राजश्वचाँहि लिने अनि पानीचाहीँ नदिने ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
अनुसा थापा

विश्वमा नेपाल जलस्रोतको दोस्रो धनी मुलुकको रुपमा परिचित छ । जलस्रोतकै दोस्रो धनी देशमा पानीको चरम हाहाकार छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिर, पानी पाउन महाभारत छ । जनताले पेटभर पानी पिउन पाउँदैनन् । नुहाउनका लागि पानी पाउन निकै गाह्रो छ ।
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ्ग रित्तो गाग्री लिएर पानीको गुहार गर्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई भेट्न आए । त्यसले नै नेपालमा पानी कतिको छेलोखेलो छ ? भन्ने पुष्टि हुन्छ । दोस्रो देश भनिएको छ तर पिउनकै लागि पानी छैन । धरान पनि नेपालकै भूभाग हो ।
त्यहाँ बसोबास गर्ने पनि नेपाली नै हुन् । प्रधानमन्त्री ओलीले उनलाई भेट्न समयमै दिएनन् । उनी प्रधानमन्त्रीलाई धरानबासीको कुरा नराखिकन फर्किनुप¥यो । पर्याप्त पानी पिउन पाउनु जनताको अधिकार हो । जनताले पर्याप्त पानी पाउनुपर्छ । विडम्बना, सरकारले जनतालाई पानीसमेत दिन सकेन ।
पानीसमेत दिन नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्नु ? जनता थोपाथोपा पानीका लागि लडिरहँदा देशका प्रधानमन्त्री ओली विदेशी महंगो पानी पिउँछन् भन्ने हल्ला चल्ने गर्दछ । जनता ढल मिसिएको पानी पिउन बाध्य भनेर कहिलेकाहीँ समाचारहरु प्रकाशित भइरहेका हुन्छन् ।
एक गाग्री पानी लिनका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता अझै पनि छ । पिउनलाई समेत पानी छैन भने नुहाउन, सरसफाई गर्न, खाना पकाउन, शौचालय जान, लुगा धुन कहाँबाट पानी ल्याउने ? देशका उच्च पदस्थहरु कहिले जनताको समस्या देख्दैनन् । देखेसुने पनि बुझ पचाउँछन् ।
जनताप्रति उनीहरु कहिले जिम्मेवार भएनन् । राज्यको ढुकुटी छँदै छ, स्वदेशी खाए नि विदेशी । सरकारले डाँडाकाडामा प्लानिङ गर्न स्वीकृति दियो । त्यहाँ घर बनाउन नक्सा पास पनि गरिदियो । त्यहाँ अस्तव्यस्त बस्ती बनाइयो । मान्छे बसेका छन् तर पानी छैन । नक्सा पास दिएपछि पानी दिनुपर्छ कि पर्दैन् ?
राजश्वचाँहि लिने अनि पानीचाँहि नदिने ? अस्तव्यस्त बस्तीका कारण ढुङ्गेधाराहरु हराउँदै गए । कुवाहरु संकटमा परेका छन् । पहिले पहिले आकाशबाट परेको पानी जमिनमा जान्थ्यो । त्यही पानी कुवामा आउँथ्यो तर अहिले ढुंङ्गेधारा र कुवा विस्थापित भए । जमिन सबै कंक्रिट र कालोपत्रे बन्दा पानी जाने ठाउँ नै भएन ।
यता, चुरे क्षेत्रमा डोजर चलाएर भताभुङ्ग बनाएको छ । चुरेबाट आउने पानी रोकिएको छ । यसका कारण तराईमा व्यापक पानीको हाहाकार सिर्जना भएको छ । उनीहरुले पानी माग्दै केही समयअघि राजधानीको माइतीघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए । पैदल हिँडेर मधेशबाट काठमाडौं छिरेका उनीहरुको समस्याको सुनुवाई सरकारले गरेन ।
उनीहरुले बाल्टिनसहित प्रदर्शन गरे । सरकारले आश्वासन दियो, पठायो । नेपालमा खोलानाला धेरै छन् । बढ्दो जनसंख्या र अव्यवस्थित बस्तीका कारण खोलानाला प्रदूषित हुँदै गएका छन् । घरघरबाट निस्किएको ढल खोलानालामा लगेर मिसाइएको छ । सोही कारण त्यहाँको पानी प्रयोग गर्न अयोग्य भएको छ ।
काठमाडौं उपत्यकाभित्र भएको बागमती, हनुमन्ते, मनोहरा खोलाको वरपर हिँड्नसमेत सकिँदैन । उपत्यकामा पानीको हाहाकार भएपछि मेलम्चीबाट पानी ल्याउनुपरेको छ । त्यो पनि बाह्रैमास आउँदैन । मेलम्चीको पानी अहिले पनि घरघरमा पुग्न सकेको छैन । कतै पुगेको छ, कतै छैन । सरकार पहिले गर्ने अनि पछि सोच्ने खालको भयो । योजना बनाएर दीर्घकालीन रुपमा गरिएको कामहरु कमै होलान् । घर बनाउन दियो, पानी छैन । पानी नभएको ठाउँमा नक्सा पास गर्न दिने हो ? मान्छे बसेपछि पानी चाहिन्छ ? भन्ने कुरा त सरकारलाई थाहा थियो होला ।
तर पनि, बेवास्ता गरियो । घरघरमा धारा जोडिएको छ तर पानीको थोपा चुहिँदैन । जताततै घर बनेका छन्, मान्छे बसेका छन् तर पानी छैन । ट्याङ्करको पानी किनेर कहिलेसम्म चल्छ ? एक ट्याङ्कर पानीको २५ सयदेखि पाँच हजार रुपियाँसम्म पर्छ । एक जार पानीको ६० देखि ८० रुपियाँसम्म पर्छ ।
एक बोतल मिनिरल वाटरको २० देखि ३० रुपियाँ पर्छ । पैसा हुनेले त किनेर खाला, नहुनेले के गर्ने ? खाने पानी नभएकै देशलाई कुन आधारमा जलस्रोतको धनी देश भन्ने ? अब कृषि प्रधान देश र जलस्रोतको धनी देशको नारा फेर्न आवश्यक भइसकेको छ । यी नाराका कारण नेपाल विश्वमै हाँसोको पात्र बनेको छ ।
कृषि प्रधान देश भनेको छ, छिमेकीले खाद्य पठाएन् भने भोकभोकै मर्नुपर्छ । जलस्रोतको धनी देश भनेको छ, पिउने पानी नै छैन । विश्वमा आफूलाई रमिता बनाउनुभन्दा सरकार आफैं सचेत भएको राम्रो । नेतृत्वसँग भिजन नहुँदा अन्कन्टार बनेको गाउँघरको खोलानालामा बगेको पानी त्यतिकै खेर गएको छ ।
धाराको पानीहरु ब्गिरहेको छ । शहर र जिल्लाको सदरमुकाममा चाँहि पानीको थोपा पनि छैन । यो अवस्थामा पु¥याउने को ? सरकार होइन ? भिजन नभएका नेता हुँदा देश यस्तो बनेको होइन ? नेतासँग भिजन हुन्छ । नेताले आफ्ना जनताको हितको बारेमा सोच्छ तर नेपालका नेताहरु ठ्याक्कै विपरित भए ।
आफू मोजमस्ती गर्न पाउँदैमा उनीहरु मख्ख छन् । गाउँघर रित्तिनुमा नेताहरुको ठूलो हात छ । गाउँमै रोजगारी सिर्जना गरिदिएको भए, आज गाउँमा बाँदर र बँदेलको राज हुँदैनथ्यो । आफ्नो गाउँठाउँमा बसेर जनता रमाउन पाउँथे । अहिले झार उम्रिएका जमिनहरुमा अन्न्बाली हुन्थे ।
शहर र सदरमुकाममा अव्यवस्थित बस्ती हुँदैनथ्यो । शहरमा दुई गाग्री पानी थाप्नका लागि राति एक बजे उठ्नुपर्ने बाध्यता छ । हप्तामा एक दिन पानी आउँछ, त्यही दुई गाग्रीले भएपनि चित्त बुझाउनुपर्छ । उपत्यकाभित्र ६३४ वटा ढुङ्गेधारा थिए । सयौंको संख्यामा कुवा थिए । सबै मासिए । अहिले कतै ढुङ्गेधारा र कुवा देखिँदैनन् । यिनीहरु अब इतिहास बनिसके । सरकारले संरक्षणमा चासो नदेखाउँदा भावी पुस्ताले ढुङ्गेधारा र कुवा देख्न नपाउने भए । कर लिनेका लागि सरकारले गरेको अव्यवस्थित भौतिक पूर्वाधार निर्माणले भविष्यमा झन् धेरै क्षति पु¥याउने निश्चय नै छ ।
अहिले पानी सुनजस्तै भइसकेको छ । पहिले पहिले बुढापाकाले भन्थें, ‘पानी दियो भने धर्म हुन्छ ।’ घरमा आएको मान्छेलाई अरु केही दिन नसके पनि पानी दिनु भनिन्थ्यो तर पानीको हाहाकारले होला, कसैले पानी नै दिन्नन् । बाटोमा हिँड्दा या कतै जाँदा तिर्खा लाग्यो भने मिनिरल वाटर किन्नुपर्छ ।
पैसा भएन भने तिर्खा खपेर हिँड्नुपर्छ । होटलहरुमा पछिल्लो समय पानी पनि राख्न छोडिएको छ । बोतलको पानी किन्नैपर्छ । खोलानाला फोहोर भयो भने पानीको हाहाकार हुन्छ भन्ने कुरा कहिले नेतृत्वले सोचेनन् । आफ्ना कार्यकर्तालाई खोलाको छेउछाउ राखे । सुकुम्बासीको नाममा हुकुम्बासीले खोलानाला कब्जा गरे ।
उनीहरुले खोलानाला फोहोर पारे । खोलानाला पूरै कालो छ । मान्छेले त के, गाईबस्तु र पशुपंक्षीले समेत त्यो पानी पिउन सक्दैनन् । नेपालीमा एउटा चर्चित उखान छ,‘बाँदरले आएको घर पनि बनाउँदैन्, अर्काको पनि भत्काउँछ ।’ ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायतका नेताहरु देशको लागि घातक नै भएका भन्ने आमबुझाइमा चर्चा चल्ने गरेको छ ।
नेपाल खोक्रो भइसकेको छ । जनता आफूलाई नेपाली भन्छन् तर हरेक कुरा अन्य देशबाट आयात गर्नुपर्छ । केही वर्षपछि पानी पनि आयात गर्नुपर्ने हुन सक्ला । त्यसैले अब हामी नेपाली भनेर गर्व नगर्दा पनि हुन्छ । गर्व गर्नलाई आफू आत्मनिर्भर हुनु पर्दैन र ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *