अनुसा थापा
२०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भयो । निर्वाचन गराउने शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । राजनीतिक दलहरु गठबन्धन गरेर मत माग्न जनताको घरदैलो पुगे । जनताले नेपाली काँग्रेसलाई ८९, नेकपा (एमाले) लाई ७८ र नेकपा (माओवादी केन्द्र) लाई ३२ सिट दिए ।
माओवादी केन्द्र काँग्रेसबाट गठबन्धन गरेर जनताको घरदैलोमा गएको थियो । माओवादी केन्द्रलाई जनताले खासै पत्याएनन् । यसले गर्दा ३२ सिटमै माओवादी सीमित रह्यो । चुनावपछि काँग्रेसले माओवादीलाई प्रधानमन्त्री नदिने भन्नेबित्तिकै अध्यक्ष पुष्पकमल दाहाल एमालेको अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको बालकोटस्थित निवासको बार्दलीमा पुगे ।
ओलीले उनलाई प्रधानमन्त्रीमा समर्थन गरे । २०७९ पुस १० गते दाहाल प्रधानमन्त्री भए । प्रधानमन्त्री भएको केही महिनामै उनले एमालेलाई धोका दिए । फागुन १५ गते एमाले सरकारबाट बाहिरियो । काँग्रेस सरकारमा गयो । यही २०८० फागुन २० गते दाहालले फेरि कोल्टो फेरे । कांग्रेससँगको साथ छोडी फेरि एमालेको सहयोगमा अर्को गठबन्धन बनाएका छन् । आफ्नो स्वार्थको लागि घरि यता, घरि उता पल्टिएका छन् । दाहाल प्रधानमन्त्री भएको १४ महिना भयो तर सम्झिनलायक एउटा पनि काम गरेका छैनन् ।
मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ भन्ने कुरा आम सर्वसाधारणलाई राम्रोसँग थाहा छ । अहिले त बैंकहरुमा पनि संकट देखिएको भनी चर्चा चलेको छ । सहकारीको कन्तबिजोर भएको छ भने बचतकर्ताको हरिबिजोग । व्यापार व्यवसाय ठप्प छ । देशमा सानातिनो रोजगारी गरेर बसेकाहरु पनि धमाधम विदेश पलायन भइरहेका छन् ।
घरजग्गा, शेयर र गाडीको कारोबारमा मन्दी छाएको छ । सटर, कोठा खाली हुनेक्रम बढेको छ । बैदेशिक ऋण निरन्तर उकालो लागिरहेको छ । बेरोजगारी दिनहुँ बढिरहेको छ । काम नपाउँदा सर्वसाधारणलाई जीविकोपार्जन गर्न समस्या परेको छ । महंगीले सर्वसाधारणको ढाड सेकिएको छ ।
एकातिर आम्दानी छैन, अर्कोतिर आकाशिएको महंगी । बिहान खाए, बेलुका के खाने ? भन्ने समस्या छ । प्रधानमन्त्री दाहालको क्षमता सर्वसाधारणले देखिसकेका छन् । उनीसँग देश चलाउन कुनै योजना नै छैन । पदको भुक्तभोगी उनी जनताप्रति अलिकति पनि जिम्मेवार छैनन् । २०५२ सालमा ‘जनयुद्ध’ शुरु गर्दाका कमाण्डर र अहिले देशको कमाण्डर उनीबाट केही परिवर्तन होला ? भन्ने जनताको मनमा परेको छ ।
जनता उनलाई प्रधानमन्त्री पदबाट हटाउनुपर्ने भनिरहेका छन् । आफूले काम गर्न नसकेपछि उनले नयाँ योजना बुनेका छन् । मन्त्रीहरुको टाउकोमा दोष थुपारेर उनी पन्छिने गरेका छन् । काँग्रेससँग गठबन्धन तोडेर दाहाल अहिले एमालेसँग गएर जोडिएका छन् । अबका पनि प्रधानमन्त्री उनी नै हुन् ।
सर्वसाधारण उनीप्रति सन्तुष्ट छैनन् । जनताले उनलाई प्रधानमन्त्रीमा हटाउनुपर्ने बताउँदै गर्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उनलाई प्रधानमन्त्रीमा समर्थन गरिरहेका छन् । अहिले देशमा के भइरहेको छ ? जनताले के खोजिरहेका छन् ? भन्ने तिनलाई थाहा छैन ?
कहिले यता टाँसिने, कहिले उता टाँसिने अनि जसरी हुन्छ प्रधानमन्त्री बनिरहने दाहालको दाउ हो । दाहालकै पछाडि लाग्दा माओवादीको पत्तासाफ हुने देखिएको छ । यस्तै पारा रह्यो भने माओवादीलाई अर्को चुनावमा धाउधाउ छ ।
ओली र रवि लामिछाने केही दिनअघिसम्म मिसनमा थिए । २०८४ सालको चुनावमा आफ्नो पार्टी पहिलो बन्ने भन्दै उनीहरु गाउँगाउँ गएका थिए । सरकारमा नजाने भन्दै आएका लामिछानेलाई अहिले भागदौड गरेर भ्याइनभ्याइ भएको छ । नयाँ गठबन्धन बन्दा सबैभन्दा धेरै खुशी उनी नै छन् । उनले छेपारोभन्दा छिटो रंग फेर्दो रहेछन् भन्ने त स्पष्ट भइहाल्यो ।
लामिछानेमाथि यतिबेला सिआईबीले अनुसन्धान गरिरहेको छ । जी.बी. राईसँग मिलेर बचतकर्ताको बिल्लीबाठ बनाएको आरोप उनीमाथि लागेको छ । सहकारी काण्डमा आफू बच्नका लागि लामिछानेलाई सरकारमा जान हतारो भएको जनताले थाहा पाइसकेका छन् । एमाले पनि जनताबाट खच्किँदै गएको छ ।
एमाले प्रत्येक दिन नाङ्गिँदै छ । सबैतिरबाट बद्नाम पार्टी सरकारमा गएको छ । पार्टीहरुको काण्ड राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा छताछुल्ल छ । सबै पार्टी मिलाएर बल्लतल्ल सरकार बनेको छ । यस्तो पार्टीलाई कसले पत्याउने ? यहाँ जनताले तिरेको करबाट सरकारी खर्च धान्न नसक्ने अवस्था बनेको छ । राजश्व उठ्न कम भइसकेको छ । विदेशी ऋण लिएर खर्च धानिएको छ । अब विदेशीले ऋण पनि पत्याउँदैन्, अनुदान पनि दिँदैनन् । कतिपय स्थानीय तहका कर्मचारीहरु तलब पाएका छैनन् ।
ज्येष्ठ नागरिक, एकल महिलाहरुले पनि भत्ता नपाएको भनी बजारमा गाइँगुइँ चलेको छ । मालपोत र यातायात कार्यालय सुनसान छन् । घरजग्गा कारोबार ठप्पजस्तै छ । जहिले पनि भीडभाड हुने यातायात कार्यालय अहिले चनमन्न छ । पाँच सय र हजारको नोट व्यक्तिहरुले घरमा लुकाइसकेका छन् ।
नेपालमा व्यापार गर्ने माडेहरुले पैसा आफ्नो देशमा लगिसके । देश कुन अवस्थाबाट गुज्रिरहेको छ ? सरकारमा जानेहरुलाई थाहा छैन । जसरी हुन्छ, सरकारमा जाने अनि खाइरहने । जनताप्रति कुनै राजनीतिक दल जवाफदेही छैनन् । एउटा सफा टेम्पो चलाउने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएपछि यस्तो अवस्था बन्नु स्वाभाविकै हो ।
जनताले तिरेको करले विदेशी ऋणको साँवाब्याज तिर्न पुग्दैन् । स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि, बहालवाला सरकारी कर्मचारी, भूपू कर्मचारीलाई तलबभत्ता र पेन्सन दिनैप¥यो । ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई दिने भत्ता छुट्टै छ । स्रोत केही पनि छैन, खर्च बढेको बढ्यै ।
खर्च कसरी धान्ने ? भन्ने योजना सरकारमा बस्नेहरुसँग छैन । सरकारले पाँचवटा क्षेत्रबाट ठूलो राजश्व संकलन गथ्र्यो । पहिलोः रेमिट्यान्स, दोस्रोः भन्सार, तेस्रोः घरजग्गा, चौथों यातायात, पाँचौंः शेयर । विदेशी रेमिट्यान्स आइरहेको छ तर अन्य क्षेत्रमा पूरै मन्दी छ । यहाँबाट उठ्ने राजश्व ह्वात्तै घटेको छ ।
अब जनता झनझन् आक्रोशित हुँदै जान्छन् किनकि प्रधानमन्त्री दाहाललाई देश र जनताको माया छैन्, प्रधानमन्त्री पद बचाउन सक्छु कि सक्दिन ? यति मात्र छ । ओली पनि वृद्ध अवस्थामा छन् । लामिछाने सर्वत्र काण्डले घेरिएका छन् । उनीमाथि एकपछि अर्को काण्ड लाग्छ, त्यही सल्टाउँदै ठीक्क हुन्छ ।
प्रधानमन्त्री दाहाललाई पारिवारिक तनाव छ । अनि यस्ता व्यक्तिले अब पनि हामी केही गर्छौं भनेर कतिञ्जेल जनतालाई भ्रमित बनाउने ? दाहालले अति गरेका छन्, यसले खति निम्त्याउन सक्छ । अरुलाई पनि पद नदिने, आफू पनि काम नगर्ने ।
माओवादीले पहिल्यैदेखि आचरणः धम्काउने, तर्साउने, थर्काउने अनि केही भएन भने सम्झौता गर्ने । भूमिगतको पालाको बानी व्यवहार माओवादीले अहिले पनि छोड्न सकेको छैन् । २०६४ सालको चुनावमा १२१ क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेको पार्टी अहिले कुन अवस्थामा छ ? सबैले मूल्याङ्कन गरेका छन् ।
माओवादी ‘घर न घाट’ को अवस्थामा छ । त्यो के कारणले भएको हो ? भन्ने त सबैले बुझेका छन् । हिजो त्यत्रो ‘जनयुद्ध’ को नेतृत्व गरेका व्यक्तिले आज केही गर्न सकेका छैनन् । उनी नै प्रधानमन्त्री भएको बेला देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ । माओवादीलाई मान्छेको ज्यानसँग कुनै मतलब छैन ।
हिजो माओवादीले गरेको ज्यादतीले पनि देखिसकेको छ । त्यही पार्टीका हर्ताकर्ता सरकारमा छन् । अनि तिनलाई के देश र जनताको माया ? काँग्रेस र एमाले माओवादीलाई देख्नै हुँदैनथ्यो । त्यही पार्टीसँग काँग्रेस र एमाले दुवैले सम्झौता गरेका छन् । यस्ता पार्टीमाथि जनताले कसरी विश्वास गर्ने ? यिनीहरुलाई कुर्चीमा राख्नु देश बर्बाद बनाउनु हो ।