अब प्रतिशोधलाई सबैले बिर्सनुस्

Nayabimarsha (Weekly Newspaper from Nepal)

— जयप्रकाश प्रसाद गुप्ता
कैद मिनाहा र आम माफी बक्सिनु र दिइनुको हाम्रो लामो इतिहास छ । अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने ? यही द्विविधासंँगै हिँडेको छ यो इतिहास । संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी कहलिएका छन् । जो असफल भए ती अपराधी भए । तिनलाई उन्मुत्ति दिइनु हुन्न भनिन्छ ।
नेकपा (एमाले) का रत्न वान्तवा पञ्चायत कालमा अपराधी सरह मारिए । उनीसँंगै लागेकाहरू पछि माफी पाएँ अहिले राज्य भएका छन् । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला माथि राज्यविरूद्धको अपराध, विमान अपहरणको मुद्दा थियो, विमान अपहरणको मुद्दा चक्रप्रसाद बास्तोला समेतका माथि भारतमा पनि थियो । बास्तोलालाई २०४८ सालतिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन । गणेशमान सिंहलाई भारतका राष्ट्रपतिले नेपालका दक्षिण एशियाका गान्धी भनेका थिए । काँग्रेसकै बास्तोला तेतिन्जेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा ।
राजा वीरेन्द्रबाट कांग्रेसका संस्थापक नेता सुवणर्शम्सेर जबरा लगायत सयौंलाई आम माफी दिइएको थियो । सुवणर्ले काँग्रेसको नेतृत्व गर्दै बि.सं. २०१८ मा राजाकाविरूद्ध सशस्त्र विद्रोह चलाएका थिए । कयौं सेना पुलिसको हत्या भयो । चितवनमा सेनाले पनि दर्जनौं काँग्रेसीलाई जिउँदै पुरेर मारेका थिए । ती अदना मानिसहरू थिएनन् । बखान सिंह गुरूङका छोराहरू मारिए, पुरिए । जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन् । महान् व्यक्तित्व बालकृष्ण समका ज्वाइँ, छोरी रश्मीका पति थिए । सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए ।
रामराजाप्रसाद सिंहलाई मुलुकको सर्वोच्च नागरिक पदक दिइयो । पदकको नाम मलाई याद भएन । कुनै समय, पञ्चायतको शासनमा, २०४२ तिर राष्ट्रिय पञ्चायतको भवनमा, राजपरिवार संलग्न रहेको होटेल अन्नपूणर्मा कयौं बम बिष्फोट गराएका थिए । कयौं मानिसको ज्यान गयो । त्यस विषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिश्र, हरि भुजेल झोलहरू आज पर्यन्त बेपत्ता छन् । डा. लक्ष्मीनारायण झालाई थुनामा नै मारियो, सँंगै यातना भोगेका जनकपुरका युगलकिशोर कणर् आज पनि कहालीलाग्दो संस्मरण सुनाउँछन् । गणेश साहजी अहिले नेकपा (माओवादी केन्द्र) का एक बौद्धिक नेताको रूपमा त्यस घटनालाई याद गर्दा हुन् ।
यस बम काण्डका कारण रामराजाप्रसाद सिंहलाई मृत्यूदण्ड सुनाइयो । सर्वोच्च अदालतले सदर गर्‍यो । रामराजाप्रसाद सिंह, उनका भाइ लक्ष्मणप्रसाद सिंहलाई मृत्युदण्डका साथ सर्वश्व हरण गरियो । करौडौं करोडको सप्तरी र सिराहाका जग्गाहरू सरकारले कब्जा गर्‍यो । मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि पनि आममाफी दिइएन । बरू नेपाल मै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिदां पनि भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए । फलतः मुलुकमा बहुदल पुनस्र्थापित भए पनि रामराजाप्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन् । त्यस निर्वाचनमा सिंहको पार्टीले भाग लिएको भए मधेश क्षेत्रमा काँग्रेसलाई नोक्सान पुग्ने थियो- गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन् ।
सि.के. प्रसाई काँग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूविक्रम नेम्वाङका झैं । अनेकन् फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए । राजाबाट आममाफी पाएर मात्र नेपाल फर्किन पाए । सोचौं, यदि प्रसाई, रामबाबु प्रसाई, भूविक्रम नेम्वाङ, मच्छेन्द्र केरूङ, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो कुनै समय विभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनु परेको थियो-यदि आममाफी नदिइएको भए के हुन्थ्यो ? अहिले चरण प्रसाईजी याद गर्दैनन् तर नेकाका ठूला नेता रामबाबु प्रसाई उपर त गौ हत्याकै मुद्दा चलाइएको थियो ।
रामबाबुले अदालत मै मुद्दा कबुलेका थिए । अदालतले त सजाय नै तोकेको थियो । यदि राजनीतिमा माफी मिनाहाको कुरा नहुने भए यतिन्जेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौं रामबाबु प्रसाई तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भै सकेको हुन्थ्यो ।
जन्मकैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यसअघि कैद मिनाहामा रिहा भए । एमालेले यसलाई मन पराएन, लगतै उनी एमालेमा प्रवेश गरे त्यहाँका नेता भए । फेरि एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन । राजाको शासनमा दरबारका खिचलोका कारण कयौंका उपर गंभीर फौजदारी अभियोगमा मुद्दा चलाइयो । थुनुयो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गर्‍यो । यसैमध्येका पूर्व प्रहरी आईजिपी डि.बी. लामा बहुदल आएपछि माफी पाएँ । अरूहरूले पनि माफी पाएँ । लामा त सांसद पनि भए । कति लामो कथा कथु हजुरहरू !
रेशमलाल चौधरी संलग्न रहेको भनिएको टीकापुर बारदातका बारेमा सत्य तथ्य आउनै बाँकी छ, आउँला । मैले जाने बुझेसम्म त्यस घटनापछि “स्ट्रीट ट्रायल” को आधारमा प्रहरीले अनुसन्धान गर्‍यो । प्रहरी स्वयं त्यस बारदातको एक पक्ष हो । प्रतिशोधी पक्ष । मुद्दा दायर भयो, सर्वोच्च अदालतले रेशमलाई दोषी करार गर्‍यो । अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो । समाज तरंगित भएको छ ।
भारतका पूर्व प्रम राजीव गान्धीको हत्या भयो । यो सामयिक संसारकै ठूलो र जघन्य आतंकवादी घटना थियो । कयौंका माथि अपराध साबित भयो । मृत्युदण्डसम्मको सजाय दिइयो । सोनिया गान्धीले मृत्युदण्ड नदिनोस् भनेर आग्रह गरिन् । हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेंट गरिन् र रिहा गरिदिनोस् भनी । समाजमा, मानिसहरूमा दण्ड भावनाको प्रचुरता भएर मात्र हुन्न करूणाले पनि स्थान पाउनु पर्दछ ।
रेशम रिहा भए वा अन्यथा केही भएन भने रिहा हुनेछन् । अब प्रतिशोधलाई सबैले बिर्सनुस् र रेशमले जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून् । यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ । मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खिबसेको छ । अब सक्नु हुन्छ भने त्यतातिर लाग्नुस् हजूर । (मधेश दर्पण फिचर सेवा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *