गणेश लामामाथि असत्य आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले गरेका छन् । खड्काले लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारीसहितको विज्ञप्ति जारी गरेपछि लामाले बुधबार पत्रकार सम्मेलन गरी त्यस्तो दाबी गरेका हुन् ।
लामाले अपहरण वा कुनै दबाबको कुरा नगरहेको दाबी गर्दै विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताएका छन् । ज्ञानेन्द्रले जग्गा आफ्नो नाममा पास गरे तीन महिनामा पैसा दिने भनी भने बमोजिम २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले दाबी गरेका छन् । २०७१ सालमा आनाको २५ लाखका दरले धुलिखेल चोकको जग्गा ज्ञानेन्द्रकी पत्नी नानीमैयाँ कार्कीको नाममा पास गरिदिएको लामाले बताएका छन् ।
पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले बताए । जग्गा पास गरेको ९÷१० वर्षसम्म ज्ञानेन्द्र सम्पर्कविहीन बनेर बसेको लामाले बताएका छन् । उनले डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको लामाले जानकारी दिंदै उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी पत्नीको नाममा रहेको दाबी गरेका छन् ।
ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसाय गरेको लामाले जानकारी दिंदै आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा ट्राभल कम्पनी अहिले पनि रहेको उनले पत्रकार सम्मेलनमा दाबी गरे ।
उनले वास्तविकता एकातिर रहेको बताउँदै अझै पनि पैसा नदिने तथा आफूलाई बद्नाम गराउने नियतले निज ज्ञानेन्द्रले यस्तो कार्य गरेको दाबी पनि लामाले गरेका छन् । उनले उक्त विषय छानबिनको क्रममा रहेकाले वास्तविकता बुझ्न प्रहरी प्रशासनलाई अनुरोध गर्दै नेता लामाले आफू दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *