— गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त)
कृषकहरुले खेती गर्छन् र त्यसबाट उत्पादन हुने वस्तुहरुमध्ये आफूलाई चाहिने जति राखेर अरुलाई बिक्री गर्छन् र ती आयबाट अन्य आवश्यक बस्तुहरु खरीद गर्छन् । यसरी बिक्री हुने बस्तुको उचित मोल भए मात्र बिक्री गर्ने व्यवस्था हुनु आवश्यक छ । अन्यथा उचित मोल नपाएमा बस्तु बिक्री गर्न गाह्रो मान्छ तर कहिलेकाहीँ गरीब कृषकहरु आवश्यक बस्तुको आपूर्ति गर्नलाई कृषि उत्पादनका वस्तुहरु कम मूल्यमा पनि बिक्री गर्न बाध्य हुन्छन् । अतः यस्तो बजार, जहाँ कृषकहरुले आफ्नो कृषि उत्पादन वस्तुहरु उचित मोलमा खरीद बिक्री गर्छ भने त्यो कृषि बस्तु बजार हो र यस्ता बजार व्यवस्था भएकोलाई नै कृषि बस्तु बजार व्यवस्था भनिन्छ । नेपालको अर्थव्यवस्थामा कृषि क्षेत्रको महत्वपूर्ण स्थान भएकाले यस क्षेत्रको विकास गर्नका लागि अन्य विभिन्न पूर्वाधारहरुको साथै कृषि बजारको पनि विकास हुनुपर्दछ । सुव्यवस्थित कृषि बजारको विकास भएमा कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउने हुनाले कृषि उत्पादन बढाउने प्रोत्साहन प्राप्त हुन्छ । उनीहरु स्थानीय मध्यम व्यापारीबाट शोषित हुँदैनन् र यसबाट उनीहरुको आम्दानी बचत र लगानी गर्ने क्षमता बढ्दछ । फलस्वरुप यसको अनुकूल असर सम्पूर्ण अर्थव्यवस्थामा पर्दछ । कृषकदेखि अन्तिम उपभोक्तासम्म कृषिबजारको परिचय पाउनु आवश्यक छ । कृषकदेखि अन्तिम उपभोक्तासम्म कृषि उत्पादन गरिने सबै किसिमका क्रियाकलापहरुलाई कृषि बजारको अर्थसँग जोड्न सकिन्छ ।
बजार व्यवसायले कुनै वस्तु वा सेवा चाहेको समयमा, ठाउँमा र तिर्न खोजेको मूल्यमा उपलब्ध गराउन मद्दत गर्दछ जसबाट उपभोक्ताले सरल र उचित मूल्यमा नै त्यो बस्तु वा सेवा पाउँछ । बजार व्यवसाय जसको विस्तृत विकासले उपभोक्ताको मागको स्थिति, उपभोक्ताको रुचि बस्तुको लचकता, मूल्य लागत जस्ता कुराहरु उत्पादकले सजिलैसँग अडकल गर्न सक्छ र बजारको अनुसन्धान गरेर उपभोक्ताको चाहना अनुसार कम खर्चमै सो वस्तु उत्पादन गरी उपभोक्ताको हातसम्म पु¥याउन सहयोग पु¥याउँछ । कृषकहरुको जीवनस्तरमा कृषि उपजको मूल्यस्तरले ठूलो प्रभाव पारेको हुन्छ । सही रुपले देशको चौतर्फी विकास गर्नको लागि कृषकहरुको जीवनस्तरमा बढी भन्दा बढी सुधार ल्याउनु आजको परिप्रेक्ष्यमा आवश्यक छ ।
कृषकहरुको जीवनस्तर सुधार्न उनीहरुको पसीनाको उचित मूल्य दिलाउने राम्रो व्यवस्था हुनुपर्दछ । कृषि उपजको मूल्य दिलाउने अर्थ यो हो कि कृषकहरुले नै उपभोग गर्न पाऊन् । बीचमा कुनै फौवन्जारले नहत्याऊन् । कृषि उपजको मूल्य निरपेक्ष नभई सापेक्ष हुनुपर्दछ । यसको मूल्य कृषि उत्पादनको लागि आवश्यक अन्य साधनहरुको मूल्यको आधारमा निर्धारण गर्नु उचित देखिन्छ । कृषि उत्पादनको उचित मूल्य किसानहरुले पाउन सकेमा यसबाट कृषि विकासमा उत्साहजनक प्रभाव पर्दछ । कृषि पेशालाई नै जीवनमार्गको रुपमा मान्न विवश नेपाली किसानहरुको आयको स्रोत कृषि उपजको बेच–बिखन नै हो ।
कृषकहरुले आफ्नो अधिकांश उत्पादन गाउँमा नै बिक्री गर्ने हुँदा उत्पादक र उपभोक्ताको बीचमा मध्यस्थता गर्ने अन्य व्यक्ति हुनु स्वाभाविकै हो । अतः उत्पादकले आफ्नो उत्पादनको मोल उपभोक्ताले तिरेको भन्दा निकै कम पाउँछ । हाम्रो कृषि बजार व्यवसायमा निम्न प्रकारका मध्यमवर्गी व्यापारीहरु पाइन्छन् जस्तो —क. गाउँले साहू वा एजेन्ट, ख. फिरन्ता व्यापारी, ग. कमिशन एजेन्ट, घ. देशी र भारतीय थोक व्यापारीहरु, ङ. खुद्रा व्यापारीहरु, च. मिल मालिकहरु, आदि । बजार सानो र ठूलो दुवै हुन सक्छन् । सानो बजारमा वस्तुहरुको लेनदेन सीमित हुन्छ भने ठूलो वा विस्तृत बजारमा ठूलो मात्रामा बस्तुहरुको लेनदेन गरिन्छ ।
बजारको विस्तारमा असर पार्ने कुराहरु निम्नलिखित हुन्— क. जनसंख्याको आकार, ख. यातायात पद्धति, ग. वस्तुको प्रकार, घ. उपभोक्ताको आयस्तर । ग्रामीण हाट बजार भन्नाले कुनै निश्चित स्थान र समयमा माल सामानहरूको खरीद तथा विक्री गर्नेहरूको भेला हुने ठाउँलाई बुझाउँछ । यस किसिमको ग्रामीण हाट बजारमा वस्तुहरूको पूर्ति माग अनुसार लचिलो हुँदैन किनभने यो एक छोटो अवधि वा केही बेरको लागि मात्र लाग्ने बजार हो । यस बजारमा बेच्न ल्याइने बस्तुहको मूल्य प्रायः मोलतोल नै निर्धारण हुने गर्दछ । हाम्रो देशमा चाडपर्व, मेला वा अन्य तोकिएको समयमा ठाउँ ठाउँमा सानो सानो पसल थापी ग्रामीण हाट बजार चलाउने प्रचलन धेरै समय अघि देखि नै चल्दै आएको हो । सामाजिक दृष्टिकोणले भन्दा आर्थिक दृष्टिकोणले हाम्रो जस्तो अविकसित अर्थतन्त्र भएको देशमा ग्रामीण हाट बजारको महत्व उच्च छ किनभने ग्रामीण हाट बजारको विकासले खासगरी तीन कुराहरूको फाइदा प्रदान गर्दछ ।
ती हुन् (१) कृषि उत्पादनमा बृद्धि हुने, (२) कृषकहरूले उचित मूल्य पाउने र (३) ग्रामीण अर्थतन्त्रमा मुद्राको प्रचलन हुने । देशको अत्यधिक जनता पहाड तर्फ रहेको तर ग्रामीण हाट बजारको संख्या भने कम भएकोले तराईका जनताको दाँजोमा पहाडी जनताहरू ग्रामीण हाट बजारको उपयोग गर्न पछि नै रहेको देखिन्छ ।
नेपालको ग्रामीण बजार ज्यादै नै असंगठित छ । नेपालका कृषकहरू अधिराज्यभरी छरिएर रहेका छन् । उनीहरूले व्यक्तिगत रुपबाटै कृषि उत्पादनको बेचबिखन र कृषि सामग्रीहरूको खरिदमा यथोचित मूल्य पाउन सकिरहेको छैनन् । अधिकांश कृषकहरूसँग बजारमा बिक्रिको लागि कृषि उपजको बचन हुँदैन । केही कृषकहरूसँग हुने बचतको मात्रा पनि नगन्य छ । जसले गर्दा उनीहरू स्थानीयस्तर मै सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुन्छन् । धेरैजसो कृषकहरूले स्थानीय बजारका साहू महाजन तथा व्यापारीसँग आफूलाई आवश्यक पर्ने सामग्री र ऋण लिएका हुन्छन् । जसले गर्दा बाली भित्र्याउन नपाउँदे खेत आँगनबाटै स्थानीय स्तरमै बिक्री गर्न बाध्य हुन्छन् । नेपालको कृषि उत्पादन र कृषि बजार मौसमी खालको छ । अधिकांश कृषकहरू गरिब भएकाले भण्डारण गर्ने व्यवस्था समेत छैन । त्यसैले उनीहरू मौसम अनुसारको खेतीबाली तुरुन्ते सस्तो मूल्यमा बेच्दछन् र बेमौसमी बेलामा महंगोमा किनेर खान बाध्य हुन्छन् । नेपालको कृषि बजारमा मुलक्त मध्यस्थकर्ताहरूको बाहुल्यता छ । अधिकांश कृषकहरू गरीब भएकोले र उनीहरूबाट उत्पादित कृषि उपज पनि स–सानो मात्रामा हुने हुँदा ठूलो बजार समक्ष उनीहरू जान सक्दैनन् । गाउँ घरमा घरदैलोमै ढककाँटा बोकी मध्यस्थकर्ताहरू पुग्दछन् । उनीहरूले कृषकहरूबाट सस्तो मूल्यमा कृषि उपज खरीद गरी बजार तथा ठूला व्यापारी समक्ष पु¥याउँदछन् र त्यसको वास्तविक फाइदा लिन्छन् । यसरी नेपाली कृषकहरू मध्यस्थकर्ताबाट शोषित छन् । प्राचीन समयदेखि नै नेपाल र भारतबीचको खुल्ला सीमानाले गर्दा अन्य क्षेत्रमा जस्तै नेपालको कृषि क्षेत्रमा पनि यसको प्रभाव पर्दै आएको छ । अधिकांश कृषि उत्पादनको मूल्य भारतीय बजारद्वारै प्रभावित र निर्धारित हुने गर्दछ यस्ता मध्यस्थकर्ताहरूले नेपालको तुलनामा भारतमा कृषि उत्पादनको लागत कम छ भने उत्पादनको मात्रा अधिक छ जसले गर्दा नेपालको कृषि बजारमा नकारात्मक प्रभाव पर्न गएको छ । नेपालको भौगोलिक अवस्था र यातायात तथा सञ्चारको अभावले गर्दा नेपालको कृषि बजारको संयन्त्र ज्यादै कमजोर छ ।
नेपालका ग्रामीण क्षेत्रमा कृषि पैदावारहरु संस्थागत बजारमार्फत बेच्ने चलन कम भएकोले, कृषकहरुले मध्यस्थ व्यापारीहरुबाट बढी मोल लिन सकेका छैनन् । ग्रामीण क्षेत्रका बजारमा कृषिका विभिन्न वस्तुहरु खरीद बिक्री हुन आउँछन् त्यसमा बस्तुको गुणस्तर बमोजिम छुट्टयाएर राख्ने व्यवस्था हुँदैन जसले गर्दा राम्रो वस्तुको उचित मूल्य पनि आउँदैन । राम्रो र नराम्रो एउटै कृषि वस्तुहरु छयासमिस गरी बिक्रीको लागि बजारमा ल्याउँछ । तसर्थ बस्तुको स्तर वर्गीकरण हुनुपर्ने हो, सो भएको पाइँदैन ।संगठनको माध्यमद्वारा मोलमोलाई गर्ने शक्ति बढी हुन् भए तापनि नेपाली कृषकहरु अशिक्षित भएकाले उनीहरुको बीचमा संगठन छैन । फलस्वरुप उनीहरु कृषि उत्पादनमा लागेको खर्चअनुसार त्यसको मूल्य निश्चित गर्न सक्दैनन् । यसले गर्दा कृषि उत्पादन कम मूल्यमा बिक्री हुनुको साथै उनीहरुले आफ्नो श्रमको उचित मूल्य तथा प्रतिफल पाएका छैनन् । नेपालमा धेरैजसो किसानहरु ऋणमा डुबेको हुनाले उनीहरुले उत्पादन गरेको कृषि उत्पादन बाली तयार भएपछि नै कम मूल्यमा भूमिपतिहरुलाई बुझाउनुपर्दछ । कतिपय किसानहरुसँग भूमिपतिलाई आफ्नो उत्पादन बुझाएपछि उपभोग गर्नको लागि समेत उत्पादन बाँकी रहँदैन । यसबाट पनि कृषि बजारको विकास हुन कठिनाई भएको देखिन्छ ।
हाट बजारको विकासको लागि पञ्च, ग्रामीण कार्यकर्ता, बुद्धिजिवी र इत्यादिको सहयोगमा हाट लाग्ने दिनमा ठाउँ ठाउँमा समेत प्रचार प्रसार गरी व्यापारीहरूलाई आकर्षित गर्ने प्रयास हुनु । बजार स्थलहरूमा परिवार नियोजनको प्रचार प्रसार, कृषि प्रदर्शन । सांस्कृतिक कार्यक्रम, मनोरञ्जनका अन्य साधनहरूको समय समयमा प्रदर्शन गर्ने गर्नुपर्दछ । हाल ग्रामीण क्षेत्रका सबै ठाउँमा गोदामको आवश्यकता पर्ने व्यवस्था गरी दैनिक आवश्यकताका वस्तुहरू स्टक गरी राख्ने र सोही ठाउँबाट ती वस्तुहरू विभिन्न हाट बजारमा लगिने, निजी व्यापारीहरूलाई पनि सो गोदाम सुविधा दिने र यसो गर्नाले निकासी पैठारी दस्तुर तिर्न नपर्ने हुँदा व्यापारीहरू केही हदमा आकर्षित हुन जाने छन् । जनतालाई क्रय शक्ति बढाउनको लागि सूर्ती, उखु, कपास, तरकारी फलफूल खेतीतिर किसानहरूलाई बढी आकर्षित गराउनु पर्दछ । सो कार्यका लागि जिल्ला कृषि शाखाद्वारा व्यापक कार्यक्रम संचालन गर्न साथै चाहिने बेलामा ऋण, कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउनु पर्दछ । यस्तो गर्न सकेमा उक्त बस्तुहरू हाट बजारमा विक्री गर्न आउनका साथै जनताको आर्थिक आय बढ्दै जानेछ । प्रत्येक हाट बजार स्थलमा क्रमिक रूपमा पशु हाट समेत संचालन गर्ने गर्नुपर्दछ । यसो गर्न सकेको खण्डमा किसान र व्यापारीहरूलाई पशु खरीद विक्री गर्नमा सुविधा हुनुका साथै बढी आय प्राप्त गर्न सकिन्छ । यसको साथ साथै पशु खरीद, विक्री करबाट बढी आय प्राप्त गरी तीव्र गतिमा हाट बजारको विकास अपेक्षा गर्न सकिन्छ ।
सडक यातायातको विकासमा धेरै पछाडी रहेका खाद्यान्नको कम उब्जनीबाट भुक्तानी खान बाध्य रहेका निम्न आर्थिक अवस्थाका पहाडी भेगका वासिन्दाहरूका निमित्त यस किसिमको हाट बजारले सीप प्रदर्शनीका रूपमा पनि जाँगरलाई उत्पादनमूलक कार्यमा ढाल्न सघाउ पु¥याउन सक्छन् । नुन, दाल, चामल, तेल र तरकारी जस्ता अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खाँचो टार्ने आर्जनको अभाव व्यहोरी रहन बाध्य जनताका निम्ति आफु संग भएको वस्तु बेचेर थोरै मात्रामा भए पनि रकम हस्तान्तरण गर्ने अभ्यास बढाउने हुनाले यस्ता हाट बजारले जन–जीवनमा पार्ने प्रभाव कम महत्वपूर्ण छैन । हाट बजारले सांस्कृतिक सम्पर्क, भेटघाट, चिनारी–जस्ता गतिविधिहरूलाई समेत बढावा दिने गर्दछ । देशको कूल गार्हस्थ उत्पादनको एक तिहाई भन्दा बढी कृषि क्षेत्रवाट प्राप्त हुने र करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जिविकाका लागि यस क्षेत्रमा निर्भर रहने भएकोले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट छ । अन्तर्राष्ट्रिय स्तरमा खाद्यान्न तथा खाद्य पदार्थमा भएको मूल्यवृद्धि तथा अपर्याप्त आपूर्ति, आर्थिक रूपले सकृय जनशक्ति दिनानुदिन विदेशिने क्रम बढ्दै जाँदा कृषि क्षेत्रमा वढ्दै गई रहेको श्रम शक्तिको अभाव, उर्वर कृषि भूमिको गैर कृषि प्रयोजनमा वढ्दो उपयोग तथा जलवायु परिवर्तनको नकारात्मक प्रभाव जस्ता कारणहरूले कृषि क्षेत्रमा आशातित उपलब्धि हासिल गर्नु चुनौतीपूर्ण रहेको छ ।
सम्बन्धित ऐन नियमहरू समयसापेक्ष नहुनु र भएका ऐन नियमको कार्यान्वयन कमजोर हुनु, सरकारी लगानी न्यून रहनु र कृषक तथा व्यवसायीहरूले सर्वसुलभ रूपमा ऋण र प्राविधिक सहयोग समयानुकूल पाउन नसक्नु प्रमुख समस्याको रूपमा रहेको छ । कृषि तथा पशुजन्य वस्तु उत्पादन वृद्धि तर्पm साना, खण्डित र अव्यवस्थित भू उपयोग हुनु, दोहोरो भू–स्वामित्वको स्थिति रहनु, कृषि तथा पशुजन्य उत्पादनका आधारभुत सामग्रीको पर्याप्त आपूर्ति नहुनु, उत्पादनको उपयुक्त बजार तथा मूल्य पाउन नसक्नु, कृषि तथा पशु सेवा प्रसार सम्बन्धी कार्यमा केन्द्र र जिल्लास्तरको समन्वयमा कमी हुनु, आवश्यक प्रविधि, जनशक्ति, सामग्री, प्रसार सेवा सहज र सर्वसुलभ नहुनु जस्ता समस्या रहेका छन् । कृषि व्यावसायीकरण र व्यापारतर्पm उत्पादनको लागत, गुणस्तर तथा समग्र प्रवृत्ति प्रतिस्पर्धी र बजारमुखी हुन नसक्नु, निर्यात संभाव्यता भएका बाली र वस्तुहरू तथा सो को माग सम्बन्धी अनुसन्धानमा कमी हुनु, माग अनुरूप उत्पादन विविधिकरण गरी बजारमा पु¥याउन नसक्नु, विविध क्षेत्रमा आवश्यक वैज्ञानिक तथा अन्य जनशक्तिको व्यवस्थापन कमजोर हुनु, प्रयोगशाला लगायत अनुसन्धानका पूर्वाधारहरूको कमी हुनु जस्ता समस्या विद्यमान छन् ।