राणाकालीन विद्यालयको अवस्था दयनीय

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भक्तपुरको पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताभकी छिन् । विद्यालयको अवलोकन गर्दै उनले विद्यालयको हालको अवस्था देख्दा आफूलाई त्यस्तो भएको उनले बताइन् ।
सय वर्ष पूरा भएको विद्यालयलाई स्थानीय निकायदेखि प्रदेश केन्द्रले समेत उपेक्षा गर्दा इतिहास लोप हुने अवस्थामा पुगेको उनको बुझाइ रहेको छ । उनले भूकम्पदेखि हालसम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिएकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको दुखेसो गरे । उनले टहरामा नै अध्यापन गराउन बाध्य भएको बताए । विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्व र स्थानीय निकायको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताएका छन् ।
सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्न मन्त्री खड्गीले सो अवसरमा निर्देशन दिएकी थिइन् ।
सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उनले विद्यालयहरूलाई निर्देशन दिइन् ।
अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारी दिएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
भक्तपुरमा रणकालीन अवस्थामा ठूलो संर्घषका बाबजुद वि.सं. १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए । प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो ।
२००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरिएको बताइन्छ । यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए । त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *