अनुसा थापा
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ महिना बितिसकेको छ । यत्तिका समयसम्म कुनै पनि राजनीतिक दलका सांसद् तथा स्वतन्त्र सांसद्ले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् । कुन सांसद्को सम्पत्ति कति छ ? जनतालाई छोडौं, सरकारलाई पनि थाहा छैन । कानूनमा सांसद्ले अनिवार्य सम्पत्ति विवरण सरकारलाई बुझाउनुपर्ने उल्लेख छ । जनताले पनि आपूmले चुनेर पठाएको सम्पत्तिबारे जानकारी पाउनुपर्छ । सांसद्ले आफ्नो सम्पत्ति लुकाउन खोजिरहेका छन्, किन ?
भूटानी शरणार्थी प्रकरण बाहिर आएपछि अहिले सदनमा भ्रष्टाचारविरुद्धको अभियान चलेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर अधिकांश सांसद् सदनमा उफ्रिरहेका छन् तर यिनीहरुकै सम्पत्ति कसले छानबिन गर्ने ? सदनमा सबैभन्दा धेरै चिच्याउनेमा पर्छन्, कांग्रेसका महामन्त्री गगनकुमार थापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीलाई भ्रष्टाचारविरुद्धको विषय उठाएर भ्याइनभ्याइ छ । जतिबेला पनि २०४६ सालभन्दा पछाडिको नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै कराइरहेका हुन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टेलिभिजनमा बसेर चर्चा कमाए । त्यसकै आडमा उनी सांसद्सम्म आइपुगे । यता, गृहमन्त्री पनि बने । यद्यपि, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन्, किन ? किनकि टेलिभिजनमा बसेर अर्कालाई थर्काएर, धम्काएर जोडेको सम्पत्ति लुकाउनु जो छ । नेताहरु सबै भ्रष्टाचारी हो भन्ने उनी आफूचाँहि चोखो छन् ? अरुमाथि हिलो छ्याप्नुअगाडि आफूले के गरेको छु भन्ने त हेरौं ।
नेकपा (एमाले) का महेश बस्नेत पनि अहिले भ्रष्टाचारविरुद्धको अभियानमा लागेका छन् । भ्रष्टाचार रोक्नुपर्छ भनेर उनी त सडकसम्म आइपुगेका छन् । जसजसले धेरै भ्रष्टाचार गरेका छन्, तिनीहरु नै यतिबेला भ्रष्टाचारविरुद्धको अभियानमा लागेका छन् जस्तो भान पर्न गएको छ । आफ्नो कर्तुत लुकाउनका लागि नेताहरु अभियानमा जोडिएको छर्लङ्ग छ ।
कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमालेका निलम्बित सचिव एवं पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीभन्दा बढी भ्रष्टाचार गर्ने त अहिले सदनमा चिच्याइरहेकाहरु होलान् । सांसद्हरुको सम्पत्ति छानबिन गर्ने हो भने पूरा सदन रित्तिन बेर छैन ।
सदनमा सबै ‘दलाली’ सांसद् मात्र छन् । कुनै जग्गा दलाल गरेर आएका छन् कुनै शेयर । मेडिकल दलाली, निर्माण दलाली, म्यानपावर दलाली, ठेकेदारलगायतले सदन भरिपूर्ण छ । दलाली पृष्ठभूमिबाट आएका व्यक्तिलाई भ्रष्टाचारविरोधी नारा लगाउन सुहाउँछ ? जनताले अलिक राम्रो ठानेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. पनि यतिबेला यही टोलीमा परेका छन् । होइन भने उनले आफ्नो सम्पत्ति किन सार्वजनिक गरेनन् ?
नेपाल मजदुर किसान पार्टीबाट सांसद् प्रेम सुवाल पनि अरुभन्दा फरक रहेनछन् । उनले पनि अहिलेसम्म व्यक्तिगत सम्पत्तिबारे सरकार र जनतालाई जानकारी गराएका छैनन् । स्वतन्त्र सांसद् अमरेशकुमार सिंह भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै सदनमा अर्धनग्न भए । उनले सदनमा सर्ट र गन्जी फुकालेको पूरा दुनियाँले देख्यो । त्यही दिन उनको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । त्यति नै भ्रष्टाचारविरुद्ध बोल्न मन छ भने पहिले आफूले गरेको भ्रष्टाचारबारे मुख खोले भइहाल्यो ।
आफ्नो सम्पत्ति पहिले सार्वजनिक गर्न सक्नुपर्छ अनि मात्र अरुको बारेमा टिप्पणी गर्दा उचित होला । चर्चामा आउनका लागि जे पनि बोलिदिने, जे मनलाग्यो त्यही गरिदिने ? यो त भएन् नि । अरुमाथि हिलो छ्याप्नलाई पहिले आफ्नो छवि सफा हुनुप¥यो । अनि मात्र हिलो छ्यापेको सुहाउँछ । होइन् भने अरुमाथि औंला नउठाउँदै बेश होला । कानूनको दायरामा पुगिसकेकालाई गाली गरेर केही हुनेवाला छैन् । बरु, को को भ्रष्टाचार गरेर पनि बचेका छन्, तिनको बारेमा बोलौं ।
अहिलेका सभामुख देवराज घिमिरेले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सभामुख आफैं त कानून उल्लङ्घन गर्नतर्फ लागेका छन् भने सांसद्ले उनको सिको सिक्नु त स्वाभाविकै हो । सभामुखदेखि लिएर सांसद्लाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न किन डर लागिरहेको छ ? जनताले यसलाई कसरी बुझ्ने ? बिचौलिया सांसद्हरुले कतिञ्जेल जनताको आँखामा छारो हाल्ने ? जनता र मिडियालाई झुक्काएर सांसद् बनेकाहरुले सम्पत्ति सार्वजनिक गर्दैनन्, सरकारले नै खोताल्नुपर्छ ।
सांसद्मा निर्वाचित भएका आएकाहरुले सरकारबाट पाउनुपर्ने हरेक सेवासुविधा लिइरहेका छन् । सरकारी गाडी चढेका छन्, मासिक तलब बुझ्छन्, बैठकपिच्छे भत्ता लिन्छन् । देशविदेश घुमेका छन् । सांसद्को सेवासुविधा लिएका उनीहरुले सांसद्ले पालना गर्नुपर्ने नियमकानून मान्नुपर्छ कि पर्दैन ? अहिले सदनमा भ्रष्टाचारविरुद्ध बोल्नेको ओइरो लागेको छ । तँ बोल्ने कि म भनेर हानाथाप चलिरहेको हुन्छ । त्यसरी नै सम्पत्ति सार्वजनिक गर्न हानाथाप गरेको भए हुन्थ्यो ।
बुरुकबुरुक उफ्रिनुको साटो आफ्नो कामलाई प्राथमिकता दिएको भए आज देश कहाँ पुग्थ्यो ? कराउने बेलासम्म त्यही हुन्छन्, ऐन पारित गर्ने बेलामा कुलेलम ठोकिहाल्छन् । सांसद्को संख्या नपुगेर कति ऐन रोकिएका छन् । सदनको आफ्नै नियम होला तर कसले टेर्ने ? कोही प्यान्ट र टिसर्ट लगाएर पुगेका हुन्छन् । नेपाली नभई विदेशी पोशाकलाई प्रोत्साहन गर्ने काम सांसद्हरुले गरिरहेका छन् । कतिपय सांसद् सदनमा मस्तसंँग निदाइरहेका हुन्छन् । सदनमा के भइरहेको छ ? उनीहरुलाई केही अत्तोपत्तो हुँदैन ।
उनीहरुलाई सुत्नका लागि तलब दिइएको हो ? सदन सुत्ने ठाउँ हो ? कोही चल्दै गरेको सदनमा लुगा फुकालिदिन्छन् । सदन प्रत्यक्ष चलिरहेको हुन्छ, देशविदेशबाट हेर्छन् भन्ने यिनीहरुलाई थाहा छैन ? कि थाहा भएर पनि जानाजान बुझ पचाएका हुन् ? अब ड्राइभर, खलासी हुने क्षमता नभएकालाई सांसद् बनाएपछि यस्तै परिणाम आउनु स्वाभाविकै हो । नेपालको बदनामी गर्नतिर लागिपरेका छन्, सांसद् ।
हालैमात्र धादिङमा एक युवाले आत्महत्या गरे । दुई हजार एक सय रुपियाँ शुल्क नतिरेपछि विद्यालयले उनलाई प्रवेशपत्र दिएन । प्रवेशपत्र नदिएपछि उनले आत्महत्याको बाटो रोजे । शुल्क तिर्न नसक्दा विद्यार्थीहरु आत्महत्या गरिरहेका छन् । पढ्ने उमेरका नेपाली जनताका छोराछोरी खाडी पुगिरहेका छन् । देशको अर्थतन्त्र तहसनहस बनेको छ । जनता र राष्ट्रका लागि केही काम नगर्ने सांसद्लाई किन तलबभत्ता खुवाउने ? जनताको समस्या ज्युँको त्युको छ, अनि यिनीहरुलाई किन पोस्ने ? सांसद् हुँदा पनि देशको अवस्था उस्तै छ, नहुँदा पनि उस्तै ।
राज्यको ढुकुटी दोहन गर्ने काम मात्र भइरहेको छ । मुलुकले कहीँकतैबाट निकास पाउँछजस्तो देखिँदैन् किनकि नेताहरु पहिले आपूm सुध्रिनुप¥यो । जनता पनि कार्यकर्ता होइनन्, देशको नागरिक बन्नुप¥यो । आफ्नो दलको नेताले जतिसुकै नराम्रो काम गर्न पनि मुखमा बुझो हालेर बस्ने कार्यकर्ता अर्काको दलको विरोधमा बुरुकबुरुक उफ्रिन्छन् । साँच्नै नै भ्रष्टाचार निर्मूल पार्नु छ भने पहिले आफू र आफ्नो दलबाट थालौं । होइन् भने नौटंकी नदेखाऔं ।
पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे । ३२ दिन गृहमन्त्री हुँदा लामिछाने आफैंले पनि धेरै ‘सेटिङ्ग’ मिलाएको बाहिर आएको थियो । त्यसैले अन्यलाई नानाथरी गाली गरेर आफू बच्ने प्रपञ्च नरचौं । यहाँका सबै नेता भ्रष्टाचारी छन्, सबैलाई कारबाही गरौं ।
हुन त दुवै मन्त्री भएका व्यक्ति हुन् । दुवै टन्न पुख्र्यौली सम्पत्ति भएका खानदानबाट आएका पनि होइनन् । महेश बस्नेतले अर्काको नामबाट थुप्रै व्यापार व्यवसायमा लगानी गरेका छन् भनिन्छ । जग्गा प्लानिङदेखि लिएर होटल व्यवसाय र निजी विद्यालयमा उनको धेरै लगानी भएको बताइन्छ । यत्रो सम्पत्ति कहाँबाट आयो ? पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको पाँच महिना पुग्न थाल्यो तर उनले आफ्नो मन्त्रिमण्डलमा बस्ने कुनै पनि मन्त्रीको सम्पत्ति छानबिन गरेनन् ।
साँच्नै नै देश बनाउने र भ्रष्टाचार हटाउने हो भने सरकारी कर्मचारीदेखि लिएर नेता र व्यवसायीको सम्पत्ति छानबिन गर्नुपर्छ । गलत रुपले कमाएको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । भ्रष्टाचार गर्नेहरुलाई प्रहरी खोरमा लगेर हाल्नुपर्छ । सबै भ्रष्टाचारी भएको देशमा एउटाले सजाय पाउँदा अर्को चर्चामा आउने काम भइरहेको छ ।