यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्यो । जस अनुसार यदि त्यहाँका मानिसहरु शहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रतिसन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइने कुरा आयो । यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार शुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ ।
यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै शहर फर्किएमा उनीहरुले त्यसरी लिएको १० लाख येन पूरै फिर्ता गर्नुपर्नेछ । जापानमा जनसंख्याको अधिकांश हिस्सा शहरमा बस्दछ र पछिल्ला केही वर्षदेखि त्यहाँ सम्पत्तिको क्षेत्रमा मन्दी छाएको छ । फलतः जापानमा लाखौं घरहरु खाली भइरहेका छन् । जापानमा घर सम्पत्तिको समस्या समाधान गर्नका लागि केन्द्र तथा प्रान्तीय सरकारहरुले यस्ता विभिन्न खाले कदमहरु उठाइरहेका छन् ।
आयुमी सुगिमोटो जापानको अकिता विश्वविद्यालयमा ग्रामीण जनजीवनका बारेमा पढाउँछिन् । उनी अकितो प्रान्तमा बस्दछिन् जहाँ मान्छे बस्न छाडेका घरहरुको संख्या अन्यत्रको तुलनामा अधीक छ र खाली घरहरुको संख्या लगातार बढिरहेको छ । आयुमी सुगिमोटोका अनुसार यस्ता खाली छाडिएका घरहरुलाई जापानी भाषामा अकिया भनिन्छ । उनी भन्छिन्– ‘म जब कार्यालय गइरहेकी हुन्छु प्रायः यस्ता धेरै अकियाहरु बाटोमा देखिन्छन् । अकियाहरु चिन्न निकै सजिलो छ किनकि ती घरहरुको झ्यालको काँच तथा ढोकाहरु प्रायः फुटेका हुन्छन् र हालत पनि खराब हुन्छ ।
सन् २०१८ को तथ्यांक अनुसार जापानमा १३ प्रतिशत अकिया भवन छन् र यस्ता खाली भवनहरु केवल शहरी क्षेत्रमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि रहेका छन् । सरकारी तथ्यांक अनुसार जापानमा यस्ता खाली भएका भवनहरुको संख्या ८० लाखभन्दा धेरै छ तर वास्तविक संख्या भने योभन्दा धेरै रहेको आम मानिसको भनाइछ । वास्तवमा खाली छाडिएका घरहरुका पछाडि आर्थिक कारण रहेको छ । सुगिमोटो भन्छिन्, ‘जुन जमिनमा घर बनेका हुन्छन् त्यसमा करमा सहुलियत मिल्छ । त्यसैले घरधनीहरु घर भत्काएर जमिन खाली गराउन चाहँदैनन् । कर बढी तिर्नु नपरोस् भन्नकै लागि घर भत्काउनुको साटो खाली छाडिदिनु घरधनीका लागि फाइदाजनक हुन्छ ।
यसको अर्को कारण पनि छ । यस्ता धेरै भवनहरु वर्षौं पुराना हुन्छन् र त्यहाँ बस्नेहरुका सम्झना त्यससँग जोडिएका हुन्छन् । त्यसैले उनीहरुले त्यस्ता घर नभत्काइकन राख्दछन् । यसका साथै यो धार्मिक आस्थाको मुद्दा पनि हो । सुगिमोटो भन्छिन्, ‘यी घरहरुमा मानिसहरुले आफ्ना पुर्खाका सरसामानहरु सजाएर राखेका हुन्छन् जसलाई उनीहरु आफ्ना पुर्खाको बौद्ध अवतार पनि भन्दछन् । पुर्खाहरुको आत्मा अकियामा बस्ने मान्यता पनि रहेको छ ।’
अकियाको संख्या बढ्नुमा ग्रामीण क्षेत्रमा रोजगारीको कमी समेत एउटा प्रमुख कारण रहेको उनी बताउँछिन् । ग्रामीण क्षेत्रमा रोजगार तथा उच्च शिक्षाको पर्याप्त अवसर छैन । त्यसैले युवापुस्ता टोक्यो तथा ओसाका जस्ता ठूला शहरतर्फ आकर्षिक भैरहेका छन् । सुगिमोटोका अनुसार अकिया घरहरुमा जंगली जनावरहरु समेत बस्ने गरेका छन् ।
कहिलेकाहीँ भारी हिमपात तथा आँधीका बेला मक्किएका ती काठे घरहरु छिमेकीको घरमाथि ढल्ने घटना पनि हुने गरेको पाइन्छ । यस्ता खाली घरहरु भत्काएर जमिन खाली गराउनका लागि सरकारले सम्बन्धित घरधनीसँग अनुमति लिनुपर्दछ । जुन निकै मुस्किल काम हो किनकि घरधनीहरु आफ्नो नयाँ ठेगाना जानकारी नगराइकन पुरानो घर छाडेका हुन्छन् । कतिपय ठाउँमा प्रशासनले यी खाली घरहरुमा क्याफे, पर्यटक आवास तथा पसलहरुमा परिणत गर्ने काम पनि गरेको छ तर त्यस्तो कदमले पनि समस्या समाधान भएको छैन ।
सुगिमोटो भन्छिन्, ‘मानिसहरुलाई जति घर आवश्यक छ, अकियाको संख्या त्यसभन्दा पनि धेरै छ । कतिपय भवनहरु त यतिधेरै पुरानो भैसकेका छन् कि त्यसको मर्मत वा जीर्णोद्वार गर्न पनि कठिन छ ।
जापानको सम्पत्ति समस्याको सम्बन्ध त्यहाँको जनसंख्यासँग पनि छ । बेलायतको ब्रिस्टल विश्वविद्यालयमा सामाजिक नीतिशास्त्रका प्राध्यापक मिसा इजुहाराका अनुसार सन् १९७० देखि जापानले बढ्दो बुढ्यौली जनसंख्याको समस्या झेलिरहेको छ । जापानको कुल जनसंख्याको ३० प्रतिशत मानिसको उमेर ६५ वर्षभन्दा धेरै छ । जापानको स्वस्थ जीवनशैली तथा उत्कृष्ट स्वास्थ्य सेवाको कारण मानिसहरुको औसत आयु ८० वर्षभन्दा धेरै छ तर जन्मदर भने कम छ ।
उनी भन्छिन्, ‘जापानमा महिलाहरुको प्रजननदर केवल १.३ प्रतिशत रहेको छ । सन् २०१० मा जापानको जनसंख्या करिब १३ करोड थियो भने त्यसयता जनसंख्यामा लगातार गिरावट आइरहेको छ । त्यहाँको जनसंख्या वार्षिक ३२ प्रतिशतले घट्ने र सन् २०६० सम्ममा आठ करोडमा झर्नेछ ।’ यही वर्ष जापानी प्रधानमन्त्रीले संसदमा अपिल गर्दै जनसंख्याको उक्त समस्याको शीघ्र रुपमा समाधान निकाल्नु आवश्यक रहेको भन्दै अन्यथा जापानको समाजका लागि गम्भीर चुनौती खडा हुने बताएका थिए ।
इजुहारा भन्छिन्, ‘पहिले तीनपुस्तासम्म संयुक्त परिवारमा एकसाथ बस्दथे, जसका कारण घरको विरासत सजिलैसँगै नयाँ पुस्तामा सुम्पिइन्थ्यो र घरको पनि हेरचाह हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि आर्थिक पुनरुत्थानको क्रममा मानिसहरुले शहर गएर बस्न शुरु गरे र उही नै आफ्नो घर बनाए । जसका कारण दुवै पुस्ता विस्तारै छुट्टाछुट्टै बस्न थाले । संयुक्त परिवार छाडेर शहरमा बस्दा परिवारको स्रोतसाधन कम भयो र पुरानो पुस्तौनी घरको हेरचाहलाई बेवास्ता गरियो ।
इजुहाराका अनुसार अहिले परिवारको आकार सानो भैरहेको छ । उदाहरणको रुपमा ७० को दशकमा आधा परिवार यस्ता थिए जोसँग आफ्ना बच्चा थिए । अनि १४ प्रतिशत संयुक्त परिवार थिए जसमा तीन पुस्ता एकसाथ बस्दथे । अहिले पनि कुल परिवारमा ३८ प्रतिशत यस्ता परिवार छन् जसमा केवल एक वा दुई मानिस मात्रै सँगै बस्दछन् । यी मानिसहरुको पनि मृत्यु भएपछि वा घर छाडेर अन्यत्र गएपछि ती घर खाली हुन्छन् अर्थात् अकिया बन्दछन् ।
जापानमा आम मानिसहरु नयाँ घर खरिद गर्न मन पराउँछन् र भवनहरु पुराना हुँदै गएपछि मूल्य पनि खस्कँदै जान्छ । पेन्सिल्भेनिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक जिरो योशिडाका अनुसार खाली भएका घरहरुको समस्या युरोप तथा अमेरिकामा पनि छ । अमेरिकामा १३ प्रतिशत भवन खाली छन् । उनी भन्छन्, ‘यो समस्या समाधान गर्न सजिलो छ छैन तर केही कदम भने उठाउन सकिन्छ । जस्तो कि सम्पत्ति करको नियममा परिवर्तन गर्नु । जापानमा हाल जुन जमिनमा भवन बनेको हुन्छ त्यस्तो जमिनको कर कम लाग्दछ । विरासत करको दरमा परिवर्तन गरी त्यसलाई अन्य आय बराबर गराउन सकिन्छ ।
योशिडा भन्छन्, ‘रोजगारका अधिकांश अवसर टोकियोजस्ता ठूलो शहरमा हुन्छ खासरुपमा सेवा क्षेत्रमा । कतिपय युवा ग्रामीण क्षेत्रका आफ्नै घरमा बस्न रुचाउँछन् तर पनि त्यहाँ उनीहरुका लागि जागिरको अवसर हुँदैन । जसका कारण उनीहरु घर छाडेर ठूला सहरमा जानुपर्दछ । यदि घरबाटै काम गर्ने सुविधा दिइयो भने ग्रामीण क्षेत्रमा बसेर पनि सहरको कुनै कम्पनीका लागि काम गर्न सक्नेछन् । यसले घर खाली हुने समस्या धेरै हदसम्म समाधान हुनेछ ।’
स–साना नयाँ कम्पनीहरुले तिनै खाली घरहरुको मर्मत गरेर आफ्नो कार्यालय त्यही नै स्थापना गर्ने हो भने पनि खाली घरहरुको समस्या केही हदसम्म कम हुने योशिडा बताउँछन् । यो समस्याको अर्को पहलु पनि छ । जापनका कैयन् उद्योगहरुमा श्रमिकको अभावको समस्या शुरु भएको छ र भवन निर्माण उद्योग पनि यसबाट अछुतो छैन । यो समस्याका कारण भविष्यमा नयाँ भवनको कमी पनि हुनसक्छ । उनी भन्छन्, ‘भवन निर्माण उद्योगमा खासगरी अधबैँशे उमेरका मानिसहरुले काम गर्दछन् र निकट भविष्यमा उनीहरुमध्ये धेरै मानिसहरु रिटायर्ड हुनेछन् र निर्माण उद्योगले अहिलेकै स्तरमा भवन बनाउने कामलाई जारी राख्न सक्नेछैन ।’
घट्दो जनसंख्याको कारणबाट नयाँ भवनहरुको माग पनि घट्नेछ । यस प्रकार खाली भएका घरहरुको समस्या स्वाभाविक तरिकाबाट नै समाधान हुनेछ । (बीबीसीबाट साभार)