक्षलाई सम्बोधन नै नगरी बाँकी समाचार प्रकाशन÷प्रसारण गर्ने कामलाई समाचारमा ‘ब्लाइन्ड स्पट’ भनिन्छ । त्यहाँ केही चिजबस्तु छ भन्ने थाहा छ तर त्यो देखिन्न । जसरी वि.सं. २०५८ को राजदरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरू मारिए भन्ने सूचना बाहिरियो । समाचार प्रकाशन÷प्रसारण पनि भयो तर कसरी भन्ने कुरा अनुत्तरित रह्यो । त्यसैगरी कृष्ण लामिछानेको घटनामा त्यही चरित्र दोहोरियो । यसका तीन मुख्य कारणहरू छन् ः
पहिलो ः अमेरिकाको पारिवारिक गोपनीयता कानून निर्मम छ । समाचारका कारणले फस्न सकिन्छ भन्ने भय । माथि नै भनिसकियो— यो सोचले ‘स्पाइरल अफ साइलेन्स’ लाई बढावा दियो । अरुबेला धेरै जटिल विषयमा समेत समीक्षात्मक टिप्पणी लेखिहाल्ने वर्गसमेत हच्कियो । एकातिर कृष्ण लामिछानेको मृत्युवरणलाई गोपनीयताको विषय भन्दै चूपचाप बस्न मन पराउने पत्रकारहरूका अनलाइनमा समेत लामिछानेले लेखेको भनिएको ‘आत्महत्या–पत्र’ प्रकाशित भयो यद्यपि त्यसमा मिति थिएन, त्यो पूर्ण थिएन, त्यसले आफ्नो अपराध कबोलेको थिएन । कसैको ‘सुसाइड नोट’ छाप्नु गोपनीयताको उल्लङ्घन होइन ? अवश्य हो । आत्महत्याका घटनालाई कसरी समाचार बनाउने भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले एउटा निर्देशिका बनाएको छ । यसको ‘के गर्नु हुँदैन’ शीर्षक खण्डको पहिलो बुँदामा ‘सुसाइड नोट’ छाप्नु हुँदैन भनेर लेखेको छ । पाठकलाई भन्नैपर्ने कुरा प्रकाशन÷प्रसारण गर्दा अमेरिकी कानून लाग्ने अनि लेख्नै नहुने कुरा लेख्दा चाहीँ अमेरिकी कानून लाग्दैन ? यसको अर्थ पत्रकारहरूमा ‘आत्महत्या’ जस्ता संवेदनशील घटनामा रिपोर्टिङ गर्न चाहिने आवश्यक तयारी र जानकारी छैन भन्ने अनुमान गर्न सकिन्छ ।
दोस्रो, महिलाले पुरुषमाथि आत्महत्या दूरूत्साहन गर्न सक्छन् ? अथवा महिलाबाट पुरुषमाथि घरेलु हिंसा हुन्छ कि हुन्न ? भइहाले भने त्यसलाई समाचारकै रूपमा प्रकाशन÷प्रसारण गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा समेत हिचकिचाहट भएको हुनसक्छ । जतिसुकै विकसित मुलुकमा बसे पनि हाम्रा मनमस्तिष्कभरि नेपाली शैलीमै बुझ्ने वा विश्लेषण गर्ने परिपाटी छ । त्यसैले कतिपय सञ्चारमाध्यम स्वर्गीय कृष्णले ‘आत्महत्या’ गरेकै हो भन्ने पुष्टि गर्न लागे । त्यसका लागि कृष्णको आर्थिक लेनदेनको भनिएको अडियो सार्वजनिक गरियो । त्यसकै सिलसिला भनौं अन्तिम संस्कारमा परिवारजनले कस्तो शोक प्रकट गरे भन्ने विषयको भिडियो सहितको बेलिबिस्तार र कृष्णको भनिएको ‘सुसाइड नोट’ । टेक्सास र वरपरका धेरैजसो नेपालीभाषीलाई मृतकको घरको कथाव्यथा पहिल्यै थाहा रहेछ । त्यसलाई समाचारका रूपमा प्रकाशन गर्ने भन्दा पनि घरझगडा मिलाउनेतर्फ गुपचुप प्रयासहरू भए । बरु, उपलब्ध घरझगडाको अडियो वा भिडियोमा आधारित भएर कसैले समाचार प्रकाशन गरिदिन पाएको भए यो घटना रोकिन सक्थ्यो । समाचारका कारणले पत्रकारको भइरहेको जनसम्पर्क बिग्रेला कि भन्ने हिच्किचाहटले पनि यसमा भूमिका खेलेको हुनुपर्छ ।
तेस्रो, सजिलो पत्रकारिताको उपयोग । माथि नै उल्लेख गरिसकियो– डायस्पोराको नेपाली पत्रकारिताको ठूलो हिस्सा आंशिक पत्रकारिताको रूपमा जिवित छ । दैनिक गुजारा गर्न अरु नै काम गरेर साँझबिहान बचेको समयमा रहरका लागि गरिने पत्रकारिता, जसका दुई उद्देश्य छन्— सजिलै भेला पार्न सकिने सूचना समाजलाई दिने र आफूलाई सामाजिक दृश्यमा सक्रिय राख्ने । त्यसले गर्दा व्यावसायिक पत्रकारिताको कसीमा डायस्पोराको नेपाली पत्रकारितालाई राख्न मिल्छ कि मिल्दैन ? त्यही आलोकमा समीक्षा वा टिप्पणी गर्न मिल्छ कि मिल्दैन ? डायस्पोराका नेपाली पत्रकारहरूबाट व्यावसायिक गहिराइ र नैतिक उचाइ अपेक्षा गर्न मिल्छ कि मिल्दैन ? यी प्रश्नहरूमा छलफल गर्न सकिन्छ तर जसरी एउटा जहाज दुर्घटनामा परेपछि मरेको पाइलटलाई दोषी देखाउने प्रयत्न हुन्छ, त्यसैगरी मृतकलाई नै दोषी देखाइदियो भने बाँच्नेलाई सहज हुन्छ भन्ने दृष्टिकोण राख्नु पनि पत्रकारिताको सही उपयोग होइन । यो सजिलो पत्रकारिताको दूरुपयोग हो । तथ्यमा टेकेर कुनै पनि घटनालाई निर्मम समीक्षा गरौं तर सजिलो पत्रकारिताको दुरूपयोग नगरौं ।
अब के सिक्ने, के गर्ने ?
आत्महत्याका समाचार लेख्दा अपराध कसरी भयो भन्ने कुरा विस्तरामा लेख्न मिल्दैन किनभने त्यसले ‘कपी–क्याट क्राइम’ जन्माउँछ, जसले अपराधको नक्कल गर्न सिकाउँछ र त्यस्तै अपराध बढ्न सक्ने जोखिम रहन्छ । त्यसबाहेक सामान्यतः अन्य सूचना प्रकाशन गर्न मिल्छ । लामिछानेको ‘आत्महत्या’ प्रकरणमा घरायसी द्वन्द्व वा अन्य पृष्ठभूमिका कारणहरू खोतल्न सकिन्थ्यो । त्यसले पाठकलाई किन र कसरीको अप्रत्यक्ष रूपमा भए पनि जवाफ दिनसक्छ । आखिर यो घटना हुनुअघि छरछिमेक वा उनको परिवारलाई नजिकबाट चिन्नेहरू झगडा मिलाउन गएकै रहेछन् । घरभित्रको कुरा भन्दै पत्रकारहरूले यस विषयलाई समाचारमा ल्याउन चाहेनन् । यही कुरा स्थानीय सञ्चारमाध्यमले ‘सफ्ट एन्गल’बाट प्रकाशन÷प्रसारण गर्दिएको भए यो अवस्थासम्म पुग्दैनथ्यो भन्ने मलाई लाग्छ ।
हामी जति पनि प्रेस स्वतन्त्रताको कुरा गर्छौं, सामाजिक उत्तरदायित्वको सिद्धान्तको कुरा गर्छौ, व्यावसायिक मापदण्डको कुरा गर्छौं वा आचारसंहिताको उदाहरणहरु लिन्छौं, अमेरिकालाई कहिल्यै भुल्दैनौ । त्यसैले अमेरिकामा बसेका पत्रकारबाट नेपालका पत्रकारले पनि सिक्नुपर्ने हो खासमा । उनको मृत्यु प्रकरणमा खास के भएको हो भन्ने जान्न नेपालका मिडियाको भर पर्नुपर्ने स्थिति आयो । आत्महत्या गरेको मानिसले जे गर्यो, ठीकै ग¥यो भन्ने वा त्यसलाई पुष्टि गर्ने चेस्टा पत्रकार वा जो कोहीले पनि गर्नु हुँदैन । कुनै पनि अपराधभन्दा जीवनको मूल्य बढी हुन्छ । अब त्यस्तो नहोस् भन्ने अपेक्षा गरौं ।
हिजोआज विश्वव्यापीकरण वा प्रवासीकरणका कारणले सामाजिक संरचनामा फेरबदल भइरहेको छ । सँगसँगै घरेलु हिंसाको प्रकार र कारणहरू परिवर्तन भैरहेका छन् । यसबारे सोचौँ, मनन गरौँ । वैदेशिक रोजगारीले गर्दा हाम्रो पारिवारिक मूल्य र मान्यताहरूमा परिवर्तन आइरहेको छ । त्यसैले अलि खुला दिमाग लगाएर सोचौं । यो घटनामा सञ्चारकर्मी, सञ्चार संस्था र पत्रकारका विभिन्न संस्थाले समयमै बोलेनन् भन्ने गुनासो छ । आगामी दिनमा हुने परिघटना वा भवितव्यहरूमा सञ्चारकर्मीले समयमै बोलुन् । कुरा नचपाइ बोलुन् । समाचारमा कुनै पनि ‘ब्लाइन्ड स्पट’ नछाडुन् ।
(नेपालप्लस डटकममा प्रकाशित यो लेखका लेखक आचार्य क्यानडाको युनिभर्सिटी अफ ओटावामा सञ्चार र पत्रकारिता विषयका प्राध्यापक हुन्)