काँग्रेसमा उठ्यो १५औं महाधिवेशनको बहस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसमा अबको १६ महिनापछि अर्थात् २०८२ साल मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने बहस शुरु भएको छ । काँग्रेसको १४ ओं महाधिवेशन २०७८ साल मंसिरको अन्तिम साता सम्पन्न भएको थियो र दोश्रो कार्यकालका लागि सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका थिए ।
काँग्रेसको विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने व्यवस्था छ । काँग्रेसको १४औं महाधिवेशनमा सभापति उम्मेदवार हालका उपप्रधाधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र पूर्व उपसभापति विमलेन्द्र निधिले दोश्रो निर्वाचनमा सहयोग र समर्थन गरेकाले देउवा सभापति बनेको बुझाई काँग्रेसीहरुमा रहेको छ । देउवालाई सहयोग गरेबापतको पुरस्कार उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पाएका छन् भने नेता निधि समानुपातिक सांसद बनेर चित्त बुझाउन बाध्य भएका छन् ।
आगामी १५औं महाधिवेशनमा नेता निधिलाई संस्थापन इतरपक्षका शेखर–गगन समूहले छायामा पार्ने अड्कल गरिएको छ । काँग्रेसमा २०८२ मंसिरमै १५औं महधिवेशन हुनुपर्ने जोडदार बहस चलिरहँदा आगामी भदौ ७ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । पार्टी निर्माणमा एमालेभन्दा पछाडि रहेको काँग्रेस सत्तास्वार्थमा रमाइरहेको र जनताका समस्या देख्न र सुन्न छाडेको छ । हाल काँग्रेसबाट १० जना सांसदहरु एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद (के.पी.) शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् ।
ती मन्त्रीहरुले जनतामा सुशासन, सम्बृद्धि र भ्रष्टाचारको अन्त्य गरी आशा जगाउन नसकेको काँग्रेस वृत्तमै चर्चा चलेको छ । काँग्रेसका तर्पmबाट मन्त्री बनेकाहरुलाई असफल हुने छुट छैन । काँग्रेसको भूमिका दोश्रो र तेश्रो दललाई प्रधानमन्त्री बनाउनु बाहेक अरु नभएको काँग्रेसका जानकारहरुले बताएका छन् ।
यसैवीच सभापति देउवामाथि नेतृत्व हस्तान्तरणका लागि वरिष्ठ नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले दबाब बढाएपछि सभापति देउवा तनावमा परेको जानकारहरुले बताएका छन् । सभापति देउवाले विभिन्न बहानामा १५औं महाधिवेशन पर धकेल्ने हुन् कि भन्ने त्रास संस्थापन ईतर पक्षलाई परेको छ । तेश्रो कार्यकालका लागि सभापति बन्न नपाइने काँग्रेसको विधान अनुसार देउवा १ वर्ष कार्यकाल लम्ब्याएर छैटौं पटक प्रधानमन्त्री बन्ने धुनमा रहेको काँग्रेस श्रोतले बताएको छ । त्यसैले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा संस्थापन इतर पक्षको जोड रहेको छ । महाधिवेशन सार्ने प्रपञ्च गरे पार्टी दुर्घटनामा पर्ने चेतावनी कोइरालाले दिएका छन् । २०८२ मंसिरमै महाधिवेशन हुनेमा धेरै काँग्रेसीहरुले शंका व्यक्त गरेका छन् ।
यता नेता कोइरालाले बंगलादेशको अवस्था नेपालमा पनि आउन सक्ने बतांउँदै राजनीतिक दलहरू खासगरी कांग्रेस र एमालेलाई सचेत बनाएका छन् । बंगलादेशमा दुई तिहाईको सरकार भए पनि शेख हसिना देशबाट भाग्नु परेको थियो । नेपालमा पनि जनता जागे त्यसो नहोला भन्न नसकिने जानकारहरूले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *