कांग्रेस महासमितिमा गरमागरम: दाहाल–ओली नजिकिने पिरलो, कांग्रेसमै मतैक्यता भएन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसको जारी महासमिति बैठक गरमागरम अवस्थामा हिजो विहीबार सकिएको छ । कांगे्रसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन केही नरम भएर छलफलका लागि प्रवेश गरेको थियो । महामन्त्री थापाको कसैसँग पनि गठबन्धन नगरी आगामी २०८४ को चुनावमा जानुपर्ने प्रतिवेदनले कांग्रेसकै सांसदहरु र सभापति शेर बहादुर देउवालाई तनावमा पारेको थियो । २०८४ मा कसैसँग पनि गठबन्धन नगर्ने तर अहिलेको गठबन्धनलाई कायमै राख्ने भन्दै सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।
जारी महासमिति बैठकमा माओवादी प्रति खरो रुपमा उत्रिएका महामन्त्री थापाको प्रतिवेदनले कांग्रेसका आठ लाख बढी क्रियाशील सदस्यहरुले रुख चिन्ह मै मतदान गर्न पाउनुपर्ने र गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने बताएपछि माओवादी सशकिंत बनेको छ । गठबन्धन सरकारको नेतृत्व प्रधानमन्त्री दाहालपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने भन्ने सहमति भएको थियो ।
उता, जसरी पनि वर्तमान गठबन्धन भत्काउन अनेक दाउपेच र षडयन्त्र गर्दै आइरहेका नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली दिउँसो भरी गठबन्धन तथा प्रधानमन्त्री दाहालको उछितो काढ्ने र रातपरेपछि बालुवाटार छिर्ने गरेको जानकारी देउवाले पाएपछि देउवामा पिरलो थपिएको समाचार श्रोतले बताएको छ ।
महासमिति बैठकमा भै रहेको टीका टीप्पणी र छलफले त्रसित प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्ची सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको राजनीतिक वृत्तमा चर्चा चलेको छ । एमाले र माओवादी दुबै पार्टीमा रहेका एक समूहले कम्युनिष्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ्ग गर्न थालेपछि काँग्रेस सभापति देउवाको छैटौं पटक प्रधानमन्त्री बन्ने हुटहुरी समाप्त हुने हो कि भन्दै निद हराम हुन थालेको चर्चा गोदावरी कुम्भमेलामा चलेको थियो ।
मुलुककै सबैभन्दा ठूलो दलको रुपमा कांग्रेस रहेको छ । यसैगरी वर्तमान सरकारको मुख्य घटकको रुपमा रहेको कांग्रेस विभिन्न प्रदेशहरुमा समेत सरकारको नेतृत्व गर्ने तथा सरकारमा सहभागी रहँदै आएको छ । यसरी सरकारमा सहभागिता जनाई रहेको स्थितिमा गठबन्धनका विरुद्धमा महासमितिबाट निर्णय पारित हुनु नहुने भन्ने कुरामा अधिकांश सहभागीहरुले मन्तव्य राखेका थिए ।
महामन्त्री थापाको प्रस्ताव राम्रै भए पनि अहिलेको बेला असान्दर्भिक रहेको भनी धेरैजसो सहभागीहरुले आफ्नो धारणा राखेका थिए । महासमितिको बैठकमा सबैभन्दा बढी चर्चा गठबन्धन तथा आगामी चुनावमा गठबन्धन गर्न हुने वा नहुने भन्ने विषयले पाएको सहभागीहरुले बताए ।
कांग्रेसका मतदाताहरुले आफ्नै दलको चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्ने कुरालाई सबैले मनन् गरे पनि संविधानको हालको व्यवस्थाका कारण कुनै पनि दलको स्पष्ट बहुमत आउन असहज अवस्था रहेको भनी यो विषयलाई पनि सँगै राखेर हेरिनुपर्ने धारणा पनि आएका थिए । यसैगरी गठबन्धनको सरकारमा रहेर गठबन्धनकै विरुद्धमा कुरा गरे त्यसले हालको गठबन्धन नै धरापमा पर्न सक्ने र त्यसको असर कांग्रेसमा नकारात्मक रुपमा देखा पर्ने भन्ने मान्यता पनि धेरै सहभागीहरुले राखेका थिए ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) वर्तमान सरकार ढाल्नका लागि गौडा कुरेर बसेको अवस्थालाई देखाउँदै माओवादी केन्द्रलाई चिढ्याउनु नहुने भन्ने पक्षमा देखिएका थिए । थापाको प्रस्ताव सैद्धान्तिक रुपमा ठीक देखिए पनि अव्यावहारिक रहेको भनी धेरैले टिप्पणी गरेका थिए । यसैगरी हालको गठबन्धन खल्बलिएमा संघ तथा प्रदेशका सबै सरकारहरुमा असर पार्ने भन्ने कुरालाई पनि ख्याल गरिनुपर्ने भन्ने खालका धारणा आएका थिए । यस्तै, इलाममा हुने आसन्न उपचुनाव तथा अन्य स्थानका उपचुनावमा समेत असर पार्ने कुरामा जोड दिंदै सहभागीहरुले यो कुरालाई आगामी आवधिक निर्वाचनको समयमा अवस्था हेरेर निर्णय गरिनु उचित हुने भन्ने धारणा राखेका थिए ।
उता, एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको महासमितिको बैठकको निर्णयलाई एकदमै चासोका साथ हेरेका थिए ।
यसैबीच महासमिति बैठकको अन्तिम दिन अर्थात हिजो विहीबार समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गरेका थिए । बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकको तेस्रो दिन विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको शुरुमा सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका प्रतिवेदनहरुमा आफ्ना धारणा राखेका थिए । बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्यको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *