सम्पादकीय
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्थाहरु प्रस्ताव गरिएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको छ । पहिलो कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख छ तर बाबु सम्पर्कमा छैन वा पहिचान भेटिएको छैन भने त्यसरी नागरिकता नपाएका सन्तानलाई बाबुको पहिचान नभएको मानेर नागरिकता दिनुपर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । यसैगरी दोस्रो अवस्थामा आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसैगरी तेस्रो अवस्थामा बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।
यो बाहेकको अवस्थालाई पनि यो विधेयकमार्फत प्रष्ट पार्ने प्रयास भएको छ । यसअघि नाबालक परिचयपत्रलाई नागरिकता ऐनमा नराखिएकोमा त्यसलाई पनि ऐनमा समेट्ने तयारी गरिएको छ । नागरिकता प्राप्त गर्ने उमेर नभएका बालबालिकालाई नाबालक परिचयपत्रका आधारमा राहदानीलगायत अन्य सुविधा राज्यले प्रदान गर्दै आएको छ । यसैगरी एनआरएन नागरिकता प्राप्त गरेका व्यक्तिहरुलाई सामाजिक, सांस्कृतिक एवम् आर्थिक अधिकार दिने विषयलाई पनि ऐनमा स्पष्ट पारिएको छ ।
यो विधेयक तथा ऐनमा हुने व्यवस्थाका बारेमा विभिन्न कोणबाट टिप्पणी भैरहेको छ । वास्तविक नेपाली नागरिकले नागरिकता पाउनबाट वंचित हुनु नपरोस् भन्ने मुख्य चाहना सरकारको हो । विगतका विभिन्न किसिमबाट छुटेका नागरिकलाई नागरिकता दिने व्यवस्था गरिएका थिए । ती व्यवस्थामा अपुग रहेका व्यवस्थाहरुलाई समेट्ने क्रममा माथिका पछिल्ला व्यवस्था राखिएका हुन् । यसको प्रमुख उद्देश्य बाबुको पहिचान नखुलेको वा हाल सम्पर्कमा नरहेको अवस्थाका कारण उनका सन्तानले नागरिकताविहीन बन्नु नपरोस् भन्ने नै हो । यसैगरी विदेशमा आमा गएको अवस्थामा उता जन्मिएका नागरिकले पनि नागरिकता पाउनबाट वंचित हुनु नपरोस् भन्ने मुख्य चाहना सरकारको रहेको छ । त्यसैले यो व्यवस्थाको दुरुपयोग नहोस् भन्नेतर्फ भने सबैको ध्यान जानु जरुरी छ । खासगरी छिमेकी ठूला राष्ट्रमा बसोबास गर्ने मानिसहरुबाट यसको दुरुपयोग हुने खतरा कायमै छ । उनीहरु कतिपयले नेपालको नागरिकता लिएर त्यसको दुरुपयोग गर्ने खतरापूर्ण कार्यहरु यसअघिका उदाहरण भएका कारण यसरी नागरिकता वितरण गर्दा भने सचेतता अपनाइनुपर्ने हुन्छ । यस्तो कुराप्रति नागरिकको चासो भने रहेको छ ।