नेताहरुको मुटुमा ढ्यांग्रो : नक्कली काण्ड पेचिलो, पीडित झनै पीडित

Nayabimarsha (Weekly Newspaper from Nepal)

मुख्य समाचार

भक्तपुर/ नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउने काण्डमा पक्राउ परेकाहरुमाथिको छानविन कायमै रहेको छ । यस प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतका अभियुक्तलाई हिरासतमै राख्न प्रहरीले अनुमति पाएका कारण यो प्रकरण झनै लम्बिँदै गएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भने पनि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरे बमोजिम म्याद थप भएको हो ।

पक्राउ परिने डरले भागेका रायमाझीलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेपछि उनको समेत वयान लिने प्रक्रियाका कारण प्रहरीले अनुसन्धानको समय लम्ब्याएको हो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा लहरो तान्दा पहरो गर्जिन थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेपछि यसमा संलग्न हुनेहरुको संख्यामा बढोत्तरी हुन थाल्यो । त्यसको भोलिपल्ट २० बैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परे । पाण्डेले दिएको बयानका क्रममा तत्कालीन गृहमन्त्री खाण समेत पक्राउ परेका छन् ।

जनतामा आशा

यो काण्ड बाहिरिएसँगै जनतामा आशा पलाएको छ । आशा यस अर्थमा कि भ्रष्टाचारीहरु कारबाहीको दायरामा आउन सके भने भोलिका दिनमा भ्रष्टाचारको मात्रा घट्ने छ । यसैगरी भ्रष्टाचारको कुरामा कुनै दल वा दल विशेषका मानिसमात्र नभई सबै सामेल हुने रहेछन् भन्ने कुरा स्थापित हुन पुगेको छ ।

मुलुकमा विभिन्न कालखण्डमा विभिन्न काण्डहरु भएका भए पनि केही काण्डवालाहरु मात्र कारबाहीको दायरामा आएका कारण पनि यो काण्ड कसरी टुंगिने हो भनी जनतामा चासो छाएको हो । पछिल्लो समयमा उजागर भएको यो काण्डका कारण नेपालीजनमा भ्रष्टाचारीमाथि सरकार तथा प्रहरी प्रशासनले कारबाहीको प्रक्रियामा ल्याउन सक्छ भन्ने देखिने भनी जनतामा आशा पलाएको हो ।

नेताहरुको मुटुमा ढ्यांग्रो

यो काण्ड सार्वजनिक हुँदादेखि नै ‘हाइ प्रोफाइल’ का मानिसहरु पक्राउ पर्ने संभावना देखिएको थियो । शुरुको दिनमा टोेपबहादुर रायमाझीको संलग्नतालाई लिएर त्यसको लहरो कहाँसम्म पुग्ने हो भन्ने कुुरा उठेको थियो । आफ्नो दलको सचिवको नाम आउनासाथ नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको मुटुमा ढ्यांग्रो ठोकेको थियो । उनी तीन दिनमा तीन पल्ट प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगे । उनले रायमाझीलाई नपक्रिन दबाब मात्र दिएनन् कि उस्तै परे कार्यकर्ता सडकमा ओराल्नेसम्मको धम्की दिएका बताइएको छ । यस्तो अवस्थामा दाहालले भने आफू कारबाही प्रक्रियामा अघि बढिसकेको भनी ओलीलाई जबाफ दिएका थिए ।

रायमाझी फरार रहेको अवस्थामा तात्कालीन गृहसचिव (हाल पनि सचिवमै बहाल रहेका) टेकनारायण पाण्डेको संलग्नताको कुरा आयो । उनीविरुद्ध पक्राउपूर्जी जारी भएको सार्वजनिक हुनासाथ उनी प्रहरीमा आई आत्मसमर्पण गर्न पुगे । उनको संलग्नताको विषयमा बयान लिने क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम यो काण्डमा जोडिन पुग्यो । उनको संलग्नता हुनसक्ने देखेरै प्रहरीले उनलाई निवासबाटै पक्राउ ग¥यो । खाणको पक्राउपछि विभिन्न व्यक्तिहरु जोडिएको भन्दै विभिन्न अडियो टेपहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थाले । त्यस्तो अवस्थाले कसको संलग्नता छ वा छैन भन्ने कुरा भोलिको दिनमा के कसरी पुष्टी होला त्योभन्दा अघि नै शीर्ष नेताहरुको मुटुमा ढ्यांग्रो बजेको बताइन्छ ।

देउवा ओली चूप

यो काण्ड बाहिर आएसँगै धेरै नै चम्केरा कुरा गर्ने एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली रायमाझी पक्राउ परेपछि भने चूप देखिएका छन् । यसैगरी सधैँजसो चूपकै अवस्थामा रहने कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चूपको अवस्थामा छन् । उनीहरु चूप हुनुको पछाडि यो काण्ड हुँदाका बखत उनीहरु दुवैजना प्रधानमन्त्री रहनु हो । कतिपय अडियो टेपमा ओली र ओलीकी पत्नीको समेत यस प्रकरणमा हात रहेको भन्ने रहेको देखिने गरी कुरा आएका छन् । यसैगरी देउवा पनि आफ्नी पत्नीको नाम यो प्रकरणमा जोडिएका कारण तनावमा छन् । देउवाले यो विषयमा सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिए पनि पत्नीको कारण कुनै पनि बेला आफू बद्नाम होइने पो हो कि भनी त्रसित अवस्थामा बसेका छन् ।

त्यसो त ओलीले यस विषयमा कुरा उठाउँदा आफैं हावादारी हुने देखिएपछि उनले पनि आफ्नो बोली बन्द गरेका छन् । यो प्रकरणमा नाम जोडेर प्रचार भई रहेकी आरजू राणा देउवाले भने आफूमाथि लगाइएको हल्लामा कुनै सत्यता नभएको भनी अड्डी कसेर बसेको अवस्था छ । उनले आफूले यो प्रकरणमा एक पैसा पनि नलिएको भन्दै आफूविरुद्ध आएको टेपको छानविन गर्न माग गरेकी छिन् । यसैगरी विभिन्न टेलिभिजन कार्यक्रमहरुमा अन्तर्वार्ता दिंदै उनले आफूले केही नगरेको भन्ने गरेकी छिन् । कांग्रेसबाट सांसद समेत रहेकी देउवाले संसदमा समेत चुनौती दिएकी छिन् ।

उता, पक्राउ परेका व्यक्तिहरुलाई कानूनी कारबाही होला कि नहोला भन्ने भन्दा पनि आपूmहरुले दिएको पैसा उठ्ने हो कि होइन भनी पीडितहरु चिन्तित बनेका छन् । उनीहरुले उनीहरुमाथि कानूनी कारबाही भए पनि नभए पनि आपूmहरुले दिएको रकम व्याज सहित फिर्ता हुनुप¥यो भनी चासो राखेका छन् ।
यो प्रकरण जति समय लम्बिए पनि पीडितहरुका लागि भने झनै त्रासको विषय हो । यो प्रकरणमा फसेको रकम हात लाग्ने हो वा होइन भन्ने स्पष्ट नभएको अवस्थामा कतिपयले व्याजमा लिएका कारण समस्यामा परेका छन् । उनीहरुले आफुनो लगानीलाई सुरक्षित तबरले लगानी नगरेको स्पष्ट देखिएको छ । उनीहरुले अमेरिका जाने लोभमा कुनै प्रमाण नै नजुटाई रकम भटाभट दिएको अवस्था समेत छ । यस्तो स्थितिमा यो प्रकरण कतिपयले हात्ती आयो हात्ती आयो फुस्सा नहोस् भन्ने गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *