अनुषा थापा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार रहिरहँदा नेपाली काँग्रेस र नेकपा (एमाले) ले असार १७ गते मध्यराति सरकार गठनका लागि सम्झौता गरे । काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच गोप्य सहमति भयो ।
सहमतिअनुसार माओवादी सरकार ढालियो र संसदका दुई ठूला दलको नेतृत्वमा सरकार गठन गरियो । अर्थ मन्त्रालय एमालेको भागमा प¥यो । एमालेमा अर्थमन्त्री हुनेमा दुईजनाको व्यापक चर्चा थियो । ती हुन्, सुरेन्द्र पाण्डे र शंकर पोखरेल । एमाले नेता तथा कार्यकर्ता यी दुईमा अर्थमन्त्री बन्नुपर्ने मतमा थिए ।
आम सर्वसाधारणको पनि यही चाहना थियो तर घरजग्गा, गाडी, शेयर दलाली र बैंक, वित्तीय संस्थाका व्यवसायीहरुले पाण्डे र पोखरेललाई अर्थमन्त्री बन्न नदिएको चर्चा पनि चल्यो । उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउन हारगुहार गरे । त्यसपछि अन्तिममा ओलीले पार्टीमा कुनै निर्णय नै नगरी उनलाई अर्थमन्त्री बनाइदिए ।
पौडेल अर्थमन्त्री हुनासाथ शेयरको मूल्य बढ्छ, घरजग्गा, गाडीको किनबेच बढ्छ र बैंक, वित्तीय संस्थामा कर्जा लिनेहरु बढ्छन् भन्ने अड्कलबाजी गरिएको थियो । यही सोचेर दलाली, व्यवसायीहरुले उनलाई अर्थमन्त्री बनाएका थिए । पौडेल अर्थमन्त्री भएपछि यस्तै भयो । केही दिन शेयरले रफ्तारो लियो ।
शेयर तीन वर्षयताकै उच्च बिन्दुमा पुग्यो । माओवादी नेता वर्षमान पुन अर्थमन्त्री हुँदा १८ सय अंकमा झरेको शेयर एकाएक पौडेल अर्थमन्त्री बनेपछि ३१ सयसम्म पुग्यो । यता, घरजग्गा र गाडीको पनि किनबेच बढेको बताइयो । यसपछि दलाली, व्यवसायीहरुले पौडेलको वाहवाही गर्न थाले । उनकै कारणले घरजग्गा, गाडी र शेयरको मूल्य बढेको वा मूल्य अवस्थामा फर्किएको हल्ला चलाइयो ।
अहिले पुनः यी तीनै क्षेत्रमा मन्दी छाएको छ । वर्तमान सरकारमा पौडेल नै अर्थमन्त्री छन् ता पनि शेयरको मूल्य दिनानु दिन घट्दो क्रममा छ । घरजग्गा र गाडीको पनि किनबेच ठप्प छ । न त बैंक, वित्तीय संस्थामा कर्जा लिनेहरु बढेका छन् । बजारमा मन्दी कायमै रहेको छ । यसका कारण हिजो पौडेललाई अर्थमन्त्री बनाउन लबिङ गरेकाहरु अहिले उनलाई हटाउनुपर्ने माग गरिरहेका छन् ।
बजारमा मन्दी झन् झन् बढ्दै गएको छ । घरजग्गा, गाडी र शेयरको किनबेच ठप्पै छ भने बैंकमा पनि संकट निम्तिएको छ । एकातिर बैंकको खराब कर्जा बढ्दै गएको छ, अर्कोतिर निक्षेप पनि घट्दो क्रममा छ । त्यसमाथि ऋणीले कर्जा तिरेका छैनन् र कर्जा प्रवाह पनि शून्य भएको छ ।
घरजग्गा, गाडी र शेयरमा मन्दी आउनुको प्रमुख कारण आम सर्वसाधारणमा चेतना फैलिनु हो । हिजो दलालीहरुले उनीहरुलाई भ्रममा पारेर यो क्षेत्रमा लगानी गर्न लगाएका थिए तर अहिले सर्वसाधारणले बुझिसके कि यी क्षेत्र जोखिमपूर्ण छन् । यहाँ लगानी गरियो भने डुबिन्छ । जबसम्म जनतामा सत्यबाट अञ्जान हुन्छन्, तबसम्म दलाली वा अरुले फाइदा उठाउने हो ।
अहिले दलालीहरुको दिन गएको छ किनकि सर्वसाधारण सचेत हुँदै गएका छन् । उनीहरु कुन क्षेत्रमा लगानी गर्ने वा नगर्ने ? कति लगानी गर्ने ? लगानीका लागि बैंक, वित्तीय संस्थाबाट ऋण लिने कि नलिने ? भनेर आफैं सचेत भइसकेका छन् । त्यसैले, अब कुनै पनि दलालीहरुले चाहेर पनि सर्वसाधारण फसाउन सक्दैनन् ।
दलालीहरुले भ्रममा पारेर आम नागरिकलाई फसाउँदै आएका थिए । रोपनीको दश हजारमा खेतीयोग्य जमिन किनेर टुक्राटुक्रा बनाएर यिनीहरुले आनाकै लाखदेखि करोडौंमा बेचबिखन गरे । अनि त्यो बैंकबाट ऋण लिएर महँगोमा घरजग्गा किनेकाहरु मर्नु न बाँच्नु अवस्थामा पुगेका छन् ।
२०३८ सालमा काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्म सडकको दायाँबायाँको जग्गा रोपनीको डेढ लाखमा किनेको बताउनेहरु अहिले पनि जिउँदै छन् । यता, भक्तपुरको राधेराधेमा २०४७ सालमा रोपनीको ३० हजारमा जग्गा किनेको भन्नेहरु पनि अझै छन् । एक रोपनी जग्गामा १६ आना हुन्छ । पाँच वर्षअघि माइतीघरमा आनाकै ६ करोडदेखि ९ करोडसम्ममा बेचबिखन भएको पाइन्छ ।
यस्तै, राधेराधेमा पनि आनाकै ७० लाखदेखि डेढ करोडसम्ममा बिक्री भएको स्थानीय बताउँछन् । अनि कसरी एकाएक जग्गाको मूल्य यत्रो बढ्यो ? के सरकारले जग्गाको मूल्य बढाएको हो ? सरकारले प्रत्येक स्थानमा जग्गाको मूल्य तोकिएको छ । तर, सरकारी रेटमा जग्गा किनबेच भएको पाइदैँन । सरकारले आनाको दुई लाख मूल्य तोकेको ठाउँमा लाखौंमा किनबेच हुने गरेको छ ।
त्यही जग्गा मालपोतमा नामसारी गर्ने समयमा सरकारी मूल्यमा किनबेच भएको देखाएर त्यतिको मात्रै राजश्व तिरिन्छ । शेयर बैंकले एक सय कित्तामा निष्काशन गरेको हो । त्यही शेयर दलाली, बिचौलियाहरुले मूल्य बढाएर पाँच–छ हजारसम्ममा बेचबिखन गरे । अटो शोरुमहरुले पनि छिमेकी मुलुकमा एकदेखि पाँच लाखमा पाइने सवारीसाधन यहाँ ल्याएर ३५–४० लाखमा बिक्री गरे ।
सहकारी, लघुवित्त, फाइनान्स, बैंकसहित व्यक्तिहरुले पनि यी तीन क्षेत्रमा लगानी गरे । दलालीको लहैलहैमा लागेर छिट्टै नाफा कमाउन आँखा चिम्लेर लगानी गरियो । घर बनाएपछि मासिक लाखौं भाडा उठाउन पाउनुका साथै घरको मूल्य समेत बढ्ने अधिकांशको सोचाई थियो । दलालीकै पछि लागेर अधिकांशले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर घर बनाए । जग्गा, गाडी र शेयर किने ।
अहिले न घर भाडामा जान्छ न त बिक्री नै हुन्छ । एकातिर बैंकको साँवाब्याज दिनदिनै बढिरहेको छ, अर्कोतिर घरको मूल्य घट्दो क्रममा छ । फेरि मूल्य घटे पनि घरजग्गा बिक्री हुन्न । यसले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र शेयर किनेकाहरु अहिले तनावमा छन् । उनीहरु रातभर निदाउन सक्दैनन् । बैंकको ऋण नतिरे धितो त जान्छ नै सँगै कालोसूचीमा पनि परिन्छ भनेर अधिकांशलाई छटपटि भइरहेको छ ।
कतिपयले त सहन नसकेर आत्महत्या समेत गरिसके भने कतिपय डिप्रेसनमा गएका छन् । यही थाहा पाएर बजारमा घरजग्गा, गाडी र शेयरको किनबेच ठप्प भएको हो । सबैले थाहा पाइसके कि यो क्षेत्रमा लगानी गरे नराम्ररी डुबिन्छ । त्यसैले, अहिले बजारमा घरजग्गा, गाडी र शेयरमा नयाँ लगानीकर्ता भेटिदैँनन् ।
त्यसो त पुरानै लगानीकर्तालाई कसरी उम्किने ? भनेर पीर परेको छ । बजारमा लगानीकर्ता नै नभएपछि अनि कसरी मुलुकको अर्थतन्त्र उभो लाग्छ ? हिजो पो दलालीहरुले सर्वसाधारण ठगी रहे अनि राज्यको ढुकुटीमा पनि राजश्व आइरह्यो तर अब जनता सचेत भइसके । न कसैको भ्रममा पर्ने छन् न प्रलोभनमा । यसकारण अब दलालीहरुले नयाँ अर्थमन्त्री ल्याएर सर्वसाधारणलाई भ्रममा पारेर फेरि पनि ठग्छौं भनेर नसोच्दा हुन्छ । दलालीको अनेक भ्रममा नपरौं, सचेत हौं ।