विद्यालय जाने बालबालिकामा ‘स्क्रीन समय’को प्रभाव

Nayabimarsha (Weekly Newspaper from Nepal)
खिम लामिछाने काजी

आजको डिजिटल युगमा मोबाइल फोन, ट्याब्लेट, आइप्याड, प्लेस्टेशन, कम्प्युटर, र टेलिभिजन जस्ता स्क्रीनको प्रयोग सामान्य हो । यसले बालबालिकाहरूको जीवनमा गहिरो प्रभाव पारिरहेको छ । विशेषगरी विद्यालय जाने बालबालिकामा, धेरै समय स्क्रीनमा बिताउने चलन बढ्दो छ । यसले बालबालिकामा शारीरिक, मानसिक, शैक्षिक र सामाजिक रूपमा प्रभाव पार्छ ।
स्क्रीन टाइम भन्नाले बालबालिका र वयस्कहरूले डिजिटल उपकरणहरूमा (जस्तैः मोबाइल फोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन, र भिडियो गेम) मा बिताउने समयलाई जनाउँछ । यो समय विभिन्न गतिविधिहरूमा बित्न सक्छ । जस्तैः सामाजिक सञ्जाल हेर्नु, अनलाइन गेम खेल्नु, भिडियो हेर्नु, टेलिभिजन हेर्नु, शैक्षिक सामग्री अध्ययन गर्नु, गेमिङ गर्नु, वा अन्य प्रकारका डिजिटल सामग्रीमा संलग्न हुनु ।
स्क्रीन टाइमको प्रकारहरू ः
शैक्षिक स्क्रीन टाइम ः जसमा बच्चाहरू अनलाइन स्टडी, ट्यूटोरियल, र शैक्षिक एप्स प्रयोग गरेर नयाँ कुरा सिक्छन् ।
सामाजिक स्क्रीन टाइम ः जसमा बच्चाहरू र वयस्कहरूले सामाजिक सञ्जाल, म्यासेजिङ र अन्य अनलाइन प्लेटफर्महरूमा अन्तक्र्रिया गर्दछन् ।
निष्क्रिय स्क्रीन टाइम ः यसमा बालबालिकाहरू र वयस्कहरूले भिडियो, फिल्म, टेलिभिजन शो, वा युट्युब जस्ता प्लेटफर्महरूमा सामग्री हेर्छन्, जसमा उनीहरू केवल दर्शकको रूपमा संलग्न हुन्छन् र सक्रिय कुनै काम गर्दैनन् ।
इन्टरएक्टिभ स्क्रीन टाइम ः यसमा डिजिटल खेलहरू खेल्नु, अनलाइन लर्निङ, र अन्य प्रकारका अनलाइन अन्तक्र्रियात्मक गतिविधिहरू पर्दछन् ।
स्क्रीन टाइमको सकारात्मक र नकारात्मक प्रभावहरू उमेर, मिडिया सामग्रीको प्रकार र यसको प्रयोगको उद्देश्यमा निर्भर गर्दछ । तसर्थ सन्तुलित स्क्रिन टाइमका लागि विभिन्न सङ्घ संस्था तथा अनुसन्धानकर्ताहरूले निश्चित मार्गनिर्देशहरू र सिफारिसहरू प्रकाशित गरेका छन् ।
आजकाल बालबालिका र किशोरकिशोरीहरूलाई सानो उमेरदेखि नै डिजिटल मिडियाको सम्पर्क आइहाल्छन् । जन्मिन पाएको छैन, पृथ्वीमा अवतरण गरेको केही मिनेटमै आफन्तहरू मोबाइल फोन तेर्साएर फोटो खिच्नेदेखि उसलाई सुताउन मोबाइलमा गीत बजाएर सुनाउने अनि खाना खुवाउँदा युट्युबमा कार्टुन देखाउने गर्छन् । यहींबाट शुरु हुन्छ बालकको डिजिटल दुनियाँमा प्रवेश । विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययन अनुसन्धानहरूका अनुसार कोभिड–१९ को समय यता बालक, युवा, वृद्ध सबै उमेर र वर्ग समूहका व्यक्तिहरूको स्क्रीन समय बढेको छ । कोरोना महामारीको समयमा संसारभर लकडाउन हुँदा घरमा बसेर स्कुल पढ्ने अनलाइन स्टडीको शुरुवातपछि सबै स्कुले बालबालिकाहरूका हातहातमा मोबाइल फोन पुग्यो । फलस्वरूप स्क्रीन टाइम ह्वात्तै बढेको पाइन्छ । घरमा बसेर अनलाइन स्टडी लगायत दिनभर टेलिभिजन हेर्ने, मोबाइल गेम खेल्ने गरेर समय बिताउँदा अहिले उनीहरूको बानी नै बसिसकेको छ ।
हाल विश्वभरमा बालबालिकाहरूमा स्क्रीन टाइमको अत्यधिक प्रयोगले उनीहरूको जीवनमा विभिन्न नकारात्मक प्रभावहरू परिरहेको छ । यसबारे विभिन्न समयमा सोध तथा अनुसन्धानहरू गरिएको छ । सन् २०१९ मा विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुसन्धान अनुसार स्कुल पढ्ने विद्यार्थीहरूले दिनको २ घण्टाभन्दा स्क्रीनको प्रयोग गर्नु हुँदैन । त्यसैगरी, अमेरिकन एकेडेमी अफ पिडियाक्ट्रिक्सका अनुसार दिनमा २ घण्टाभन्दा बढी समय स्क्रीनमा बिताउने बालबालिकाहरूको मानसिक स्वास्थ्यमा असार गरेको पाइयो जसमा भर्चुअल अटिजमलगायत डिप्रेसनसमेत भएको पाइएको थियो ।
सन् २०२० मा डा. जिन एम वेङेले गरेको अध्ययनले अत्यधिक स्क्रीनमा समय बिताउने विद्यार्थीले विद्यालयको पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने र कुनै पनि काममा धैर्य राख्न नसक्ने निष्कर्ष निकालेको थियो । स्क्रीनको अत्यधिक प्रयोगले बालबालिकाहरूको स्वास्थ्य र समग्र विकासमा नकारात्मक प्रभाव पार्न सक्छ । सबैभन्दा पहिला, यसको शारीरिक असर नै गर्दछ । स्क्रीनमा लामो समय बस्दा बालबालिकामा दृष्टिका समस्याहरू (जस्तै आँखामा गडबडी र आँखाको थकान, देखा पर्न सक्छ, आँखाको दृष्टि क्षमतामा ह्रास) देखा पर्छन् । ‘स्क्रीन टाइम’को बढ्दो समयसँगै बालबालिकामा शारीरिक गतिविधिको कमी हुन्छ जसले मोटोपन र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
यसबाहेक, स्क्रीन समयको अधीक प्रयोगले मानसिक र भावनात्मक रूपमा समेत असर पु¥याउन सक्छ । बच्चाहरूले बाहिरी संसारको सट्टा डिजिटल दुनियाँ र स्क्रीनमा ध्यान केन्द्रित गर्दा उनीहरूको सामाजिक क्रियाकलाप र व्यवहारहरू कमी हुँदै जान्छ । समाजदेखि दूरी बढ्दै जान्छ । बच्चामा चिन्ता, तनाव र अन्य मानसिक समस्याहरू पनि देखिन सक्छन् । वास्तविक संसारभन्दा कृत्रिम कुराहरूमा रमाउन थाल्छन् । बिस्तारै पढाइ बिग्रिँदै जान्छ ।
आजकलको जीवनशैलीमा अधिकांश बालबालिकाले स्क्रीनमा धेरै समय बिताउँछन् । यसका कारण शारीरिक गतिविधि गर्ने समय कम हुन्छ । बच्चाहरूका लागि शारीरिक क्रियाकलाप समग्र विकासका लागि महत्त्वपूर्ण हुन्छ जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सकारात्मक प्रभाव पु¥याउँछ । स्क्रिनमा अत्यधिक समय बिताउँदा बच्चाहरूको शारीरिक गतिविधिमा गिरावट आउँछ जसले उनीहरूको हड्डी र मांसपेशीहरूको विकासमा असर पु¥याउँछ । त्यसैले, बच्चाहरूलाई खेलकुद र शारीरिक क्रियाकलापको महत्त्व बुझाउने र प्रोत्साहित गर्ने जरुरी छ । यसका लागि अभिभावक र शिक्षकहरूले सक्रिय भूमिका निभाउन जरुरी छ । स्क्रीनमा समय बिताउने लत बसे कतिपय बच्चाहरूलाई अहिले भर्चुअल अटिजमसमेत भएको पाइएको छ ।
स्क्रीनको अत्यधिक प्रयोगले मानसिक र भावनात्मक समस्याहरू निम्त्याउन सक्छ । बच्चाहरूको मानसिक विकासका लागि खेलकुद, सामाजिक अन्तक्र्रिया, र शारीरिक गतिविधि अत्यन्त महत्त्वपूर्ण छन् । स्क्रीनमा धेरै समय बिताउने कारण, बच्चाहरू बाहिर जान र अन्य साथी तथा व्यक्तिहरूसँग घुलमिल नहुने, सम्पर्क नहुने हुन्छ । एकलकाँटे प्रवृत्तिको विकास हुने हुन्छ । यसले उनीहरूको सामाजिकीकरण लगायत अरूसँगको अन्तक्र्रियामा र बोलचाल क्रमशः कमी आउँदै जान्छ । बालबालिकाहरू हातमा मोबाइल वा टि.भी. हेर्न नपाएर रिसाउने, झर्किने, फर्किने स्वभाव बढ्दै जान्छ । एकलकाँटे हुने, घरबाहिर घुम्न नजाने, घरमै मात्र बस्न रुचाउने, कुनै पनि कुरामा लामो धैर्य गर्न नसक्ने जस्ता लक्षणहरू देखा पर्दछन् ।
अत्यधिक स्क्रीन समयले बच्चामा एकाकीपन, चिन्ता र डिप्रेसन पनि निम्त्याउन सक्छ । यसका साथै, स्क्रीनमा समय बिताउनाले बच्चाको ध्यान केन्द्रित गर्ने क्षमता पनि कमजोर हुन्छ । बच्चाहरूलाई लामो समयसम्म कुनै एक कार्यमा ध्यान दिन असहज हुन्छ, जसले अध्ययनमा समस्या उत्पन्न गर्छ । विद्यालय जाने बच्चाहरूका लागि पढाइ महत्त्वपूर्ण छ । पढाइका लागि ध्यान र एकाग्रता आवश्यक हुन्छ ।
आजको समयमा डिजिटल उपकरणहरूको प्रयोगले अध्ययनमा सहयोग पु¥याउन सक्छ, तर यसको अधिक प्रयोगले बच्चामा एकाग्रतामा कमी ल्याउन सक्छ । अध्ययनका लागि स्क्रीनको सट्टा किताब र अन्य पारम्परिक शैक्षिक सामग्री प्रयोग गर्नु धेरै महत्त्वपूर्ण छ । बच्चाहरूलाई स्क्रीनमा समय बिताउनको सट्टा अध्ययन र सिर्जनात्मक सोचमा ध्यान दिन प्रोत्साहित गर्नु आवश्यक छ । मोबाइल, आइप्याड जस्ता डिभाइसमा डिजिटल गेम खेल्ने बानी बिस्तारै बढेर लत बन्न जान्छ । कुनै पनि चिजको लत लाग्नु राम्रो कुरा होइन, जसले पढाइ बिग्रानुका साथ साथै स्वास्थ्य पनि बिगार्दछ ।
स्क्रीन समय घटाउने उपायहरू ः
विद्यार्थीहरूको स्क्रीन समय घटाउनका लागि केवल अभिभावक र शिक्षकहरूको जिम्मेवारी मात्र होइन । यो समस्या कुनै व्यक्तिविशेषको मात्र पनि होइन । हाल यो एक विश्वव्यापी समस्याको रूपमा देखापरेको छ । त्यसैले विद्यार्थी तथा वयस्क किशोरकिशोरीहरूको स्क्रीन समय घटाउनु हरेक समुदाय र सरकारको पनि जिम्मेवारी हुन्छ । प्रमुख जिम्मेवारी अभिभावकले लिनुपर्ने हुन्छ ।
स्क्रीन समय घटाउनका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ । यसका लागि बालबालिकालाई शारीरिक गतिविधिमा प्रोत्साहित गर्नु आवश्यक छ । खेलकुद र बाहिरी गतिविधिहरू बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बालबालिकाहरूलाई पार्क, खेलमैदान, र अन्य बाहिरी स्थानमा खेल्नका लागि समय निकाल्न प्रेरित गर्नु महत्त्वपूर्ण छ ।
परिवार नै पहिलो पाठशाला हो । सर्वप्रथम बच्चाले जे सिक्छ परिवारबाटै सिक्छ । मोबाइल चलाउन होस् या टेलिभिजन हेर्न, सबै कुरा सिक्ने घरबाट नै हो । अभिभावकहरू स्वयम् पनि आफ्नो स्क्रीन समय घटाएर बच्चाहरूका लागि राम्रो उदाहरण बन्न आवश्यक छ । यदि अभिभावकहरू आफैँले अत्यधिक समय स्क्रीनमा बिताउँछन् भने बालबालिकाले पनि त्यसको अनुशरण गर्ने सम्भावना बढी हुन्छ । अभिभावकहरूको भूमिकाले बालबालिकाको बानी र व्यवहारमा ठूलो प्रभाव पार्दछ । यदि अभिभावकले आफ्नो बच्चालाई पढ्न लगाएर वा गृहकार्य गर भनेर कोठामा छाडी आफू रिमोट कन्ट्रोल लिएर टेलिभिजन हेर्न थाल्छन् भने उक्त बच्चाको ध्यान सबै टेलिभिजनको साउन्डतर्फ केन्द्रित हुन्छ ।
यही अवस्थामा, अभिभावकले आफूले पनि कुनै पुस्तक हातमा लिएर बच्चाहरूलाई पढ्न लगाउँदा बच्चाहरू सम्पूर्ण ध्यान पढाइमा नै केन्द्रित भइरहेको हुन्छ । त्यसैले यदि हाम्रो बच्चाहरूले राम्रोसँग पढोस् भन्ने हाम्रो इच्छा हो भने पढ्ने वातावरण बनाइदिनुपर्ने कर्तव्य पनि हामी अभिभावकको नै हो ।
स्क्रीनमा बिताएको समयको सधैँ नराम्रो हुन्छ भन्ने पनि हुँदैन । कुन प्रयोजनका लागि स्क्रीनको प्रयोग भएको हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पढाइलाई सुधार्ने, बालबालिकाहरूमा अन्तर्निहित रचनात्मक कुराहरू (जस्तै ज्ञान, सीप, क्षमता, दक्षता, बौद्धिकता तथा प्रतिभा) प्रस्फुटन गर्न सघाउने स्क्रीन समयले बालबालिकामा हानी होइन फाइदा नै हुन्छ । कति समय स्क्रीनमा बस्ने बने समय सीमा भने अभिभावकले तोकिदिएको हुनु पर्दछ । डिजिटल सामग्रीको चयन गर्दा, शैक्षिक र सिर्जनात्मक सामग्रीको चयन गर्नु आवश्यक छ । यसका लागि अभिभावकहरूले बालबालिकाको सामग्रीमा निगरानी राख्न र समय समयमै बालबालिका के स्क्रीनमा के गर्दैछन्, शैक्षिक सामाग्रीहरूबाहेक अन्य खेल वा गतिविधितर्फ समय बिताएका छन् कि भन्ने कुराको ध्यान दिनुपर्ने हुन्छ । प्रत्यक्ष निगरानी गर्दा धेरै उत्तम हुन्छ । सबै कुरालाई सन्तुलनमा राखेर बालबालिकाको स्क्रीन समय तोकिदिनु पर्छ र सकेसम्म स्क्रीन समय घटाउने कोसिस गर्नुपर्ने हुन्छ ।
अन्तमा, विद्यालय जाने बालबालिकाको स्क्रीन समय घटाउने प्रयास गर्नु हरेक अभिभावकको जिम्मेवारी हो । यसको अधीक प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ र बच्चाहरूको सामाजिक र शैक्षिक विकासमा अवरोध उत्पन्न गर्न सक्छ । त्यसैले, अभिभावक र शिक्षकहरूले संयुक्त प्रयासले बालबालिकालाई स्वस्थ र सक्रिय जीवनयापन गर्न सहयोग गर्नु महत्त्वपूर्ण छ । स्क्रीन समयको सन्तुलित प्रयोग र शारीरिक गतिविधिमा जोड दिनाले बच्चाहरूको समग्र विकासमा सकारात्मक प्रभाव पु¥याउन सक्छ । स्क्रीन समयको सन्तुलित प्रयोग अत्यन्तै महत्त्वपूर्ण रहेको छ, सबैले मनन गरौँ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *