प्रा.डा.कुमारप्रसाद कोइराला
प्रसिद्ध साहित्यकार गोविन्दराज भट्टराईका मुगलान (वि.सं.२०३१), मणिपुरको चिठी (वि.सं.२०३४), सुकरातका पाइला (वि.सं.२०६३) र सुकरातको डायरी (वि.सं.२०६८) गरी चारवटा उपन्यास प्रकाशित भइसकेका छन् । नयाँ मुगलान (२०८१) उनको पाँचौं उपन्यास हो ।
यो उत्तरआधुनिक सिद्धान्त र समालोचनाका प्रखर व्याख्याता र सिद्धहस्त प्रयोक्ताले लेखेको नवीनतम कृति हो । त्यसैले यो अपरम्परित र प्रयोगवादी छ । यसमा वर्तमान नेपालको मार्मिक दृश्य प्रस्तुत गरिएको छ । यस लेखमा त्यसकै बारेमा संक्षिप्त चर्चा गरिएको छ ।
मुगलान (वि.सं.२०३१) उपन्यासको क्रमलेखन (सिक्वेल) ः
पहिलो मुगलानमा सुतार कार्की भुटान गएर त्यहाँ पाएको दारुण दुःखको कथा थियो भने यसमा ऊ घर फर्केपछिको कथा छ । सुतार कार्कीले छोराको अन्त्येष्टि गरिसकेपछि राति निद्रामा बर्बराएका वेला पुरानो मुगलान यात्राको प्रसंग आएको छ । प्रमुख पात्र यसमा सहायक पात्र बनेर आएको छ भने प्रमुख पात्रका रूपमा उसका छोराबुहारी आएका छन् । परिवेश पनि दोहारिएको छ । क्रमलेखन भएकाले यो पाठकका लागि कुतूहलको विषय बनेको छ । किनभने सुतार कार्की प्रसिद्ध चरित्र भएकाले उससँग पाठक पूर्वपरिचित छन् । त्यसपछि उसको र उसका परिवारको जीवन कसरी बितेछ भनेर पढ्न उत्सुक हुन्छन् । पुरानो मुगलान भारत वर्ष थियो भने नयाँ मुगलान अरब राष्ट्र, यूरोप, अमेरिका आदि भएका छन् । पुराना खानी बन्द भएर नयाँ खानी खनेजस्तै समयले नयाँ नयाँ मुगलान तयार पारिरहन्छ । यसमा सुतार कार्कीको कथाका साथै उसका परिवार र देशकै कथा समेटिएको छ । अहिले विदेशिन बाध्य पार्ने अनेक कारण छन्, तर त्यसको मूलमा भने आर्थिक कारण नै छ । सुतार कार्कीको छोरो अशेष कार्की बिए पास गरेर पनि देशमा नोकरी नपाएकाले विदेशिन बाध्य भएको छ भने कट्टेल फुपाजु पार्टी नमिलेर नगरपालिकाको जागिर खुस्केकाले विदेशिन बाध्य छ ।
कोही चुनावमा नराम्ररी हारेर जोरीपारीले हेपेकाले र चुनावको ऋण तिर्न नसकेर, कोही बोर्डिङ स्कूल डुबेर, कोही बैंकले डिपार्टमेन्टल स्टोरमा ताला लगाएर, कोही घरघडेरीमा सहकारीले ताला मारेर, कोही कृषिको मलबीउ र ट्याक्टर लोनमा डुबेर, कोही छोराछोरी विदेश पढ्न पठाउँदाको ऋणमा भासिएर, कोही अस्पतालको उपचार खर्चले भागाभाग भएर, कोही बैंकले ट्याक्सी तानिएर विदेशिन बाध्य छन् । कोही विदेश गएर पैसा कमाई भविष्य सुन्दर पार्ने सपना बोकेर विदेशिएका छन् । स्वयं सरकार वा देश जनतालाई विदेश पठाएर आफू मोज गर्ने सुरमा लागेको छ । यसरी यस नयाँ मुगलानमा अनेक कारणले आतङ्कित भएर विदेशिन बाध्य लाखौं नेपालीको दारुण कथा छ ।
दुःस्थानिक (डिस्टोपियन) उपन्यास ः
नयाँ मुगलानमा पनि ग्रामीण समाज छ । त्यहाँ मानिस बस्न छोडेका छन् र गाउँ निर्जन हुँदै छन् । कम मान्छे बस्ने भएकाले नै गाउँमा भय, आतङ्क, अभाव र गरीबी छ । वन्यजन्तुले बालीनाली सखाप पारिदिन्छन्, घरपालुवा पशुपक्षी मारिदिन्छन्, सुतार बूढालाई बाहिर सुतेकै ठाउँमा चितुवाले चिथोरेर मारिदिन्छ । गाउँमा मान्छे कम भएर गाईभैंसी, बाख्रापाठा पाल्न छोडियो, जोत्न र खेती गर्न छोडियो । त्यसैले त्यहाँ बस्नेहरूको जीवन अत्यन्त कष्टकर छ । एक्लोपनले मानिसलाई सबभन्दा धेरै सताएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात छैन । शासकीय अराजकता, भ्रष्टाचार, कुशासन, दमन, शोषण, विभेदले मानिस उत्पीडित छन् । कोपिला गाउँमा एक्लै बन्न नसकेर घरमा आगो लगाएर हिंड्छे । यसरी गाउँ खाली हुँदै जानु नेपाली गाउँको वा नेपालको अन्धकारपूर्ण भविष्यको संकेत हो । त्यस्तै शहरमा पनि आर्थिक अभाव र बेरोजगारी छ । युवा वर्ग विदेशिन चाहन्छ । देशमा भविष्य छैन भनेर ऊ वैदेशिक रोजगारीमा गएको छ । यसबाट परिवार खण्डित भएको छ । देशको सरकार र सरकारसँग साँठगाँठ भएका दलाल युवालाई विदेश पठाउने संस्था खोलेर बसेका छन् । यसरी यस उपन्यासले नेपालको अत्यन्त भयावह र अन्धकारपूर्ण भविष्य देखाएको छ ।
यसमा कोरोना महामारीपछिको मन्दीले व्यापार व्यवसाय बन्द भएपछि धेरै मान्छे बरबाद भएको, कतिले आत्महत्या गरेको घटनाले मानिसमा ठूलो भय जन्मेको छ । युक्रेन र रुसबीच चलेको युद्ध आतङ्कबाट त्रसित मनस्थितिको चित्रण छ । युक्रेन रुस युद्धबाट पेट्रोल र अन्य वस्तुको मूल्यबृद्धि भएको, तोरी खेती बन्द हुनाले खाने तेलको मूल्य बढेको, तेस्रो विश्वयुद्धको हल्ला, जैविक तथा आणविक हतियार पड्कने, वैयक्तिकताको क्षति, दमन, भय, आतङ्क, नैराश्य देखाइएको छ । शासकहरू अफवाह फैल्याउँछन् । पर्यावरणप्रति बेवास्ता गर्नाले त्यसको विनाश भएको छ । भूमण्डलीकरणले पनि मानिसको सामाजिक जीवनमा भय र आतङ्क सृजना गरेको छ । यसबारे उपन्यासमा यसरी चिन्ता व्यक्त गरिएको छ,जस्तैः
“सामाजिक जिन्दगीको चाला कतै अमेरिका जस्तो, कतै क्यानाडा, बेलायतको, कतै हङकङ सिंगापुर, कतै चीन जापान, तर नेपाल कतै छैन । बजारका सामान हेर्नुहोस्, मान्छेका घर अनि खानपीन, पहिरन, मान्छेको शिक्षा, सम्पत्ति, औषधोपचार र अरू सोच यो छक्क पर्नु भो । तर अझै गाउँहरू बाँकी रहे–अनुल्लेख्य र परित्यक्त ठाउँहरू जहाँ गाडी पुग्दैनन्, बिजुली छैन, स्वास्थ्यचौकी छैन, साँघुपुल छैनन्, नेताका वाचा र प्रतिज्ञा मात्र आकाशका बूढा गीद्धसरी उडिरहन्छन् रातोदिन । कस्तो रड्डी छ सबै, कस्तो दिग्दारी र निराशा ! (पृ.८७) ।”
राजनीतिक उपन्यासः
यो नेपाली लोकतन्त्रको उपहासकाव्य वा विडम्बना काव्य हो । उपन्यासकारले देशलाई रङ्गमञ्च, नेता वा शासकलाई अभिनेता र जनतालाई दर्शकको रूपमा प्रस्तुत गरेका छन् । उपन्यासको अन्त्यमा रङ्गमञ्चमा एक जना मन्त्री अबको दश वर्षमा यो देशलाई सिंगापुर बनाइदिन्छौं, हाम्रो प्रतिव्यक्ति आय यति पुग्नेछ, प्रतिघर बिजुली यति, सारा शिक्षास्वास्थ्य सरकारको जिम्मा, वृद्धभत्ता डबल गर्नेछौं र हाम्रा कार्यकर्ताले घरघर पुर्याइदिनेछन् भनेर भाषण गर्छ । जनता परर ताली पिट्छन् । त्यसपछि शक्तिशाली मन्त्राणी पोडियममा पुगेर कुर्लन्छिन्–
“अबको नौ वर्षमा हामी हाम्रो देशलाई स्विजर्लेन बनाइदिन्छौं । आगामी चुनाब जितेछ भने हाम्रो पाटीले पर्तेक भोटर महिलालाई एक एक सुनको सिक्री उपहार दिनेछ । पर्तेक पुरुषलाई पाल्पाली ढाकाके टोपी र तेरथुरमे घरेलु तानको ज्वारिकोट । पर्तेक नानीबाबुलाई स्कूल जाने एक एक जोर जुत्ता, मोजा र टाई दिनेछ । यो हाम्रो प्रतिज्ञा हो । …. हाम्रो पाटीले चुनाब जितेछ भने आउँदो इलेक्शनदेखि बाह्र कक्षा पास गरेका पर्तेक विद्यार्थीलाई एक हातमा सर्टिफिकेट र अर्को हातमा फिरी भिसा थमाउने छौं (पृ.१३८) ।”
“एक्काइसौं शताब्दीको समाज सम्पूर्ण हल्लालाई समर्पित छ । सम्पूर्ण हल्लाले निर्मित र त्यसैमा आधारित छ । सम्पूर्ण पैसाको खोजीमा समर्पित । मात्र भौतिकताको तिर्खा । साम्यवादतिर जाँदा मान्छेलाई किचेर मारेका छन्, पूँजीवादको पक्ष लिंदा यसको एक मात्र दुर्गुण असीमित लोभमा डुबेका छन् । मन्त्री, कर्मचारी, उद्यमी, दलाल, देशभक्त, साधुसन्त सबै सबैका मन लोभमै डुबेका छन् । एउटै महको भाँडामा अनगन्ती झिंगाहरू (पृ.१२०) ।”
राजनीतिक अदूरदर्शिताले गाउँको दुरवस्था छ । निर्जन हुँदै गएका गाउँको हृदय विदारक दृश्य प्रस्तुत गरिएको छ । त्यहाँ देउसी भैलोविनाका दशैंतिहार बनाइन्छन्, खसीबोका, राँगाकुखुरा काटिंदैनन्, ढिकी बज्दैन, जाँतो घुम्दैन । देश आतङ्कको केन्द्र बनेको छ । रुस र युक्रेन युद्ध र त्यसले विश्वमा पारेको प्रभाव, असहाय र बेरोजगार नेपाली युवा युवतीलाई पैसाको लोभ देखाएर युद्धमा पठाएर पैसा कमाउने सरकारी मन्त्री र दलाल, नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेश पठाउने सरकार र दलाल छन् । आर्थिक, सामाजिक, धार्मिक क्षेत्र, उद्योगव्यवसाय सबै चौपट छन्, सबै ऋणमा डुबेका छन् । शिक्षालाई धनीमानीले व्यापार बनाएका छन् । देश बेरोजगारीले आक्रान्त छ । लोकतन्त्र छ, तर सुशासन छैन । युवा वर्ग विदेश पलायन गर्छ । देशको यस्तो भयानक दुर्दशाको चित्रण उपन्यासले गरेको छ ।
किनारीकृत वर्गको दुःखान्त कथा ः
यो उपन्यास शहरभन्दा गाउँको, केन्द्रको भन्दा छेउको, मुख्यको भन्दा गौणको, उपस्थितको भन्दा अनुपस्थितको पक्षमा लेखिएको छ । यसले किनारीकृत वा सीमान्तीकृत वर्गको कथा भनेको छ । भौतिक सुखसुबिधाबाट वञ्चित, अविकसित ठाउँ वा गाउँमा बस्न बाध्य, दूरदराज क्षेत्रका शैक्षिक संस्थामा अलिअलि पढेका, सोर्सफोर्स नभएका अकिञ्चन बेरोजगार वर्गको कथा छ । शोषित, पीडित र विभेदित वर्गको दुःखान्त कथा छ । अशेष, कोपिला, शिवम्, बरालपुत्र आदि यिनै वर्गका प्रतिनिधि चरित्र हुन् ।
अनिश्चय, भ्रान्ति वा सन्दिग्धताको दर्शनः
यसमा अनिश्चयको दर्शन छ । निश्चित केही छैन । सबै मानवीय कर्म अनिश्चयमा खेलिएका खेल लाग्दछन् । मानव जीवन अनिश्चित छ । कहिले के हुन्छ कसैलाई थाहा छैन । “यो जगत् अनेक भ्रान्तिहरूको केन्द्र रहेछ । मानिसले जे ठान्दछ, त्यही सत्य रहेछ, के गर्ने, के नगर्ने भन्ने कुनै निर्णय अन्तिम छैन (पृ.२४) ।” यस भनाइमा जीवन भ्रान्ति रहेछ भन्ने गहिरो भाव छ । स्योर सक्सेस बोर्डिङमा पढाउन नजाने भएपछि कोपिला यसरी सोच्छे–“जिन्दगी कति अनिश्चित छ अनि अनिर्निण । मानिससँग इच्छा र कल्पना मात्रै उसका वशमा हुने रहेछ पृ.१०३ ।” त्यस्तै यसमा मुगलान सम्बन्धी नयाँ विचार प्रस्तुत गरिएको छ । यसको वैचारिक वा दार्शनिक पक्ष यसरी स्पष्ट पार्न खोजिएको छ–
“छँदाखाँदाको ठाउँमा बस्ताबस्तै मनमा त्यो छोडेर काँ जौं, काँ जौं भन्ने चौचौ हुन्छ । अनि घर छोडेर मन अनकण्टारतिर लाग्छ । त्यसरी नचिनेको, नजानेको, नदेखेको ठाउँ नै मुगलान भो । त्याँ बस्दाहुँदी छोडेको ठाउँतिर फर्कौं फर्कौं लाग्छ , त्यहाँ मलाई भूले कि बिर्से कि जस्तो हुन्छ । बल्लबल्ल आफ्नो घर फर्कियो फेरि मुगलान जौंजौं हुन्छ । यसरी दोधारे मनको खेल मुगलान हो । मानिसहरू नयाँनयाँ मुगलान खोज्दै हिंड्ने गर्छन् । ठूलो र अन्तिम मुगलान त सोर्गे जाने रहर हो । त्यहाँ पुगेसी फिर्नु पर्दैन भन्छन् । आफू गैया छैन, खै के हुन्छ (पृ.५८) । यस भनाइमा ठूलो विचार वा दर्शन लुकेको देखिन्छ ।
भाग्य खोटो हो कि हाम्रो कर्मको हो दोष
किन आज वृद्धाश्रमझैं भयो हाम्रो देश ।
घरबारी देश छोडी युवा विदेश लागे
कसले देला बलिदान देशले रगत मागे (पृ.१२८) ।।
यस गीतमा पनि संदिग्धताकै दर्शन छ । यस्तै ‘फेरि हेर्दा रंगमंच रित्तो भएको देखियो । शायद देश यही होला ।’ यस भनाइमा भ्रान्तिको, अनिश्चयको दर्शन छ ।
पुनर्लेखन ः
यो ‘मुगलान’को पुनर्लेखन हो । त्यतिमात्र नभएर यसमा प्रचलित दर्शन, समाज, साहित्य, संस्कृति, राजनीति, अर्थ, शिक्षा, धर्म, सञ्चार प्रविधि आदिको पनि पुनर्लेखन गरिएको छ । यसमा अरूले लेखेका वा भनेका विविध विषय जोडेर, टाँसेर, नयाँ बनाइएको छ । त्यसैले यो अन्तरपाठात्मक भएको छ ।
उत्तरआधुनिक कविता÷काव्योपन्यासः
यसमा गद्यको प्यास्टिस छ । यो मुक्त र अपरम्परित कविता हो । यसमा पात्र आफैंले रचेका कविता छन् । लोकगीत र गीतका टुक्रा छन् । कोटेशन छन्, मन परेका अनेकौं कविका कविता र कवितांश छन् । विष्णु एस राईको मलाई भुइँतलामै रहन देऊ (पृ.४८–४९), प्रेम कटुवालको गीत, (पृ.७०), कोपिलाले लेखेको ओडारभित्रकी आमा कविता, (पृ.७४–७६), कोपिला र अशेषले लेखेका कवितांश, (पृ.९४), इरानी कवि जलाल अहमद रुमीको गीत पंक्ति, (पृ.९५), बेल्जियन कवि जर्मे डुगेनब्रुटले रचेको छलावरण शीर्षकको कविता, पृ.९७, ओमर खैयामको रुवाइयत पृ.९८, खलिल जिब्रानको प्रेमीको आह्वान कविताका केही पंक्ति, (पृ.९९), मिल्टन नामक टिचरले लेखेको उद्धरण, (पृ.९९), रुसी विरुद्ध लडिरहेको युक्रेनियन सिपाहीले लेखेको र अनास्तासियाले अंग्रेजीमा अनुवाद गरेको र दमकको पूर्व सन्देश पत्रिकामा प्रकाशित कविता, (पृ.१२१), युक्रेनियन कवि आइयोन डोगेनले लेखेको युद्ध कविता, (पृ.१२१६) आदि । यी प्रासंगिक र उपन्यासका अङ्ग भएर रहेका छन् । यस्ता कविताले यस उपन्यासलाई काव्यात्मक पारेका छन् । यसका तेइस वटा उपशीर्षक कथांशका जस्ता नभएर फुटकर कविताका जस्ता छन्, जस्तैः ती मृत्यु सूचना संवाहक, प्रेमको दियो सल्केपछि, जुनीभर साथ रहूँला, विभ्रान्त चित्तको प्रलाप, भयप्रद निर्जनता, ओडारभित्रकी आमाको सम्झना, ॐ अग्नये नमः स्वाहा, शहरको चौबाटोमा पुग्यो जिन्दगी, मायाले भिजेको फिदिमको डायरी, उज्याला सपना वरिपरि आदि । कथानकको विन्यास उपन्यासको जस्तो र भाषाको बुनोट काव्यको जस्तो भएको छ । त्यसैले यसको बनोट उपन्यासकोजस्तो र भाषा काव्यात्मक, बिम्बात्मक, प्रतीकात्मक, व्यंग्यात्मक र आलङ्कारिक भएको छ ।
समालोचनाः
उपन्यास समाजको समालोचना हो । त्यस अर्थमा यो समालोचना हो । यसमा समालोचनाको पनि समालोचना भएको छ । प्रथमतः स्वयं उपन्यासकारले आफ्नो उपन्यासको समालोचना गरेका छन् । उपन्यासको आरम्भ गर्नुभन्दा पहिले नयाँ मुगलानका सम्बन्धमा भन्ने शीर्षकमा यो कस्तो उपन्यास हो भनेर परिचय दिएका छन् । त्यसरी नै उपन्यासको अन्त्यमा अनि रातभर यो उपन्यास लेखें भन्ने शीर्षकमा उपन्यास किन र कसरी लेख्नु पर्यो भनेर प्रकाश पारिएको छ । नेपालको कुन ठाउँको कस्तो समाजको समालोचना गरिएको छ भनेर उपन्यासकार स्वयंले यसरी लेखेका छन्–
“…मूलघाट हुँदै तमर कोरिडोरको बाटो नै मेरो लेखकले रोजेको स्थान, परिवेश, लोकल वा भूगोल हुन गयो । तिनै आधी लडेका घर, छोडेका गोठ, जङ्गल र बुट्यानले भरिएका खेतबारी, सुकेका कुला, खोला । यस्तै दृश्य मेरो उपन्यासको परिवेश भयो ।…त्यहींका पात्र भेटें, कथा बुन्दै लगें । मेरा परित्यक्त पात्रहरू वृद्धवृद्धा, अशक्तहरू, झारपात र जङ्गलले ढाकिएका आँगन हेर्दै, लिउन उप्किएका घरहरू वरिपरि झोक्राइरहेको देख्छु । सयमा पाँचदश घर गाउँलेहरू विवशताले त्यहाँ अडिएका छन्, बाध्यतामा छन् । ती पनि सन्तानले अरबतिर मरुभूमिमा पिल्सिंदै कमाएर ल्याएपछि मधेशमा नभए जिल्ला सदरमुकामतिर बसाइँ सरौंला भनी पर्खिरहेका छन् (पृ.१३०) ।” यो उपन्यासको रचना गर्भ हो । यी दुवै लेख उपन्यासकै समालोचना भएका छन् । यसपछि डा.व्यञ्जना, शशी भट्टराई, अनिता कोइराला, अनिता पन्थी र महेश पौड्याल गरी पाँच जना पाठकका पाठकप्रतिक्रिया राखिएका छन् । यी पनि उपन्यासकै समालोचना हुन् । यी सबै उपन्यासका अभिन्न अङ्ग बनेर रहेका छन् । यिनलाई निकाल्ने हो भने उपन्यास अधूरो र अपूर्ण लाग्न सक्छ । यसरी यसले एकातिर समकालिक नेपाली समाजको समालोचना गरेको छ भने, अर्कातिर उपन्यासकार र पाँच जना पाठक मिलेर त्यसको पनि समालोचना गरेका द्धन् । त्यसैले यो समालोचना वा समालोचनाको पनि समालोचना भएको छ ।
प्रस्तुति हास्यव्यंग्यात्मक र अनुभूति कारुणिक ः
यसमा वर्तमान नेपालको लोकतान्त्रिक शासन पद्धतिप्रति कठोर र निर्मम व्यंग्य गरिएको छ । नाम लोकतन्त्र छ, तर काम लूटतन्त्रको छ । लोकतन्त्र लूटतन्त्रमा परिवर्तित भएपछि देशका अन्य क्षेत्र आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक शैक्षिक आदि सबै लथालिङ्ग र भताभुङ्ग भएको कहाली लाग्दो स्थितिलाई उपन्यासले हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । देशमा गरिखान नसकेर वा नपाएर वैदेशिक रोजगारीमा गएका नेपाली र तिनका परिवारको कारुणिक कथा छ । सुतार कार्कीको छोरो अशेष देशमा जागिर खान नपाएर नववधू कोपिलालाई छोडेर विदेश जानु, कोरोना महामारीले आमा मर्दा घर आउन नपाउनु, साउदी एअर फोर्स र इरान समर्थित यमनका हुती लडाकूबीच भएको युद्धमा परेर अशेषको मृत्यु हुनु, कोपिला विधवा हुनु, छोराको लाश ल्याएकै बाकसमा बाहिर सिकुवामा सुतेको सुतार कार्कीलाई चितुवाले मार्नु, गाउँमा दशदिने दाजुभाई नभएपनि सुतार कार्कीको अन्तिम संस्कार गर्नु, एक्लै निर्जन गाउँमा बस्न नसकेर कोपिलाले घरमा आगो लगाएर हिंड्नु, शिवम्सँग रुसको युद्धमा दुवै जना जागिर खान जानु र उतै हराउनु आदि घटनाका साथै गरीबीले अनेकौं दुःख पाएका नेपालीको असहनीय पीडा, वेदना, करुणा र अवसादलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसको प्रस्तुति व्यंग्यात्मक वा विडम्बनात्मक छ । यसले वेदना वा करुणालाई रुन्चे हाँसो पारेर प्रस्तुत गरेको छ । पात्रको नाम हास्यव्यंग्यात्मक पारेर प्रस्तुत गरिएको छ, जस्तैः सालाको क्षतिपूर्ति रकम ससुरालीलाई उपलब्ध गराउन सहयोग गर्ने ज्वाइँको नाम बन्दुके साइलो छ । कहिल्यै शेष नहुने अशेष युववस्थामै शेष भएको छ । फक्रँदै गरेको फूलको अवस्था कोपिला हो, तर ऊ विधवा भएर फुल्ने नपाई ओइलाएकी छ । बुद्धरत्न गौली जो फेसबुकमा अरूलाई लभ गर्ने भनेर डिस्टर्भ गरिरहन्छ उसले आफ्नो नाम नो डिस्टभ राखेको छ । टिकटक चलाएर भाइरल भएकी टिकटके भाउजू निर्धन पतिको सातो लिन्छिन् र धनी माइतीको फुर्ती लगाउँछिन् । विदेशी प्रभावमा नाम राखिएका अलोनिया फुपू, छिमेकीको बिहेमा पाँच वटा सारी र तिनको सेट किन्न लगाएर बिहाको ऋण तिरिनसकेको लोग्नेलाई मूच्र्छा पार्ने निर्दयी पत्नीको नाम एन्जेला भाउजू र एन्जेला भाउजूले प्यारो गरी बोलाउने लोग्नेको छोटकरी नाम डिडू अर्थात् डियर डुकप्रसाद राखिएको छ । गाउँको भकुन्डे थापा गाईगोठमा स्योर सक्सेज बोर्डिङ खोलेपछि माइकल हुन्छ । पत्नीलाई जसले कल्याण गर्ला भनेर कोपिलाले विश्वास गरी त्यही शिवम्ले उसलाई विदेशी युद्धमा पुर्याएर जीवनको अन्त्य गराइखिएको छ ।
घटनालाई विडम्बात्मक पारेर प्रस्तुत गरिएको छ, जस्तैः छोराको लाश ल्याएको बाकसलाई लाशसँग घाटमै जलाउन नदिएर घरमा ल्याई त्यसैमा सुत्ने र रातभरि बरबराउने भ्रान्त सुतार कार्की त्यही बाकसमै चितुवाले चिथोरेर मरेको, छोरो कतारको तेलखानीमा मरेपछि प्राप्त क्षतिपूर्ति रकमा हात परेपछि पहिलो पटक प्लेन चढ्ने लोकनाथ बराल अर्थात् लोके प्लेनमै रुन र हास्न थालेको, घर पुगेपछि छोराको अन्त्यकर्ममा यति यति दान दिनुपर्छ भनेर दानलुब्ध ब्राह्मणले सल्लाह दिएको, अर्का पण्डितले अनलाइनबाटै गाईको व्यवस्था गरिदिने बचन दिएको, गाउँका बैरीहरू पनि लोकनाथलाई सान्त्वना दिन घरमा आउन थालेको, गाउँमा सधैं हेपिएर बसेको लोकनाथले इन्डिया गएर अरबी गोडा ल्याएर गाउँमा रबाफ देखाउन खोजेको, माइला छोराले कार किन्ने, कान्छा छोराले अबको जमानामा पजेरो होइन, इभी किन्नुपर्छ भनेको जस्ता घटनाले मानिसभित्रका लोभलालच र स्वार्थ देखाएर बाहिर हँसाएपनि भित्र रुवाउँछन् । यी मान्छेका स्थायी भाव हुन् ।
त्यस्तै पति बस्ताकोटीले कमजोर आर्थिक स्थितिका कारण कम खर्चमा छोरीको बिहा गर्न चाहेको, तर पत्नीले धनी माइतीको फुर्ती लगाएर धुमधामसँग बिहा गर्नुपर्छ भनेर पतिलाई धम्क्याएकाले पति डरले थुरथुर कामेको, बस्ताकोटीको छिमेकी डुकप्रसाद तिम्सिनालाई पत्नीले छिमेकीकी छोरीका बिहेमा पाँच वटा सारी सेट किन्न बाध्य पारेको, मेरा मर्ने दिन आएका हुन् त ? बिहे गरेर कुन दिन आफैंले घरमा काल हुलेंछु भनेर पछुताएको, आमाले पत्नीलाई पाँच सेट किन्नेले बैनीलाई एक जोर किनिदिनु पर्दैन भनेर हकारेपछि ऊ मूच्र्छा परेर लडेको, विधवा भएर एक्लै भएकी कोपिलानेर पहिले कोही नआउने, तर विदेशबाट उसका नाममा पैसा आएपछि समवेदना प्रकट गर्ने बहानामा कम्पनीले कति पठायो भनेर सोधेको, छोरीको बिहाले सारो पारेको, छोरालाई कतार उडाउन पैसाको आवश्यकता परेको, ज्वाइँले अर्को महीना जापानबाट पैसा पठाइदिन्छन् भनेर चालीस प्रतिशतसम्म ब्याज दिने शर्तमा पैसा मागेको, उमेर धेरै बाँकी छ, मेरा छोरासँग बिहे गर भनेर भनेको आदि घटनामा गहिरो विडम्बना र दुःख व्यक्त भएको देखिन्छ ।
उपन्यासको आरम्भ र अन्त्य व्यङ्ग्यात्मक शैलीमा गरिएको छ । पातलीको नाम फेरेर लिली पारी ‘लिलीको चिया दोकान’ शीर्षकबाट उपन्यासको आरम्भ गरिएको छ भने कृष्ण विवरलाई जीवन अर्पण शीर्षक राखेर उपन्यासका प्रमुख पात्र अशेष र कोपिला युद्धरूपी कृष्ण विवरमा हराएको र नेपाली मन्त्री र मन्त्राणीले भाषण गरेर नेपाली जनतालाई आश्वासन बाँडेको वा भ्रममा पारेको उपहासपूर्ण दृश्यबाट उपन्यासको अन्त्य गराएइको छ । यस्तो हास्यव्यंग्यात्मक प्रस्तुतिले उपन्यासलाई मर्मान्तक र जीवन्त बनाएको छ ।
अवचेतन लेखन ः
सचेत नभई स्वतः लेखिने लेखन नै अवचेतन लेखन हो । आत्माबाट स्वचालित वा स्वतःलेखन जन्मन्छ । यसले मन वा आत्मालाई नै प्रभाव पार्छ । लेखक कलम समाउँछ र मन वा आत्माले लेखाउँछ । लेखकलाई मन वा आत्माले मार्गनिर्देशन गर्दछ । यस्तो लेखनमा अवचेतनका अनर्गल प्रलाप, हास्यात्मकता र स्वैरकल्पना मिसिएको हुन्छ । यो एक साहित्यिक युक्ति पनि हो । जसलाई अवचेतन प्रवाह पद्धति पनि भन्न सकिन्छ । यसलाई प्रलापात्मक लेखन पनि भन्न सकिन्छ । गहिरो चोट वा दुःख खप्न नसकेपछि मानिस विक्षिप्त अवस्थामा पुग्छ र निद्रामा बरबराउँछ, प्रलाप गर्छ, अनर्गल कुरा गर्छ । आफ्नो जन्मभूमिको यात्रा गर्दा त्यसको बिजोग देखेर वा वर्तमान नेपाल र नेपालीको अन्धकारपूर्ण भविष्य देखेर उत्पन्न भएको पीडाले एवं रुघा, खोकी र ज्वरले सताएर थला परेका वेला उपन्यासकारले यो उपन्यास लेखेको कुरा यसरी उल्लेख गरेका छन्–“पाँचथरबाट फर्केपछि चलफिर गर्नपनि असमर्थ भएँ, निद्रा लाग्न छोड्यो…स्वप्न होइन, जाग्रत अवस्थापनि होइन, सुषुप्ति यही हो कि ? …साँझतिरको भ्रान्तिमा म लेख्न थालेको थिएँ पृ.१२९) ।”
उपन्यासका पात्र सुतार कार्की छोरो मरेको पीडाले विचेत भएर लाश ल्याएको बाकसमै सुत्छ र राति निद्रामा अनेक प्रकारका प्रलाप वा अनर्गल कुरा गर्छ । कोपिला एक्लोपन खप्न र गाउँमा एक्लै बस्न नसकेर घरमा एकाबिहानै आगो लगाएर मधेश झर्छे, छोराको क्षतिपूर्ति रकम पाएपछि लोकनाथले अरबी घोडा किनेर गाउँ डुल्ने इच्छा प्रकट गर्छ । उसका छोराहरू प्राडो र इभी किन्ने कुरा गर्छन् । गरीब भएर पनि धुमधामसँग छोरीको बिहा गर्न खोज्ने आमा वा छिमेकीको बिहामा पाँच सेट सारी किनाएर बिहामा रमाउन खोज्ने छिमेकी महिलाका इच्छा अवचेतन मनमा रहेका कुण्ठित एषणा हुन् । यिनले तिनैलाई स्वतः प्रकट गरेका छन् । यिनका यस्ता कार्य हाँस उठ्दा तर मार्मिक र गहिरो वेदनाले भरिएका हुन्छन् । (साहित्यपोष्ट डटकमबाट)

‘नयाँ मुगलान’ ः देशको पीडाले लेखाएको मर्मान्तक कृति
Facebook Comments Box