कथा: कालो धन

Nayabimarsha (Weekly Newspaper from Nepal)
यम रेग्मी

महिनाभरिको पतिपत्नीले भ्रष्टाचार गरेर कमाएको पैसाको चाङ पति घनश्याम गन्दै थिए । यसै क्रममा राधा मधुर श्वरलेले बोलिन्, “ए हजुर सुन्नुहोस् त ?”
“के मैयाँ ?” घनश्याम लाखको गड्डी गन्दै बोले ।
राधा लाखको गड्डीले हाते पङ्खा हल्लाएझैँ मुखको वरिपरि हल्लाउँदै बोलिन्, “ए मेरो हजुर यता हेरिसियो न ?”
घनश्याम गन्दै गरेको पैसालाई रोके, उदाउँदै गरेको सुन्दर चन्द्र झैँ श्रीमतीको सुन्दर अनुहारतिर पुलुक्क हेरे । मन्द मुस्कुराउँदै बोले, “के हो भन न त प्राण प्यारू ?”
राधा आफ्नो अगाडि दशौं लाखका गड्डी हातमा लिँदै बोलिन्, “आजको मितिदेखि हजुरले बक्सिस पाएको उपहार ठूलो छोराको खाता खोलेर राखिस्यो । मैले बक्सिस पाएको पैसा सानो छोराको खाता खोलेर राखिदिन्छु, हुन्छ हजुर ?”
“किन ?” घनश्याम प्रेमले लट्ठिएका आँखाले श्रीमतीतिर हेर्दै बोले ।
राधाले हल्का आँखा झुकाउँदै बोलिन्, “छोराहरू पैसाको महत्व बुझ्ने भइसकेपछि उनीहरूलाई सरप्राइज दिनु परेन ?”
श्रीमतीको प्रस्ताव घनश्यामलाई उत्तम लाग्यो । उनले सहर्ष रूपमा स्वीकार गरे ।
घनश्याम र राधा दुवै उच्च तहका सरकारी कर्मचारी थिए । उनीहरू दुवैको राष्ट्रपति, प्रधानमन्त्री, प्रशासक प्रमुख लगायतका अति उच्च व्यक्तिहरूसँग घनिष्ठ सम्बन्ध थियो । देशमा जुनसुकै सरकार आओस् उनीहरूलाई केही फरक पर्दैनथ्यो । उनीहरूकै डिजाइनमा नेतादेखि राष्ट्रपतिसम्म चलिरहे । निरन्तर भ्रष्टाचार गरिरहे ।
उनीहरूका दुई भाइ छोरा थिए । दुवै छोरालाई केन्द्रको उच्च संस्थागत विद्यालयमा शिक्षा दिए । जेठो छोरो आठमा पढ्थ्यो । कान्छो छोरो चारमा पढ्थ्यो ।
उनीहरूले काठमाडौंमा घडेरी जोडे । विशाल दरबार बनाए । गाउँमा प्रशस्त सम्पत्ति जोडे । राधाले कुनै दिन सम्पत्ति विवरण बुझाउन पर्ला भनेर भ्रष्टाचार गरेको आधा पैसा त माइतीमा पठाइदिइन् ।
महिनाभरि भ्रष्टाचार गरी कमाएको पैसाको हिसाब किताब उनीहरूले महिनाको अन्तिम दिन गर्थे ।
त्यस दिनदेखि आफूहरूले परिश्रम गरेर कमाएको पैसाले घरव्यवहार चलाउन थाले । भ्रष्टाचार गरेर कमाएको पैसा छोराहरूको खातामा जान थाल्यो ।
उनीहरूलाई त्यो पैसाको कहिले जरूरत परेन । प्रति महिना लाखौं लाख जम्मा गर्थे । कहिले पनि कति जम्मा भयो भनेर बैंकमा सोध्न गएनन् ।
दिनहरू बित्दै गए । १२ पासपछि घरपरिवार, आमाबुवा, धनसम्पत्ति केही नभनी जेठो छोरो आयाम अमेरिका हानियो । केही वर्षपछि कान्छो छोरो आभास अस्ट्रेलिया भासियो । दुवै छोराले उतै विवाह गरे । उतै छोराछोरी जन्माए । सदाको लागि उतै बस्न थाले । पैसाले मानिसलाई कहिले पुग्दैन भनेझैँ छोराहरू विदेश गए पनि भ्रष्टाचार गरिरहे ।
माघे संक्रान्ति घरघरमा आइसकेको थियो । विशेषगरी थारू बस्तीमा खुशीको रौनक छाइसकेको थियो ।
उनीहरूको अफिस भने तीन दिनको लागि बिदा भयो । पुस मसान्तको दिन थियो । राधा भान्सामा तल्लीन थिइन् । घनश्याम टि.भी. खोलेर विश्व समाचार हेरिरहेका थिए ।
राधा लोग्नेको हातको रिमोट आफ्नो हातमा लिँदै बोलिन्, “ए हजुर भोलि हामी पोखरा घुम्न जाम् न ?”
लोग्नेले राधाको प्रस्ताव सहज रूपमा लिए । उति खेरै मोबाइलबाट प्लेनको टिकट लिए ।
माघे संक्रान्तिको दिन उनीहरू पोखरा जानको लागि चढेको एयरलाइन्सको प्लेन दुर्घटना भयो । दुवै जनाको एउटै चिहान भयो । कल्पना नगरेको दुखद घटना घट्यो ।
जेठो छोरो अमेरिकाबाट सपरिवारसहित आमाबुवा मरेको नौ दिनमा नेपाल आइपुग्यो । कान्छोको परिवार ११ दिनसम्ममा आइपुग्यो । उनको घरमा श्रद्धाञ्जली दिने मानिसहरूको जुलूसै उर्लेर आयो । १३ दिनसम्म निकै चहलपहल भयो घर । त्यसपछि घरमा माखो पनि घुमेन ।
आमाबुवाले उपभोग गर्दै आएको पुर्खौली सम्पत्ति आधा मूल्यमा बेचेर एक महिना भित्रमा दुवै छोरा आ–आफ्नो देशतिर लागे ।

राधा र घनश्याम बितेको १० वर्षपछिको कुरा हो । एक दिन एक्कासी जेठो छोराको मोबाइलमा नेपालबाट फोन आयो । कान्छो छोरोकोमा पनि आयो । त्यो फोन नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आएको थियो । बैंकको हाकिमले फोनमा जेठो छोराको नाममा करोडौँ रुपियाँ भएको बताए । कान्छो छोराको नाममा पनि करोडौँ रुपियाँ भएको बताए । उसै दिन दुवै छोराहरू नेपाल हान्निए । बिना योजना दुवैको एक्कासी बैंकमा भेट भयो । दुवै अचम्ममा परे ।
खातामा हेर्दा कान्छाको भन्दा जेठोको खातामा दोब्बर पैसा रहेछ । कान्छोले सबै पैसा बराबरी बाँड्ने कुरा ग¥यो तर जेठोले जसको खातामा जति छ, त्यसले त्यति मात्रै पाउनुपर्छ भन्ने आशय बतायो । बाबुआमाले जम्मा गरिदिएको हुनाले आफूले भाइको आश पनि नगर्ने र आफ्नो पनि नदिने निर्णयमा पुग्यो ।
दिनभरि दुई भाइको खुब विवाद चल्यो । पुसमाघका छोटा दिन थिए । साँझको ६ नबज्दै झमक्क रात प¥यो । दुवै भाइ बास बस्न एउटै होटलमा छिरे । राती सुतेको वेला भाइले दाइको घाँटी अँठ्याएर मा¥यो । ऊ बिहानै कुलेलम ठोक्दै थियो । पुलिसले समातिहाल्यो । लामो अनुसन्धानपछि भाइलाई अदालतले आजीवन कारागारको सजाय तोकियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *