भारत भ्रमण शंकाको घेरामा

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार
नयाँ विमर्श सम्वाददाता

नयाँ दिल्ली / नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकी भोलि शनिबार नेपाल फर्कने भएका छन् । भारतको भ्रमणमा रहेका दाहालले दोस्रो दिन अथात् हिजो बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता भयो । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा उनीहरु सहभागी भए । प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरी नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको सन्देश दिएका छन् ।
प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि हिजै भेटवार्ता गरे । भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री दाहालसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी भयो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गरे । यो पनि औपचारिक कार्यक्रमका रुपमा रहेकाले यसमा दुवै देशका व्यापारीसँग अन्तरक्रिया दाहालले गरेका थिए ।
यस्तै, भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री दाहालले भेटघाट गरी भारतमा रहेका नेपालीजनको बारेमा जानकारी लिने कार्य गरे ।
शुक्रबार दाहाल नयाँ दिल्लीबाट डेढ घन्टाको दूरीमा रहेको भारतकै सबैभन्दा सफा शहरमा घुमघामका लागि जाने र शनिबार फर्किएर नेपाल जाने कार्यक्रम रहेको बताइएको छ ।
यसरी नेपालका प्रधानमन्त्री दाहालको भारत भ्रमणको औपचारिक कार्यक्रम सकिने भए पनि यो भ्रमणलाई लिएर विभिन्न किसिमका आशंकाहरु छाएका छन् । नेपालबाट आउने प्रतिनिधि मण्डलले कुनै अध्ययन नै नगरी विभिन्न सम्झौताहरुमा हस्ताक्षर गर्नेसम्मको आरोप लाग्दै आएका हुन् । यस क्रममा प्रधानमन्त्री दाहाल समेत विभिन्न सम्झौतामा चुक्ने आशंका गरिएको छ । नेपालमा प्रधानमन्त्री बन्नका लागि नेपालका नेताहरुले भारत तथा भारतीय शक्तिलाई एकदमै बढावा दिने गरेका कारण पनि नेपालको आन्तरिक राजनीतिमा भारतीय हावी बढी हुने गरेको बताइन्छ ।
दाहाल भारत भ्रमणमा जाने दिन नै नेपालमा विवादित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नुलाई पनि दाहालको भारत भ्रमणसँग आशंकायुक्त रुपमा जोडेर प्रचार भैरहेको छ । उक्त विधेयक कतिपय अवस्थामा भारत र भारतीय नागरिकका लागि लाभकर हुने भनी नेपालमा विवाद भैरहेको स्थितिमा दाहालकै भ्रमणको दिन पारेर प्रमाणिकरण हुनुले पनि विभिन्न आशंका उत्पन्न भएको हो ।
नेपालमा प्रधानमन्त्री बन्नासाथ भारतको भ्रमण गर्ने प्रचलन नै रहेजस्तो देखिएको छ । यस्तो अवस्थामा भारतको भ्रमणमा जाँदा नेपाली प्रधानमन्त्रीहरु चुक्ने गरेको भन्ने आरोप लाग्दै आएको छ । प्रधानमन्त्री दाहालले आफूले नेपालको हितमा बाहेक कुनै पनि सम्झौतामा सहमति नगर्ने भनी नेपालमा भन्दै आए पनि उनी आफ्नो सत्ता टिकाउने नाममा भारतमा लम्पसार पर्ने पो हुन् कि भन्ने आशंका रहँदै आएको छ ।
नेपालमा जारी भएको चुच्चे नक्सालाई भारतले मान्यता दिएको छैन । अझ भर्खरै निर्माण भएको भारतीय संसदीय भवनमा नेपालका केही महत्वपूर्ण ठाउँहरुलाई समेत समेटेर भारतले अखण्ड भारत भनी नक्सा बनाएको छ । त्यस कुराको पनि नेपालमा विरोध भैरहेको छ । त्यसैले प्रधानमन्त्री दाहालले यी विषयलाई भारत भ्रमणको दौरान उठाउने हुन् वा चूपचाप नेपाल फर्कने हुने भनी उनलाई शंकाकै घेरामा राख्नेहरुको संख्या बढी रहेको छ ।
उता, औपचारिक भ्रमणका रुपमा आएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति भारतीय सरकारले दर्शाएको व्यवहारलाई लिएर नेपालीजनले सहज रुपमा नलिएको पाइएको छ । राज्यमन्त्री स्तरबाट स्वागत गराइएको तथा चारपाँच जना नर्तकीहरुलाई विमानस्थलमा नचाएर स्वागत गरिएको भनी दाहाललाई कुनै हैसियत नदिइएको तथा भारतले हेपेको आरोप लगाउने गरिएको छ ।
भारतका प्रधानमन्त्री मात्र होइन कि कुनै पनि स्तरका नेता तथा कूटनीतिक व्यक्ति नेपाल जाँदा नेपालका नेताहरु लम्पसार पर्ने गरेका कारण पनि दाहालले यहाँ खासै भाउ नपाएको बताइने गरेको छ । भारतीय प्रधानमन्त्री आफैं गएर दाहाललाई स्वागत गर्न नसकेको अवस्थामा परराष्ट्रमन्त्री वा अन्य कुनै मन्त्रीलाई पठाएर भए पनि स्वागत गर्न सकिने अवस्था रहेको बताइन्छ । त्यस्तो अवस्थालाई समेत भारतीय पक्षले खासै वास्ता नगरी नेपालका प्रधानमन्त्री दाहाललाई खासै महत्व नदिएको चर्चा चलिरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *