कविताः बिसे

Nayabimarsha (Weekly Newspaper from Nepal)
भागवत् खनाल

बिसे बिसे !
कसैले बोलायो सबेरै
आँखा मिच्दै निस्क्यो बिसे
अहो राजा पो !
सानो गुन्द्री बिछ्यायो
राज होस् राजा !
आँखा रसायो

बिसे मैले चन्द्रागिरीमा सपना देखें
मैले सपना देखें बिसे !
मनकामनाका वरदहस्त
मेरो मस्तकमा थपक्क अडिए
निर्माता भव !
दुई शब्द गुन्जिए

त्रिशूली मन्द सुसाई
बिस्तारै बोली
उता हेर राजा दक्षिणतर्फ
म सपनीमै दक्षिण फर्कें बिसे
फेरि सोधी त्रिशूलीले के देख्यौ राजा ?
फिरङ्गी देखें त्रिशूली मैयाँ
फिरङ्गी परेड खेल्दै चिसापानीबाट उकालो लाग्यो
त्रिशूली बोली
आराम नगर राजा दरबार नपस
तिमीलाई मैदान पर्खिरहेछ
रणमा जानुपर्छ
सङ्ग्राममा

अनि मैले गोरखनाथ देखें सपनीमा
उठ् गोर्खाली !
समय पुकार्दो छ
आराम नगर् पसिना बगा
राष्ट्रिय पाइला अगाडि बढा
जाडोमा आगो नताप्
गर्मीमा छहारी नबस्
आमाको मुटु हो देश

हे प्यारो बिसे !
मैले सोधें गोरखनाथलाई
साधन कसरी जुटाऊँ ?
गोरख मात्र एक शब्द बोले
‘बिसे’
म सपनीबाट जागें बिसे
प्रकाश देखें विस्मयपूर्ण चम्किलो
अपूर्व आत्मबल पाएँ

बिसे बोल्यो
हे राजा !
म तिम्रा सेवकको पनि सेवक नगर्ची
म सानो मान्छे
मबाट के होला प्यारो राजा
तथापि आदेश देऊ
यो बिसे तत्पर छ

राजा बोले
हे मेरो वरिष्ठ प्रजा
आमाको सेवा गर्नु छ साथी
को धनवान् को अकिञ्चन
को वृद्ध को जवान
को मगर को बाहुन को गुरुङ
को राई को तामाङ को नगर्ची को नेवार
को मिझार को लोहार को थारु को यादव
सबै एक आमाका प्रिय सन्तान

धन दौलत र ऐश्वर्य छैन के भो
तिमीसँग बुद्धि छ
अर्ती देऊ
वास्तविक कुरा के लुकाऊँ
आमाको सवाल छ कुरा के चपाऊँ
हे मित्र बिसे !
रकमको अभाव छ
जन छ बल छ किन्तु धन छैन
ढुकुटी कमजोर छ

आकाशतिर नियाल्यो बिसे
फेरि हे¥यो राजालाई
काम लाग्ने दिन आयो
केही गर्ने घडी आयो
रोमाञ्चित बिसे बोल्यो
राजा पर्ख
पस्यो झोपडीभित्र
आयो बाहिर उज्ज्वल प्रभावान्
सानो मैलो सुर्केथैली खोल्यो
ल लेऊ राजा यो एक रुपियाँ
जाऊ सबै प्रजाको दैलो टेक
उठाऊ माहुरीले मधु झिके झैं

कृतज्ञ राजा हेरे बिसेलाई
मैलो बिसे कङ्गाल
तर हृदय निर्मल विशाल
राजा विनम्र बोले हे प्यारो गुरु
तिम्रो उपदेश नेपाल निर्माणको सूत्रपात हो
हे मेरो अभियानका सूत्रधार
तिम्रो नाम अमर हुनेछ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *