कविता: बोध

Nayabimarsha (Weekly Newspaper from Nepal)
गम्भीर दुवाडी

राम्रालाई भन्दा हाम्रालाई
हरि भजन लगाउँदै
भित्र्याएछौ
बाउभन्दा छोरो जान्ने
खुकुरीभन्दा कर्दा लाग्ने
एवं रीतले
संघीयताको झ्यालमा रमाएछौ

आफ्नै भूगोलको मानचित्र भुलेर
पराइको पिँढीमा शरणार्थी बनी
भिजिलान्तेसँग साँठगाँठ गरेर
पुर्खालाई धिकार्दैछौ

तिमीले जप्ने मन्त्र
प्रयोग गर्ने तन्त्र
टुहुरा वृद्धि गर्न बाहेक
अन्यमा के काम लाग्ला र !

मुर्दा माथिको कात्रो मिलाउँदै
सव यात्रामा निस्कँदा
दार्शनिक वाणी छाँटेथ्यौ

माछाले पानीको विरोध गरेर
सूर्यलाई हत्केलाले छेकेर
मिथ्या फिँझाएर
आफ्नै जीवनको
आफैँ अन्त्य गर्दैछौ

टेक्ने धर्ती
श्वास फेर्ने वायु
सृष्टिको आयु
आत्मा सिँचित जल
निःशुल्क प्रकृति बल
न तिम्रा बाउले
न मेरा बाउले
दिएका हुन् !

न्वारान देखिकै शक्ति लगाएर
हुटिट्याउँले झैँ आकाश थाम्दैछौ
तिम्रा भाडाको कलमलाई
ऐतिहासिक भ्रम लेखाउँदैछौ

यदि तिमीलाई पनि
आमाको
माटाको

सन्तानको
माया लाग्छ भने
त्यो बालमस्तिष्कमा
सकारात्मक ऊर्जा देऊ
रैथाने ज्ञान सीप
पूर्वीय संस्कार
नमेटिदेऊ
एकहातमा शिक्षा देऊ
अर्को हातमा प्रविधि देऊ

भावी सुकुमारले
पौरख गर्दै गौरव गर्न जानोस्
वन सम्पदाबाट मसी भर्न जानोस्
सामाजिक प्राणी बन्न सकोस्
लहरोमा झुन्डिएर पहरो खन्न सकोस्
निराकार शक्तिको
सूक्ष्म अध्ययन गर्दै
ऊ हुनुको अर्थ बोध गरोस्
आफ्नो मजेरी खनेर
अर्काको आँगन पुर्न नजाओस्

अन्ततोगत्वा
अस्वस्थ राजनीति
पट्यार लाग्दो भाषणले
न देश बन्न सक्छ
न भेष रहन सक्छ
न भविष्य बन्न सक्छ
न यश बढ्न सक्छ
पढायो पढायो पाठ
सोह्र दुना आठ हुन सक्छ
ञ्ञ्ञ्ञ्ञ्
गजुरी, धादिङ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *