सही अनुसन्धान गरी कारबाही होस्

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नक्कली भुटानी शरणार्थी प्रकरणमा अब के होला भनी सर्वत्र चासो छाएको छ । अनुसन्धानमा तानिएका दुइजना पूर्वमन्त्रीसहित १४ आरोपितहरुविरुद्ध ठगी सहित अन्य तीन अभियोगमा समेत मुद्दा दायर हुने भएको छ । यो अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १४ जना पक्राउ परेका छन् भने अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भनी तिनीहरुको खोजी भैरहेको छ । उनीहरुमाथि अन्य दुई अभियोगमा चाहिँ अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने तयारीमा प्रहरी रहेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, लिखत सम्बन्धी कसुर (किर्ते) र संगठित अपराधको अभियोगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदनको तयारी गरिएको छ । प्रहरीले प्रतिवेदन पेश गरेपछि मात्रै सरकारी वकील कार्यालयले आफ्नो राय राख्ने देखिन्छ ।

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकीलले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई रायसहितको प्रतिवेदन पठाउन सक्ने अवस्था छ । पछिल्लो अवस्थालाई ख्याल गर्दा कम्तीमा पनि चारवटा मुद्दा एकसाथ जिल्ला अदालत, काठमाडौंमा पेश हुने देखिन्छ छ । राष्ट्रहित प्रतिकूल गरेको, ठगी, लिखत सम्बन्धी कसुर (किर्ते) र संगठित अपराधको अभियोगमा मुद्दा जाने तयारी भैरहेको छ । अपराधबाट रकम आर्जन गरेको (सम्पत्ति शुद्धीकरण) र भ्रष्टाचारको हकमा रायका लागि सम्बन्धित निकायमा पठाउने तयारी भैरहेको छ । पछिल्लो अवस्थालाई हेर्दा किर्तेमा केही सीमित व्यक्ति र कर्मचारीमात्रै अनुसन्धानको दायरामा आउने अवस्था रहेको छ । आरोपितहरुलाई राष्ट्रहित प्रतिकूल काम गरेको भनी मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ अभियोगमा मुद्दा दायर गर्ने तयारी छ । उक्त दफामा ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने’ काम गर्न नहुने भन्ने छ । यो अभियोग पुष्टि भए पाँ वर्षसम्म कैद, ५० हजार रुपियाँ जरिवाना वा त्यो अपराध गर्दा रकमको लेनदेन भए त्यो समेत जफत हुने व्यवस्था छ ।

यो काण्डमा पूर्वमन्त्रीहरुमात्र नभई विभिन्न निकायका विभिन्न व्यक्तिहरु जोडिएका कुरा आइरहेका छन् । यसैगरी कतिपय अडियो रेकर्ड (ती वास्तविक हुन् वा होइनन् भन्ने प्रमाणित भएका छैनन्) हरु सुन्दा भने यो संख्या र स्तर अझै माथि पुग्ने अनुमान गर्न सकिन्छ । विभिन्न व्यक्तिहरुले राजनीतिक तथा प्रशासनिक आडमा नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगीलगायतका धन्दा चलाएको देखिँदै आएको छ । यस्तो स्थितिमा प्रहरीलाई पनि सत्यतथ्य ल्याउन गाह्रो परिरहेको अवस्था छ । विगतमा विभिन्न उच्च तहमा रहेका व्यक्तिहरुको नाम जोडिँदै गएसँगै उनीहरुको संलग्नता खुट्याउने कार्य प्रहरीले गर्नुपर्ने अवस्था अहिले आएको छ । त्यसैले प्रहरीले केही समय नै लिएर भए पनि सही ढंगबाट अनुसन्धान गरी सत्यतथ्यसहित कानूनी कारबाहीका लागि फाइल तयार गरिदिएका खण्डमा यो विषयमा अदालतले फैसला गर्न पनि सहज हुने देखिन्छ । यसैगरी पीडकहरुको सही पहिचान गरी उनीहरुलाई कानूनी कारबाहीमा ल्याउने तथा पीडितहरुलाई राहत दिने कार्यका लागि पनि प्रहरीको सही योगदान आवश्यक देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *