अनुसा थापा
मुलुकमा प्राकृतिक विपद्का घटनाहरु भइरहन्छन् । वर्षेनिजस्तो विभिन्न प्राकृतिक विपद्बाट ठूलो धनजनको क्षति हुने गरेको छ । पटकपटक आएको भुइँचालो, बाढी पहिरोले राज्यको ढुकुटीमा चाप पर्दै आएको छ । प्राकृतिक विपद्ले मुलुकलाई विकासमा झन् पछाडि धकेलिरहेको छ ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर मुलुकमा ठूलो भूकम्प गयो । १४ जिल्लामा व्यापक क्षति भयो । अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटमा भुँइचालो गयो । त्यहाँको भौतिक संरचनाहरु जम्मै तहसनहस बन्यो । धेरैले ज्यान गुमाए ।
बाढी पहिरो हरेक वर्ष आउँछ । यो वर्ष दशैंको मुखमा बाढी पहिरोले ठूलो क्षति पु¥यायो । अधिकांश स्थानका सडकहरु पहिरोले बेपत्ता र बेहाल नै बनायो । बाढी पहिरोमा परेर दर्जनौंको ज्यान गयो । यता, धेरैको शिरबाट छत खोसियो ।
सरकारले प्राकृतिक विपद्मा परेकालाई राहतस्वरुप नगद प्रदान गर्दै आएको छ । भुइँचालोमा परेर ज्यान गुमाएका मृतकको परिवारलाई सरकारले एक लाख रुपियाँ दिएको छ । त्यसैगरी, घर बनाउन तीन लाख रुपियाँ प्रदान गरेको छ । असोज १० गतेदेखि १२ गतेसम्म निरन्तर परेको पानीले भएको धनजनको क्षतिस्वरुप सरकारले नगद प्रदान गर्ने घोषणा गरेको थियो तर अहिलेसम्म दिएको छैन ।
सरकारको ढुकुटीमा पैसा छैन, कहाँबाट ल्याएर राहत दिओस् ? यहाँ त विगतमा पीडितलाई आएको राहतमा सबैले मोजमस्ती गर्थे । अब अहिले त वास्तविक पीडितले नै राहत पाएका छैनन् । २०७२ साल गएको भूकम्पले धेरै क्षति पु¥यायो । सरकारले मात्र नभई विभिन्न दातृसंस्थाहरुले पनि राहत बाँडेका थिए ।
राहत लिनका लागि यहाँ लुछाचुँडी भयो । सरकारबाट पनि राहत लिए, दातृ संस्थाले बाँडेको राहत पनि हत्याए । छोराछोरी अमेरिका, अष्टे«लियालगायत विकसित मुलुक हुने, सरकारी जागिरे, व्यापारी, काठमाडौंमा तीन–चार वटा घर भएकाले पनि राहत बुझे । बुढापाखाले भन्छन्, ‘नेपालीले सित्तैमा पाए भने अलकत्रा पनि बाँकी छोड्दैनन् ।’
त्यस्तै हर्कत त्यतिबेला नेपालीले देखाए । सरकारले त पीडितलाई बाँडेको थियो तर सक्ने जतिले लिए । अहिले आएर के छर्लङ्ग भयो भने नेपालीले विदेशी ऋण लिएर आफ्नो घर ठड्याएका रहेछन् । २०७० सालमा बैदेशिक ऋण तीन खर्ब थियो । जुन ऋण बढेर अहिले झण्डै २७ खर्ब रुपियाँ पुग्न थालिसकेको छ ।
सरकारले भूकम्पमा राहत बाँड्दा बैदेशिक ऋण बढेको स्पष्टीकरण दिएको छ । यसले त एउटै अर्थ लाग्छ, नेपालीको घर विदेशी ऋणले बनेको छ । जनता राहत पाउँदा मख्ख परेका थिए । मरेको मान्छेको नाममा पनि सरकारले पैसा बाँड्यो भनेर जनता प्रफुल्लित भए । धेरैलाई त यस्तो दानी सरकार नेपालमा मात्र छ भन्ने लाग्यो होला ।
सरकारले त देश धितो राखेर ल्याएको रकमले जनताको घर बनाएको रहेछ भन्ने त बल्ल खुल्दै छ । त्यतिबेलाको सरकारले ‘वाहवाही’ पनि नबटुलेको होइन । आफ्नो गोजीबाट राहत बाँडेझैं गरियो । अहिले अब ऋण तिर्न नसकेपछि सरकारले भूकम्पलाई देखाएको छ । सस्तो लोकप्रियता कमाउन त्यतिबेला आवश्यकताभन्दा बढी नै देखावटी गरिएको थियो ।
भूकम्पबाट केही क्षति नै नपुगेकाले समेत राहत बुझेका थिए । कति चलखेल भयो । विदेशी ऋण कति भ्रष्टाचार पनि भयो होला । सोच्दै नसोची बाँडियो । राहत नलिएकालाई समेत ऋणको भारी बोकाइएको छ । पछिल्लो समय मुलुकमा राजश्व उठ्न छोडेको छ । सरकारले लक्ष्यअनुरुप राजश्व उठाउन सकेको छैन ।
जसका कारण सरकारी खर्च धान्न नै धौं धौं परेको अवस्था छ । ऋण सुनेर जनता आफैं पनि चकित परेका छन् । जनताले ऋण बढ्नुको कारण खोजी गर्दैगर्दा सरकारले भुइँचालो देखाइदिएको छ । राजश्व नउठेपछि सरकारलाई बैदेशिक ऋण तिर्न समस्या परेको छ । एउटा देशबाट ऋण ल्याएर अर्को देशको किस्ता तिरिरहेका छौं ।
अबको दुई वर्षमा २७ खर्बको दोब्बर ऋण बढ्न बेर छैन । जनता कर तिर्दैनन्, सरकार कर उठाउन सक्दैन । राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिने अनि करचाँहि नतिर्ने । जनताले कर तिरेनन् भने देश कसरी चल्छ ? ऋण लिएर कहिलेसम्म देश चल्छ ?
काठमाडौंमा एउटै व्यक्तिको दर्जनवटा घर छन् । उसले राज्यबाट पाउनुपर्ने भत्ता बुझ्छ । घर भाडामा लिएर मासिक लाखदेखि करोड बुझ्नेहरु चार हजार भत्ता लिन वडा कार्यालय पुग्छन् । अनि यस्तालाई के भन्ने ? नेपालीलाई तिर्नुप¥यो भने दाँतबाट पसिना आउँछ, सित्तैमा पायो भने केही पनि छोड्दैनन् ।
छोराछोरी विदेशमा लाखौं कमाउँछन् । महिनैपिच्छे निवृत्तिभरण (पेन्सन) आउँछ तैपनि भत्ता बुझ्न जान्छन् । राज्यले गरिबलाई छुट्याएको सेवासुविधा उनीहरुले लिन्छन् । सरकार पीडित, आर्थिक अवस्था कमजोर भएकालाई सहज होस् भनेर निर्णय गर्छ तर त्यो सुविधा बुझ्ने बाठाटाठा, पुँजीपतिहरु हुन्छन् ।
भुइँचालोको बेला काठमाडौंमा घर भएकाहरुले गाउँमा गएर पैसा बुझे । नेपालीजन जसरी हुन्छ, उप्रोमाथि थुप्रो बनाउने दौडमा छन् । आखिर मरेर लैजानु के नै छ र ? भन्ने उनीहरु सोच्दैनन् । यता पनि बटुल्या छन्, उता पनि बटुल्या छन् । दिनुप¥यो भने हात मुठ्ठी पार्ने नेपालीजन सोहोर्नका लागि हातखुट्टा सबै प्रयोग गर्छन् ।
यता, नेताहरु पनि त्यस्तै भए । नेता नै सबै सोहोर्यौं भन्छन् अनि जनताले सिक्ने भइहाले नि । कमिशनका लािग धमाधम ल्याएको ऋणले अहिले ‘निल्नु न ओकाल्नु’ पा¥यो कि पारेन । नेताहरुलाई कमिशनका लागि काम गर्ने । देशमा विपद् आउनु नेताहरुको लागि त कमाउने मौका हो । कमिशनको खेलोफड्को गर्न पाइन्छ ।
यता, बाठाटाठाले पनि पीडितको नाममा सोहर्न पाउँछन् । यहाँ जम्मै स्वार्थी भए । देशको लागि सोच्ने कोही नै छैन । हिजो हुने–खानेले राहत नबुझिदिएको भए आज यत्रो ऋण हुँदै नहुँदैन्थ्यो । ऋण लिएपछि समयमै ति¥यो भने हो नत्र दोब्बर तेब्बर बढ्दै जान्छ । ऋण लिएको छ, जनताको टाउकोमाथि थुपारेको छ ।
तलब खुवाउन पनि ऋण, नेतादेखि सरकारी कर्मचारी देशविदेश घुम्न पनि ऋण, भत्ता बाँड्न पनि ऋण, राहत दिन पनि ऋण । हामीलाई ‘ऋण लिएर घ्यु’ खाने बानी पर्यो । त्यहि नै ‘गलामा फाँसीको फन्दा’ बन्न बेर छैन । बैदेशिक ऋण बाँडेर आफ्नो व्यक्तिगत सम्पत्ति बाँडेझैं गर्ने दलहरु पनि छन् ।
एमाले ज्येष्ठ नागरिकलाई दिएको भत्तालाई अजेण्डा बनाउँदै पटकपटक सत्तामा पुग्यो । अहिले आएर त्यो पनि ऋण लिएर बाँड्या रहेछ भन्ने त घामजस्तै छर्लङ्ग दियो । ‘ज्येष्ठ नागरिकलाई भत्ता कसले दिएको ? एमालेले’, भन्दै नारा लगाउने पार्टीको पोल खुलिसक्यो । जनतालाई बेवकुफ बनाउने पनि एउटा हद हुन्छ ।
अब देशले थेग्न सकेन् भनेर के फाइदा ? बेलैमा विचार गर्नुपर्दैन ? बितेको समय फर्किएर आउँछ ? अहिले जनताले देश डुब्यो भन्न थालिसकेका छन् । सरकारले निर्माण व्यवसायीको ४५ अर्ब दिन सकेको छैन । दूध किसानको सात अर्ब भुक्तानी बाँकी छ । कोरोना बीमाको ११ अर्ब दिन बाँकी छ ।
अब जनताले जवाफ दिऔं,‘ काँग्रेस, एमाले र माओवादीले देश बनाएछन् त ?’ देश त राम्रै विकास भएको रहेछ । भ्रष्टाचार ग¥यौं भन्न नमिलेपछि जनतातर्फ औंला ठड्याइयो । जनता पनि यसमा भागिदार छन् । सरकारले कसरी दिएको छ ? विचार नै नगरिकन धमाधम लिए । हुन त जनतालाई बाँडेभन्दा धेरै भ्रष्टाचार भएको होला तर सबै दोष जनतामाथि थुपारिएको छ ।