अनुसा थापा
नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई सांस्कृतिक सम्पदाले थप आकर्षक बनाएको छ । विदेशी पर्यटकहरु यही प्राकृतिक सुन्दरतामा रमाउन र सांस्कृतिक सम्पदाबारे जानकारी लिन नेपाल आउँछन् ।
ठमेल, स्वयम्भु, वसन्तपुर, दरबारमार्ग, पाटनको कृष्ण मन्दिर, बौद्ध, पशुपतिनाथ, भक्तपुरको दरबार क्षेत्रमा सबैभन्दा धेरै पर्यटक देखिन्छन् । त्यहाँ निकै आकर्षक र मन लोभ्याउने सम्पदाहरु छन् । हातले कँुदिएका ती सम्पदाहरु जति हरे पनि अझैं हेरुहेरु लाग्छ । माथि उल्लेखित क्षेत्रहरु पर्यटकीय स्थल हुन् । विदेशीहरु नेपाल आउनेबित्तिकै त्यता पुगिहाल्छन् । विदेशीलाई लक्षित गरी ती स्थलमा विभिन्न मौलिक सामानहरुको पसल राखिएका छन् । व्यापारीहरुले हातमा सामान बोकेर हिँडिरहेको देखिन्छ ।
विदेशी देख्नेबित्तिकै व्यापारीहरुको ठगीधन्दा शुरु भइहाल्छ । छिनमै सयको माल हजार पुगिहाल्छ । होटलवालाहरुले पनि विदेशी भन्नेबित्तिकै ठगी हाल्छन् । नेपालीले खाएकोभन्दा दोब्बरमा तिनलाई खाना बेचिन्छ । बसेको पनि दोब्बर नै लिइन्छ । ट्याक्सी चालकलाई विदेशी देख्नै हुँदैन । पाँच सयको बाटोमा पाँच हजार मागिहाल्छन् । विदेशी भन्नेबित्तिकै व्यवसायीहरुको दिमागमा ठग्ने कुरा मात्र आउँछ ।
जसरी हुन्छ, तिनलाई ‘चुना’ लगाउनै छ । विदेशीलाई बाटो देखाउने र ठाउँ चिनाउन हिँडेका पथप्रदर्शकहरुको पनि यसमा मिलेमतो छ । व्यापारीबाट कमिशन लिने, विदेशीलाई मँहगोमा सामान भिडाउने । नेपाली ‘अतिथि देव भवः’ भन्छन् । पाहुना भगवान्सरह हुने मान्यता परम्परादेखि नै रहिआएको छ । विदेशी पनि हामी नेपालीका लागि पाहुना हुन् तर तिनलाई राम्रो व्यवहार गर्नुको साटो सबै ठग्नमै व्यस्त छन् ।
अनि विदेशी यहाँ किन आउने ? व्यापारीहरुले विदेशीलाई धुरुक्कै बनाइदिन्छन् । पर्यटन मुलुकको अर्थतन्त्र बलियो बनाउने एउटा महत्वपूर्ण आधार हो । विदेशी जति आउँछन्, त्यति नै मुलुकलाई फाइदा हुन्छ । देशमा विदेशी मुद्राको सञ्चिति बढ्छ । विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले विभिन्न कदम चालिरहेको छ । स्थानीय पालिकाहरुले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । व्यापारीहरुको यस्तो पाराले विदेशी पर्यटक आउलान् ? व्यापारीहरुले पर्यटकलाई धुरुक्कै बनाउँछन् । विदेशीलाई बाटोमा रोकेर पैसा माग्ने, दुःख हैरानी दिइरहेको प्रसस्तै देखिन्छ । सरकार कहाँ छ ? विदेशी भित्र्याउने भन्ने अनि उनीहरुको सुविधाको ख्याल नराख्ने ? यसरी पनि चल्छ ? ट्याक्सी चालकहरुले विदेशीसँग मोलमोलाइ गरिरहेको दृश्य सडकमा छ्याप्छ्याप्ती देखिन्छ ।
ट्याक्सी चालकहरु मिटरमा हिँड्न मान्दैनन् अनि बीच बाटोमा घण्टौं मोलमोलाइ गरेर बस्छन् । त्यस्ता चालकलाई कसले कारबाही गर्ने ? वास्तवमा भन्ने हो भने व्यापारीले नेपालीलाई त ठग्न छोड्दैनन्, विदेशीलाई के बाँकी राख्थें ? जति पनि पर्यटक नेपाल आउँछन्, ती सबै ओर्लिने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हो । ओर्लिनेबित्तिकै विदेशी ठगिन शुरु हुन्छ ।
विमानस्थलभित्र सञ्चालनमा रहेको हरियो प्लेटको ट्याक्सीको ठगीधन्दा शुरु हुन्छ । त्यहाँ जम्मा दुई सय सातवटा हरियो प्लेटको ट्याक्सी सञ्चालनमा छन् । २०५० सालदेखि नयाँ दर्ता खोलेको छैन । त्यहाँ चल्ने ट्याक्सीको मिटर पनि छैनन् । मान्छे हेरेर ट्याक्सी चालकले भाडा असुल्छन् । नेपालीसँग त ट्याक्सी चालकले दोब्बर भाडा असुल्छन् भने पर्यटकसँग त तेब्बर उठाइन्छ ।
विदेशीलाई ठमेल गएको पाँचदेखि सात हजार रुपियाँसम्म असुलिन्छ । अझै होटलबाट समेत कमिशन खान्छन् । जुन होटलमा कमिशन आउँछ, त्यही होटलमा लगेर ट्याक्सी चालकले उतारिदिन्छन् । विमानस्थलमा चल्ने ट्याक्सीले दिउँसै अन्धकार पारेर यात्रु ठगिरहेका छन्, तर सरकार मौन छ ।
हरियो प्लेटका ट्याक्सीको भाडा कति हो ? कसैलाई जानकारी छैन । सरकारले त्यहाँ सञ्चालित ट्याक्सीमा मिटर जडान गर्न चासो पनि देखाएको छैन । यस विषयमा न यातायात व्यवस्था विभागको ध्यान जान्छ न नापतौल विभागको । यी दुवै निकाय टुलुटुलु ट्याक्सीले ठगेको हेरेर बसेका छन् । विभागले विमानस्थलका ट्याक्सीले कालो प्लेटको ट्याक्सीको भाडाको डेढी जति पैसा लिन पाउने बताउँदै आएको छ ।
अधिकांशलाई सरकारले तोकेको भाडा कति छ ? त्यो नै थाहा छैन । झन् विदेशीलाई त के थाहा । यसको फाइदा विमानस्थलका ट्याक्सीचालकले उठाएका छन् । सरकारले यति किलोमिटरबाट यति किलोमिटरसम्म यति रुपियाँ भाडा भनेर तोकिदिए त सर्वसाधारणलाई सहज हुने थियो । मिटरजडित ट्याक्सीले पनि यात्रु ठगिरहेका छन् । मिटर त छ तर देखाउनका लागि मात्रै । मिटरमा जाँदा दुई सय रुपियाँ उठ्ने बाटोमा ट्याक्सी चालकले हजार रुपियाँ मागिदिन्छन् ।
सरकारका निकायहरु निदाएपछि यात्रु ठगिनु त स्वाभाविकै हो । मीटरवाला ट्याक्सीमा पनि लामो समयदेखि सिण्डिकेट कायमै छ । नयाँ ट्याक्सीको दर्ता नखोलेको दशकौं बितिसक्यो । काठमाडौं उपत्यकामा जम्मा नौं हजार ट्याक्सी सञ्चालनमा छ । त्यो पनि सेवासुविधा दिनसक्ने खालको भए त हुन्थ्यो नि । ट्याक्टरको आवाज आउने ट्याक्सी सडकमा गुडिरहेका छन् ।
सेवासुविधा केही छैन्, भाडाचाहिँ दोब्बर असुलिन्छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा २० वर्षे पुराना ट्याक्सीको स्क््रयाप गरेको नम्बर प्लेट खुलेआम लाखौंमा बिक्रीवितरण भइरहेको छ । जुन सरासर गैरकानूनी छ । सरकार यहाँ पनि निदाएको छ । सरकारी अड्डामै गैरकानूनी काम चलिरहेको छ तर सरकार देखेर पनि अनदेखा गरिरहेको छ ।
अहिले देशमा आर्थिक मन्दी छ । व्यापारीहरु व्यापार व्यवसाय नभएको गुनासो गर्दै आएका छन् । भाडा तिर्नसमेत गाह्रो परेको व्यापारीहरुको भनाइ छ । तर, एक जना ग्राहक पसलमा छिर्नुपर्छ, खल्ती रित्तो पार्दिहाल्छन् । एक सयको सामानलाई हजार रुपियाँमा भिडाउँछन् । अनि कसले सामान किन्छ ? नाफा खानुपर्छ तर ठिक्क मात्रै । ग्राहक मर्कामा पर्नेगरी नाफा खान त पाइएन् नि ।
हरेक क्षेत्रलाई नियमन गर्न मन्त्रालय र विभाग छ । ती निकायले कानून पनि बनाएका छन् तर खोइ त कार्यान्वयन ? उद्योग मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, नापतौल विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग छ । ती निकाय सुतेर बसेका छन् जसका कारण पर्यटक दिउँसै व्यवसायीबाट लुटिएका छन् ।
व्यवसायी गर्ने नाममा ठग्ने, लुट्ने र राजश्व छली गर्ने प्रवृत्ति मौलाएको छ । सरकार कमजोर हुँदा व्यवसायीहरुले आफ्नो मनोमानी चलाए । व्यापार भन्नेबित्तिकै ‘लुट्ने’ थलो हो भन्ने छाप सर्वसाधारणको मनमा परेको छ । सर्वसाधारणको विश्वास व्यापारीहरु माथिबाट उठिसकेको छ । उपभोक्ताका नाम बेचेर थुप्रै नेता बनेका छन् । नेता नबनुञ्जेल दिनरात व्यापारीको विरोध गर्नेहरु अहिले मौन छन् ।
हरेक क्षेत्रमा बेतिथि छ, कता हराए उपभोक्तावादीहरु ? उनीहरु कतै चुइँक्क बोलेको सुनिन्न । जसले जति ठगे पनि छुट । ट्याक्सीले स्वेदशी र विदेशीलाई सोत्तर बनाइरहेको छ तर बाटोमा खटिएका ट्राफिक प्रहरीहरु नजरअन्दाज गरिदिन्छन् । अनि मासिक अर्बाैं रुपियाँ खर्च गरेर यी सरकारी निकायका कर्मचारी पाल्नुको औचित्य के ? राज्यको ढुकुटी सकाउने काम मात्र भइरहेको छ ।
विदेशी भन्नेबित्तिकै सबै धनी हुन्छन् भन्ने छैन । नेपालबारे अध्ययन गर्न पनि आएका हुन्छन् तर उनीहरुलाई ठग्न छोडिदैन । नेपालीले अरु केही नजाने पनि ठग्नेचाँहि मज्जाले जानेका छन् । नेपाल भ्रमणमा आएकाहरुले यहाँ राम्रो व्यवहार पाए भने आफ्नो देशमा गएर प्रचार गर्छन् । यहाँबाट ठगिएर गएपछि उनीहरुले त्यस्तै प्रचार गर्छन् । सीमित व्यवसायीका कारणले नेपालको बद्नाम भएको छ ।