नदी र सङ्गीतमा गुञ्जित शहर बुदापेस्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)
प्रकाश सायमी

बुदापेस्ट जाने बारे सोचिएकै थिएन । बुदापेस्ट जाने सूचीमा न अगाडि थियो, न पछाडि थियो । बुदापेस्ट जाने तैयारी अचानक भयो वा भनौँ, मेरो जिद्दीले भयो । हामी जाने भयौँ ।
भन्छन्, बुदा र पेस्ट दुई अलग शहर हुन्, वारी र पारी । एउटा पुलले छुट्याएको छ । केही हिन्दी फिल्ममा मैले पहिलो पटक बुदापेस्ट देखेको हुँ । केही उपन्यास र चर्चित यात्रा वृत्तान्तमा पनि यहाँको नामको चर्चा पढेको हुँ । गत वर्ष मेरा मित्र रामचन्द्रमानज्यूका जेठान डा.जगदीशलाल वैद्य पनि बुदापेस्ट पुगेर आउनुभएको थियो । त्यसपछि मैले उहाँको मुखारविन्दबाट सुनें यताको चर्चा । उहाँले महँगो र सस्तोको प्रसङ्गमा वारी र पारीको फरक व्याख्या गर्नुभएको थियो, एक दिन रामचन्द्रमान सरको घरमा । त्यो पनि सम्झेँ मैले ।
बलिउडका प्रसिद्ध फिल्म निर्देशक सञ्जय लीला भन्सालीले ‘हम दिल दे चुके हैँ सनम’ फिल्ममा बुदापेस्टको सुन्दरता खूब राम्रोसित देखाएको सम्झेँ । यो फिल्म मैले पोखराको विन्ध्यवासिनी सिनेमा हलमा हेरेको थिएँ । सिनेमा हेरेर निस्कने बित्तिकै बाहिर कलाकार अनुप बरालसित भेट भयो, उनी पनि फिल्म हेर्न आएका रहेछन् । उनले फेरि हेरौँ भने, मैले उनीसित फेरि त्यही हलमा दोस्रो शो हेरेँ ।
त्यतिबेला देखेको बुदापेस्ट अहिले कस्तो होला ?
बुदापेस्टको बारे पढ्दा समालोचक जर्ज लुकाचको निर्वासन जीवन त्यहीँ बितेको पनि सम्झेँ । उनको पुस्तकालयको भ्रमण गरेर आएका केही लेखकका चिन्तनहरू पनि याद आए । लुकाचले बुदापेस्ट आएपछि मात्र थाह पाए, मार्शल प्रुस्तभन्दा फ्रान्ज काफ्का यथार्थवादी लेखक रहेछन् भनेर । उनी रोमानियाबाट निर्वासन जीवन बिताउन यहीँ आएका थिए ।
महान् सङ्गीतकार विथोवनका अनुज सङ्गीतकार फ्रान्ज लिस्ट जो विथोवनलाई पाइला पाइलामा पच्छ्याउँथे, उनले विथोवनको निधनपछि विथोवनले बजाउने पियानो संरक्षण गर्न पाएका थिए । त्यो बाजा पनि बुदापेस्टकै म्युजियममा छ भन्ने थाह हुन्छ । बुदापेस्ट धेरै कारणले मेरो आकर्षणको केन्द्रविन्दू बन्यो तर प्राग पनि मलाई उत्तिकै मन पर्ने ठाउँ हो, मेरो ड्रिम स्टेशन ।
“प्राग जाने कि बुदापेस्ट ?, कोठामा अघिल्लो दिन यात्रासूची (आइटीनरी) का बारे छलफल गर्न आउँदा सुकृतबाबूले बुदापेस्टभन्दा प्राग गएको राम्रो भनेका थिए । “इन्जिनियरिङको दृष्टिकोणले, निर्माणका दृष्टिकोणले मलाई बुदापेस्टभन्दा प्राग मनपर्यो ।”, सुकृतबाबूको भनाइ थियो ।
हामीलाई भ्रमणको बारेमा जानकारी दिन र टिकट बुक गर्ने सल्लाह दिन अलकाजीले पठाइदिनुभएको ती नौजवान उहाँकै ज्वाइँ रहेछन्, सुकृत नेपाल । भियनामै जन्मेहुर्केका सुकृतसित छोटो परिचयपश्चात् वार्ता गर्न सजिलो भयो, उनी ल्यापटप बोकेरै आएका थिए हामीलाई सघाउन । वा भनौँ, अज्ञात प्रदेशमा हराएका हामीजस्ता यात्रुलाई पार लगाउन ।
परिचय पश्चात् उनीसित कुराकानी गर्न सहज भयो, भाषाको कारण र व्यवहारले गर्दा । सुकृतबाबूले गजबको परिचय त्यतिबेला दिए जब उनी हाम्रो एयर बीएन्डबीमा प्रवेश गरे । उनले हामीलाई त्यहाँ बसुन्जेल खान फलफूल, दूध अनि बिस्कुट ल्याइदिए । उनले नै हामीलाई इटालीको भेनिस जाने टिकट बुक गर्न र एयरपोर्टसम्म जान उबर बुक गरेर उपकृत गरिदिए ।
सुकृतबाबूलाई आइटीको राम्रो ज्ञान रहेछ । हामीलाई प्राग जाने सल्लाह दिएर उनी भारतीय गायक अरिजीत सिंहको लाइभ प्रोग्राम हेर्न त्यही दिन लण्डन हिँडे, सङ्गीतमा अपार रुचि रहेछ सुकृतबाबूलाई । सुकृतबाबूसित कुरा भएपछि हामीले लण्डनको भ्रमणमै रहेका डा. शम्भुमान सिंह सरसित प्राग जानेबारे फोनमा कुरा गर्यौँ । उहाँले आफू पनि जाने तर तीन दिनपछि मात्र जाने कुरा गर्नुभयो । उहाँ र अजीता भाउजूको टिकट सत्र तारिखपछि मात्रको रहेछ । अब हामी मात्र प्राग जान गुगल गर्यौँ ।
विभिन्न ठाउँबाट प्रागमा बाढी आएर भूमिगत रेल र सारा यातायात ठप्प भएको खबर आयो । यसपछि हामीले चाहेर पनि प्राग जान सक्ने भएनौँ । अब दोस्रो चयनमा हाम्रो बुदापेस्ट नै थियो । यसबारे फेरि हामीले फोनमा जर्मनी जाँदै गरेकी अलकाजीलाई सोध्यौँ । उहाँले यसबारे रुद्रजीलाई सम्पर्क गर्न र मिल्यो भने रुद्रजीलाई नै लिएर जान सल्लाह दिनुभयो । त्यो त अपार आनन्दको कुरा भयो ।
अब फोनमा रुद्रजी र हामी । कुराकानी शुरु भयो । ‘बुदापेस्ट कति बेला जाने, कहिले जाने, बस्ने कि फर्किने ? यी सबै विषयमा कुरा भइसकेपछि रुद्रजीले टिकट बुक गर्न थाल्नुभयो । बिहान जाने कि अझै बिहान जाने ? छिटोभन्दा छिटो कति बेलासम्म जान सकिन्छ ? चारओटा टिकटको खोजी शुरु भयो, सस्तो र महङ्गो टिकटको फरकमा हामी दौडिँयौ । भियनाबाट बुदापेस्टको टिकट भयो, बिहान ६ बजेर ४० मिनटको । जाने टिकट अलि महँगो प¥यो, प्रतिव्यक्ति ५८ यूरो तर फर्किने टिकट सस्तो पाइयो, प्रतिव्यक्ति ३५ यूरो । इन्टरसिटीको रेल भएको हुनाले भिडभाड नहुने र सुरक्षित हुने निश्चित थियो ।
लण्डन छोडेपछि भियना । भियनापछिको यो हाम्रो यो पहिलो यात्रा थियो, अर्को नयाँ देशको । हङ्गेरीका केही लेखकको नाम सुनेको थिएँ । सिनेमाको इतिहास शुरु हुँदा हङ्गेरीको खूब चर्चा आउँथ्यो, प्राथमिक कालमा । त्यसबेला एडोल्फ जुकरको नाउँ हङ्गेरीसित जोडिएर आएको र आफूले फिल्म कलेजमा पढाउँदा घरिघरि त्यो नाम लिएको मलाई सम्झना भयो ।
कुरा भएको भोलिपल्ट बिहानै नै रुद्रजी आउनुभयो । हामी पनि तैयारीमै थियौँ । उहाँ तल भूइँतल्लामा आएर हामीलाई फोन गर्नुभयो । म उहाँलाई लिन तल गएँ । उहाँ मसितै माथि आउनुभयो । हामी सबैले उहाँसित मनमोहक कुराकानी ग¥यौ । उहाँ स्पष्ट शब्दमा भन्दा जेन्टलम्यान हुनुहुँदो रहेछ । उहाँले ‘अब कुरा गर्दै निस्किँयौँ‘ भनेपछि हामी तीनजना उहाँको पछि लाग्यौँ ।
हामी बसेको घरको पछिल्तिर नै ट्राम आउँदो रहेछ, त्यो पहिलो पटक देख्यौँ । अति सानो बाटोमा पनि कति सुरक्षित तवरले ट्राम हिँड्दो रहेछ, मानौँ हाम्रो झोछ्येँभित्रको गल्ली जस्तो । अनि त्यही ट्राम स्टेशनको छेवैमा चाइनिज जापानिज रेष्टुराँ पनि रहेछ । त्यसको पनि दर्शन भयो । पानी पर्दै थियो । हामी ट्राम चढेर एउटा रेलवे स्टेशनमा पुग्यौँ । त्यो रेलवे स्टेशनको नाम उहाँले दुई तीन पटक भन्नु भए पनि मैले ठ्याक्कै टिप्न सकिनँ । दिमागमा हाउप्त बाहन हाफ बसिरह्यो, मेन ट्रेनस्टेशन भनेको बुझिने रहेछ । त्यो रेलवे स्टेशनबाट हामी बुदापेस्टका लागि लामो यात्राको ट्रेन चढ्ने रहेछौँ ।
सबै कुरा कम्प्युटरमै गरिने हुँदा उहाँले कीबोर्ड थिचेर चारओटा टिकट निकाल्नुभयो । अब यात्रा शुरु भयो, हङ्गेरीका लागि । बिहानको ६ः४० बाट शुरु भएको हाम्रो यात्रा ९ बजेर १९ मिनटमा सकिने रहेछ । फर्किने ट्रेन ६ः४० को रहेछ ।
हामी रेलमा बस्यौँ, रुद्रजी र म एकातिर अञ्जलीजी र लक्ष्मीदिदी अर्कोतिर । बीचमा सानो टेबिल फैलाइएको थियो । रुद्रजीले आफ्नो ओभरकोट खोलेर भित्ताको किल्लामा झुन्ड्याउनु भयो, अनि छाता पनि त्यही झुण्ड्याउनु भयो । रेल गुड्नु अघि अञ्जलीले रुद्रजीलाई एउटा प्रश्न गरिन्, “रुद्रजी, अघि हामीले ट्रामको टिकट काट्यौँ त ?
रुद्रजी पनि स्तब्ध हुनुभयो, “हत्तेरिका, बिर्सिएछ त । भैगयो अब ।“
अञ्जलीले मतिर हेरेर भनिन्, “अरु कुराभन्दा पहिले यस्तो इन्सियल कुरा गर्नुपर्छ, के ?’’ यात्रा शुरु भयो तर मनमा कस्तो खल्लो लाग्यो, टिकट नै नकाटी ट्राम चढिएछ । भियनामा विना टिकट यात्रा गर्दा चेकमा पक्डियो भनें युरोपभरि ब्ल्याक लिस्टमा पर्ने गरी फोटो छरिन्छ रे, हिजै मात्र सुकृतबाबूले भनेका थिए । आज हामीले यो गल्ती गरेछौँ ।
मनमनै मैले आफैँलाई धिक्कारेँ, रुद्रजीलाई भेटेको खुशीमा यी यावत कुराहरू बिर्सिएछु । रुद्रजीसितको भेटमा म कति खुशी भएछु भनें एकाएक साहित्य, सङ्गीत, रेडियो नेपाल, गोरखापत्र, खानेपानी संस्थान तथा पूर्वी नेपालका साहित्यकारको चर्चा हुन थाल्यो, यता मेट्रोको टिकट काट्नु बिर्सिएछ ।
रेलमा हामीले सबै कुरा सही सलामत राख्यौँ, छाता, पानीको बोटल अनि झोला । अञ्जलीले आफ्नो म्यानुअल क्यामेरा झिकिन् अनि लेन्स तेस्र्याउन थालिन् झ्यालबाहिर । रेलले विस्तारै भियनाका भूभाग छोड्दै छोड्दै गयो, शहरबाट अलि अलि निर्जन बस्तीतिर गएजस्तो भान भयो । लाग्दैछ, हामी गाउँतिर जाँदै छौँ ।
रेल गुडेको केही बेरपछि टिटी आए टिकट चेक गर्न । उनले मोबाइलबाटै ट्रयास गरे, नाम परिचय सही भएपछि उनी हामीलाई शुभयात्रा भनेर अघि बढे । यसअघि ट्राममा यस्तो घटना घटेको भए ? अञ्जली यस्तो कुरामा साह्रै सजग रहन्छिन् । विशेषतः पैसा तिर्ने, कसैसित सापट लिने, कसैको गाडीमा लिफ्ट लिने नलिने । विदेशीहरूसित धेरै काम गरे पनि उनी खाना वा खाजा खाइसकेपछि अरुलाई पर्खिदिँनन्, रकम चुक्ता गरिहाल्छिन् तर कतिले गुनासो पनि गर्छन् ।
रेलबाट उनी बाहिर क्यामेरा तेस्र्याएर ठाउँ ठाउँको फोटो खिँच्दैछिन् । उनको फोटोग्राफीमा सहयोगी भएर लक्ष्मीदिदी सहायकका रूपमा जुटेकी छिन् । म र रुद्रजी नेपालकै कुरा गर्दैछौँ । रेडियो नेपाल, समाचार, साहित्य, साहित्यकार सबैका विषयमा कुरा चल्दै गर्दा रुद्रजीले आफ्नो बारेमा बताउनु शुरु गर्नुभयो । उहाँ रेडियो नेपालमा समाचार शाखामा जागिरे भएर आउनुअघि खानेपानी संस्थानमा हुनुहुँदो रहेछ । खानेपानी संस्थान र रेडियो नेपाल कसरी मिल्न गएको हो ? ती कुरा पनि रोचक तरिकाले उहाँले सुनाउनुभयो, जुन मलाई थाहा थिएन ।
विदेशमा यति रमाइलो रेलको यात्रा हुँदो रहेछ, मलाई थाह थिएन । रेलभित्रको सफाइ र सीट व्यवस्थापन हाम्रो मुलुकको पाँचतारे होटल जतिकै थियो । “टिकट अलि महँगै प¥यो, ढिलो बुकिङ भएको भएर ।’’, रुद्रजीले अचानक बुकिङ सिस्टमको बारे आफ्नो अनुभव सुनाउनु भयो । फेरि उहाँले थप्नुभयो, “तर फर्किने बेलाको टिकट चैँ हामीले सस्तै पायौँ ।“
रेलको झ्यालबाट हामीले ग्योर भन्ने ठाउँ देख्यौँ । रेलको झ्यालको सिसा बन्द थियो तर बाहिर शान्त स्टेशन देखियो । शान्त यति थियो कि हामीले सिसा खोल्यौँ भने पनि त्यहाँको शान्ति भङ्ग होला जस्तो थियो । पारिपट्टि अर्को रेल मार्ग रहेछ, त्यसको पर एउटा सिसाले सजिएको भवन रहेछ । त्यो रेलवे कार्यालय रहेछ तर मान्छे छ÷छैन थाह नै नहुने शून्यता थियो त्यहाँ पनि ।
“हो, यो ग्योर स्टेशन हो । अब हामी हङ्गेरी प्रवेश गर्यौँ ।’’, रुद्रजीले उत्साहपूर्वक भन्नुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो, यो नै हो सिमाना ।
यसबीच हामीले ठूल्ठूला खेत खलिहान पनि देख्यौँ र विन्डमिल पनि देख्यौँ । विन्डमिल देखेपछि लक्ष्मीदिदीले आफ्नो रुचिपूर्वक एउटा प्रश्न गर्नुभयो, “यहाँ केको खेती बढी हुन्छ ? गहुँको होला हगि ?’’ रुद्रजीले ‘हो‘ नै भन्नुभयो ।
रुद्रजीको जवाफ सुनेपछि अञ्जली र लक्ष्मी दिदी दुवैले कोपेनहेगनको गहुँखेती र विन्डमिलबाट बिजुली उत्पादनको प्रसङ्ग उठाए । म एक स्रोताका रूपमा जुन कुरा म अभिभूत भएर यो कुरा सुनिरहेको थिएँ । ती सारा कुरा मेरा लागि खजाना नै थिए । फेरि हामी आफ्नै भाषामा कुरा गर्दै थियौँ, त्यसैले हाम्रो यो कुरामा दायाँबायाँ भएका अन्य यात्रुलाई चासो हुने कुरै भएन ।
यात्राको शुरुदेखि मेरो चाहना पनि थियो, रुद्रजीसित अञ्जली र दिदीको पनि वार्ता होस् । अब त्यो शुरु भयो । मोबाइलबाट मैले एक–दुइटा फोटो खिँचे । अञ्जलीले सोधिन्, “भिडिओ हो कि क्या हो ?’’
मैले भिडिओमै हात दबाएछु । रुद्रजीले अब स्वेटर पनि खोल्नुभयो, उहाँको चेक शर्ट देखियो । अस्सली रुद्रजी बल्ल देखिनुभयो । रेलबाट टाढा–टाढासम्म देखिने गाउँहरू मेरा लागि क्यान्भासका सुन्दर पेन्टिङजस्तै थिए, कति मनोहारि कति सादृश्य । मैले भनें, “मलाई बुदापेस्ट कस्तो होला भन्ने ठूलो जिज्ञासा थियो । आज देखेर खुशी लाग्नेभयो, रुद्रजी ।”
रुद्रजी वर्षमा दुई–तीनपटक यता आइरहनु हुँदो रहेछ, भियना आएका आफन्त र पाहुनालाई लिएर । यसपालि पनि उहाँ चार महिनाअघि मात्र आउनुभएको रहेछ । उहाँको यो यात्राक्रमको कुरा सुन्दा यस्तो लाग्छ, उहाँ भियनामा भन्दा बढी बुदापेस्टमै भेटिनुहुन्छ । यात्राको बीचमा रुद्रजीलाई अलकाजीको फोन पनि आयो, जर्मनीबाट । कुराकानीका प्रसङ्गमा भोलि हामीलाई कहाँ घुमाउने भन्ने प्रश्न पनि भयो उताबाट । भोलि यदि पानी परेन भनें भियनामै घुम्ने हाम्रो सोच छ । भोलि पन्ध्र तारिक भएको हुनाले एक नयाँ मित्र प्रभुवन्तजीले हामीलाई समय दिन सक्ने सङ्केत छ ।
रेलको यात्रामा फेरि एकपटक हामीलाई अर्को टिटीले आएर भेटेर गयो । टिकट छ छैन होइन, यात्रा कस्तो छ भनेर सोधेर उनी गए । रेलको यात्रा पनि कति मज्जाको यहाँ ? हुन त यूरोपमा रेलको यात्रा नै रमाइलो हुन्छ भन्छन् । भारत, बङ्लादेश र पाकिस्तानको रेलको यात्रा गरेका मान्छे अलि अलि डराउँछन् तर युरोपमा रेलको यात्राको अर्थ नै भिन्न छ ।
हामी जति जति बुदापेस्टको नजीक नजीक पुग्दै गयौँ त्यति त्यति नै आत्मीय लाग्दै गयो । विशेषतः मैले त्यस्तो महसूस गरेँ । अब विस्तारै रेल गाउँ जस्ता लाग्ने ठाउँबाट शहरतिर पस्न थालेको जस्तो देखियो, घरहरू अलि अलि देखिए, साना साना तर डिजाइनदार घरहरू । रुद्रजी भन्दै हुनुहुन्थ्यो, “यहाँ धेरै ठूला घरहरूहरू हुँदैनन् । अस्ट्रिया र हङ्गेरीमा प्रायः घरमा लिफ्टको चलन अझै छैन ।”
सुनसान सडकमा गाडीहरू शान्तपूर्वक कुना लगाएर पार्क गरिएका र ती गाडीहरू आफ्नो गन्तव्य यो होइन भनेर थाकेर बसेजस्तो पनि नलाग्ने । कति मान्छे बिहान भर्खर काममा जाँदै गरेका तर केही हतारो पनि नभएको । फेरि बुदापेस्ट शहर पुग्नै लाग्दा एउटा नदी माथिबाट रेल दगुर्यो, रेल लिकमाथि नै थियो तर ठूलो नदी बग्दै थियो । अचानक ठूलो आवाजले रेल गएर एउटा डोमजस्तो घरभित्र गएर रोकियो ।
“ल हामी आइपुग्यौँ त, बुदापेस्ट ।“, रुद्रजीले घना आवाजमा यो कुरा सुनाउँदा हामी निद्राबाट ब्युँझेजस्तो पो भयौँ । रुद्रजीले भन्दै गर्दा मेरो आँखा स्टेशनमा लेखिएको कलेटी – बुदापेस्टमा आँखा प¥यो ।
“हामी पुग्यौँ ?”, मैले फेरि लयमै दोहो¥याएँ ।
“ख्वै त हामीलाई स्वागत गर्न कोही बसेका रहेनछन् ।“, अञ्जलीले भनिन् ।
रेल धीमा गतिमा रोकिएर यसले आफ्नो पूरा स्वास छोडिसकेपछि हामी रेलको देब्रेतिरको द्वारबाट ओर्लियौँ । सबैले आआफ्ना झोला, छाता, क्यामेरा, पानीका बोटल, ज्याकेट बोक्यौँ । रुद्रजीले पुनः सतर्कता जनाउँदै भन्नुभयो, “हामी ओर्लिएको स्टेशन याद गर्नुहोला । भरै हामी यही लाइनबाट चढ्नुपर्छ ।”
रुद्रजीको पछिपछि लागेर हामी अघि बढ्यौँ । उहाँकै निर्देशनमा हामीले आज दिनभरि चढ्न मिल्ने बस, ट्रामको टिकट काट्न लाइन बस्यौँ । लाइन एकजना बसे हुने भएको भएर लाइनको अघिल्लो दीर्घामा अञ्जली बसिन् ।
पूरा एक दिनको टिकट काटेर हामी बाहिर निस्कियौँ । बाहिर शान्त खालको शहर रहेछ । कफी मृदुमयी गन्ध नाकमा घुसिहाल्यो । यो बुदापेस्टमा हाम्रो पहिलो दिनको बिहानी हो, धेरै दिनको वर्षापछि देखिएको आकाशको सानो टुक्रा निलो बादलले हामीलाई आजको मौसमको सङ्केत दिइरहेको छ । “आज पानी त पर्दैन ?“, मैले सोधेँ । रुद्रजीले गुगलमा हेर्दै भन्नुभो, “तीन बजेसम्म कुनै डर छैन ।”
अञ्जलीले फेरि भनिन्, “मेरो विश्वास मान्नुस्, आज पानी पर्दै पर्दैन ।”
हामी रेलवे स्टेशनबाट बाहिर आइसकेपछि ट्राम चढ्ने स्टेशनतिर लाग्यौँ । मेट्रो चढेर हामी पार्लियामेन्ट हाउस हेर्न मुख्य शहरतिर जाने भयौँ । केही मिनटको ट्राम यात्रापछि रुद्रजीले भन्नुभयो, “हामी यहीँ ओर्लिँयौँ ।”

ट्रामबाट ओर्लेर हामी इलेभेटरबाट माथितिर आयौँ । इलेभेटर लामो निकै लामो र ठाडो रहेछ । लक्ष्मी दिदी अलि डराएजस्तो गर्नुभयो, मैले पाखुरा समाएर ढाडस बढाइदिएँ । मैले दिदीलाई सहारा दिँदै गरेको देखेर एक युवाले हामीलाई हेरेर मुस्काइरह्यो । अनि इलेभेटरबाट ओर्लिएपछि उनले मलाई नेपालीमा सोधे, “प्रकाश दाइ होइन ?“
अरे बुदापेस्टमा पनि नेपाली ! म छक्क परेँ । “तपाईँ नेपाली हो ?” “हो दाइ । म नेपाली हो । पोखराबाट हो म । मेरो नाउँ दीवाकर बराल हो । म हजुरको ठूलो फ्यान हुँ । मैले रेडियो अन्नपूर्णमा हजुरको पोखरा कल इन सुन्थेँ । ती दिन..”
उनी भन्दै गए, म सुन्दै गएँ । अरु कता कता पुगे मलाई याद नै भएन । पोखराका दीवाकर लण्डनको कन्भेटरीमा बस्दा रहेछन्, आज उनी सपत्निक डेढ वर्षको छोरा लिएर घुम्न आएका रहेछन् । उनले हतार हतार आफ्नी पत्नीलाई बोलाए, “सानु आउ त, दाइसित एउटा फोटो खिँचौँ ।“
फोटो खिच्ने बेला ठीक समयमा रुद्रजी आइपुग्नुभयो । फोटो खिच्दाखिच्दै हामी स्टेशनबाट बाहिर आइपुग्यौँ, हाउस अफ पार्लियामेन्टको अगाडि । वाह । कति राम्रो ठाउँ । बुदापेस्टको सच्चा दर्शन अब भयो । छेवमा डेन्यूब नदी बगिरहेको देखेँ ।
डेन्यूब नदी । रुद्रजी व्याख्या गर्दै हुनुहुन्थ्यो । यता दीवाकरजी मसित कति दिन, कहिलेसम्म, लण्डन आउनु हुन्छ हुन्न, सोध्न थाल्नुभयो । म दुवैतिर व्यस्त भएँ ।
“बाहिर अलि जाडो रहेछ । ज्याकेट लगाउँ होला ।”, अञ्जलीले प्रस्ताव गरिन्, उनले क्योमरा पनि खोलिसकेकी थिइन् । कुन एङ्गलबाट पार्लियामेन्ट हाउस राम्रो आउला उनी क्यामेरा मिलाउँदै थिइन् । रुद्रजी भन्दै हुनुहुन्थ्यो, “यो नदीको पारी पेस्ट हो । यता बुदा । पहिले यी दुई अलग्गै राज्य थिए । एकीकरणपछि बुदापेस्ट नाम राखिदिए ।”
नाम राखिदिए, नाम कति सजिलोसित राखिदिएको ? हामी कहाँ ‘प्रदेश नम्बर १ को नाम के राख्ने ?’, झगडा अझै छ । काठमाडौं, न्यूरोडको वडा नम्बर २२ र २४ को झगडाले मेयर विवादमा अझै छन् । यहाँ शान्तपूर्वक नाम राखिदिए । वाह, कति शान्तिप्रिय यिनीहरू !
“बुदाको पूरा नाम बुदाओरी हो । पेस्टको पेस्टोरिका हो कि ?”, रुद्रजी अलि अलि अल्मलिनुभयो । हामी विस्तारै पार्लियामेन्ट हाउसको छेउबाट डेन्यूब नदीको किनारमा आइपुग्यौँ । उहाँले नदी देखाउँदै भन्नुभयो, “यहाँ त बेलुका आउनुपर्छ । त्यो जहाजमा बसेर रुम बुक गरेर मान्छे ड्रिङ्क गर्छन्, त्यतिबेला पार्लियामेन्ट हाउसको छायाँ खोलामाथि पर्छ । खोला झल्झलाकार हुन्छ नि ।”
यो पनि रमाइलै कुरा सुनियो । बुदापेस्टको मदिरा त विश्वप्रसिद्ध नै मानिन्छ । फ्रान्सका राजा लुई चौधौँले यहाँको रक्सी पिएपछि अतीव प्रशंसा गर्दै भनेका थिए, किङ्ग अफ वाइन । आज पनि हङ्गेरीलाई किङ्ग अफ वाइनको नामबाट चिनिन्छ । हङ्गेरी कवि ओतो उर्वानको कवितामा कति चर्चा छ यहाँको, यार्क त्राक्लको कवितामा भियनाको चर्चा भएजस्तै ।
डेन्यूब नदीको छेवमा सुन्दर शैलीका घरहरू थुप्रै थिए, ती सबै अपार्टमेन्टहरू रहेछन् । रुद्रजीलाई रिटायर्ड लाइफ यहाँ आएर बिताउन मन रहेछ । जर्ज लुकाच पनि यस्तै अपार्टमेन्टमा बस्थे । उनका समुच्चा पुस्तकका पाण्डुलिपि, कैयन रचना, पत्रहरूको संग्रह गरेर हङ्गेरी सरकारले पूरा अभिलेखाघर बनाइदिए, त्यो आज पनि यहीँ छ म्युजियमको रूपमा । भनिन्छ, प्रथम महायुद्धभन्दा पहिले लुकाचले लेखेका पत्रहरूको एउटा बक्सा नै पश्चिमी बर्लिनको बैङ्कको लकरमा बन्द थियो, पछि हङ्गेरी सरकारले उनको मृत्युपछि किनेर यही अभिलेखाघरमा राखिदिए । क्या छ यहाँ साहित्य र सङ्गीतका लागि ।
बुदापेस्टका हङ्गेरीयन न्यासनल म्युजियममा विथोवनको पियानो राखिएको छ, सम्मानका साथ । जर्मनीको बोनमा सन् १७७० मा जन्मिएका लुड्विग भोन विथोवनको ५७ वर्षको उमेरमा अस्ट्रियाको भियनामा निधन भयो । उनको निधनपछि उनले बजाउने पियानो उनका परम् प्रशंसक फ्रान्ज लिस्टलाई उपहार स्वरूप दिइयो, जो उनी भन्दा ४१ वर्ष कान्छा थिए । लिस्टले त्यो पियानो कहिले बजाएनन्, विथोवनको हातले स्पर्श गरेको यो पियानो छुने मेरो हिम्मत छैन भनेर उनले सो उपहार सम्मानपूर्वक हङ्गेरी सरकारलाई फर्काइदिए । आज त्यो एउटा अर्कै इतिहास भयो ।
डेन्यूब नदीको किनारमा हामी बुदावोरीतिरै घुम्दै छौँ । नदीको किनारमा एउटा दृश्य देखेर हामी अत्यन्त भावुक भयौँ । आँखाबाट आँशु नै आए । त्यो दृश्य हेर्न त्यहाँ भीड थियो । नदी किनारमा जुत्ताहरू थुप्रो थियो । ती जुत्ताहरू ठूला मान्छेका साना साना नानीहरूका पनि थिए, ती लथालिङ तवरले फ्याँकिएका थिए ।
“के हो यो ?”, अचानक मैले सोधेँ रुद्रजीलाई । उहाँले बडा भावुक हुँदै भन्नुभयो, “यी जुत्ताहरू खोलामा हाम फाल्ने ती अज्ञात बाल, वृद्ध, युवायुवतीहरूको जसले अस्ट्रिया र जर्मनी मिलेर हमला गर्दा ज्यान जोगाउन खोलामा हाम्फालेर बलिदान दिएका थिए ।” हामी जस्तै अरु पनि त्यो दृश्य हेरेर भावुक देखिएका थिए । मैले यही कथा अञ्जली र लक्ष्मी दिदीलाई पनि सुनाएँ । ती जुत्ताहरूलाई पछि एक फिल्म निर्देशकको परिकल्पनामा प्रतिमाको रूपमा त्यहाँ सजाइएको रहेछ, टोनी नामका ती निर्देशकले यो इतिहासको यो घटनालाई सधैँ सम्झाउने बनाइदिएछन् । शान्तपूर्वक बगिरहेको डेन्यूब नदीको किनारै किनार भएर हामी पुलमा आइपुग्यौँ ।
“यो दुई वर्ष पुरानो पुल हो तर यसको नाम मलाई थाह छैन ।”, रुद्रजीले भन्नुभयो । पुलको नजीक गएपछि थाह भयो, पुलको नाउँ सेच्येनी चेन ब्रीज रहेछ । यो पुलका कारण पनि बुदापेस्ट प्रसिद्ध रहेछ । यो पुलबाहेक पालाटियल पुस्तकालय, विश्वस्तरीय स्पा दृश्य, अनौठो म्युजियम, गोप्य बैठक दरबार, अद्भुत गुफाहरू, व्हिम्सिकल रेट्रो रेलवे, मिचेलिन ताराहरू, उच्च घरानाका शास्त्रीय सङ्गीतका कारण यो ठाउँ सदैव प्रसिद्ध रहेछ ।
हामी अब पारी जाने तैयारीमा छौँ । यहाँ बाटो काट्न बडा सजिलो रहेछ, गाडीले आनन्दले बाटो काट्न समय दिने अनि हतार नदेखिने । मान्छे बाटो काट्न बाटोमा उभिएको देखेपछि गाडीले आफ्नो गति धीमा गरेर बत्ती बालिदिने रहेछ । बुदा र पेस्टलाई जोड्ने यो पुलमा फोटो खिच्नेको भीड देख्दा लण्डन ब्रीजको याद दिलाउँदो रहेछ । (क्रमशः स्रोत ः साहित्यपोष्ट डटकम)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *